सन् १८४२ मा प्रकाशित रुसी कथाकार निकोलाई गोगोलको ‘दि ओभरकोट’ कथा मैले झन्डै ३० वर्षअघि पढेको हुँ। विदेशी लेखकको यो नै मैले पढेको पहिलो चित्ताकर्षक र सुन्दर कथा हो। आधुनिक समयको मान्छेको कथा हो।
उक्त कथाको मूल पात्र एउटा गरिब कारिन्दाले विशेष समारोहमा सहभागी हुनका निम्ति किनेको कोट र उसको मृत्युको घटना यति जीवन्त छ कि त्यसले मलाई आजसम्म पनि रन्थनाइरहेको छ । सायद यही कारण नै उक्त रचनालाई विश्वकथाजगत्मा अहिले पनि नयाँ मानिन्छ, रूचिकर मानिन्छ, श्रेष्ठ मानिन्छ । यस रचनाको यही विशिष्टताले विधागतरूपमा कथालाई परिभाषित गर्दै मजबुत ढंगमा स्थापित पनि गर्यो।
सोही मुलुकका आन्तोन चेखव मेरा अर्का प्रिय कथाकार हुन् । उनका राम्रा कथाहरूको सूची बनाउने हो भने त्यो निकै लामो हुन्छ । छिमेकी देशका प्रेमचन्द हुँदै मेरै भूमिका विश्वेश्वरप्रसाद कोइराला, पारिजात, रमेश विकल, गुरुप्रसाद मैनाली, गोविन्द गोठालेका कथा पढ्दै जाँदा यस विधाप्रति मेरो आकर्षण चुलिन थाल्यो। कोइरालाको ‘मधेसतिर’ होस् वा पारिजातको ‘मैले नजन्माएको छोरो’का पात्रले मलाई निरन्तर बिथोलिरहे, अहिले पनि तिनले मलाई झस्काउँछन् । ती कथाले मेरो मस्तिष्कमा जोडदार हस्तक्षेप गरिरहे । भवानी भिक्षु, दौलतविक्रम विष्ट, धु्रवचन्द्र गौतम, भाउपन्थी, परशु प्रधान, मनु ब्राजाकी, ध्रुव सापकोटा, नारायण ढकाल, राजवका साथै मेरा समकालीन लेखक र नयाँ पुस्ताका लेखकका केही कथा पनि मलाई औधी मन पर्छन् । नयाँ पुस्ता पनि कथालेखनमा सशक्त बन्दै आइरहेको छ, यो सुखद अवस्था हो । मेरा समवयी तथा समकालीन कथाकारमा नयनराज पाण्डे र महेशविक्रम शाहका कथासँग म आफ्नो रूचि ठ्याक्कै मिलेको पाउँछु । यी दुई कथाकारले यस समयको मान्छे, विसंगत राजनीति, सामाजिक–सांस्कृतिक विकृति र किनारीकृत वर्गलाई आफ्नो कथामा जब उच्च महŒव दिन्छन्, तब तिनका कथा जोडदार लाग्छ।
किशोरवयमा पढेको प्रेमचन्दको ‘सद्गति’को मूलपात्र दुःखी चमारको मनोदशाले मेरा आँखा भिज्थे । चमारको मृत्यु यति दर्दनाक छ कि, त्यो कथा मैले थुप्रै पटक पढेर थुप्रै पटक रोएको छु । अफ्रिकी द्वन्द्व र राजनीतिक कथाले जसरी मेरो मस्तिष्क हल्लाएको छ उसैगरी सआदत हसन मन्टोका राजनीतिक कथाले पनि मुटु छोएका छन् । कुर्रतुल ऐन हैदर हुन् वा तेहमिना दुर्रानी, तिनका आख्यान जति पटक पढ्दा पनि मेरा शरीरका रौँ ठाडा पारिदिएका छन् । कथामा तिनले उठाउने विषय र धार्मिक–राजनीतिक असहमति एउटा ठूलो हिम्मत हो । त्यही हिम्मतका कारण तिनलाई आफ्नै देशका धार्मिक अतिवादी समूहले पराइ बन्न बाध्य पारेका छन्, तर संसारका पाठकका आँखामा यी प्रिय लेखक बनेका छन् ।
