२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
विचार

वीरेन्द्रको आँसु

पोखरा फेवातालको किनारमा अवस्थित ‘रत्न मन्दिर’ नामको सामान्य घर राजा महेन्द्रले महारानी रत्नको नाममा बनाउन लगाएका थिए। महेन्द्र स्वर्गवास भएपछि बिदा मनाउन र आराम गर्न राजा वीरेन्द्र र उनको परिवार त्यहाँ जान थाले। कवि क्षेत्रप्रताप अधिकारी भन्नुहुन्थ्यो–तालबाराही मन्दिर जाने ठाउँमा राजा वीरेन्द्र र रानी ऐश्वर्यलाई चौतारामा भेटेपछि मैले गीत लेखेँ ‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो...।’

पोखरा बसेकै बेला एक साँझ राजाले कुनै सज्जनलाई रत्न मन्दिरमा बोलाए। सूचना पाएपछि उनी त्यहाँ पुगे। राजाले एकान्तमा केही गम्भीर प्रश्न सोधे। राजा वीरेन्द्रको मुहार निकै गम्भीर थियो। यही क्रममा ह्विस्की पिउन राजाले आग्रह गरे। दुवै फेवातालको रमणीय दृश्य हेर्दै छलफल गर्दै थिए।

तराईमा राम्रो राजनीतिक प्रभाव भएका ती सज्जनले राजालाई विन्ती गरे–सरकार, सेवक त युवावस्थादेखि नै राजसंस्था र मुलुकको हित चिताएर काम गरिरहेको छु। ‘झुटो नबोल्ने मान्छे’ भनेर सरकारबाटै हुकुम हुँदा खुसी लाग्छ। पञ्चायती व्यवस्थामा बढेको गुटबन्दीले सिस्टम नै ‘कोल्याप्स’ हुने अवस्था देखिँदैछ। जनतामा वितृष्णा बढ्दैछ। प्रतिबन्धित दलका केही नेतालाई उकासेर विदेशीले अनेक खेल खेलिरहेका छन्। यो ठूलो समस्या बन्न सक्छ। तसर्थ राष्ट्रलाई माया गर्ने तर दलमा आबद्ध केही नेतासँग सम्वाद सुरु गर्नुपर्ने हो कि!

राजा वीरेन्द्रले अंग्रेजीमा प्रतिक्रिया व्यक्त गरेछन्–रसिया र अमेरिकाबीचको शीतयुद्ध लामो चल्दैन तर भारत र चीनको टक्करले नेपाल डरलाग्दो भूराजनीतिक पासोमा पर्न सक्छ। त्यसका लागि विदेशीले कतिपय राजनीतिक दलहरूलाई प्रयोग गर्ने सम्भावना देखिन्छ र आआफ्नो स्वार्थअनुसार हिँडाउने प्रयत्न हुन सक्छ।

२०१५/१६ सालतिरै भारतमा उच्च शिक्षा लिएर फर्केपछि प्रधानपञ्च, जिल्ला पञ्चायतको सभापति लगायतका जिम्मेवारी सम्हालेका ती सज्जनले राजा वीरेन्द्रको गहिरो विश्लेषण राम्ररी बुझे। रात छिप्पिँदै थियो। त्यहाँ राजा र उनीबाहेक कोही थिएनन्। टेबलमा ड्राइ फ्रुट्स (काजु, पेस्ता, कागजी वदाम, ओखर आदि) थिए। ह्विस्की र पानीका ग्लासहरू थिए। वातावरण शान्त थियो।

उनी सम्झन्छन्–राजा धेरै भावुक होइबक्स्यो। उहाँको गुनासो रहेछ–केही आफन्तहरू आर्थिक स्वार्थकै मात्र कुरा गर्छन्। भेट्न आउनेहरू सम्पत्ति र पद माग्छन्। राष्ट्रलाई कसरी बलियो बनाउने भनेर सत्य बोल्नेहरू पाउन पनि गाह्रो भयो। कहिलेकाहीँ त म एक्लो छु भन्ने लाग्छ। यस, आइ एम अलोन...।

