१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

समीक्षाको साख

सामान्य पाठकले कुनै एउटा पुस्तक किन्नुपर्दा केलाई आधार बनाउँछ? उत्तर स्पष्ट छ– लगानी गर्न लागेको पुस्तकका बारेमा पत्रपत्रिकामा आएका समीक्षा। तर, के नेपालमा पुस्तकबारे लेखिएका समीक्षा विश्वसनीय हुन सकेका छन्? थुप्रै पत्रपत्रिकामा 'अब्बल' भनी समीक्षा गरिएका कतिपय कृति खरिद गर्दा पाठकले आफू ठगिएको महसुस गर्दै आएका छन् भने चर्चै नभएका पुस्तक किन्दा लगानी भरपूर असुलउपर भएको पाएका छन्। यस्तो अवस्थामा समीक्षाले साख कसरी बचाइराख्न सक्ला? समीक्षकले किन आफ्नो साख गुमाउँदै गएका छन्? किन कुनै समीक्षा 'रचना' बन्न सकिरहेको छैन? यति हुँदाहुँदै पनि अलि नाम चलेको समीक्षकले कुनै कृति झुर भनेर लेखिदियो भने प्रकाशकको लगानी डुब्ने खतरा त बढ्छ नै लेखकलाई पनि असर पर्न जान्छ।

विकिपिडियाका अनुसार समीक्षा 'साहित्यिक आलोचना' हो, जसमा कुनै पनि पुस्तकको मूल्यांकन विषयवस्तु, शैली र स्तरका आधारमा गरिन्छ। पुस्तक समीक्षा कुनै पनि विचारलाई प्राथमिक आधार मानेर, पुस्तकको संक्षेपीकृत रूप दिएर तथा विद्वत्तापूर्ण ढंगमा पनि गर्न सकिन्छ। पुस्तकको मूल्यांकन गर्दा व्यक्तिगत रूचिले पनि यदाकदा प्रभाव पार्न सक्छ। जेसुकै वा जस्तोसुकै ढंगको भए पनि समीक्षाले पुस्तकलाई प्रसिद्ध पार्न मद्दत गर्छ।

दुईखाले समीक्षक

आख्यानकार डा. धु्रवचन्द्र गौतम नेपाली समीक्षामा कृतिगत आधारभन्दा प्रभावगत कुरालाई अघि सारिनाले कम विश्वसनीय भएको बताउँछन्। तटस्थ भाव राख्न नसक्नु, कृतिइतरका कुरा बढी खोज्नुले समीक्षाप्रति पाठकको कम विश्वास भएको उनको भनाइ छ। 'समीक्षा गर्दा कृतिइतर कुरामा बढी ध्यान दिँदा राम्रा पुस्तक ओझेल परेका छन् भने कमजोरले बढी भाउ पाएका छन्,' उनी भन्छन्, 'यसको अर्थ सबै नेपाली समीक्षा विश्वसनीय छैनन् भन्न खोजेको होइन, अधिकांशमा भने त्यो समस्या देख्छु।'

विश्लेषक तथा समीक्षक अच्युत वाग्लेका मतमा नेपालमा राम्रा समीक्षक नै छैनन्। उनको भनाइमा समीक्षा र समालोचना फरकफरक कुरा हुन्, यसका पाठक पनि फरकफरक हुन्छन्। समीक्षा 'रिभ्यु' हो भने समालोचना 'क्रिटिसिज्म'। समालोचना कुनै जर्नल वा बढी महत्वका पत्रिकामा छापिन्छन्। यसमा सैद्धान्तिक बहस हुन्छ, तर्क–प्रतितर्क हुन्छ। अहिले नेपालमा समालोचना होइन, समीक्षा बढी गरिएको देखिन्छ। 'त्यो पनि लेखकसँगको सम्बन्धमा आधारित रहेर गरिँदा विश्वसनीय हुने कुरै भएन,' उनी भन्छन्, 'तुलनात्मक अध्ययनबिनै समीक्षा लेखिँदा त्यो कमजोर हुने नै भयो।' कुनै पनि पुस्तक समीक्षा गर्नु सामान्य काम होइन भन्ने मान्यता राख्ने वाग्ले नेपाली समीक्षकमा अध्ययन गर्ने बानी नभएका कारण विश्वसनीय हुन सकेको छैन। 'समीक्षकमात्र होइन, लेखक नै पनि अध्ययन गर्दैनन्, कसरी तिनका कृति स्तरीय बन्न सक्छ,' उनी प्रश्न गर्छन्, 'अब नेपाली साहित्य कहाँ छ भनेर खोज्नुपर्ने बेलामा समीक्षाको अवस्था कसरी बलियो हुन सक्छ!' अधिकांशः लेखकमा व्याप्त असहिष्णुताका कारण पनि वास्तविक समीक्षा हुन गाह्रो परेको उनको भनाइ छ। आजसम्म सयभन्दा बढी पुस्तक समीक्षा लेखेकोमा एक जना लेखक पनि आफूसँग खुसी नभएको उनको अनुभव छ। 'समीक्षाकै कारण कतिपय नजिकका मित्रसँग पनि बोलचालै बन्द भएको छ,' उनी भन्छन्।

