१८ असार २०८१ मंगलबार
image/svg+xml
विचार

चुनाव: नेताको कि नागरिकको?

“हामी हाम्रा राजनीतिक नेताहरूलाई कहिल्यै परिवर्तन गर्न सक्दैनौँ जबसम्म हामीले उनीहरूलाई चुन्ने जनतालाई परिवर्तन गर्न सक्दैनौँ”-मार्क स्काउसेनको भनाइ हो यो। एक शिष्यले ओशोलाई प्रश्न गरे–राजनीति के हो? ओशो भन्नुहुन्छ–राजनीतिमा कहाँ छ र नीति ? यो त अनीति हो। नाम दिँदैमा कहाँ राजनीतिको मर्म बुझ्न पाउँछन् र जनताले? सबैले बुझेको राजनीति त शुद्ध बेइमानी, झुट, भ्रष्टाचार, अनैतिकता र आश्वासन मात्र हो भनेर बुझ्न सकिन्छ। यो बेइमानी र आश्वासन आफ्नैमा हुनु, आफ्नै दलभित्र हुनु झन् यसको प्रमुख विशेषता हो। जुन दिन विद्वान्, प्रज्ञावान र विवेकपूर्ण व्यक्ति राजनीतिमा आउँछन् त्यो दिन राजनीतिले सही अर्थ र मर्म भेट्नेछ। धर्म के हो, अध्यात्म के हो, जीवन के हो सोध म बताउन सक्छु किनकि यसको मलाई अनुभूति छ। राजनीति के हो धोका र बेइमानबाहेक अनुभूति गर्न नपाएकाले म बताउन सक्दिन। उतिबेला भनेका कुरा आज नेपालको राजनीतिको प्रसंगमा मिलेको झैँ भान हुन्न त?

नागरिकको चुनाव

जब निर्वाचन आउँछ, राजनीतिक नेतृत्वको चहलपहल बढ्छ। मानौँ, चुनाव उम्मेदवारको हो। चुनाव उमेदवारले गर्ने कि नागरिकले? अब सोच्नुपर्ने समय आएन ? सधैँ नेतृत्व सही भएन भनेर कुर्लिनुअघि चुनाव हाम्रो हो भनेर विचार र विवेक नपुर्‍याउनुको परिणाम त राजनीति अनीतिमा पुगेको छ। जीवनमा सही चुनाव भएन भने दुःखको मार्गमा अघि बढ्नुको विकल्प छैन।

दुःख रोजेपछि सुख कसरी आउँछ? नेतृत्व रोज्ने बेलैमा सुख, शान्ति, विकास र समृद्धिको कल्पना गर्न सक्ने र त्यसलाई साकार बनाउन सक्ने नेतृत्व रोज्न नसक्नुको परिणाम आज नागरिकले भोग्नुपरेको अवस्था होइन र? गणतन्त्र र लोकतन्त्रका लागि गरेको संघर्ष कहिले गठबन्धन त कहिले स्वतन्त्र गर्दै आफ्नो व्यक्तिगत अहंकारको जीतमा पुग्नुपर्ने र नागरिकले समेत त्यसैमा ताली बजाएपछि गालीचाहिँ कसलाई र किन? तिनै आश्वासन, तिनै घोषणापत्र जसले बनाएको हो उसैले पूरै पढेको हुन्न, त्यही पनि अन्धविश्वास र सानोतिनो स्वार्थ पूर्तिको भरमा पटक–पटक निर्वाचित गराउने नागरिक मूर्ख कि, पटक–पटक नागरिकलाई मूर्ख बनाउन सक्ने नेतृत्व मूर्ख?