राजाका आँखा रसाए। उहाँको मनमा राष्ट्र पतन हुन्छ कि भन्ने त्रास थियो–उनी सम्झन्छन्।२०२७ सालमा राजा वीरेन्द्र ‘युवराज’ छँदादेखि नै सम्पर्कमा रहेका ती सज्जनले भनेका थिए– मलाई मेरो बुबाआमाले ‘गाई काट्नु र राजालाई ढाँट्नु पाप हो’ भन्ने सिकाउनुभएको थियो। त्यसैले मैले राजा महेन्द्र र राजा वीरेन्द्रलाई सत्य कुरा मात्र जाहेर गर्थेँ। नढाँट्नेहरू थोरै हुन्छन्। त्यसैले राजा वीरेन्द्रले मलाई सत्यवादी भनेर रुचाएको जस्तो लाग्छ।

राजाले चाहेमा जे पनि हुन्छ भन्ने लाग्दो हो तिमीहरूलाई। मेरो बाध्यता कसले बुझ्छ र?–उनी वीरेन्द्रका शब्दहरू सम्झन्छन्। ‘राजाको पनि बाध्यता हुँदोरहेछ भाइ’–उनले थपे।

तत्कालीन प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठले लेख्नुभएको छ–२०४६ सालको आन्दोलनको एक वर्षअघि मेरै प्रधानमन्त्रित्व कालमा केही वामपन्थी नेताहरूले तत्कालीन व्यवस्थालाई समर्थन गर्ने र राष्ट्रियताप्रति प्रतिबद्ध रहने वचन दिएका थिए। सरकारबाट हुकुम भएको थियो– ‘मानिसलाई भावनात्मक परिवर्तनद्वारा सही बाटोमा ल्याउन सकिन्छ।’ (स्रोत: युवराज गौतमद्वारा सम्पादित वीरेन्द्र स्मृति ग्रन्थ, पृष्ठ २३२)

ऊबेला गोरखापत्रको उपसम्पादक रहेको पंक्तिकारलाई जेलमुक्त वामपन्थीहरूका बारेमा रिपोर्टिङ गर्न प्रधानसम्पादकले पठाएका थिए। टेबहालस्थित सम्झौता लजमा बसेका ती वामपन्थीहरू भर्खर जेलबाट मुक्त भएकाले उनीहरू शरणार्थी जस्ता देखिन्थे। एउटै कोठामा लहरै सुतेका उनीहरूमध्ये धेरै जना आज अर्बौ रुपियाँको मालिक भएका छन्।

प्रधानमन्त्री, मन्त्री, राजदूत लगायतका महत्वपूर्ण पदमा पुगेपछि उनीहरूको जीवनशैलीमा ठूलो परिवर्तन आयो। लजमा बसेका बेला उनीहरू निकै थकित, चिन्तित, प्रताडित, अवहेलित र उपेक्षित जस्ता देखिन्थे। कुराकानीको सन्दर्भमा एकजनाले भने– हामीलाई गाउँमा गएर बस्न पनि गाह्रो छ। समाज नै हाम्रो विरुद्धमा छ। तसर्थ के गर्ने, कसो गर्ने भन्ने सोचिरहेका छौँ।

राजा वीरेन्द्रको भद्र, शालीन र विनम्र स्वभावका कारण स्वदेश र विदेशका धेरै मानिस प्रभावित हुनु स्वाभाविक थियो। झ्यालखानाबाट छुटेकामध्ये केहीले राजाको अनुकम्पाबाट आफूहरू जेलमुक्त भएकोमा खुसी भएको अभिव्यक्ति दिइरहेका थिए। तर उनीहरूले पञ्चायती व्यवस्थाको समर्थन गर्ने कागजपत्रमा हस्ताक्षर गरेकाले अन्योलग्रस्त देखिन्थे। २०४६ सालको आन्दोलन चर्किएपछि परिस्थितिले नयाँ मोड लियो। उनीहरूले पञ्चायती व्यवस्थाको समर्थन गर्नुपरेन।