कवि तथा समीक्षक विप्लव ढकाल नेपाली समीक्षाजगत् दुईखाले अतिवादबाट ग्रस्त भएको देख्छन्। दुवै अतिवादले पाठकलाई अन्याय गरिरहेको उनको भनाइ छ। 'कोही अति प्रशंसा गरिरहेका छन् त कोही अति निन्दा। यी दुवैखाले समीक्षक प्रभाववादी हुन्, कृतिको राम्ररी अध्ययन नै नगरी समीक्षा लेख्छन्,' उनी थप्छन्, 'यथार्थ भने त्योभन्दा फरक छ र बीचमा छ।' यही कारण नै नेपालमा समीक्षा पढेर पुस्तक किन्ने पाठकले ठगिएको महसुस गर्ने ढकाल बताउँछन्। 'यस्ता समीक्षकले धर्म निर्वाह गर्न सकेका छैनन् भने समीक्षाका नाममा कतिपयले विज्ञापन लेख्न थालेका छन्,' उनी भछन्, 'यही कारण नै समीक्षाको विश्वास गुम्न पुग्यो।' सतही र छिपछिपे समीक्षकको महामारी चलेकाले केही राम्रा कृतिमाथि अन्याय भएको उनको ठहर छ। सतही समीक्षाले सामान्य पाठकलाई रनभुल्लमा पारे पनि गम्भीर पाठकलाई कुनै असर नगर्ने उनी बताउँछन्।

एक जना नाम चलेका छन्दकवि तथा गीतकारले झण्डै एक दशकअघि एउटा उपन्यास प्रकाशित गरे। खल्तीको पैसा लगानी गरेर हजार प्रति निकालेको उक्त उपन्यास उनले बाँडेर सिध्याए। यसरी बाँड्नका निम्ति पुस्तक निकालेपछि एउटा आशा लेखकमा तीव्ररूपमा जागृत हुन्छ, प्रशस्त समीक्षा लेखियोस्–प्रशंसा छापियोस् भन्ने। त्यसको समीक्षा एउटा ठूलो आकारको दैनिक पत्रिकामा पहिलो पटक छापियो। समीक्षा उपन्यासकारको चाहनाको बिल्कुलै उल्टो थियो। त्यो पढेर उनी आगो भए। केही महिनापछि सोही उपन्यासको अर्को समीक्षा पनि आयो, एउटा चल्तीको मासिक साहित्यिक पत्रिकामा। त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका प्राध्यापकले लेखेका थिए उक्त समीक्षा। ती दुई पत्रिकाका समीक्षा पढ्ने पाठक साँच्चै रनभुल्लमा परेका थिए। बुझ्न गाह्रो थिएन, दैनिक पत्रिकाको समीक्षकलाई जवाफ थियो मासिक पत्रिकाको समीक्षा। प्राध्यापकले त्यही उपन्यासलाई सबै कोणबाट अब्बलको टाँचा लगाइदिएका थिए। अब पाठकले कुनचाहिँ समीक्षाको विश्वास गर्ने? मासिक पत्रिकाको कि दैनिकको? विश्वविद्यालयका प्राध्यापकको कि दैनिक पत्रिकामा लेख्ने समीक्षकको? यो प्रश्नको उत्तर पछिल्लो समय झनै जटिल बन्दै गएको छ। आफूले झुर भनेका कृति बजारमा अधिक रूचाउन थालेपछि आफ्नो धारणा बदल्ने समीक्षक पनि नभएका होइनन्। तिनले समीक्षाको धर्म निर्वाह त गर्न सकेनन् नै साथमा आफ्नो लेखनको विश्वाससमेत गुमाउन पुगेका छन्।

