स्वामी आनन्द अर्हत
असार २९ गते कैलाश मानसरोवरको यात्राको फेरि एकपटक जोग मिल्यो। महाभूकम्पपछि तातोपानीको नाका बन्द भएका कारण या त सिमीकोट–ताक्लाकोट या त हवाईयात्राद्वारा ल्हासा हु“दै यो यात्रा गर्नुपर्ने हुन्छ। हामी चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा उड्यौं र सिगात्से, सागा, मानसरोवर, दार्चोन हुँदै कैलाशको परिक्रमा गर्दै पुनः त्यही बाटो फर्किएर यात्रा पूरा गर्यौं। सन् २०१२ को अगस्टमा रसियाको ट्युमेन सहरका ओशो संन्यासी मित्रहरुले कैलाश मानसरोवरको यात्रामा जाउँ भन्ने आग्रह अनुरुप म पहिलो चोटि तिब्बत पुगेको हुँ। प्रत्येक वर्ष मैले यो यात्रा गर्ने गरेको छु।
तिब्बत क्षेत्रफलको दृष्टिले नेपालभन्दा आठ गुणा ठूलो छ। यसलाई संसारको छाना पनि भनिन्छ। आफ्नै देवीदेउता, रिम्पोचे, पुनर्जन्म, लामाहरुको कथा, पूजा र कर्मकाण्डको रहस्यमा डुबेको यो पठारमा बाहिरी मानिसहरुलाई प्रवेश निषेध थियो। तर विगत शताब्दीमा लुकेर ल्हासा पुगेका अष्ट्रियन यात्री हेनरिख हेररको यात्रा वृत्तान्त 'सेभेन इयर्स् इन तिब्बत' र अलेक्जान्ड्रा डेभिड नीलको 'मेरो ल्हासा यात्रा'ले पश्चिमी जगतलाई तिब्बतको रहस्यबारे चाख जगायो।
पवित्र ताल र पर्वतहरुले धनी तिब्बतमा कैलाश पर्वतको आफ्नै महत्व छ। हिन्दु, बौद्ध, जैन र बोन यी चार धर्महरुको आराध्य स्थान हो, कैलाश। विशाल पिरामिड आकारको यो पर्वतको उचाई ६७१४ मिटर छ। हिन्दुहरुका लागि कैलाश महादेव शिवको पूर्णतः ध्यानस्थ रहने वासस्थान हो। तिब्बती बौद्धहरु कैलाशलाई 'काङ रिम्पोचे' (हिमले ढाकिएको अनमोल गहना) भनेर पुकार्छन्। जैन धर्मका पहिला तीर्थंकरले तपस्या गरेको स्थान अष्टपद पनि यहीं छ।
बोन धर्ममा कैलाश पर्वतलाई सबै शक्तिहरुको स्रोतको रुपमा मानिन्छ। आराधनाका क्रममा बोनहरुले भने यो पर्वतलाई देव्रेतिर पारी घडीको सुईको उल्टो दिशाबाट परिक्रमा गर्छन् भने अरु सबैले दाहिने पारेर परिक्रमा गर्छन्। कैलाश पर्वतलाई विश्व शक्तिको नाभिकेन्द्र या मणिपूर चक्र पनि मानिन्छ। ओशोका अनुसार कैलाश निर्जन देखिए पनि त्यहा“ पाँच सय सम्बोधि प्राप्त गरेका चेतनाहरुको हमेशा सुक्ष्म बास रहन्छ, त्यसैले यो एक आध्यात्मिक उर्जाले ओतप्रोत अनुपम बुद्धक्षेत्र हो।
सबै धर्ममा कैलाश मानसरोवरसँग सम्बन्धित अनगिन्ती कथा, किम्वदन्तीहरु छन्। महाभारतको युद्धका क्रममा पाशुपत्य अस्त्र प्राप्तिका लागि भगवान श्रीकृष्ण र अर्जुन कैलाश पर्वतसम्म पुगेर महादेवको दर्शन गरेको उल्लेख छ भने जगतका सर्जक ब्रह्माले आफ्ना प्रिय पुत्रहरुलाई शान्ति र तपस्याका लागि आफ्नो मानसिक उर्जाले मानसरोवर ताल बनाइदिएको उल्लेख पाइन्छ। मिठो पानी भएको मानसरोवर तालको नजिकै नुनिलो पानी भएको अर्को ताल छ जसको नाम हो राक्षस ताल।