मान्छे पढ्नु र कथा पढ्नु मलाई उस्तैउस्तै लाग्छ । हरेक मान्छेको जीवनमा नलेखिएका कतिपय रोचक कथा हुन्छन् भन्ने मेरो ठम्याइ छ । अझ राजनीति गर्ने व्यक्तिमा त म कथाको थुप्रो नै देख्छु । हाम्रा अधिकांश राजनीतिकर्मी ढाँटछल र सपना बाँड्न सिपालु छन् । दुनियाँका अन्य कतिपय अविकसित देशका राजनीतिकर्मीको चरित्र पनि त्यस्तै देखिन्छ । त्यस्तो गलत राजनीति गर्ने व्यक्तिको रातारात फेरिएको जीवनशैली र पदासीन भएपछि जनताबाट टाढिने संस्कार हेर्न र बुझ्न मलाई खुब मन लाग्छ । त्यसैले म कथा लेख्नका निम्ति अधिक समय तिनको पछि लाग्छु । कुनै राजनीतिकर्मी रक्सी पिउन रेस्टुराँ वा भट्टीमा प्रवेश गरेको देख्दा तिनको पछि लाग्न मन लागिहाल्छ । अलिकति मात जब चढ्छ, तिनले आफ्ना कर्तुत ओकल्न थालिहाल्छन् । म तिनीहरूको चरित्रसँग प्रेम गर्छु । तिनको जीवनशैली अध्ययन गर्छु । मातिएर तिनले आफूलाई जब पोख्न थाल्छन्, तब मलाई आनन्द लाग्छ ।
पहिलो संविधानसभामा समानुपातिक माध्यमबाट छानिएको एक जना नेता मेरो घरनजिकै भाडामा बस्थे । तिनको चरित्र बडो रोचक लाग्थ्यो मलाई । उनी नियमितजस्तो रक्सी पिउँथे, पानसुपारीको पनि निकै सौखिन थिए । कथाका निम्ति उपयुक्त चरित्र थिए ती । उनले थाहा नपाउनेगरी केही पटक म तिनको पछि लागेँ । तर, केही दिनमा ती सभासद्ले म उनको पछि लागेको थाहा पाए, मलाई बेस्सरी गाली गरे । तर, तिनको दैनिकीमाथिको स्केच मेरो मन पर्ने कथा बन्न पुगेको छ । त्यस पात्रमाथि मैले दुई वटा कथा लेखेको छु । तिनी सभासद्मात्रै थिए, तर मैले ‘बेतुक’ र ‘गुलाफी सुट’ कथामा उनलाई मन्त्री बनाइदिएको छु । यति गर्ने छुट त हामी कथा लेख्ने मान्छेलाई छँदैछ !
क्रान्तिकारी कुरा, सदाचारको हुँकार, राष्ट्रवादको चर्चा, जनअधिकारको वकालत गरेर नथाक्ने राजनीतिकर्मी मेरा अधिकांश कथाका पात्र हुन् । तिनले उल्लिखित भ्रान्तिमार्फत् किनारीकृत–सीमान्तकृत जनतामाथि शासन गर्दै आएका छन् । तिनै ‘सबाल्टर्न’हरू मेरा कथाका नायक हुन् । सबाल्टर्न नायकसँग मेरो प्रेम छ ।