युवा आख्यानकार अमर न्यौपाने नेपालमा तीनखाले समीक्षक रहेको बताउँछन्। अति प्रशंसा, अति आलोचना र सन्तुलित। 'नेपाली साहित्यमा सन्तुलित समीक्षाको कमी छ,' उनी भन्छन्, 'सन्तुलनको अभावका कारण समीक्षा विश्वसनीय हुन नसकेको हो।' किताब हातमा पर्दासाथ एउटा आग्रह राखेर पढ्न थाल्नाले सन्तुलित समीक्षा हुन नसकेको उनको भनाइ छ। आग्रहरहित भएर र गहिरिएर पढ्न सक्दामात्र वास्तविक समीक्षा हुन सक्ने उनको बुझाइ छ।

समीक्षा विश्वसनीय हुन नसक्नुमा विश्वविद्यालयको अध्यापन शैलीको सैद्धान्तिक प्रणालीमै खोट रहेको देख्छन् लेखक तथा बुक हिल पब्लिकेसनका प्रमुख भूपेन्द्र खड्का। विषयवस्तुको गुण–दोषको आधारमा मूल्यांकन गरिनुपर्नेमा अधिक आलोचनाको कोणबाट हेरिनाले समीक्षाले साख गुमाउँदै गएको उनको भनाइ छ। 'एउटा सर्जकको सिर्जनालाई मूल्यांकन गर्ने व्यक्ति कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा नै समीक्षकले बिर्सिए,' उनी भन्छन्, 'आलोचना र समालोचनाको भेद पनि यिनले पत्तो पाएनन्।' नेपालमा राम्रा समीक्षकको अभाव रहेको र अधिकांश औसत कोटीका रहेको उनको धारणा छ।

नेपाली समीक्षालाई 'रचना' को रूप दिने प्रयत्न गरेका थिए समालोचक रामकृष्ण शर्माले। नेपाली साहित्यमाथि 'खरो समीक्षा' लेख्न हिम्मत गर्ने पहिलो व्यक्ति पनि सम्भवतः उनै हुन्। उनको २००१ सालमा प्रकाशित बहुचर्चित समालोचनात्मक कृति 'टाक्सिएको नेपाली कविता' लाई नेपाली काव्यसमीक्षाको मानक कृति मानिन्छ। १९७४ सलामा प्रकाशित 'सूक्तिसिन्धु' काव्यसंकलनका विषयलाई लिएर अर्का विद्वान् तथा समालोचक यदुनाथ खनालसँग शर्माको विवादले चुली छोएको थियो। सूक्तिसिन्धुबारे ती दुई समीक्षकको धारणा बिलकुल विपरीत धु्रवमा थिए। खनाल उक्त संकलनलाई अब्बल ठहर्‍याइरहेका थिए भने शर्मा त्यसलाई नेपाली कविताको क्षय मानिरहेका थिए। त्यो बहसमा सैद्धान्तिकता र सामाजिकतानिहित थियो, व्यक्तिप्रति आग्रह–पूर्वाग्रह होइन। सोही समयदेखि नेपाली साहित्यमा 'क्रिटिकल रिभ्यु' को बाटो खुलेको मान्न सकिन्छ। निर्भिक समीक्षक शर्मा धेरै विवादमा परे। त्यसैले उनले कतै भनेका छन्, 'मैले समीक्षा लेखनमा प्रवेशमात्र के गरेथेँ, बारुलाको गोलो ममाथि खनियो।' समीक्षाबारे शर्माको समयमा बनेको मनोविज्ञानमा अहिले पनि कुनै परिवर्तन आएको छैन। यतिबेला शर्मालाई चिल्ने बारुलाको गोलो झनै घनीभूत हुँदै गएको छ।

समीक्षा किन रचना बन्न सकेन?