राजतन्त्रबारे नकारात्मक धारणा राख्ने कतिपय नेताले राजा वीरेन्द्रसँग सम्वाद गरेपछि उनको प्रशंसा गरेका छन्। राजासँग नारायणहिटी राजदरवारमा भेटेपछि पोखराको चिप्लेढुंगामा आयोजित सभालाई सम्बोधन गर्दै कम्युनिस्ट नेता मदन भण्डारीले भनेका थिए–“साम्राज्यवाद र विस्तारवाद हाम्रो समस्या हो, राजा समस्या होइन।” माओले सन् १९५९ मा डा. केशरजंग रायमाझीलगायतसँग चीनमा यही कुरा भनेका थिए। कम्युनिस्ट शासन सुरु भएको दश वर्ष पुगेको उपलक्ष्यमा चीनमा आयोजित समारोहमा नेपालबाट डा. रायमाझी, पिबी मल्ल, डा. तुलसी गिरी र अच्युतराज रेग्मीले भाग लिएका थिए।

चिनियाँहरूले ओएन–सु–पु–शा र हामीले मञ्जुश्री भन्ने गरेका प्रतापी सन्तले काठमाडौँ उपत्यकाभरि फैलिएको विशाल सरोवरको पानी चोभारबाट बाहिर पठाएपछि उपत्यकामा मानव बस्ती बसेको किम्वदन्ती छ। यस्ता प्रसंगले भारत र चीन दुवैसँग हाम्रो हजारौँ वर्ष पुरानो सम्बन्ध थियो भन्ने बुझिन्छ। राजाहरूले ती मुलुकसँग सन्तुलित सम्बन्ध कायम राखेर नेपालको असंलग्न परराष्ट्र नीतिलाई ढलपल हुन दिएनन्।

सन् ३५८ मा वुद्धभद्र नामका भिक्षुले कपिलवस्तुबाट चीन पुगेर बौद्ध दर्शनबारे प्रवचन दिएको प्राचीन ग्रन्थहरूमा उल्लेख छ। लामो यात्रा गरेर चीनका फाहियान नेपालबाट सन् ४१२ मा स्वदेश फर्किए भनेर चिनियाँहरूले लेखेका छन्। यस्तै हुयेन साङको यात्रा वृतान्तमा नेपालको अर्थतन्त्र, धर्म, संस्कृति, जनजीवन आदिको चर्चा छ।

भारतका प्रसिद्ध सन्त नागार्जुनले तपस्या गरेको ठाउँ काठमाडौँमा नागार्जुन नामले आज पनि प्रसिद्ध छ। त्यस्तै सयौँ वर्षअघि नेपाल आएका धेरै सन्त/महात्माहरूले नेपाललाई तपोभूमि भनेका छन्। तसर्थ चीन र भारतसँगको सम्बन्ध सन् १९४७ पछि मात्र होइन, त्योभन्दा हजारौँ वर्षअघिदेखि नै विकसित हुँदै आएकाले राजदरवारले त्यसको महत्व बुझेको थियो।

चीन र भारतबीच अवस्थित नेपालले ती दुवै राष्ट्रसँग सुमधुर सम्बन्ध र कूटनीतिक सन्तुलन कायम गर्ने क्रममा राजा वीरेन्द्रले धेरैपल्ट धार्मिक, आध्यात्मिक, कूटनीतिक र सामाजिक सम्बन्धको चर्चा गरेका पाइन्छ। यही क्रममा उनले सन् १९७३ को अक्टोबरमा पहिलोपटक भारत भ्रमण गरेका थिए। चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले राजा वीरेन्द्रको हत्यापछि शोक वक्तव्य प्रकाशित गर्दै वीरेन्द्रले १० पटक चीन भ्रमण गरेको उल्लेख गरेका छन्।

राजा वीरेन्द्रका धेरै भाषण लेखेका राजदरवारका एकजना पूर्वसचिवका अनुसार कुनै मुलुकको भ्रमण गर्नुअघि त्यो राष्ट्रको इतिहास, परम्परा, राजनीति, कूटनीति आदिको गहिरो अध्ययन गरेर बुँदा टिप्ने बानी थियो वीरेन्द्रको। ती बुँदालाई व्याख्या गरेर भाषण तयार गरिन्थ्यो। त्यसपछि गम्भीर छलफल गरेर केही कमजोरी भए सच्याइन्थ्यो।