पछिल्लो समय मेरो कथालेखनको गति केही तीव्र हुन पुग्यो । पहिलापहिला वर्षमा दुईवटा कथा लेखेपछि पुग्यो भन्ने सोच राख्थेँ र दिमाग रन्थनाएका विषयलाई पनि कापीमा उतार्दैनथेँ । कुनै दिन लेखौँला यो वर्षलाई पुग्यो भन्ने सोच थियो मेरो । पछि तŒवज्ञान भयो मलाई, विषयले घोचेका समयमा वा घटनाको झिल्का अथवा मस्तिष्कमा चट्याङ परेका बखत लेख्नुपर्छ, वर्षमा कतिवटा लेखियो भनेर बस्नु हुन्न । यो तŒवज्ञान प्राप्त भएपछि मेरो कथायात्राले तीव्रता लिएको हो । झन्डै ५ वर्षको अवधिमा दुई दर्जनजति कथा लेखेछु । मलाई थाहा छैन, यो संख्या धेरै हो कि थोरै ! पहिलो कथा प्रकाशित भएको मितिको गणना गर्ने हो भने मैले करिब साढे तीन दशकको अवधिमा साठी वटाजति कथा लेखेछु ।
लेखेकामध्ये ‘शुक्रराज शास्त्रीको चस्मा’ संग्रहमा २० वटा कथा राखेको छु । संग्रह त तयार भयो, तर पुस्तकको नाम के राख्ने भन्ने विषयमा पनि म अल्मलिएको थिएँ । पछिल्लो समय बजारमा देखापरेका अधिकांश पुस्तकका नाममा अंग्रेजी घुसाउने चलन व्यापक बनेको छ । केही लेखक अलि नबुझिने नाम राख्न पनि उत्सुक बनिरहेका छन् । तर, यो त कथासंग्रह पो हो त– संग्रहमा रहेका कथाबाटै नाम राख्नु उत्तम हुन्छ भन्ने लाग्यो । त्यसैले यसै संग्रहमा रहेका कथाहरूमध्ये आफूलाई अलि बढी मन परेको कथा ‘शुक्रराज शास्त्रीको चस्मा’लाई नै शीर्षक बनाएँ । अघिल्ला तीन कथासंग्रहमा पनि मैलै त्यसै गरेको छु ।
यो सानो मुलुक । यस सानो भूगोलमा बस्ने करिब ३ करोड जनसंख्याको मुक्तिका लागि धेरै पटक राजनीतिक परिवर्तन भइसकेको छ । तर, ती परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्नेतर्फ कसैको पनि ध्यान गएन । यसर्थ परिवर्तन अधुरो हुन पुगे । धेरै पटक आन्दोलन हुन पुग्दा त्यसमा सहादत प्राप्त गर्ने व्यक्ति पनि धेरै नै हुन्छन् । ती सबैलाई सहिद घोषणा नगर्ने हो भने फेरि अर्को आन्दोलन छेडिहालिन्छ ! यस्तो लाग्छ, कुनै दिन यो देशमा निजामती कर्मचारीको संख्या र सहिदको संख्या बराबर पुग्नेछ । किनकि, आन्दोलन रोकिएको छैन । सहिद हुने क्रम पनि जारी नै छ । को हो सहिद ? कस्तोखालको आन्दोलन वा परिवर्तनका निम्ति प्राण आहूति दिने मान्छे सहिद कहलिन्छ ? यसको जवाफ हामी कसैसँग पनि छैन । यसले १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य गर्न जीवनको बाजी लगाएका सहिदको अवमूल्यन हुन पुगेको छ । यस्तै सोचाइको सिलसिला मेरो दिमागमा चलिरहेको थियो, सोही क्रममा मैले शुक्रराज शास्त्रीको चस्मा कथा लेखेको हुँ ।
मैले आजका मितिसम्म आफ्ना निजी घाउलाई कहिल्यै कथाको विषय बनाइनँ । म कतै पनि कथाको नायक बन्न खोजेको छैन । तर पनि मेरा कथाका पाठक तथा शुभेच्छुक मलाई नै मेरो कथाको नायक देख्छन् र सोध्छन्– आफ्नै कथा हो कि क्या हो !
