१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

वायु प्रदूषणका चुनौती

संयुक्त राष्ट्रसंघका अनुसार १० मध्ये नौ व्यक्तिले प्रदूषित हावामा श्वास फेर्ने भएकाले मृत्युको एक मुख्य कारण पनि वायु बनेको छ। प्रदूषणग्रस्त वायुमा रहने देख्न नमिल्ने स–साना कण श्वास फेर्दा सीधै फोक्सोमा पुग्छन्।

यसले क्यान्सर,निमोनिया,मुटुरोग साथै प्राणघातक रोग निम्त्याउने गर्छ। विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुने गर्छ।

वायु प्रदूषण हुने विभिन्न कारण छन्–जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कलकारखाना,तथा सवारी–साधनबाट निस्कने धुँवा–धुलो र अन्य फोहोर पर्छन्। खासगरी शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ।

खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्न उनीहरूले त्यसमा आगो लगाउँछन्, जसबाट निकै विषालु धुँवा निस्कन्छ। यस्तो धुलो–धुँवा वायुमण्डलमा मिसिएर ओजोन तहलाई पातलो बनाउँछ।

ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई यसले असर गर्दछ। प्रदूषण रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मिलेर काम गरिरहेका छन्।

पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ। अध्ययनअनुसार अस्पतालमा आउने बिरामी वातावरण प्रदूषणका कारण बढ्दै गइरहेको देखिन्छ। वायु प्रदूषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बूढापाकामा बढी परेको देखिन्छ।

स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन्। बढ्दै गएको वातावरणीय समस्याले चाँडै प्राकृतिक सम्पदा नष्ट हुन सक्नेतर्फ विज्ञले चिन्ता व्यक्त गरेका छन्।

यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाकोे विनाशलाई कम गर्न वातावरणीय क्षेत्रमा काम गर्ने संघ–संस्था र विज्ञ लागिपरेका छन्। हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो। वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक,रासायनिक तथा जैविक वस्तुका अनावश्यक परिवर्तनलाई बुझिन्छ।

वातावरणीय प्रदूषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ। प्राचीन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनका कारण परिवर्तित हुन्थ्यो, अनि वातावरणमा हुने प्रदूषण पनि प्राकृतिक प्रदूषण हुने गर्दथ्यो। तर आज पृथ्वीमा भइरहेको जनसंख्या वृद्धि प्रदूषणको मुख्य कारक बनिरहेको छ। जनसंख्याको बढ्दो चापसँगै प्रदूषणका समस्या पनि बढ्दा देखिन्छन्।

प्रदूषण आफैँमा एउटा समस्या हो भने प्रदूषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्या पनि छन्। वातावरणीय प्रदूषणकै कारण पृथ्वीको तापक्रममा वृद्धि भइरहेको,अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टि लगायत विकराल समस्या देखापरिरहेको तथ्य वातावरणीय अनुसन्धानले पुष्टि गरेका छन्।

प्रदूषणका कारण देखिने यस्ता समस्याले वातावरणलाई थप प्रदूषित गरिरहेका हुन्छन्। प्रदूषणको प्रकृति अनुसार प्रदूषणलाई प्राकृतिक कारणले हुने प्रदूषण (जस्तैः ज्वालामुखीबाट निस्कने धुँवाधुलोले गर्ने प्रदूषण) र मानवद्वारा हुने प्रदूषण (जस्तैः फोहोर मैला, आवाजहरू) भनी छुट्ट्याइन्छ। कुरा जे भए पनि प्राकृतिक प्रदूषणका अप्रत्यक्ष कारक मानव नै हुन्।

प्रदूषण हाम्रो वातावरणका हावापानी र जमिन सबैमा हुन सक्छ। यी सबै क्षेत्रका प्रदूषण प्रत्यक्ष वा परोक्ष रूपमा अन्तर्सम्बन्धित रहन्छन्। त्यसैले यीमध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदूषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, परोक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुन सक्छ। जस्तोः जमिनमा हुने प्रदूषणले जल प्रदूषणमा पनि भूमिका राख्छ, अप्रत्यक्ष असर जलचरलाई गर्दछ।