२०३८ सालमा पेरिसमा भएको अल्पविकसित राष्ट्रको सम्मेलनमा मुख्य वक्ता थिए, राजा वीरेन्द्र। फ्रान्सका अखवारहरूमा छापियो–“भाषण मर्मस्पर्शी र सुन्दरमात्र होइन, तर्कपूर्ण छ।” अल्पविकसित र भूपरिवेष्ठित राष्ट्रका निम्न आर्थिक अवस्था भएका जनताको चित्रण गर्दै राजा वीरेन्द्रले सो भाषणमा दरिद्रहरूका लागि कहिलेकाहीँ जीवन भन्दा मृत्यु प्रिय हुन्छ भनेका थिए। उनको तर्क छ, संसारका करोडौँ गरिबहरूको उद्धार गर्नुपर्ने अनन्त राशी हातहतियारको प्रतिस्पर्धामा खर्च भइरहेको छ। वीरेन्द्रकै शब्दमा ‘ती गरिबहरू हामीसँग रोटी माग्छन्, हामी उनीहरूलाई रोटीको बदला बम दिन्छौँ।’

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको हत्या भयो। बीस वर्ष पुरानो त्यो घटनाले संसार हल्लायो। विश्वका हजारौँ मिडियाले त्यसको चर्चा गरे। २०२८ माघ १७ गते राजा महेन्द्र चितवनमा परलोक भएपछि २६ वर्षमा शासनको बागडोर सम्हाले राजा वीरेन्द्रले। उनले शान्ति र विकासमा जोड दिए। नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न माओवादीहरूलाई मास्नुपर्छ भनेर पश्चिमा राष्ट्रहरूले दिएका दबाब वीरेन्द्रले स्वीकार गरेनन्। ऊ बेला विदेशीको दबाब स्वीकारेर माओवादी नेताहरूलाई मारेका भए आज नेपाली राजनीतिको दिशा र दशा फरक हुने थियो। तर मान्छे मारेर होइन, हृदय परिवर्तन गराएर सही बाटोमा ल्याउनुपर्छ भन्ने वीरेन्द्रको अडान उनकै कतिपय निकटवर्तीलाई पाच्य भएन।

त्यस्तै जनमत संग्रहको घोषणा (२०३६ जेठ १०) पछि राजा वीरेन्द्र मानसिक तनावमा रहेको र गोकर्ण जंगलभित्रको आवासमा केही हप्ता एकान्तवासमा गएको घटनाको वर्णन राजाकै एकजना पूर्वसचिवको संस्मरणमा उल्लेख छ। दाह्री जुँगासहितको त्यो उदास मुहार सीमित व्यक्ति (सेवक) बाहेक अरूले देख्न पाएनन्। उनका बारेमा धेरै कुरा गोप्य नै रह्यो। किनभने अहिलेजस्तो सञ्चारमाध्यमहरू विकसित भइसकेका थिएनन्।

योगेश्वर अमात्यको गीत जस्तो तस्बिर आउँछ आँखामा। ‘लोग्ने मान्छेले रुनु हुँदैन’ भन्ने सामाजिक कथनमा आधारित त्यो गीतको भिज्युअलाइजेसन भयो, वीरेन्द्रको जीवन र पीडामा। यदाकदा सामान्य पुरुषले अव्यक्त पीडा लुकाएर धेरै वर्ष मुटुमा व्यथाको माला लगाएर अरूका निम्ति हाँसिदिनुपर्छ। खुसी भएको अभिनय पनि गर्नुपर्छ। साह्रै सज्जन स्वभावका राजाले पनि एक्लै बसेर आँसु पिए होलान्। गुनिलो मान्छेले अरूलाई नुनिलो आँसु झार्न बाध्य पार्दैन। बरु साथी, सहजकर्ता, हितैषी बनेर घाउमा मलम लगाइदिन्छ।