पछिल्लो समय पत्रपत्रिकामा आउने समीक्षा कहिले विज्ञापन बन्ने त कहिले पुस्तक परिचय बन्ने गरेको लेखक–प्रकाशकहरूको आरोप छ। समीक्षा एउटा बेग्लै 'रचना' बन्न नसकेको अधिकांशको गुनासो छ। समीक्षामा रचनात्मकता, सिर्जनशीलता, दृष्टिकोण कमजोर हुँदा त्यो रचना बन्न नसक्ने धारणा राख्छन् डा. गौतम। 'समीक्षा पनि एउटा छुट्टै रचना हो, गम्भीर विधा हो,' उनी भन्छन्, 'तर, मान्छे हेरेर, प्रभावमा परेर, कसैलाई खुसी पार्नका लागि समीक्षा लेख्दा त्यो रचना बन्न सक्दैन।' खराब विचार र पक्षपाती मानसिकता राखेर लेखिएका समीक्षा रचना बन्न नसक्ने डा. गौतमको बुझाइ छ। डा. गौतमको विचारसँग असहमति राख्छन् वाग्ले। भन्छन्, 'जब पुस्तक नै स्तरीय लेख्न सकिएको छैन भने समीक्षामात्र स्तरीय खोजेर कहाँ हुन्छ?' विश्वसाहित्यजगत्मा नेपाली साहित्य कहाँ उभिएको छ भनेर खोज्ने र बहस चलाउन ढिला गर्न नहुने उनी बताउँछन्। 'समीक्षामा तीनवटा अवयव हुन्छन्– रस, सार र रङ। यी तीनै वटा तत्वबारे ज्ञान नभएका समीक्षकले समीक्षा लेख्दा न त ती रचना बन्न सक्छन् न त विश्वसनीय नै,' वाग्ले भन्छन्। समीक्षा नै मेरो लेखनीको एकमात्र आधार हो भनेर लेखनमा मेहनत गर्ने व्यक्ति नहुनाले पनि समीक्षा स्तरीय बन्न नसकेको उनको बुझाइ छ। 

समीक्षा लेख्नेहरूमा सिर्जनात्मक उचाई प्राप्त गर्ने विश्वास नै नभएको धारणा राख्छन् कवि ढकाल। 'समीक्षा लेखाइ नै सतही र छिपछिपे भएपछि त्यो कसरी रचना बन्न सक्छ,' उनी प्रश्न गर्छन्। न्यौपाने भने साहित्यिक समीक्षा गर्ने हाम्रो आफ्नै मौलिक सिद्धान्त नभएकाले पनि यो रचना बन्न नसकेको बताउँछन्। 'नेपाली परिवेशमा लेखिएका कृतिलाई पश्चिमी सिद्धान्तको साँचोमा ढाल्दा समस्या आयो,' उनी भन्छन्, 'त्यसैले समीक्षा पुस्तक समीक्षाजस्तो भयो, आग्रह–पूर्वाग्रहले पनि बेग्लै रचना बन्न सकेन।' उनको भनाइमा राम्रा समीक्षक हुन ती पूर्णतः व्यावसायिक हुनुपर्छ। 'केही प्रतिभाशाली समीक्षक छन्, तर ती सकेसम्म समीक्षा नै गर्दैनन,' उनी भन्छन्, 'त्यसकारण पनि समीक्षा एउटा छुट्टै र प्रभावकारी विधा हुँदाहुँदै पनि पछाडि परेको छ।'

सतही र छिपछिपे समीक्षकको बाहुल्य भएका कारण राम्रा समीक्षक ओझेल परेको ढकालको भनाइ छ। 'सतही समीक्षकको बाढी देखेर गम्भीर समीक्षक वाक्क भएका छन्,' उनी भन्छन्, 'गम्भीर समीक्षक जन्माउने र तिनलाई प्रोत्साहन गर्ने जिम्मा सञ्चारमाध्यमको हो।' गम्भीर समीक्षक नजन्मनुमा लेखकको पनि दोष रहेको ढकाल बताउँछन्। 'अलिकति क्रिटिकल बन्यो कि रिसाउने, आक्रमण नै गर्नेसम्मको अवस्था आएपछि कसरी समीक्षा लेख्ने? कतिपय स्थापित लेखकमै पनि आफ्नो सामान्य विरोध सुन्न नसक्ने रोग बढेको छ,' ढकाल आक्रोश पोख्छन्। खड्का भने समीक्षकको गुट–उपगुट बनेको र सिन्डिकेट हावी भएकाले राम्रा समीक्षा आउन नसकेको बताउँछन्। '२–४ जना राम्रो लेख्न सक्ने छन्, तिनलाई पनि पुरातनवादले गाँजेको छ,' उनी भन्छन्, 'अनावश्यकखालका विभिन्न वाद र सिद्धान्तले पनि समीक्षकलाई थला पारेको छ।' नेपालमा राम्रा समीक्षक हुँदै नभएको मान्न नसकिने तर्क छ डा. गौतमको। भारत वा अन्य मुलुकसँग तुलना गरेर हेर्दा नेपालमा राम्रा समीक्षक कम छन् भन्न नमिल्ने उनी बताउँछन्। 'राम्रा उपन्यास, कविता वा कथा लेख्ने पनि त कमै छन् नि,' उनी भन्छन्, 'त्यसैगरी राम्रा समीक्षक पनि कम छन्, हुँदै नभएको त होइन।'

