२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

स्मृतिमा डिबी 'एंगल'

काठमाडौं- फोटो खिच्ने र खिचाउने रहर धेरैमा हुन्छ। कुन कोण, स्थान, प्रकाश र भंगिमाले दृश्यलाई चित्ताकर्षक देखाइदिन्छ? यो भेउ भने थोरै फोटोग्राफरले पाउँछन्। डम्बरबहादुर ऊर्फ डिबी थापामा यही प्राविधिक पक्षको उचो ज्ञान मात्र थिएन, ‘एङ्गल’, ‘लोकेसन’ र ‘पोजिसन’ मिलाएर वास्तविकभन्दा सुन्दर र सौम्य तस्बिर झिक्ने शिल्प पनि उत्तिकै थियो। नेपाली फोटोग्राफीलाई आधुनिक संसारमा उभ्याउने श्रेय पाएका डिबी थापा नेपाली चलचित्रका पनि उस्तै हस्ती हुन् जो अब आम नेपालीका मस्तिष्कमा चम्किलो सम्झना मात्र बनेर रहनेछन्। निमोनियाबाट ग्रस्त डिबीले गएको भदौ ६ गते राजधानीको नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा सदाका लागि आँखा चिम्लिए।

२०१७ सालमा काठमाडौंको न्युरोड, पाकोमा उनले स्थापना गरेको 'फोटो कन्सर्न' नामक स्टुडियोबाटै नेपालमा स्टुडियो फोटोग्राफी सुरु भएको जानकार बताउँछन्। त्यसअघिसम्म फोटोग्राफी ठूलाबडाको पहुँच र कुलीन परिवारको घेरामा सीमित थियो। सर्वसाधारणले तस्बिर खिचाउन पाउँदैनथे। फोटो कन्सर्नसँगै नेपाली दुनियाँ तस्बिरको संसारमा प्रवेश गर्‍यो। सामान्य मानिसका जीवनका मूल्यवान क्षण पनि तस्बिरमा कैद हुन थाले।

'गुच्चा खेल्दै थिएँ, उहाँले मलाई उठाएर फोटो कन्सर्नमा जागिर खुवाउनुभयो,' २०२२ सालमा फोटो कन्सर्न छिरेका सबैभन्दा पुराना कर्मचारी वैकुण्ठ मानन्धर (६५) सम्झन्छन्, 'डिबीसर आफूले जानेका धेरै सिकाउनुहुन्थ्यो। नेपालमा फोटोग्राफी प्रविधि विकासमा प्रेरक भूमिका निर्वाह गर्नुभयो।'

... ... ...

९० सालको भूकम्प जाँदा डिबी चार दिनका थिए रे, आमा कृष्णकुमारीले परिवारलाई सुनाउँथिन्, 'छोरालाई तेल घसिरहेकी थिएँ, भुइँचालेा गयो।'

नागरिकतामा भने उनको जन्ममिति फागुन, १९९२ उल्लेख थियो, जन्मस्थान मुर्चुक–२ सल्यान, धादिङ।

डिबीलाई चिनाउने फोटो कन्सर्न घस्रँदै थियो, २०२५ सालमा अचानक एउटा आश्चर्य भयो। ऐश्वर्या, कोमल र प्रेक्ष्या तस्बिर खिचाउन फोटो कन्सर्न आए। त्यही अवसर नै फोटो कन्सर्न स्टुडियोको भाग्य बदल्ने घटना बनेको वैकुण्ठ सुनाउँछन्।

बिहेअघि वीरेन्द्र र अन्य भाइहरुलाई देखाउन खिचिएका ती तस्बिर यति मन पराइए कि त्यसपछि दरबारिया डिबीका 'फ्यान' नै बने। पछि, राजा महेन्द्रले समेत उनलाई तस्बिर खिच्न लगाए।

सहरमा हल्ला नै चल्यो– डिबीका तस्बिरकै कारण वीरेन्द्र ऐश्वर्यासँग बिहे गर्न तयार भएका थिए। 'उहाँको तस्बिर खिच्ने एंगल अरुको भन्दा पृथक् थियो,' फोटो कन्सर्नकै राजकुमार दंगाल मगर भन्छन्, 'त्यो शैली पछिसम्म पनि अन्य कसैसँग थिएन।'