शिवजीलाई तपस्याले खुसी पारी वरदानको रुपमा शिवलिंग लिएर दक्षिण झर्दै गरेका लंकाका बलवान राजा रावणलाई अति लघुशंका भएछ। शिवलिंगको उपासनाबाट स्वर्गसम्म भर्याङ बनाउने शक्ति प्राप्त गर्ने रावणको सोचबाट तर्सिएका देवताहरुमध्ये वरुणले रावणको शरीर भित्र छिरी पिसाब जम्मा गराइदिएछन्।
शिवलिंगलाई अन्त कतै जमिनमा नराखी सिधै लंका पुर्याउनु भन्ने महादेवको आज्ञा भए पनि लघुशंकामा प्रवृत्त रावणले शिवलिंग जमिनमा राखेकाले शिवजीको आशिर्वादबाट बञ्चित भएछन्। तिब्बतीहरु राक्षसतालको नजिक पनि जाँदैनन्, हिन्दूहरु पनि त्यो ताललाई अपवित्र मान्छन्।
मानसरोवर तालको पानी तालको केन्द्रबाट बाहिर किनारातिर बग्छ भने राक्षस तालको पानी किनाराबाट भुमरीजस्तो भई केन्द्रतिर। राक्षसतालमा अति बढी हावा हुन्डरी चल्छ। यसकारण पनि मानिसहरु नजिक जान डराएका होलान्। तिब्बतीहरु ताल पाखा पर्वतलाई ध्वजा पताका जोडेर पुज्छन्। बोन धर्म मान्नेहरु प्रकृतिमा सबैतिर वायु हुन्छ भनी पुज्छन्। तिब्बतीहरु ताल, पोखरी, नदीमा नुहाउँदैनन् भने हिन्दुहरु पवित्र मानिएका यस्ता जलकुण्डहरुमा डुबुल्की लगाउन हिच्किचाउँदैनन्।
बाह्रौ शताब्दीमा आइपुग्दा गंगा मैदानमा अफ्गान आक्रमणकारीहरुका कारण आफै उद्गम भएको बुद्धधर्म भारतबाट करिब हराइसकेको थियो। तर बुद्ध धर्म मध्यएसियाको मार्ग भएर पहिलो शताब्दीमै चीन पुगिसकेको थियो। चीन भएर पछि यो कोरिया र जापान पुग्यो। पा“चौ शताब्दीदेखि बाह्रौं शताब्दीसम्म काठमाडौं र पाटनमा स्थापना भएका बुद्ध विहारहरु भारतमा रहेका ठूलाठूला बुद्ध केन्द्रहरुको सम्पर्कमा विकास भए। नालन्दा, बोधगया, विक्रमशीलाका भिक्षु विश्वविद्यालयहरुले एसियामा बुद्ध धर्मलाई फैलाउन ठूलो भूमिका खेले भने चिनियाँ यात्रीको भारत भ्रमणले पनि यो प्रयासलाई टेवा दियो।
बुद्धधर्मको बिउ
बुद्ध धर्म तिब्बतमा फैलाउने तीन धर्म राजाहरु थिए। पहिलो चोटि बुद्ध धर्मलाई तिब्बतमा फैलाउने तिब्बतका राजा सोन्गत्सेन गाम्पो हुन्। नेपालका अंशुवर्माले मित्रता स्वरुप आफ्नी छोरी भृकुटीदेवीलाई एक बुद्ध मूर्तिसहित गाम्पोसं“ग विवाह गरी तिब्बत पठाएका थिए। एक राक्षसनीको शरीरमा तिब्बत फैलिएको हुनाले जबसम्म त्यो राक्षसनीको शक्ति क्षय हँुदैन, बुद्ध धर्म फैलिँदैन भन्ने स्वप्न आज्ञा भएअनुरुप उनले घुँडा, कुइना, कम्मर र काँध परेका तिब्बतका विभिन्न ठाउ“मा मन्दिर बनाई ल्हासाको केन्द्रमा बुद्धको मूर्ति स्थापना गरी जोखाङ मन्दिर स्थापना गरे। त्यो मन्दिर तिब्बतीहरुको सबैभन्दा महत्वपूर्ण श्रद्धाकेन्द्र हो। सयौं तिब्बतीहरु त्यहा“ आएर पूरै जिउ लम्पसार पर्दै उठ्दै 'ओम मानेपेम्बे हुँ' मन्त्र उच्चार गरी भक्ति र तपस् भावले साष्टांग दण्डवत गरेको दृश्य मार्मिक लाग्छ।