केही वर्षयता पुस्तकले पनि 'कमोडिटी' को रूप धारण गरेको छ। खुलाबजारमा धेरैखालका कमोडिटी आउने नै भए। बजारमा कमोडिटीलाई स्तरीय पार्ने जिम्मा लेखकको भएको प्रकाशक खड्का बताउँछन्। 'लेखकले राम्रो लेख्न सक्नुपर्छ, त्यसपछिको जिम्मेवारी प्रकाशकको हो,' उनी भन्छन्, 'पाठक बढेका छन्, राम्रा कृति छाप्न हरेक प्रकाशक लालायित छ।' पछिल्लो समय पुस्तक प्रकाशक (उत्पादक)आफ्नो उत्पादनको बजार प्रवर्द्धन गरिदिने सिपालु तथा सञ्चारमाध्यममा बलियो पहुँच भएको समीक्षक खोज्न थालेका छन्। यसले पनि समीक्षा कहिलेकाहीँ विज्ञापन भएको कतिपय लेखकको आरोप छ। समीक्षा लेख्नुअघि खाममा पारिश्रमिक राखेर दिनु या समीक्षा लेख्ने अघिल्लो साँझ जलपानको आयोजना गरिनुले पनि सन्तुलित समीक्षा आउन नसकेको देखिन्छ। अग्रिम खामबन्दी पाउने समीक्षकले पुस्तकको कमीकमजोरी उदांगो पार्न कसरी सक्लान्? यस्तो अवस्थामा पुस्तक पढ्ने आदत बनाएका पाठकले 'क्लासिकल' तिरै फर्किएर साहित्यिक भोकलाई तृप्ति दिन बाध्य भएको पाइन्छ। यही कारण अहिले पनि नेपाली साहित्यमा 'अल टाइम फेवोरिट' बन्न सफल छन् महाकवि देवकोटा, पारिजात, भूपि शेरचन, गोपालप्रसाद रिमाल, विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली।

कतिपयसमीक्षकले भुल्नु के हुँदैन भने, बजारमा दैनिक दर्जनौँ पुस्तक निस्कन्छन्। कुनै पनि पाठकले बजारमा पाइने सबै पुस्तक किनेर पढ्न सम्भव छैन। उसले छनौटको सुविधा पर्याप्त उपयोग गर्न पाउनु पर्छ। खुल्लाबजार अर्थतन्त्रको सुन्दरता भनेको पनि यही नै हो। उदार अर्थतन्त्र अंगिकार गरिएको मुलुकमा पाठक अथवा उपभोक्ता दुविधामा पर्ने सम्भावना अधिक रहन्छ, विभिन्न कारणले उनीहरू झुक्किइरहेका हुन्छन्। त्यसकारण पाठकको दुविधा हटाउन पनि पुस्तक छनौटको मूल आधार समीक्षा बन्न सक्नुपर्छ।