'हरेक मानिस हरेक कोणबाट राम्रो नदेखिन सक्छ। कुन व्यक्तिको तस्बिर कुन कोणबाट खिच्दा राम्रो देखिन्छ भन्ने हेक्का उहाँमा थियो। यसैका कारण दरबारमा मात्र होइन, सर्वसाधारणमाझ पनि उहाँको फोटोग्राफी लोकप्रिय बन्न पुग्यो,' राजकुमारले सुनाए।

राजा महेन्द्रको कालो टोपी लगाएको, रानी ऐश्वर्यको किताबमा देखिने तस्बिर पनि फोटो कन्सर्नकै उत्पादन थिए। दरबारियाका तस्बिर सर्वत्र देखिन थालेपछि फोटो कन्सर्नको व्यापार चम्किएको पुराना अनुभवी सुनाउँछन्।

डिबी सेल्फमेड फोटोग्राफर भने होइनन्। उनमा फोटोग्राफीप्रति मोह जगाउने कोही अवश्य थिए।

'उहाँका बुबा नरबहादुर भैरवशमशेरकहाँ काम गर्नुहुन्थ्यो र बुबासँगै उहाँ पनि हिँडिरहनु हुन्थ्यो। बुबासँगै कलकत्ता पुग्दा डिबीसरले 'फोटो सेल' नामक स्टुडियोमा काम गर्नुभयो। फोटोमा ग्लेज गर्ने,' आफूले सुनेका कुरा सम्झँदै मानन्धरले भने, 'त्यहाँ फोटोग्राफीका विविध पक्षबारे जानकारी लिनुभयो र नेपाल फर्किएपछि पूर्ण रुपमा लागू गर्नुभयो।' फोटो सेलका मालिक अलि जँड्याहा स्वभावी थिए रे। त्यसैले छिट्टै उनलाई स्टुडियोको पूरै जिम्मेवारी आइलाग्यो। छोटो समयमै धेरै ज्ञान हात पार्ने अस्त्र बन्यो त्यही जिम्मेवारी।

चञ्चल स्वभावका डिबी थरीथरी काम गर्न रुचाउँथे। 'मैले कहिल्यै कुनै जागिरमा अड्किएर बस्न चाहिनँ,' डिबीले केही वर्षअघि नागरिकसँग कुराकानीमा भनेका थिए, 'म आफैँ केही गर्न चाहन्थेँ, त्यही चाहनाले मलाई व्यवसायी हुन घच्घच्यायो।'

संसारमा उपलब्ध नयाँ प्रविधि देख्नेबित्तिकै नेपालमा ल्याइहाल्ने उनको सचेतनाले अन्य कैयौँ कम्पनी उदाएर अस्ताए पनि फोटो कन्सर्न भने व्यवसायमा अडिग रहन पुग्यो। 'फोटो कन्सर्नले पहिलोपटक वाटर कलर, लिक्विड लेमिनेसन, वुड पेस्ट (फोटो माउन्टिङ) सिस्टम, कोल्ड लेमिनेसन र प्लास्टिक लेमिनेसनजस्ता प्रविधि भिœयायो,' मानन्धर सम्झन्छन्, 'नयाँ प्रविधिसँगै ग्राहकलाई सन्तुष्ट पार्ने नीतिले कम्पनी लामो समयसम्म टिकेको हो।'

कुनै पनि राम्रो तस्बिरमा पाँच वर्षको ग्यारेन्टी दिने यही कम्पनी मात्र थियो। डिबीसरलाई थाहा थियो, स्तरीय सामग्री दिँदा सर्वसाधारणले महँगो मोल तिर्दा पनि दुःख मान्दैनन्।'

फोटो कन्सर्न तुलनात्मक रुपमा महँगो सेवाशुल्क लिने कम्पनीमध्ये पर्छ। सेवाग्राहीलाई महँगो शुल्क लिए पनि सन्तुष्ट बनाउनु पर्छ भन्ने सिद्धान्तमा डिबी थिए। फोटो खिच्ने, धुलाउने र त्यसपछि नेगेटिभलाई बिर्सिदिने चलन थियो तर फोटो कन्सर्नमा ४० वर्षअघि खिचिएका तस्बिरको नेगेटिभसमेत भेटिन्छन्। अहिले तेस्रो पुस्ताका कसैले आफ्ना हजुरबुबा र बुबाका तस्बिर खोज्यो भने सहजै पाइने व्यवस्था छ। त्यो बेला सितिमिति नेपाली समाज तस्बिर खिच्दैनथ्यो। विशेष अवसरमा मात्र तस्बिर खिचिने हुनाले ती जिन्दगीका विशेष क्षण हुनु स्वाभाविक हो। यस्तो क्षणलाई लामो समयसम्म सँगालेर राख्ने व्यवस्था मिलाएकाले पनि कम्पनी यति लामो समयसम्म चलेको हो।