आठौं शताब्दीको अन्तमा शायद शाही निमन्त्रणमा तिब्बत पुगेका सिद्धयोगी पद्मसम्भवले योगबल, शक्ति, जादु, कर्मकाण्डजस्ता धर्मका बाहिरीभित्री सबै तत्व, आवरणहरुको प्रयोग गरेर तिब्बतीहरुलाई प्रभावमा पारे र बुद्ध धर्मको नया“ संस्करण तिब्बतमा उदायो। भनिन्छ, उनले तिब्बतीले मानिआएका देवी, देउता, भूतप्रेतलाई आफ्नो शक्तिले वशमा पारे।
त्यसको ठाउ“मा बुद्ध धर्मलाई प्रतिस्थापित गरे। राज्यद्वारा समर्थित बुद्ध धर्म र त्यो बेला स्थानीय रुपमा मौलाएको बोन धर्म सुरुमा एकअर्काका विरोधी भए पनि केही शताब्दीपछि यी दुई धर्मले समान गुणधर्मका देवता, दर्शन र कर्मकाण्डको समन्वयकारी विकास गर्दै लगे। तर सुरुको यो विशेष परिस्थितिलाई सफलतापूर्वक छिचोली बुद्ध धर्मलाई स्थापना गर्ने अपरिमेय तान्त्रिक शक्तियन्ता पद्मसम्भवलाई तिब्बतीहरु गुरु रिम्पोचे भनी श्रद्धाले पुकार्छन्। तर पद्मसम्भवभन्दा अघि बोधिसत्व शान्तिरक्षित तिब्बत पुगी साम्ये गुम्बाको निर्माणमा प्रेरक भइसकेका थिए र त्यहा“को गुम्बामा भिक्षुहरुको शैक्षिक कार्यक्रम तयार गरिसकेका थिए।
ज्ञान प्राप्ति – एक्कासी (युगपत) कि बिस्तारै (क्रमैले)
त्यही साम्ये गुम्बामा इस्वी ७९२ तिर तिब्बतको बुद्ध धर्मले कुन दिशा लिने भन्ने विवाद भयो। त्यसलाई 'साम्येको महान विवाद' को नामले चिनिन्छ। उत्तर चीनबाट आएका ध्यान गुरु मोहयानले 'ज्ञान एक्कासी प्राप्त हुन्छ, यो न कुनै कर्मकाण्ड, दान, पुण्य, कार्यकारणमाथि निर्भर छैन, अर्को जन्म कुर्नै पर्दैन' भन्ने पक्षमा आफ्नो राय राखे भने 'ज्ञान विस्तारै प्राप्त हुन्छ, अज्ञानको बादल हामी भित्र यति बाक्लो छ कि यसलाई शंृखलाबद्ध साधना, करुणा, पूण्य र संयमले हटाई सम्बोधि प्राप्त गर्न सकिन्छ भन्ने क्रमवादको तर्क शान्तिरक्षितका शिष्य भारतबाट गएका कमलशीलले राखे।
ओशोको विचारमा यी दुबै मार्ग एक अर्का पुरक हुन्। सम्बोधि त एक्कासि घटित हुन्छ तर सम्बोधिको सोपानमा संवेदनशील भई प्रवेश गरेर आफूभित्र होस जगाउन श्रम, प्रज्ञा र धैर्य पनि त्यतिकै जरुरी छ। राजाले क्रमवादको सिद्धान्तलाई समर्थन गरी भारतिय प्रतिनिधिको पक्षमा निर्णय दिएकाले तिब्बतमा नागार्जुनको महायानको प्रभाव बढी पर्यो ।
त्यसपछि सन् १०४२ मा बंगालबाट अर्का प्रसिद्ध गुरु अतिसाले व्यवस्थित ध्यान विधिको स्कुल तिब्बतमा स्थापना गरे। इस्लामको बढदो आक्रमणबाट भारतबाट बुद्ध धर्म बिलाउनुभन्दा केही अघिसम्म भारतको केन्द्रिय र उत्तर पश्चिम भागमा फैलिएको महायान बुद्ध धर्मको मार्र्गलाई तिब्बतीले समातिसकेका थिए।
तिब्बती बुद्धधर्म विस्तारै चार परम्परामा विकसित भए।
• निङ्मा आठौं शताब्दीमा स्थापित सबैभन्दा पुरानो स्कुल हो।