आजको विश्व निरन्तर विकासतर्फ उन्मुख छ। औद्योगिकीकरण, सहरीकरण, उन्नतिका सूचक मानिन्छन्। तर, तीव्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदूषणले विकासभित्र विनाश निम्त्याइरहेको छ।

आधुनिकीकरणसँगै फैलिरहेका उद्योग,कलकारखानाले एकातर्फ उत्पादन बढाइरहेका छन्,अर्काेतर्फ त्यसबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदूषणका प्रमुख कारक बन्दैछन्।

आज बढिरहेको प्रदूषणका नकारात्मक असर अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्न सक्ने देखिन्छ। यसकारण वातावरणीय प्रदूषणलाई आम चासोको विषय बनाउनुपर्ने कुराले महत्व पाएको हो।

अहिले विश्वको जनसंख्याको चाप निकै तीव्र छ। करिब १० हजार वर्षअघि पृथ्वीमा जनसंख्या करिब ५० लाख भएकामा हाल यो संख्या ६/६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ। जनसंख्याको आँकडा अनुसार पृथ्वीमा प्रत्येक घन्टामा नौ हजार व्यक्ति थपिन्छन्। अर्थात् प्रतिमिनेट १५० का दरले जनसंख्या वृद्धि भइरहेको छ। जनसंख्या वृद्धिसँगै मानिसका आधारभूत आवश्यकता पनि वृद्धि हुन्छन्।

गाँस, बास, कपासजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि प्राकृतिक स्रोतहरूमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ। वन, वन्यजन्तु, खनिज आदि प्राकृतिक स्रोतमाथिको हस्तक्षेपमा वृद्धि हुन्छ। फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्‍याइरहेको हुन्छ। वन फँडानी जनसंख्या वृद्धिका कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो।

दिनानुदिन वन क्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई वासस्थान (आवासक्षेत्र) तथा कृषिका लागि प्रयोग गर्ने क्रम संसारमै बढ्दो छ। एकातर्फ वन क्षेत्र घटाएर त्यसलाई आवास क्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिँदैछ भने अर्काेतर्फ सहरीकरणले कैयौं खेतीयोग्य उर्वरभूमिलाई आवासीय क्षेत्रमा बदल्दै छ।

यसरी सहरीकरणका कारण खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिन्न। सहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् भन्दा अत्युक्ति नहोला,यद्यपि आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन्। आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका काम निकै चुनौतीपूर्ण हुन्छन्।

पृथ्वीमा हुने सबै आर्थिक,सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो। आर्थिक विकाससँगै वातावरणीय सन्तुलन कायम गर्नु आम चुनौतीको विषय हो।

विश्व नै आज वातावरणीय प्रदूषणका कारण हुन सक्ने सम्पूर्ण खतराप्रति सचेत हुनुपरेको छ। प्रदूषण न्यूनीकरण गर्न आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति केही योगदान गरौं। अविकसित मुलुकका सचेत नागरिकको काम विकसित राष्ट्रका नागरिकलाई उदाहरणीय बन्न सक्छ।

प्रदूषण न्यूनीकरण गर्न विभिन्न तरिका प्रयोगमा ल्याउन सकिन्छ। सरकारी तहबाट मात्र नभई स्थानीय तहबाट चेतनामूूलक कार्य गर्ने हो भने वातावरण स्वच्छ राख्न सकिन्छ। विद्युतीय सवारीसाधन प्रयोग गर्दा वायु प्रदूषणलाई रोकथाम गर्न सकिन्छ। त्यस्तै खाना पकाउँदा सुधारिएको चुलोलाई प्रयोगमा ल्याउने हो भने घरको वातावरण स्वच्छ रहन्छ।

सडक किनारा तथा घरवरिपरि वृक्षरोपण गर्ने हो भने धेरै हदसम्म प्रदूषण न्यूनीकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ। वातावरण जोगाउन यसलाई हानि नपुर्‍याउने कार्य गर्न सकिन्छ,जस्तैः बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभावी नफाल्ने,प्लास्टिकको प्रयोग नगर्ने, वन फँडानी कम गर्ने लगायत विभिन्न क्रियाकलापले वातावरण संरक्षणमा मद्दत पुर्‍याउन सक्छन्।

प्रकाशित: २९ मंसिर २०७८ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App