अब चुनाव स्वयंको विवेक माथि हुनु छ। छोराछोरीलाई जागिर, श्रीमतीलाई आरक्षण, छोराको भिसा मिलाइदिएको भरमा। सार्वजनिक जग्गा हडप्न दिएको, कुकृत्यमा साथ दिएको भरमा नेतृत्व चयन गर्ने बारबार गल्ती कसले गरेको छ? थोरै मात्र समझ र विवेक हुने हो भने प्रत्येक मतदाताको चुनावमा निर्भर गर्छ राष्ट्रले असल नेतृत्व पाउनु र त्यो नेतृत्वले राष्ट्रमा योगदान पुर्‍याउनुमा।

निर्वाचित नेतृत्वले विगतमा के योगदान दिए ? झुपडीमा बस्नेले आलिशान महल बनाए। न्यायालयलाई आफ्नै पेवा बनाए। धम्की, डर र राजनीतिक शक्तिको आडमा व्यक्तिगत स्वार्थ र आफ्ना कार्यकर्ता पोस्ने काम गरे।

हरेक क्षेत्रमा राजनीतिक दम्भ, राजनीतिक शक्ति प्रयोग, देखादेखी भ्रष्टाचार, अनैतिकता, जगजाहेर हुँदा पनि नागरिक तहबाट निरिह बन्नुपर्ने अवस्था र यथार्थतालाई नागरिक शक्तिको पहिचान दिन सक्ने नेतृत्व खडा गर्न नसकिएको हो त? आफ्नै दलभित्र गुटबन्दी, टिकट बाँडफाँटमा समेत राजनीति र चलखेल गर्नेले पूरै राज्य र नागरिकलाई कुन आधारमा आश्वासन दिने र नागरिकले तिनलाई विश्वास गर्ने आधार मान्ने? टिकट पाउलान् भन्नेले पाएनन्, नपाउनुपर्नेले पाए, समाजको यो आवाज र तर्कले अहिलेसम्मको राजनीतिक अभ्यास र सही नेतृत्व चयनको आधार के हो कसरी बुझ्ने? सामान्य भुइँ तहका नागरिकले यो दलगत राजनीतिक विचारधारा, उम्मेदवार छनोट, अनि मतदान गर्नुपर्ने आधार कसरी छुट्टयाउने?

अर्कोतिर समानुपातिकको अवधारणा र महिला नेतृत्वलाई पछि पारिएका समाचार त्यत्तिकै सुन्नमा आउँछन्। लोभी मन, स्वार्थी प्रवृति र भित्रबाट आन्तरिक स्वभावलाई जान्न सक्नेले मात्र आफ्नो जन्मको सार्थकता र समाजलाई दिन सक्ने योगदानलाई छुट्टयाउन सक्छ। सही नेतृव चुन्न सक्नु पनि समाजलाई दिने ठूलो योगदानभित्र पद।

समृद्धिको नारा: मतको सहारा

घोषणापत्र लिएर समृद्धि र सुखका लागि सामाजिक न्याय, लोकतन्त्र, सम्मान र सुरक्षा, बराबरी अधिकार र अवसर अनि सुशासन हाम्रो घोषणापत्र र प्राथमिकतामा छ भन्दै मत माग्न आउनेलाई जवाफ ठिक पारेर राख्नुहोला। राष्ट्रमा उच्च आर्थिक वृद्धि दर हासिल गर्ने, सन्तुलित र सुदृढ अर्थतन्त्र निर्माण गर्ने कुरालाई प्राथमिकताका साथ कार्यान्वयनमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्छौं भन्नेलाई विगतका नीति तथा कार्यक्रमका पन्ना पल्टाएर राख्नुहोला।

अर्थतन्त्रको संरचनामा अधिकतम परिवर्तन गरी औद्योगिक तथा सेवा क्षेत्रको योगदान बढाउने छौँ भन्नेलाई वैदेशिक रोजगारीमा विदेशिने युवाको तथ्यांक माग्नुहोला। प्रतिव्यक्ति आय बढाउने, मुलुकको स्तरोन्नति गर्ने, दिगो विकास लक्ष्यलाई निर्धारित समयभन्दा अघि नै हासिल गर्ने, उत्पादकत्व वृद्धि गर्ने, राजमार्ग, रेलमार्ग र जलमार्गको विकास र विस्तार गर्नेसम्म नारा दिनेलाई बाढी पहिरोले ध्वस्त भएका र जीवन बाँच्न धौ धौ परेका नागरिकको तथ्यांक हातमा बोकेर हिँड्न भन्नुहोला।

हाम्रो नेतृत्वको पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नेछौँ भन्नेलाई पाप र धर्मको भेद के हो? झुटो आश्वासन के हो सोध्न नबिर्सनुहोला। जसले सुख र समृद्धिका लागि आर्थिक विकास मात्र होइन, आन्तरिक विकास पनि जरुरी छ भनेर बुझेको छैन उसले आश्वासनको भाषण कसरी तयार पार्छ होला?