• काग्यु अर्थात 'शिष्य परम्परा' स्कुलका प्रवर्तक मार्पा हुन्। मार्पाका एक बेजोड शिष्य भए – मिलारेपा। यही स्कुलमा तिलोपा, नरोपा जस्ता सिद्धहस्त गुरुहरु भए। पूर्व जन्ममा कुनै साधना नगरेका र कुनै पूण्य संचित नभएका मिलारेपाले यसै जन्ममा साधना, तप र शुद्धीले एकै जन्ममा निर्वाण प्राप्त गरेकोले तिब्बतमा मिलारेपाको विशेष स्थान छ। आफ्नो बाबुको मृत्यपछि सबै सम्पति हडप्ने काकाले आफुलाई केही नदिएपछि उनलाई बदला लिन उनले तन्त्रमन्त्र सिके। आफ्नो शक्तिले डा“डा नै झारेर काका सहित दशौं व्यक्तिहरुलाई मारेपछि उनमा ठूलो पश्चात् भयो र ठूलो प्रयास र कठिन श्रमले उनले मार्पालाई गुरुको रुपमा पाए र पूर्ण बोधिचित्त प्राप्त गरे। उनी अनुपम थिए। गाएर आफ्ना अनुभूति अभिव्यक्त गर्थे। उनका गीतहरु तिब्बतीहरुका जनजिब्रोमा झुन्डिएका छन्। साधनास्थ हु“दा उनी एक विशेष घास खाने भएकाले उनको शरीर हरियो भएका थियो रे।
• साक्या परम्परा ११ औं शताब्दीको मध्यमा सिगात्सेको नजिकै स्थापना भएको स्कुल हो।
• गेलुक 'पवित्र मार्ग' स्कुललाई पहेलो टोपी स्कुल पनि भनिन्छ। यो १४ औ शताब्दीमा विद्वान च्जोखापाले स्थापना गरेको हुन्। तिब्बतको मध्य भागमा रहेको गान्देन गुम्बा यसको मुख्यालय रह्यो। दलाई लामाले यसको नेतृत्व गर्छन्।
यी मुख्य स्कुलका धेरै उपस्कुलहरु र तिन आ–आफ्नै साधना विधि भएकाले तिनलाई बु‰नको गहिरो अध्ययन र साधना जरुरी हुन्छ। तिब्बती बुद्धधर्ममा चाख जगाउन र सामान्य जानकारी दिने ध्येय मात्र यो लेखको हो।
तिब्बतीको सबैभन्दा महत्वपूर्ण खोज बार्दो हो। मरेको व्यक्तिको चेतनालाई मृत्यु र पुनर्जन्मबीचको विशेष मध्य अवस्थामा अघि बढ्न बाटो देखाउने यो रहस्यमय कलाको आफ्नै महत्व छ। यसका रचयिता पद्मसम्भव हुन्। मध्य तिब्बतको गाम्पो पहाडमा यिनले 'लुकाएको निधि' मानिएको यो पुस्तक कर्म लिंग्पाले भेटाएका थिए। पछि यो मृत्युपर्यन्त चेतनालाई नया“ ज्योर्तिमय लोकमा उकाल्ने मृत्यु विज्ञानको रुपमा विश्व प्रसिद्ध भयो। अहंकारजन्य संस्कारद्वारा ग्रस्त भई सत्यबाट टाढिएको मानिसलाई उसको मनले गर्ने गर्ने भ्रमपूर्ण प्रक्षेपणहरुलाई चिन्न र त्यसलाई सत्यको आलोकमा विलाउन दिने शिक्षा हो वार्दो।
तीन जनावरः कुखुरा, सर्प र सुंगुर
तिब्बती गुम्बाहरुको भ्रमणको बेलामा मैले ग्यान्त्से शहरको गुम्बाको मुलद्वारको दायाँपट्टि एक जीवनचक्र नामक एक विशाल चित्र देखें। त्यसको केन्द्रमा तीनवटा जनावरहरु चित्रित छन्ः कुखुरा, सर्प र सुंगुर। कुखुराले इच्छा, सर्पले क्रोध र सुंगुरले अज्ञानको संकेत गर्दा रहेछन्। यी तीन किसिमका भावनाबाट सारा जीवनको वृत्त सुरु हुन्छ। इच्छाले सुःखको आशा तर दुःखको अनुभव दिन्छन्। स्थिरचित्त हुन दिँदैन। क्रोधले वासना सिद्ध गर्न जसलाई पनि (आफूलाई पनि) सिध्याउन हाम्रो मनलाई नकारात्मक उर्जाको स्रोत बनाउछ। विवेक हराउ“छ। अज्ञानले भ्रमपूर्ण अधोगामी मनोस्थितिको सिर्जना गर्छ। चेतना जागृत हुन दिँदैन। जब हाम्रो चेतना यी तीन विषबाट मुक्त हुन्छ, सुख र शान्तिले छायाँजस्तै हाम्रो साथ कहिल्यै छोडदैनन्। हामी शून्यताको आलोकमा पूर्ण हुनेछौं, निर्वाण पद प्राप्त गर्नेछौं।
प्रकाशित: १५ श्रावण २०७३ ०५:२० शनिबार