१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कराते टोली थाइल्यान्ड जाने

काठमाडौं- थाइल्यान्डमा हुने ओपन कराते च्याम्पियसिप खेल्न नेपाली टोली सोमबार बैंकक जादैछ। मंगलबार देखी सुरु हुने प्रतियोगितामा १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिता साउन १ गतेसम्म चल्नेछ।

थाइल्यान्ड जाने टोलीका अनु अधिकारी, मल्लिका थापा, सोनाम लामा, विजय लामा, मुकुन्द महर्जन, मन्डेकाजी श्रेष्ठ र रविन्द्र मानन्धर राष्ट्रिय कराते टोलीका खेलाडी हुन्।

प्रतियोगितामा नेपालले गत वर्ष देखी भाग लिन लागेको हो। पहिलो पल्ट नेपालको तर्फबाट मन्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जनले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेका थिएनन। नेपाली टोलीका प्रशिक्षक दिपक श्रेष्ठले बैंककमा हुने प्रतियोगिता अनुभव बटुल्न उत्कृष्ट अवसर हुने बताए।

प्रतियोगितामा पदक भन्दा पनि अन्तराष्ट्रिय अनुभव बटुल्ने उद्देश्यले भाग लिने लागेको श्रेष्ठले बताए।

उनले भने, 'बैंककमा हुने ओपन करातेमा विश्वका उत्कृष्ट खेलाडीले भाग लिने गर्छन। हामीले पदक जित्न सहज छैन। तर हामीले यसबाट अनुभव बढाउँदै भविष्यमा अन्य क्षेत्रीय प्रतियोगिता जित्ने प्रयास गर्नु पर्छ।'

प्रशिक्षक श्रेष्ठले थाइल्यान्डको प्रतियोगिता नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीलाई सहयोगी हुने बताए। उनले भने, 'विगतमा नेपालमा भएको प्रतियोगितामा हामीले राम्रो नतिजा निकालेका छौं। अव नेपालले साग गर्ने तयारी गरेको छ। फेरी विगतको जस्तै पदक जित्न हामीले तयारीमा विशेष ध्यान दिनु पर्छ।'

सोमबार जान लागेको नेपाली टोलीबाट अनु र सोनामले ५० केजी, मल्लिका, विजय, सोनाम र रोहितले ५५ केजी, राम तामाङ र लक्ष्मण तामाङले ६० केजी, मुकुन्दले ६७ केजी तथा रविले ८४ केजीमाथीको तौल समुहमा प्रतिस्पर्धा गर्नेछन। यसैगरी कालीबहादुर घर्तीमगरले ७५ केजी, मन्डेकाजी र रविन्द्रले एकल कातामा प्रतिस्पर्धा गर्नेछन।

दक्षिण एसियाली राष्ट्रहरुले प्रतिस्पर्धा गर्ने साग खेलकुदमा नेपालले पदक जित्ने प्रमुख खेलको रुपमा करातेलाई लिइन्छ। तर ५ महिना अघि भारतमा भएको १२ औं साग खेलकुदमा कराते समावेश गरिएको थियो । नेपालमा आयोजना गर्ने १३ सागमा करातेले राम्रो नतिजा निकाल्ने लक्ष्य सहित तयारी गर्नु पर्ने प्रशिक्षक श्रेष्ठले बताए। उनले थपे, 'हामीले साग खेलकुदमा राम्रो नतिजा निकालेको छौं। अब १३औं सागमा पनि त्यसलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ।'

नेपाली टोलीको प्रमुखको रुपमा कृष्णबहादुर केसी, व्यवस्थापकमा राकेश श्रेष्ठ, प्रशिक्षकमा दीपक र सन्तबहादुर तामाङ, अफिसियलमा कुलबहादुर थापा, रामकृष्ण श्रेष्ठ र काजीमान श्रेष्ठ थाइल्यान्ड जानेछन्। सञ्जय रन्जितले प्रतियोगितामा निर्णायकको रुपमा काम गर्नेछन्।

आइतबार नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले विदाई गरे।

प्रकाशित: २७ असार २०७३ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App