‘पुस्तक किनेको कि नाइँ? अहिलेसम्म डायरी किनेको छैन?’
‘सर तथा म्याडमले कहिलेकाहीँ डायरी पनि चेक गर्दै गर्नुहोला। अनेक प्रश्न उठ्न सक्छन्! बचेर काम गर्नुपर्छ।’
‘यही क्षेत्रमा लागिहालियो, अब जे हुन्छ यसैबाट हुन्छ। यसैबाट गर्नुपर्छ। आउनेपाउने स्रोत त जुटाउनै पर्यो। खर्च उठाउनै पर्छ। शिक्षकलाई पनि दिनैपर्छ। अलि फरक किसिमले हेरिदिनुपर्यो। हामीलाई पनि काम गाह्रो छ र संस्था चलाउन! सधैंको भुक्तमान!’
‘ए नानी, त्यो खल्तीको बिलमा त तीन हजार लेखिएको छ, पल्लो स्कुलमा त त्यही सामान सत्र सयमा दिएको अरे! के सारो हौ?’
‘दिउँसो शिक्षक अर्कै काममा कता जानुहुन्छ अनि बेलुका आएर नियमित पाठ पढाउनुहुन्छ। आधारभूत कुरा थपथाप पढाउने चैँ क्यै हैन! लुट्नेका सय दाउ भनेझैं छन् स्कुलहरू, हामीलाई थाहा छैन र! थेत्तरा बुझ पचाएरै बसेका छन्। हाम्रो शुल्कभारको कारणले बाबुआमाको ठासठुस उत्तिकै सुन्नुपर्छ। तनावैतनावमा कसरी राम्रो पढ्नेलेख्ने होला! धन्न हामी! बिचरा हामी! अतिरिक्त खर्चको लफडा सधैं उस्तै! सरकारीमा पनि कक्षा ८ र १० मा जबर्जस्ती थप कक्षा सञ्चालनमा छन् अरे आजकल, अचम्मको अवस्था!’
विद्यार्थी, शिक्षक, अविभावक, सञ्चालक सबैका आआफ्नै कुरा छन्।
कुरैकुरा, स्वास्थ्यका लागि फुर्सद निकालेर व्यायामस्वरूप हिँड्ने बानीको एक पैदल यात्रा अनि बिहानको समय छ। विद्यालय जाने एक हुल विद्यार्थीको आहटले मनमा खेलिरहेका पुष्ट–अपुष्ट तर्कना लुकामारी गर्न थाल्छन्। एक उच्चालय जोडी अभद्र शब्द प्रयोग गर्दै बाटो कटेको नि देखिन्छ। जे होस् आरुबारीको चोक छ अनि चारै दिशामा विद्यार्थी नै हावी छन्। कोही आएका कोही गएका देखिन्छन्। कतै अविभावकवर्ग विद्यार्थी डोर्याउँदै हुन्छन् र झोला बोक्न सघाउँदै हुन्छन्। आफ्ना अग्रजले झोला बोकेर सघाएका केही मसिना विद्यार्थी रुँदै पनि भेटिन्छन्। सवारीसाधन प्रयोग गर्नेहरू पनि बाक्लै छन्। त्यत्तिकैमा आफ्नै पनमा लुसुलुसु हिँड्ने कोही शिशु कक्षामा पढ्ने बच्चा आफूजत्रै झोला भिरेको र उही संस्थामा पढ्ने दिदीले आफ्नो बिहानी कक्षा नछुटोस् भनेर निजलाई आफूसँगै विद्यालय लग्दै गरेको पंक्तिकारको नजरमनमा बिझ्न पुग्छ।
