११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

बदलिँदै तीज

काठमाडौं- विश्व समाजमा नारी दिवस मनाउन थालेको ४० दशक मात्र पुगेको छ तर नेपाली नारीले नितान्त आफ्नो दिनका रुपमा मनाउने तीज प्राचिनकालदेखि नै मानिँदै हो। यसले नेपाली समाज लामो समय परम्परागत धारमा अघि बढे पनि नारी स्वतन्त्रताको जग भने पश्चिमा समाजभन्दा अगाडि नै बसेको प्रस्ट हुन्छ। विश्व इतिहासमै महिला मात्र संलग्न रहेर मनाउने तीज नेपाली संस्कृतिको मौलिक धरोहर नै हो। सन् १९७० को दशकमा महिला मुक्तिका आन्दोलनको विगुल युरोपमा फुकियो। त्यसअघि नै नेपाली समाजमा घरपरिवार र समाजले दिएको दुःख–पीडाका गीत तीजको समयमा नेपाली महिलाले गाँउथे। १९७५ लाई नारी वर्ष घोषणा गरेर संयुक्त राष्ट्रसंघले नारी स्वतन्त्रताको पहल गर्‍यो। त्यसपछि हरेक वर्ष एकदिन महिला दिवसका रुपमा मनाउन थालियो। बल्ल पश्चिमा नारी एकअर्कासँग भेटघाट गर्ने, सभा–सम्मेलन गर्ने, बौद्धिक लेख निकाल्नेजस्ता काम गर्न थाले। नेपाली महिला उताका जस्ता लेखेपढेका नभए पनि मौखिक सिर्जनामार्फत समाजमा व्याप्त महिलाविरुद्धका कार्यबारे आपसमा बहस गर्थे। सांसद छायाँ शर्मा तीजलाई महिला अधिकार प्राप्तिका लागि उपयोग गर्नुपर्ने बताउँछिन्।

‘महिलाको वैयक्तिक स्वतन्त्रता निजी भएकाले त्यसमा कसैले रोकतोक वा थुनछेक लगाउन मिल्दैन,' उनले भनिन्, ‘कानुनले नै महिलाका हक सुनिश्चित गरिदिएको छ।' उनका अनुसार नेपालको संविधान– २०७२ को भाग ३ मा मौलिक हकको व्यवस्थाअन्तर्गत महिलाको हकलाई प्रस्ट रुपमा मौलिक हकका रुपमा सुनिश्चित गरिएको छ।

महिलाका हकअन्तर्गत धारा ३८ को उपधारा १ मा 'प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुनेछ' भनिएको छ। उपधारा ३ मा 'महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन, त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ' भनेर उल्लेख गरिएको छ। सोही धारामा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने जनाइएको छ।

'महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक संरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुने तथा  सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ' भनिएको छ। त्यसैले पनि महिलाले स्वतन्त्रापूर्वक घरका अन्य सदस्यसरह गतिविधि गर्न पाउने सांसद शर्माले बताइन्।

संविधानकै मौलिक हकको धारा १७ मा स्वतन्त्रताको हकको व्यवस्था छ जसमा 'कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिनेछैन' भनिएको छ। यसले महिलाको व्यक्तिगत चाहनाको स्वतन्त्रता पुष्टि गर्छ। विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघ र संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,  नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रताबारे यही धारामा उल्लेख छ।

तीजमा शान्तिपूर्वक भेला भई आफ्नो स्वतन्त्रता र मानवअधिकारको उपभोग गर्न संविधानले नै महिलालाई पूर्ण छुट दिएको पूर्वसभासद् रामशिला ठाकुरको भनाइ छ। उनका अनुसार तराईमा घुम्टो ओढ्न छाडेर खुला संसारमा हिँड्न यस्तै जमघटले सघाएको हो।

राजधानीको जनकपुरिया तीजको दरखाने कार्यक्रममा उनले महिला स्वतन्त्रताको उपयोग गर्दै आफ्नै भाषामा जितको भाकासमेत गुनगुनाइन्।

धारा १८ को समानताको हकमा 'सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिनेछैन' भनिएको छ। जसले महिला वा पुरुष जो भए पनि समान रहेको प्रस्ट्याउँछ।

सामान्य कानुनको प्रयोगमा 'उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिनेछैन' भनिएको छ।

कानुनले भनेजस्तै तीज महिलाको स्वतन्त्रता व्यक्त गर्ने एउटा विशेष पर्व भएको पूर्वसभासद् शान्ता चौधरी सुनाउँछिन्। उनी तीजभन्दा बढी जितिया मनाउँछिन् जुन थारु महिलाको तीज हो। ‘वर्षदिनको विछोड मेटेर माइती भेट्ने मात्र होइन, साथीसँगी भेटेर आफ्नो पिरलोका मुद्दा सल्टाउने मेसो पनि हो,' उनले जितियालाई चिनाइन्।