छब्बीस वर्षमै पिता गुमाउनुपरेको थियो वीरेन्द्रले। सानै उमेरदेखि अध्ययनका क्रममा दार्जिलिङ (भारत), इटन कलेज, हार्वर्ड एवं टोकियो विश्वविद्यालयमा बिताउनुपर्दा नेपाल र नेपालीका बारेमा पर्याप्त ज्ञान नभएकाले राजा भएपछि नेपाललाई पाँच विकास क्षेत्रमा विभक्त गरेर धनकुटा, हेटौँडा, पोखरा, सुर्खेत र डोटी (दीपायल) मा महिनौँ दिन बसेर जनताका समस्या बुझे उनले।

२००९/१० सालतिर दार्जिलिङमा वीरेन्द्रका बालसखा थिए, केशवकुमार बुढाथोकी अर्थात कुमार दाइ। पहिलोपल्ट धनकुटामा जनताका गुनासा सुन्दा कठिन र नसुनेका नेपाली शब्दहरू नबुझ्दा वीरेन्द्रलाई अप्ठ्यारो भएकाले आफूलाई सोधेको सम्झन्छन् उनी। इलाम र झापामा नाम चलेका जमिनदार रघुवीर बुढाथोकीका छोरा केशवलाई राजाले स्कुलमा पढ्दादेखि नै ‘क्षत्री’ भनेर बोलाउँथे। धनकुटामा किसानहरूले लगतकट्टा, ऐलानी आदि शब्द उच्चारण गर्दा राजाले क्षत्री, यो के हो? (क्षत्री ह्वाट इज दिस) भनेर प्रश्न गरेको बुढाथोकीले लेखेका छन्।

राजाले शक्तिको दुरूपयोग गरेको भए सोझै बुढाथोकीलगयात धेरैलाई सोझै शक्तिशाली बनाउन सक्थे तर सुरुमा सहायक मन्त्री मात्रै बनाए बुढाथोकीलाई। राजाको तर्क थियो-सूर्यबहादुर थापा र मरीचमान सिंहहरूले पनि सहायक मन्त्री भएर अनुभव लिएका हुन्। तिमीले पनि सिक्दै गर्नू।

राजाबाट संविधान प्रदान गरिने निर्दलीय प्रणालीमा पनि उनले संविधान, ऐन/कानुन मिच्ने काम गरेनन्। हिन्दु राजाको परिवारमा कसैले अहिन्दुसँग विवाह गरेमा राजदरवार ऐन र परम्पराअनुसार कार्बाही हुन्थ्यो। काका वसुन्धराविक्रम शाहकी छोरी केतकीले विदेशी क्रिस्चियनसँग विवाह गरेपछि केतकीको नामका अगाडि जोडिएको ‘श्री ५ शाहज्यादी’ पद खोसे वीरेन्द्रले। कान्छा भाइले ब्रिटिस र भारतीय (गुजराती) बाट जन्मिएकी स्यारोन पटेलसँग लन्डनमा दोस्रो विवाह गर्दा श्री ५ अधिराजकुमार पदबाट राजीनामा गर्नुपर्‍यो, धीरेन्द्रले। कानुनी कार्बाहीमा परे पनि भाइ–बहिनीलाई उनी उत्तिकै माया गर्थे। राष्ट्रनायकले आफू र आफ्नो परिवारलाई इज्जत र मर्यादामा राखेर उदाहरण बन्नुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले उनी उदाहरणीय बने।

राजा वीरेन्द्रलाई हरेक वर्ष मात्र होइन, हरेक दिनजसो नेपाली सम्झने गर्छन्। उनको मृत्युपछि नेपाल अस्थिर बन्दै गएको छ। नेपालले गम्भीर चुनौती भोग्नुपर्ने अवस्था आइरहेको छ। तसर्थ असल, सक्षम, इमानदार र योग्य राजनेताको चर्चा चल्दा वीरेन्द्रको नाम धेरैले सम्झिरहन्छन्।

प्रकाशित: २० जेष्ठ २०७९ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App