यस्तो परिवेशको तोडले वा टिठलाग्दो त्यो दृश्यले आफ्नो दिनचर्यामा रहेका पंक्तिकारका खुट्टा लुला हुन पुग्छन् र यस लेखको सूत्रपात हुन्छ। प्रसङ्ग शिक्षा हासिल गर्ने क्रममा विद्यार्थीको भागमा पर्ने सास्तीमध्ये विद्यमान अतिरिक्त कक्षा प्रवृत्ति र यसका केही तात्कालिक प्रतिक्रियातर्फ मुखरित छ। शिशु र वयस्क अवस्थाका केटाकेटी कति बजे विद्यालय पुग्ने, के खाने, कतिबेला खाने, कतिबेला घर फर्कने, व्यक्तिको रचनात्मक रुचि र चाखबारे केकस्तो सम्बोधन गरिनुपर्ने, त्यसरी पढ्ने विद्यार्थीले आरामका साथ पढ्ने अन्य विद्यार्थीसँग चौतर्फी प्रतिस्पर्धा गर्नुपर्दा अवस्था के हुने आदि जिज्ञासा सम्बोधनका लागि केही व्यक्तिहरूसँग भेट गरिन्छ, सन्दर्भ खोजजोड गरिन्छ र विचारविरेचनका लागि एक टिपोट यहाँ प्रस्तुत गरिन्छ। मिमांशाका पाटा आआफ्ना हुनसक्ने सत्य शिरोपर गरिन्छ नै।
अतिरिक्त कक्षाको वर्तमान प्रवृत्तिबारे आफ्नो विचार राखिदिन गरिएको आग्रहमा लट्टे पड्केझैँ पड्किन पुग्नुहुने प्राथमिक शिक्षक (सम्बन्धित व्यक्तिको अनुरोधमा राखिएको पूर्वनाम परिचायक शब्दावली) मनसा कार्की यस्तो भन्नुहुन्छ, ‘एउटा शिक्षकको झोला बोकेको भरमा नतिजा फेरिन्छ अरे भनेको सुन्छु। पहुँचवालाले धाप मारेका भरमा, खेतालो उपस्थिति पाएको आधारमा अनि दलको फेरो समाएको र आन्दोलन गरेकै भरमा शैक्षिक रोजगारी हत्याउने शिक्षकशिक्षिका हावी हुँदै जाँदा योग्यताका आधारमा सेवारत दक्ष जनशक्ति निम्छरो लाग्न थाल्नु देशको उच्चशिक्षाका लागि घातक छ। योग्यता र क्षमताका मान्छे रहने स्थानमा जोकोहीले उपस्थिति जनाउनु कसैका लागि पनि सही होइन। मैले त त्यही भएर एघार कक्षाभन्दा माथि पढ्न चाहिनँ। जिन्दगीको गोरेटो देखाउने शिक्षा बुझेको वर्गमध्येबाट शिक्षक अथवा शिक्षिका आउनुपर्छ। मान्छेलाई खाल्टोतिर जाक्ने शिक्षा त के शिक्षा। यस्तो बेथिति त हुनुभएन नि! विद्यालय स्तरमा त स्थिति झनै भयावह देखिन्छ। अनुभव भएका र यसै क्षेत्रमा जिन्दगी महसुस गर्ने वर्गभन्दा अरू काम नपाउन्जेल यो क्षेत्रलाई चौतारी बनाउनेहरू धेरै पाउँछु म त। सुँगा रटाइ जागिर बचाइ अचम्मको छ, भयो धेरै कुरा नगरौं।’
विचारक्रममा नेपाली भाषासाहित्यका मर्मज्ञ विद्यावारिधि ध्रुवप्रसाद भट्टराईको विचार सुझावयुक्त छ भन्न सकिन्छ। उहाँका विचारमा जुनसुकै तहको होस्, शिक्षा स्थानमैत्री तथा सिकारुकेन्द्रित हुन जरुरी छ। अभिरुचि, अध्ययन र अभ्यासमा सिकारुलाई शिक्षकवर्गले डोर्याउनुपर्छ, अभिप्रेरित गर्नुपर्छ अनि प्रगतिका लागि न्यायोचित पृष्ठपोषण गर्नुपर्छ। विद्यार्थीको नैसर्गिक अधिकार र चालु अवस्थाको व्याख्या हुन जरुरी छ, अनि उपयुक्त उपचारको कदम चाल्न अब ढिलो गर्न हुँदैन। विद्यार्थीले बोक्ने झोला गह्रौं भयो भन्दा कक्षामै खोपिलो अथवा दराज राख्ने र पुस्तक बोक्ने झन्झट टार्ने कुरा गर्नेहरूले पुस्तक छपाइ र छनोटमै गुणपक्षी र मितव्ययी हुनुपर्छ भन्ने बेलैमा बुझे राम्रो हुनेथियो।