विकृति तीजमा मात्र होइन, नेपालीले मनाउने हरेक चाडपर्वमा हुन्छन्। त्यसैले पनि तीज मेरो मात्र होइन, आम महिलाको हो भन्ने ध्येय राखेर महिलाहरु जमघट हुने क्रम बढेको उनले सुनाइन्। एकअर्काको मर्म बुझाबुझ गर्ने तीज भएकाले त्यो बेला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश बनेकी महिलाझैं कसरी त्यस्तो पदमा महिलालाई पुर्‍याउने भन्ने बहस अचेलका तीजमा हुन्छन् भन्ने विश्वास उनी लिन्छिन्।

उतिबेलै पनि बालकैमा बिहे गरिदिएर घरमा दुःख पाएपछि आफ्नै आमाबाबुप्रति लक्षित व्यंग्य कस्थे नेपाली महिला। ‘यस्तो उज्यालो संसार कहाँ पाउनु बाबै!' ७३ वर्षकी सुमित्रा उपाध्याय सुनाउँछिन्, ‘बालखैमा बिहे, अलि ठूलो भएपछि घरजमले ज्यान खान्थ्यो। तीजका बेला त जेसुकै होस् भनी माइत गइन्थ्यो, मजाले नाचिन्थ्यो।'

'ठूलो घर उज्यालो मैनटोल बालेर

जान्छ क्यारे इज्जत छोरी पालेर

दसभाइ छोरा यै घरमा अटाउने

म एउटी छोरीलाई डाँडै कटाउने ...'

आमाबाबुले दान सम्झेर बालखा छोरी बिहे गर्दापछिको तीजमा यसरी नेपाली चेली यसरी दुःख बाँड्थे।

चुहिने कसौंडी नबल्ने दाउरा आमालाई कहिले नटुटोस् ...

अब यस्ता तीजे–गीतबम सन्देशसँगै शब्दरुप पनि फेरिएका छन्। गाउँघर टोलछिमेकमा सामाजिक सन्देश छर्दै नारीहरु गीत गाउन थालेका छन्।

अहिले मात्र होइन, पञ्चायत कालमै पनि तीज गीतमा समाज परिवर्तनका सन्देश बाँड्न थालियो। २०३६ सालमा भएको जनमतसंग्रहमा बहुदलविरुद्ध जब निर्दलले जित्यो, तीज गीतमा जनताका पीडा झन् घन्कन थाल्यो।

दूधको साक्षी बिरालो राखी

भोट फेरे सञ्चैले बरी लै ...!

२०४६ सालको परिवर्तनपछि त नारी शिक्षाका चेतनामूलक गीतले तीज गीत भरिन थाले। त्यसपछि आमूल परिवर्तन नै भयो। सबै बालिका स्कुल जानैपर्ने नीति आयो। सशस्त्र द्वन्द्वको दस वर्षले नारीले पनि पुरुषसमान काम गर्न सक्छन् भन्ने उदाहरण दियो। पुरुष लडाकासँगै बन्दुक बोकेर युद्धमा होमिएका नारीले कहिल्यै आफूलाई पुरुषभन्दा कम आँकेनन्। यी धारका महिलाले भने तीजले महिलाको थप शोषण गरेको भन्दै मनाउनै नहुने मान्यतासमेत बोकेको पाइन्छ।

२०६२/६३ को आन्दोलनपछि नारी वर्गको राजनीतिक, सामाजिक निकाय र आर्थिक क्षेत्र जस्ता निकायमा समावेशी सहभागिताको आवाज उठ्यो। त्यो भाव तीज गीतमा छुट्ने कुरै भएन।

'आधुनिक जमानामा घर, आफन्त र चौतारोमा मात्र तीज सीमित रहेन। नारीको तीज अब सार्वजनिक समारोहमा परिणत हुन थाल्यो। कतिपयले स्वतन्त्रताका नाममा तीजको गलत फाइदा उठाए पनि वास्तवमा तीज सिंगो महिला समूहको द्योतक हो,' चितवनकी अधिकारकर्मी फूलमाया रानाभाट भन्छिन्।

महिलाले मनाउने तीज कार्यक्रम भड्किलो भएको आरोप लगाउँदै स्थानीय प्रशासनले केही वर्षयता तीजलाई कडाइ गरेको छ। राजधानी होस् या मोफसल, यसको असर एक साताजति बाँकी रहँदा पनि बजारमा त्यसको असर देखिन्छ।

नारी जम्मा भएर रमाइलो तीज सबै भड्किला हुँदैनन्। केही वर्गका सीमित कार्यक्रमका कारण आफूहरुको जमघट गर्ने थलो नै खोसिन नहुने महिला माग गर्न थालेका छन्।

तिलहरी, नौगेडी, चन्द्रमा, शिरबन्दी, छड्के तिलहरी, लस्करी, माडवारी, पाउजुलगायत गरगहना आधुनिक समाजले होइन, परम्परागत तीजको स्वतन्त्र संस्कृतिले दिएको हो।

‘जुन पश्चिमा संस्कृतिमा खोजेर पनि पाइन्न,' नायिका शर्मिला मल्लले भनिन्, ‘तीजमा मात्र होइन, अरु बेला पनि जमघट गरेर खानपिन र रमाइलो गर्न महिलाले पाउनुपर्छ।' गरगहना संस्कृतिको रक्षा गर्न पनि तीजमा लगाउनुपर्नेमा उनी जोड दिन्छिन्।