'उहाँले जग राम्रो बसालिदिनु भयो,' मानन्धर भन्छन्, 'त्यही जगमा उभिएको कम्पनी अहिले डिजिटल युगमा पनि राम्रोसँग चलिरहेको छ।'

डिबीको जीवन बुझ्नेले धेरै कुरा सिक्न सक्ने उनीसँग लामो समय संगत गरेका गेहेन्द्र धिमाल बताउँछन्।

डिबी थापाको करिअरको अर्काे भुल्नै नसकिने पाटो हो– चलचित्र। उनले निर्माण तथा निर्देशन गरेका प्रायः सबै डकुमेन्ट्री र फिल्ममा नजिक रहेर सघाएका धिमाल भन्छन्, 'उहाँको जीवन विश्वविद्यालयजस्तै हो। उहाँले फोटोग्राफीमै आफ्नो जीवन देख्नुभयो, फोटोग्राफीसँग सम्बद्ध व्यापारलाई नै बृहद् बनाउनुभयो।'

आफ्नो स्टुडियोमा कोडाक पेपर मात्र प्रयोग गर्नेदेखि चलचित्र खिच्ने 'रिल' समेत कोडाककै प्रयोगमा ल्याउने उनी सधैँ व्यापारमा विविधता खोजिरहने व्यक्ति हुन्। उनले कहिल्यै प्रविधिलाई रोक्ने प्रयास गनरेनन् बरु अन्य प्रतिस्पर्धी जन्माए। कलर ल्याब स्थापना गर्न उनले सघाए, नयाँ जनशक्तिलाई तालिम दिए। जति कलर ल्याब बढ्दै गए, तिनलाई आवश्यक पर्ने रसायन, प्रिन्टिङ पेपर, मेसिन र ती सबै सञ्चालनका लागि आवश्यक तालिम पनि उपलब्ध गराउने एउटा 'चेन बिजनेस' उनले चलाए।

त्यही 'चेन'अन्तर्गत फोटोग्राफीको 'प्यासन' ले उनलाई नेपाली फिल्म निर्माणतर्फ डोर्‍यायो। 'माइतीघर'को स्थिर छायाकार हुँदै 'मायाप्रीति', 'कान्छी' लगायत फिल्मका निर्माता हुँदै नेपाल चलचित्र विकास कम्पनीको अध्यक्षसमेत बन्न पुगे उनी।

फिल्म उद्योगमा उनले गर्न खोजेको एउटा प्रयास भने असफल नै रह्यो। उनले नेपालमा बलिउडको प्रभाव कम पार्न पाकिस्तान, श्रीलंका, बंगलादेशसहितको फिल्म निर्माणको केन्द्र काठमाडौँलाई बनाउन चाहेका थिए। जुन मुलुकका निर्माताले बढी पैसा हाले, उसैका कुरा बढी सुन्नुपर्ने बाध्यता हुँदा संयुक्त लगानीका नेपाली फिल्मले उति राम्रो बजार बनाउन सकेनन्।

असफल भए पनि फिल्म निर्माता उद्धव पौडेल थापाको प्रयासको सराहना गर्छन्। 'उहाँले संयुक्त लगानीमा फिल्म निर्माण अभ्यास गर्नुभएको थियो तर विविध कारण सफल हुन सकेन,' पौडेलले भने, 'त्यो प्रयोग सफल भएको भए यतिबेला नेपाली फिल्म उद्योगको कथा बेग्लै हुन सक्थ्यो।'

फोटोग्राफी प्रविधिका आयाम फेरिएका छन्, मानिसका रुचि र पहुँच फेरिएको छ। त्यसताक डिबी थापाले नेपाल भिœयाएको आधुनिक फोटाग्राफीका नयाँ–नया आयामले उनलाई सधैं सम्भि्करहनेछ।

प्रकाशित: १८ भाद्र २०७३ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App