इटहरी–जन्मेको एक वर्षमै उनकी आमा बित्छिन्। छिमेकी महिलाले उनलाई लालनपालन गर्छिन्। आमाको मृत्युभएको डेढ वर्षपछि बाबु पनि अपांग हुन्छन्। जन्मेको ठाउँ पहाड धनकुटाको चुङ्माङ्बाट अपांग बावुले छोरालाई लिएर धरान झर्छन्। छोरालाई पढाउने बाबुले सुनौलो सपना साँच्छन्। तर, कुनै उपाय हुदैन। छोरा बाबुको सपना पूरा गर्न पिण्डेश्वर महाविद्यालय धरानमा मन्दिरमा चढाएको भात खाएर भएपनि पढ्ने सोच राख्छन्।
न्यौपानेले शिक्षा, भाषा र साहित्यको सेवामा पुर्याएको योग्दानको कदर गर्दै बिहीबार इटहरी र धरानमा रथयात्रा निकालेर नागरिक अभिनन्दन गरिएको छ।
केही समय मन्दिरमै चढाएको खाना खाएर पढ्छन्। अन्ततः पढाईमा तेजिलो भएपछि पिण्डेश्वर महाविद्यालयले छात्रहरुलाई प्रदान गरिने छात्रवृत्ति (हन्डी) प्रदान गर्छ। अनि, पढाईलाई निरन्तर अघि बढाउँछन्। ब्राम्हण समुदायमा जन्मेको व्यक्तिले आफ्नो जन्मिएकै जिल्ला धनकुटामा हराउँदै गएको आठपहरिया राई भाषामा विद्यावारिधी गर्छन्।
तिनै भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने उमेरले अहिले ६४ वर्ष पूरा गरे। उनले प्रध्यापन गरेको ४० वर्ष बितिसक्यो । उनको जीवनको तीन दसक बढी नेपाली भाषा–साहित्यमा समर्पित भएर लागिसकेका छन्। उनको उत्साह घटेको छैन्। तिनै न्यौपानेले शिक्षा, भाषा र साहित्यको सेवामा पुर्याएको योग्दानको कदर गर्दै बिहीबार इटहरी र धरानमा रथयात्रा निकालेर नागरिक अभिनन्दन गरिएको छ। उनको अभिनन्दन ग्रन्थ पनि प्रकाशन गरिएको छ।
इटहरीको जनता बहुमुखी क्याम्पसबाट पञ्चेबाजा अगाडि लगाएर न्यौपानेको रथयात्रा निकालेर बजार परिक्रमा गरियो। न्यौपानेको रथयात्रा बजार परिक्रमापछि आइतबारेको दुर्गा पार्टी प्यालेसमा नागरिक अभिनन्दन गरियो।
उनलाई नागरिक अभिनन्दनसँगै सोही समारोहमा इटहरीका निजी कलेज, इटहरी उपमहानगरपालिका, तारानिधी–धनमाया अधिकारी स्मृति प्रतिस्ठान, उद्योग वाणिज्य संघ, कामधेनु सहकारी संस्था, पशुपति केवल नेटवर्कलगायतका संस्थाले अभिनन्दन गरे। अभिनन्दन कार्यक्रममा न्यौपाने पुरै भावुक भए।
उनले सम्बोधनका क्रममा भने, ‘लोप हुन लागेको आठपहरिया राई भाषा सम्मान गरेर त्यसबारे बाहिर ल्याउने काम गरेँ। एउटा मुलुकको लागि भाषा बचाउने त्यही जात, समुदाय र धर्मको हुनुपर्छ भन्ने छैन् हुदैन।’ उनले मुलुक र विश्व सम्पदाको अनूभूति जागेर आफू भाषा बचाउने अभियानमा लागेकैले समाजले स्नेह गरेर आफूमाथि सद्भाव राखेको बताए। ‘नागरिक अभिनन्दनले मलाई अरु काम गर्ने अभिप्रेरणा जागेको छ,’ उनले भने, ‘भाषा, संस्कृति र साहित्यले देशलाई संस्लेषण गर्दछ, त्यो काममा निरन्तर लागि रहनेछु।’
उनले आफूजस्ता पढ्ने धेरै भएपनि समाजको स्नेह–सद्भावले गर्दा उपलब्धि भएको सुनाए। उनले आमाको मृत्युपछि आफूलाई दुध खुवाएर हुर्काउने छिमेकी आमा मायादेवी दाहालकै कारण आफू समाजले स्नेह गर्न लायकको भएको बताए। उनले भने, ‘आमा हर्कमायाको एक वर्षमै र बाबु आमाको मृत्यु भएको ठीक डेढ बर्षपछि बाबु हरिप्रसाद लुलोलङ्गडा हुनुभो। यदि मलाई मायादेवी आमाले दुध खुवाउनु भएको थिएन भने म कुपोषण भएर मर्थें होला!’ दाहाल अहिले झापाकै जुरापानीमा बस्दै आएका छिन्। उनी अस्वस्थ्य भएकाले गर्दा न्यौपानेको नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन सकिनन्।