‘संस्कृतिका नाममा कसैलाई नराम्रो गर्न हुन्न भन्नेमा महिला यसमा सचेत छन्,' अधिकारकर्मी फूलमाया रानाभाटले थपिन्, ‘तीज महिला स्वतन्त्रताको एउटा प्रतीक हो।'

उनका अनुसार संविधानले नै महिलालाई पुरुषसरहको स्वतन्त्रता दिएको छ। यसको मतलब पुरुषले होटलमा जाँडरक्सी खाए महिलाले पनि खानुपर्छ भन्ने होइन तर स्वतन्त्रतापूर्वक भेला भएर आफ्ना समस्या, पीडा, दुःखसुख बाँडेर रमाइलो गर्न महिलाले पाउनै पर्छ। तीजका नाममा जमघट हुनै रोक लगाउँदा चुलोचौकाबाट बल्लबल्ल बाहिर निस्केका महिला फेरि चुलाचौकामै सीमित हुने वातावरण बन्न सक्छ। हुने र नहुने दुवैले तीज त मनाउँछन् नै। त्यसमा कसरी मनाउने भन्ने कुरा उनीहरुको गच्छेअनुसार हुने अधिकारकर्मी उल्लेख गर्छन्।

अधिकारकर्मी मीरा ढुंगाना तीजमा रोक लगाउन खोज्नु शक्तिको लडाइँ भएको ठान्छिन्। जो राजनीतिक, सामाजिक, आर्थिक र संास्कृतिक शक्तिका अगुवा छन्, उनीहरुकै कारण महिलामाथि विभिन्न बन्देज लागेको हो।

‘पुरुषले मुन्नी बद्नाम हुई भन्दै डिस्कोमा छिल्लिँदा हुने, महिलाले बजारका गीतमा कम्मर मर्काउँदा चँै भल्गर हुने?' उनी प्रश्न गर्छिन् , ‘यो पुरुष सत्तात्मक परिवेश र राजनीतिकै परिणाम हो।'

आफूहरु जहिलेसुकै इन्जोय गर्ने तर उनीहरु चाहन्नन् कि महिलाहरु भेला हुन्, शक्तिशाली होऊन्, अनि पुरुष साम्राज्यमाथि धावा बोलून्। ‘नत्र संविधानले मौलिक हकमै दिएको समानताको हक र स्वतन्त्रताको हक किन खोस्छन्?' ढुंगाना थप्छिन्, ‘तीजमा मात्र होइन, महिलाले चाहेका बेला जहिलेसुकै भेला हुन र रमाइलो गर्न पाउनुपर्छ।'

पुरुषले झैं मदिराम लट्ठ हुनुपर्छ भन्ने छैन। आगामी पुस्तालाई महिलामैत्री वातावरण दिन पनि भेला भएर दर खान रोक लाउन हुन्न। आधुनिक तीजले महिलामा सशक्तीकरण ल्याएको छ जसका कारण महिला गाउँघरमै पनि चेतनशील भएर आफ्ना अधिकारका मुद्दा तीज गीतमा घन्काउन थालिसकेका छन्।

तीजमा महिलाले पुरुषको दिर्घायुका लागि बस्ने व्रतमा भने रोक लाउनुपर्ने उनी उल्लेख गर्छिन्। महिलाले निराहार बसेका व्रतले पुरुषको आयुचाँहि लामो हुने, महिलाचाँहि रोगी भएर मर्ने अवस्था आउन राज्यले दिनु हुन्न। समानताको हक कायम गर्ने हो भने महिलासरह पुरुषले पनि आफ्नी अर्धांगिनीको दिर्घायुका लागि तीजको व्रत बस्नुपर्छ। कुल जनसंख्यामा २० प्रतिशत हुनेखाने वर्गको वर्चश्व विश्वमा झैं नेपालमा पनि कायमै रहेको उनी सुनाउँछिन्।

महिलाको जनसंख्या नेपालमा ५१ प्रतिशत छ। तर सम्पत्ति र निर्णयमा उनीहरुको अधिकार अझै न्यून छ। त्यसैले पनि घरको हरेक निर्णय पुरुषले थाहा पाउनैपर्ने बाध्यकारी अवस्था छ। महिलाले घरको पैसा वा सम्पत्ति आफूखुसी चलाए परिवारमा सास्ती खेप्नुपर्ने ढुंगानाको अनुभव छ। आफूहरुले जता जे गरे पनि त्यो धेरै नहुने, महिलाले थोरै खर्च गर्दा पनि धेरै देख्ने मनस्थितिले महिलाले एक सिजन पनि आनन्दले आफूखुसी गर्न नपाएको उनको धारणा छ। ‘सबै क्षेत्रमा पहुँच पुगेको पुरुषले आफ्नो आङको भैंसी नदेख्ने, महिलाको आङको जुम्रा केलाउन खोज्ने प्रयत्न गरिरहेका छन्,' उनी टिप्पणी गर्छिन्।

प्रकाशित: १८ भाद्र २०७३ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App