मेरो वरिपरिको समाज, मैले भोट दिने राजनीतिक नेता र उसको पार्टी, त्यसको घोषणापत्र र कार्यशैली, किनारीकृत वा सबाल्टर्न मेरा कथाका विषय हुन् । भावुक मन न हो, कहिलेकाहीँ प्रेमका विषयले पनि दिमाग रन्थनाउँछन्– थोरै त्यो पनि लेखेको छु । प्रेम नगर्ने व्यक्ति यो दुनियाँमा को पो होला र ! तर, त्यसका पनि प्रकार, तह तथा गहिराइ फरकफरक हुन्छन् नै । प्रेमकै कथामा पनि समाजको गति, परिभाषा, दिशा, विकृत तथा मांसल प्रेम तथा क्षयोन्मुख विश्वासलाई उतार्ने प्रयासमा रहन्छु । प्राकृतिक प्रकोप, राजनीतिक आन्दोलनलगायतका निकट समयका घटनाले पनि मलाई छुन्छ । गत वर्षको आरम्भमै देशले ठूलो प्राकृतिक विपत्ति भोग्नुप¥यो । भुइँचालोले करिब ९ लाख जनालाई घरवारविहीन पारिदियो । उक्त विषयले सबैलाई छोएको छ नै । मैले त्यस विषयलाई छोएर दुई वटा कथा लेखेँ, त्यसलाई यस संग्रहमा राखेको छु ।
माथि नै भनिहालेँ, म मेरो समाजका सबाल्टर्न पात्रसँग प्रेम गर्छु । कथामा प्रयुक्त पात्रको खोजमा धेरै दिन बिताएको छु । पात्रको जीवनशैली, भोगाइ, विचार, आर्थिक अवस्था, मानसिकताबारे अध्ययन गरेपछि मात्र कथा लेख्न बस्छु । कम्तीमा पाँच–सात पटक पुनर्लेखन वा स्वसम्पादन गर्ने प्रयत्न गर्छु । एउटा कथा कम्तीमा एक महिना मेरो खल्तीमै बस्छ । चित्त नबुझेका केही कथा च्यातिदिएको पनि छु । कहिलेकाहीँ प्रकाशित भइसकेका कथा पनि मन पर्दैनन्, तिनलाई सकेसम्म संग्रहमा ल्याउँदिनँ ।
मलाई लाग्छ, यतिखेर नेपाली कथालेखन संकटमा छ । संकटग्रस्त बन्दै गएको वर्तमान कथालेखनसामु केही प्रश्न उठ्न थालेका छन् । यस देशका सामान्य मान्छे अर्थात् राजनीतिक पहुँच नभएका र कमजोर आर्थिक अवस्थामा रहेका, जेजस्ता वास्तविकताका सिकार बन्दै आएका छन्, त्यसमा कथाकार निरपेक्ष बस्न मिल्छ कि मिल्दैन ? कथाकारका निम्ति प्रतिवद्धता र पक्षधरताको जरुरत छ कि छैन ? मान्छेको नियतिमा जति गहिरो संकट देखापर्दै आएको छ उति नै गम्भीर विषयमा कथा लेख्नु पर्छ कि पर्दैन ? कि फ्यान्ट्यासी, ब्ल्याक ह्युमर, सर्रियलिज्म वा पोस्टमोडर्निज्मका बांगोटिंगो बाटो नै लेखकको मूल सडक हो ? प्रयोगका नाममा मान्छेबिनाका अक्षरका थुप्रालाई नै कथा मान्ने ? यी र यस्ता प्रश्नहरूको सीधा उत्तर अब हामीले खोज्ने समय आएको छ ।
साथै, कथालेखनको बान्की, भाषाशैली कस्तो हुनुपर्छ भनेर पनि बहस हुन थालेको छ । प्लस टु पुस्ताको रूचिअनुरूप सृजना नगर्दा बजारमा चल्न सकिन्न भन्ने मान्यता पनि बलियो हुँदै गएको देख्छु । साहित्यका ‘टार्गेटेड गु्रप’ नचिन्दा पुस्तकले बजार लिन सक्दैन भन्ने अभिमत अहिले सर्वत्र चर्चाको विषय बन्न थालेको छ । यद्यपि, प्रश्न अर्को पनि जोडिएरै आउँछ– साहित्यले बजार बनाउँछ कि बजारले साहित्य ? केही समयअघि प्रकाशित भएका मनु ब्राजाकी र धु्रवचन्द्र गौतमका कथासंग्रहले बजार पिट्न किन सकेनन् ? धेरै बिक्री भएका पुस्तक नै स्तरीय हुन् कि ठीकै वा विस्तारै