अभिनन्दनका क्रममा देशमा निस्वार्थ भावनाले खोजी खोजी जातजातिको भाषा बाहिर ल्याउन सदैव सक्रिय भएर अनुकरणीय कार्य गरेकाले गर्दा न्यौपानेलाई नागरिक अभिनन्दन गरिएको मूल आयोजक समितिका संयोजक कवि अनिल पौडेलले बताए। ‘भाषिक एकता र राष्ट्रको शीर ठाडो पार्ने नायक खोज्दा प्राध्यापक डाक्टर टंक न्यौपाने फेला पार्यौं,’ पौडेलले भने, ‘अनि, नागरिक अभिनन्दन गर्यौं।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिफलको आशा नगरिकन निरन्तर सेवालाई मान्यता दिएकाले गर्दा न्यौपानेलाई सामुहिक रुपमा समाजले अभिन्दन गरेर एउटा असल संस्कारको सुरुवात गरेको बताए। उनले धरान र इटहरीले गरेको संस्कार देशभरकै निम्ति अनुकरणीय भएको बताए।
न्यौपानेको अभिनन्दन ग्रन्थ भने धरानमा बिमोचन गरिएको हो। धरानमा पनि जातीय झाँकीसहित नगर परिक्रमा गरेपछि कार्यक्रम नागरिक अभिनन्दनमा परिणत भएको थियो। त्यहाँ न्यौपानेकै कद बराबरको अभिनन्दन स्वरुप ताम्रापत्र प्रदान गरिएको हो। इटहरीमा अभिनन्दन गरेपछि रथयात्रा गरेर धरानसम्म पुर्याइएको थियो।
२०७१ पुस महिनामा सङखुवासभामा भएको सङखुवासभा साहित्यिक महोत्सवका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा बसेको बैठकले न्यौपानेको अभिनन्दन ग्रन्थ प्रकासन गर्ने निर्णय गरेसँगै त्यस कार्यको थालनी गर्न अनिल पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो।
तर, पौडेल नेतृत्व समितिले स्थानीय स्तरमा अभिनन्दन ग्रन्थ प्रकासन गर्ने प्रस्ताव राख्दा नागरिक अभिन्दन गर्नुपर्ने माग भएर त्यही अनुुसार कामको थाल्नी गरिएको थियो।
लोहरूङ् भाषाको व्याकरणलगायत ७० वटा भाषा साहित्यको पुस्तक लेखिसकेका न्यौपानेको अभिनन्दन ग्रन्थमा प्रध्यापन जीवनका प्रारम्भिक चरणमा भैरहवा, भोजपुर, धनकुटा, धरान र गोरखामा संगत गरेका व्यक्तिहरुका स्मृति विगत र वर्तमानका प्रसंग उल्लेख गरिएको छ। न्यौपाने धरानको महेन्द्र बहुमुखी क्याम्पस र गोरखामा क्याम्पस प्रमुख समेत भएका थिए। धरानबाट गोरखा सरुवा भएर गएका न्यौपाने पछि पुनः धरान नै फर्किएका थिए । न्यौपाने धरानको महेन्द्र बहुमुखी क्याम्पसमा केही महिनाअघि मात्र रिटायर्ड भएका हुन् ।
इटहरीको जनता बहुमुखी क्याम्पसमा प्रध्यापन गर्छन्। न्यौपानेकोको बारेमा लेखिएको ५३२ पृष्ठको अभिनन्दन ग्रन्थमा स्वदेश तथा विदेशका लेखकका लेख प्रकाशित छन्।
न्यौपानेले शिक्षा, भाषा र साहित्यको सेवामा योगदान त पुर्याएकै छन्। वि.स.२०२७ सालमा वीपी कोइरालाले वनारसबाट सशस्त्र क्रान्ति आह्वान गरे । त्यसबेला उनी काँग्रेससँग नजिक थिए। धरानकै बालिका स्कुलमा पढाउँथे। वीपीको आन्दोलनको समर्थन तथा प्रचारकालागि पर्चा लेख्नुपर्ने भयो। पर्चाको भाषा लेख्ने जिम्मा न्यौपाने र राजेश्वरी आचार्य (पूर्व राजदुत) ले पाएका थिए।
न्यौपानेसहितले लेखेको पर्चा छापिएर पूर्वभरी छरियो । प्रशासनले पर्चा लेख्ने व्यक्ति पत्ता लगाएर न्यौपानेलाई पक्राउ गरेकाले गर्दा उनी २०२८ सालमा जेल समेत परेका थिए। न्यौपानेले जीवनमा गरेका कार्यबाट आत्मासन्तुष्टि भएको बताए । ‘मैले जे जे गरे त्यसबाट आत्मासन्तुष्टि छ,’ उनले भने, ‘कुनै पश्चताप छैन।’
प्रकाशित: १६ भाद्र २०७३ १०:१० बिहीबार