एक प्रश्नको जवाफमा बहुआयामिक कवि तथा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल भन्नुहुन्छ, ‘विद्यालयहरूमा जसरी पनि कमाउने होडबाजी चलेको दुःखपूर्ण छ। सरकारी भनिएका विद्यालयमा भएको आँगनटहरा बनाएर भाडा उठाउने गरेको र केही व्यक्तिको पृष्ठपोषणमा उपलब्ध समय र स्रोत खर्च भइरहेको सुन्नमा आउने गरेको छ भने निजी विद्यालयहरू मनोमानी शुल्क उठाउने कुरामा उद्यत छन्। यस्तो चर्चामा सत्यता कमै होला। त्यस्तै, स्रोत संकलन तथा व्यवस्थापनको आफ्नो पाटो होला तर अतिरिक्त लाभको सिद्धान्तमा विद्यार्थीलाई बिहानदेखि बेलुकैसम्म विद्यालयमा राख्ने, जबर्जस्ती खाना खुवाउने तथा तोकिएको स्थानबाट मात्र पुस्तकखाता उपलब्ध गराउने परिपाटी हावी हुँदै गएको वर्तमानको अवस्थाले शिक्षापद्धति तथा यसको नियमनको कुरा प्रश्नवाची बनाइदिन्छ। समग्र व्यक्तित्व विकासका लागि गुणस्तरीय शिक्षा अपरिहार्य रहने यथार्थ कुल्चिएर निजी सन्यन्त्र एकतर्फी लाग्नु विडम्बनापूर्ण छ। सरकारीकै हकमा पनि पुस्तकालय र मसलन्द खर्चमा लाखौँ देखिने तर शिक्षाशिक्षणमा प्रायशः सान्दर्भिक नरहने पुस्तकले पुस्तकालय भरेर देखाउने प्रवृत्तिमा लगाम लगाउनुपर्छ। जवाफदेहिता सबैमा हुनुपर्छ र विशेषगरी सम्बन्धित पक्षको ध्यान पुग्नुपर्छ। औपचारिक रूपमा विद्यालयमा पठनपाठनमा छुट्याइएको समयलाई नै उपलब्धिपूर्ण गर्नगराउन सक्नुपर्छ अनि सिकाइ सहजीकरणका लागि नियमित तहगत सिर्जनशील क्रियाकलापमा सहभागी गराउनुपर्छ। स्थलगत अध्ययनसमेत नियमित गरिनुपर्छ अनि व्यावहारिक र सुलभ सोचिनुपर्छ।’
जोरपाटीनिवासी अभिभावक गणेश पुडासैनीको विचार यहाँ उल्लेखनीय हुन आउँछ। उहाँका विचारमा हिजोआज सरकारीमा कस्तो पढाइन्छ नबुझिएको तर निजीमा चौपट लाग्नेछ। शैक्षिक विकृतिको कुरो बोलिसाध्य छैन! आवश्यक पर्ने र माग राख्ने केहीलाई दिनसकिने अतिरिक्त कक्षाको सेवा कमाउने भाँडोको रूपमा चलाइएको छ। खाए खा नखाए घिच भनेजस्तो साराका सारा विद्यार्थीलाई बिहानैदेखि बोलाएर राखिएको हुन्छ। यसले गर्दा आफैं पढ्नखोज्ने बच्चाबच्चीको रुचि र क्षमतामाथि खेलवाड गरिएको छ। यस्तो मनपरी रोकिनुपर्छ। परीक्षामा के गरिन्छ सबैलाई थाहा भएको अवस्थामा विद्यार्थीको हितविपरीत विद्यालयलाई दोहोरो शुल्क उठाउन पाए भएको छ, विद्यार्थीको चैं पढाइ तथा भविष्य बेपत्ता गरिने चलन कुनै पनि मानेमा ठिक होइन। ‘केही भन्न जाऊँ फेरि विद्यार्थीलाई टोकसो हुन्छ। अति छ। कसैले त हेर्नुपर्ने!’
