१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

अविश्वास प्रस्ताव दर्ता, २८० को हस्ताक्षर

संसदमा अविश्वास प्रस्ताव दर्ता गराउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा नेता कृष्णबहादुर महरा। तस्विरः दीपेश श्रेष्ठ

काठमाडौं—नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेपका संयुक्तका सांसदहरुले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

अविश्वास प्रस्ताव लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता कृष्णबहादुर महरा नयाँ वानेश्वरस्थित संसद पुगेका थिए। त्यहाँ उनीहरुले संसदका महासचिव समक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए।

अविश्वास प्रस्तावको प्रस्तावकमा माअाेवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्। समर्थकमा कांग्रेस सभापित शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन्।

अविश्वास प्रस्तावमा कूल २८० जना सांसदले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेस, माओवादी तथा नेकपा संयुक्तका सांसदहरु छन्। अविश्वास प्रस्ताव दर्ता गरिसकेपछि पनि सांसदहरुको हस्ताक्षर गर्ने काम चलिरहेको छ।

संसदमा अविश्वास प्रस्ताव दर्ता गर्न कम्तिमा १५१ जना सांसदको हस्ताक्षर आवश्यक पर्छ।

माओवादीले ९ महिनाअघि ओली नेतृत्वको सरकारमा सहभागी हुन राजी हुँदा अहिलेको सरकार गठन भएको थियो। उसले कांग्रेससँग नयाँ सरकार गठनका लागि सम्झौता गरेसँगै ओली सरकार धरापमा परेको थियो।

बिहीबार संसदमा दर्ता भएको अविश्वास प्रस्तावसँगै यो सरकार विगठनको कानुनी प्रक्रिया सुरु भएको छ। यसअघि आज बिहान बसेका कांग्रेस र माओवादीका बैठकहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन ३ बजेसम्मको अल्टिमेटम दिएको थियो।

सो समयमा ओलीको राजीनामा नआएपछि कांग्रेस, माओवादी र नेकपा संयुक्तका सांसदहरुले हस्ताक्षर गरेर सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
 

प्रकाशित: २९ असार २०७३ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App