समीक्षा पनि एउटा प्रवर्द्धनात्मक कार्य नै हो, त्यसले वस्तुको गुणदोष केलाउने गर्छ। कुनै पनि चाउचाउ वा चक्लेट अथवा अर्थोक नै पनि, त्यसको विज्ञापन सिर्जनात्मक वा आकर्षक छैन भने र उपयोगबाट उपभोक्ताले पाउने फाइदा वा आनन्दबारे सरल तथा मनमोहक ढंगले बयान गरिएको छैन भने उपभोक्ताको ध्यानाकर्षण हुँदैन। र, त्यस्तो वस्तुमा लगानी डुब्ने निश्चित हुन्छ। जसरी विज्ञापन र उत्पादनबीच तादात्म्य आवश्यक छ, उसैगरी समीक्षा र पुस्तकबीच तादात्म्य हुनैपर्छ। अहिले त्यसकै अभाव देखिन थालेको छ। समीक्षा व्यक्तिलाई खुसी पार्न वा दुःखी बनाउन लेखिने विधा नै होइन। यो त पुस्तकको शल्यक्रिया हो। शल्यक्रिया खुकुरी वा चुलेसीले होइन, विज्ञानले प्रमाणित गरेका औजारबाट हुनुपर्छ। समीक्षामा लेखकको आनीबानी वा स्वभाव लेखिँदैन। पुस्तकमा उभ्याइएका पात्रका कार्यव्यापार, मनोविज्ञान, चरित्रको विकास आदिको चिरफार गरिन्छ।

यति हुँदाहुँदै पनि हाम्रैबीच नगन्य समीक्षक यस्ता छन्, जो पुस्तकलेखकको अनुहार हेर्दैनन्, सम्बन्ध सम्झँदैनन्, खामबन्दी र जलपान स्वीकार्दैनन्। तिनले पुस्तकको खोल पनि हेर्दैनन्, गुदीमात्र हेर्छन्। तिनलाई 'घनाबादलमा चाँदीको घेरा' का रूपमा लिन सकिन्छ। यतिखेर ती अपवादजस्तै छन्। तिनले आफू घेराबन्दीमा परेको महसुस गर्दै आएका छन्। सुरुमा नलेख्न अनुरोध गर्ने, मानेन भने विस्तारै धम्की दिने काम यदाकदा हुन थालेको तिनको गुनासो छ। यसो गर्दा सतही वा विज्ञापनजस्ता समीक्षाको बजार ह्वात्तै बढ्छ। यसले समीक्षा पढेर पुस्तक किन्ने चलन घटाउँछ। समीक्षाप्रति पाठकको विश्वास गुम्दै जान्छ। साहित्य र साहित्यकार भएको समाजमा पाठक पनि हुन्छ, समीक्षक पनि हुन्छ। समीक्षकको काम शिक्षा दिनु होइन। तथापि, समीक्षा गरिएको पुस्तकप्रति पाठकको उत्सुकता जगाउन उसले प्रयत्न गर्नैपर्छ।

लेखकहरूका अनुसार समीक्षाका अघिल्तिर यतिविधि चुनौती खडा हुनुको प्रमुख कारण समीक्षा स्वयंमा एउटा 'रचना' बन्न नसक्नु पनि हो। रचना बन्नका लागि सर्वप्रथम समीक्षक स्वतन्त्र आकाशमा उड्न सक्नुपर्छ। डरत्रास, धम्की, आशा, लोभजस्ता सन्दर्भबाट टाढै बस्न सक्नुपर्ने उनीहरूको मत छ।

• समीक्षा पनि एउटा छुट्टै रचना हो, गम्भीर विधा हो। यसमा रचनात्मकता, सिर्जनशीलता र दृष्टिकोण कमजोर हुँदा रचना बन्न सक्दैन। डा. धु्रवचन्द्र गौतम 

• समीक्षा नै मेरो लेखनीको एकमात्र आधार हो भनेर तुलनात्मक अध्ययनसहित लेखनमा मेहनत गर्ने व्यक्ति नै नहुनाले समीक्षा विश्वसनीय बन्न सकेको छैन। अच्युत वाग्ले

• अति प्रशंसा र अति निन्दाले ग्रस्त छ नेपाली समीक्षा। यही कारण नै नेपालमा समीक्षा पढेर पुस्तक किन्ने पाठकले ठगिएको महसुस गर्छन्। विप्लव ढकाल

• सन्तुलित समीक्षाको कमी छ, यही कारण विश्वसनीय हुन नसकेको हो। किताब हातमा पर्दासाथ आग्रह राखेर पढ्न थाल्नाले सन्तुलन गुमेको हो। अमर न्यौपाने

• समीक्षाको आधार पुस्तकमा उठाइएको विषयवस्तुको गुण–दोषलाई बनाइएन। एउटा सिर्जनालाई मूल्यांकन गर्ने लेखक अति जिम्मेवार हुनुपर्छ भन्ने कुरा नै समीक्षकले बिर्सिए। भूपेन्द्र खड्का

प्रकाशित: २९ श्रावण २०७३ ०५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App