विडम्बनाको कुरा करिब १६ घण्टा स्कुलमा रहेर उही साथी अनि उही ठाउँमा लेक्चर सुन्दा सिकाइ प्रभावकारी हुनसक्दैन। ‘धेरै गृहकार्य धेरै प्रभावकारिता’ भन्ने अवधारणाले त झन् बच्चाहरूलाई यन्त्र बनाएको छ। न नयाँ सिकाइ न समयको विश्राम। जबर्जस्ती पढाइले उत्तर झाराटारा हुँदैजाने भयले फेरि अतिरिक्त कक्षाकै वकालती बढ्ने निश्चित छ। घरमा कसैलाई नटेर्ने केटाकेटी विद्यालयमा शिक्षकलाई टेर्छन् र पढाइ चल्छ, अतिरिक्त कक्षामा अलिक बुझाएर पढाइन्छ, आजकाल घरमा पढ्ने वातावरण नभएकाले स्कुलमै पढाइ गराउँदा केही हदसम्म बच्चाहरू खराब संगतमा पर्नबाट जोगिन्छन् भन्नेजस्ता तर्क राखी केही अविभावकले अतिरिक्त कक्षाको बचाउ गरे पनि अधिकांश अविभावकले यसलाई बोझ ठान्ने गरेको पाइन्छ। अनि, उपयुक्त रचनात्मक कार्य नदिइँदा अहिले प्रायशः नानीबाबुहरू कृत्रिम सुस्तताको जोखिममा छन्। सकारात्मक नकारात्मक दुवै प्रभावको अध्ययन गरिनुपर्छ अनि जसरी होस् पढाइ सुलभ सिर्जनशील तथा जीवन्त हुनुपर्छ।
कतिपय विषयमा विद्यार्थीहरू कमजोर रहने कुरामा निजी शिक्षक राख्न महँगो पर्ने र कक्षामा नबुझेका प्रश्नहरू हल गर्न सजिलो हुने हिसाबले सोच्ने हो भने केही शुल्क थप उठाएर चलाइने अतिरिक्त कक्षा कामकाजी तथा बच्चाको घरेलु पठनपाठनमा समय दिननसक्ने अविभावकका लागि उपयुक्त हुने शिक्षक अनु तापडियाको भनाइ अनि विभिन्न खाले मिडियाको प्रभावका घरमा नपढ्ने र भनेको नमान्ने केटाकेटीका सन्दर्भमा जबर्जस्तीमा थपिने पढाइले समयको उपयोग नै गराउँछ भन्ने उड्डयन कर्मचारी पासाङ छोटी शेर्पाको कुरा उत्तिकै मननीय मान्नुपर्छ। ‘विद्यार्थी थोरै हुन्छन् अनि सञ्चालन खर्च बढ्दो छ, कतैबाट सहयोग आउने होइन। पठनपाठनमा मद्दत पनि पुग्ने दुईचार पैसा पनि बस्ने हुँदा संस्थालाई मार नपर्ने गरी र अविभावकलाई धेरै भार नपर्ने गरी केही शुल्क थप गर्नु मनासिब नै मान्नुपर्छ’ भन्ने पुर्वेली विद्याव्यवसायी जतन सुब्बाजस्ता यस क्षेत्रमा लागेका व्यक्तिहरू तथा संस्थाको भूमिका, प्रभाव अनि उपादेयताको अध्ययन गरी सम्बद्ध पक्षले टेवा दिने पुर्याउने कुराका सन्दर्भ पनि रहन सक्छन्। चाहिने कुरा भए समर्थन गर्नुपर्छ र नचाहिने कुरा भए विरोध हुनुपर्छ भन्ने धनकुटेली पुस्तक व्यवसायी पारु योञ्जनको तर्क औचित्य उत्तिकै सान्दर्भिक छ भन्न सकिन्छ। तर, शिक्षा तथा स्वास्थ्यजस्ता जनताका आधारभूत कुरामा अति भएको छ भने रोकिनुपर्छ।
आज आफूले प्राप्त गरेको शिक्षा भोलि सम्बन्धित विद्यार्थीले आफ्नो जीवनयापनका लागि उपयोगमा ल्याउन सक्ने होस्। सिकारुको सिकाइ अवस्थाको भनौं क्षमताको निक्र्योल गरी उपयुक्त सिकाइमा सम्बन्धित सबै लागिपर्नुको विकल्प छैन पनि। समग्र व्यक्तित्व विकास र समाजसापेक्ष कर्मजीवी शिक्षा आजको अपरिहार्यता हो भन्ने कुरामा अब कतै दुविधा रहनुहुन्न भन्ने शिक्षासेवी इरिन श्रेष्ठको ठम्याइ आजको यस विषयको उठान, पुष्टि र सुझावी निष्कर्षको केन्द्रमा छ भन्नु अत्युक्ति नहोला। सम्बन्धित सबैमा चेतना भया!
प्रकाशित: १८ भाद्र २०७९ ००:३४ शनिबार