बिक्री भएका पुस्तक गम्भीर ? गम्भीर साहित्यिक पुस्तक बजारमा ‘हटकेक’ बन्न सक्छ कि सक्दैन ? यस्ता प्रश्नहरूको मिश्रित जवाफ अहिले आइरहेको छ । निश्चय पनि हामीले लेखेका साहित्यका पाठक प्लस टु पुस्ता पनि हुनुपर्छ नै । तिनका मानसिकता, भोगाइ, सोचाइ पनि कथाका विषय हुन सक्छन् । तिनले कथा वा साहित्यमार्फत् हाम्रो समाजको प्रतिबिम्ब हेर्नु र बुझ्नु झनै सुन्दर पक्ष हो ।
पछिल्लो समय ‘बजारु साहित्य र गम्भीर साहित्य’ भनी ठूलै युद्धको घोषणा भएको छ । यी दुई पक्षबीचको कित्ताकाट कसले र कसरी गर्ने होला ? यस्ता बहस र युद्धको मैदानमा म आफू कहाँ उभिएको छु भन्ने यकिन गर्न सक्दिनँ । त्यसको जिम्मा पाठकलाई नै । तथापि, मलाई आफू उभिएको जमिन र माटो, राज्यसत्ता, धर्मसंस्कृति तथा सामाजिक बनोटका कारण पछाडि पारिएका समुदायका कथा लेख्दा बढी आनन्द आउँछ ।
समाजको मान्यता बनिबनाउ तथा स्थिरखालको छ । त्यसमा अलिकति भए पनि हलचल ल्याउन म शब्दका ढुंगा हान्ने प्रयत्न गर्दै आएको छु । कतिपयले मलाई सोध्ने गर्छन्– किन राजनीतिलाई मात्रै कथाको विषय बनाएको ? किनकि, अब राजनीति ‘राजनीति’मात्र रहेन, त्यो सामाजिक, आर्थिक र जनजीविकाको सवालसँग पनि बलियोगरी जोडिएको छ । यही राजनीतिले हामीलाई क्षेत्रीय, लिंगीय, वर्गीय, जातीय, केन्द्रीय कित्तामा बाँड्ने काम गरेको छ, हामीलाई एकाकार र समान हकाधिकारी बन्न नदिने प्रयत्न गरेको छ । हामीलाई असल मान्छे नबन्न बाध्य पारिरहेको छ । यसकारण राजनीतिक विषयमा लेख्न मलाई बढी भोक लाग्छ ।
नेपाली कथायात्राको यो अवधिसम्म आइपुग्दा अराजकता, मूल्यहीनता, प्रयोगवादिता, पक्षधरतालगायतका सवाल यससँग जोडिएका छन् । सांस्कृतिकतासँगै जोडिएका यस्ता संकटलाई कतिपयले आधुनिकताको उपमा पनि दिएका छन् । तर, म यावत संकटलाई धरातलीय यथार्थमा हेर्न मन पराउँछु । सिद्धान्तकारहरूले कथाले एकल प्रभाव दिने बताए पनि अब अवस्था फेरिएको छ । कथामा उठाइएको समाजको एउटा पात्रको दुःख वा त्यसको चरित्रले ऊ र उसका परिवारमा मात्र प्रभाव पार्दैन । यसलाई कथाको आयतनवृद्धिका रूपमा हेर्न सकिन्छ । एउटा खराब नेताको आचरण र कार्यशैलीले सिंगो देशका जनतालाई दुःख पुग्न सक्छ । हाम्रा धर्मग्रन्थमा वर्णित कथा नै पनि बहुअसरदार देखिन्छन् ।
खराब राजनीति, सामाजिक विषमता, यथास्थितिवाद अर्थात् जडताको रक्षा तथा स्वार्थयुक्त व्यवस्थाले किनारीकृतको जीवन थप कष्टकर बन्न पुगेको छ । पछाडि पारिएका वर्ग र सामाजिक, राजनीतिक तथा आर्थिक शक्तिबीच निरन्तर संघर्ष चलिरहेको छ । उल्लिखित संघर्षमा र सबाल्टर्न वा किनारीकृत वर्ग, पहिचानको मुद्दाका साथै मान्छेलाई उत्पीडन दिने वर्गका विरुद्धमा म आफ्ना कथाहरूमार्फत् सक्रियरूपमा भाग लिने प्रयासमा छु ।
कथा लेख्नु मेरा निम्ति मनका भित्री तहमा छोएका र मलाई निकै घोचिरहेका विभिन्नखाले घाउहरूलाई निको पार्नु हो ।
प्रकाशित: १८ असार २०७३ ०३:१६ शनिबार