पहिलो प्राथमिकता प्रत्येक उम्मेदवारले आफ्नो आत्मविकास र आन्तरिक विकासलाई जरुरी ठानून् तब मात्र चेतनाको द्वार खुल्नेछ। भ्रष्टाचार, बलात्कार, अराजकता, अनैतिकता जस्ता अमानवीय संस्कार र घटना बढ्दै जानुको पछि आर्थिक सम्पन्नताभन्दा व्यक्तिको मानसिक सोचाइ र चेतनाको स्तर हो भन्ने कुरा कसले थाहा पाउने? आफू समृद्ध भएका व्यक्तिहरू पनि समाजमा निच सोचाइ र अनैतिक कार्यमा संलग्न व्यक्तिहरूबाट पीडित छन्। हरेक काण्ड र इतिहासदेखिका राष्ट्रिय अपराधको पछाडि आर्थिक प्रसंग आउँछ या व्यक्तिको चेतनाको स्तर र सकारात्मक शिक्षा?

अपराध र सूचना लुकाउने, आफ्ना व्यक्ति बचाउने र सर्वसाधारणले अनाहकमा ज्यानै गुमाउनुपर्ने कारणलाई यिनका घोषणापत्र र आश्वासनले के अर्थ दिन्छन्? विकासका काममा आफ्नै मान्छेले ठेक्कापट्टा पाउने र काम पूरा नगरी भाग्ने गरेका उदाहरण वर्षौँदेखि संस्कारगत रूपमा जरो गाडेको छ। यसलाई यिनका घोषणापत्रले कसरी ठीक पार्छ?

जिम्मेवार पक्षले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेको अवस्थामा मात्र प्रतिफल जनताले भोग्नेछन् अनि सुख महसुस गर्नेछन्। वरपरको वातावरण र खुलेआम आफ्नो निजतामा बाँच्न सकेको दिन जनताले भित्री सुख भेट्नेछन्। मानिसलाई मानिसबाट नै सुरक्षा चाहिने अवस्था किन? समाजका तिनै अनैतिक व्यक्तिले नै साधारण व्यक्तिलाई दुःख, कष्ट पुर्‍याउने कारणले गर्दा सधैँ सुरक्षाको प्रश्न उठ्ने गर्छ।

जनावरको बथानमा कुनै जनावर एकअर्कासँग असुरक्षित छैन। प्रकृतिमा कुनै सिर्जना आफ्नै नजिकको सम्पदासँग दुखी छैन। हाम्रो समाजमा मानिस मात्र किन मानिससँगै असुरक्षित छ? मानिसको भित्री चेतना जगाउने र प्रेमपूर्ण समाज सिर्जना गर्ने जिम्मेवारी कसको? शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य, शान्ति, भक्ति र प्रीति पनि सुखी बन्नका लागि आवश्यक छन्। 

असल संस्कार, उदारता, प्रेम, करुणाविनाको समृद्धिले के अर्थ राख्ला? पहिले त यो गुण उम्मेदवार प्रत्येकमा छ/छैन आफैँले थाहा पाउनुपर्नेछ। मत त धाँधली गरेर, गठबन्धनको स्वार्थमा पारेर पनि आउला तर मनका वृत्ति, लोभ र अहंकारलाई राजनीतिबाट अलग गर्न सक्ने स्वच्छ उमेदवारले मात्रै नागरिकको मन जित्न सक्छ। जसले नागरिकको मन जित्न सक्छ उसले आफूलाई जीवनबाट हार्न पनि दिँदैन। 

प्रकाशित: २७ आश्विन २०७९ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App