रोमन या ऐथेन्स नगरराज्यबाट सुरु भएको जनताको सहभागिताको शासन पद्धतिले यहाँसम्म आइपुग्दा धेरै आरोह/अवरोह पार गरिसकेको छ। विभिन्न आरोह/अवरोहका क्रममा विभिन्न अभ्यास पनि हुँदै आएका छन्।
यस क्रममा प्रजातन्त्र शब्दको पुनर्वाेध गरी जनतालाई वास्तविक रूपमा सार्वभौम बनाउने शासन पद्धतिको आग्रहका साथ लोकतन्त्रको अविष्कार भएको मानिन्छ। वास्तवमा लोकतन्त्र भनेको विचार, दर्शन, मूल्य र मान्यताअनुरूपको व्यवहारमा फस्टाउने पद्धति हो। विचार, दर्शन, मूल्य र मान्यता छ भनेर मात्र हुँदैन , त्यसअनुसारको व्यवहार पनि चाहिन्छ।
यसै मान्यतालाई आत्मसात गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को द–१६ ले गरेको कानुनी व्यवस्थाअनुसार संघीय प्रदेश तहका समितिसम्बन्धी व्यवस्थाअन्तर्गतको उपदफा १ मा केन्द्रीय समिति तथा प्रदेश समितिमा प्रत्येक पदधिकारीको निर्वाचन विधानमा व्यवस्था भएबमोजिम प्रत्येक पाँच वर्षमा कम्तीमा एकपटक गर्नुपर्नेछ। उपदफा २ मा यदि विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र त्यस्ता पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा विधानमा व्यवस्था भएबमोजिम आयोगलाई जानकारी गराइ त्यस्तो अवधि पूरा भएको मितिले ६ महिनाभित्र त्यस्ता पदाधिकारीको निर्वाचन गर्नुपर्नेछ।
सोही कानुनी र संवैधानिक व्यवस्थाअनुसार नै अहिले महाधिवेशन हुँदैछ। जसअनुसार नेपाली कांग्रेसको नयाँ कार्यतालिकाअनुसार मार्ग ९ गतेदेखि १३ गतेसम्म १४ औँ महाधिवेशन गर्दैछ भने नेकपा एमालेले पनि मार्ग महिनामा नै १० औँ महाधिवेशन गर्दैछ। अन्य दलको पनि हुँदैछ। पार्टीको महाधिवेशन भनेको पार्टी जीवनलाई जीवन्त राख्ने लोकतान्त्रिक मूल्य/मान्यता अन्तर्गत नै पर्छ। हाम्रो बोली/व्यवहारमा मूल्य र मान्यतालाई समानार्थी शब्दका रूपमा लिए पनि साररूपमा यी दुई बीच पनि भेद वा भिन्नता हुन्छ।
मान्यता भनेको धेरै हदमा संरचनात्मक पक्षसँग सम्बन्धित हुन्छन् भने मूल्य भनेको आन्तरिक गुण जसले खास प्रकारको पद्धतिका लागि उत्साह, आदर, विश्वास, जिम्मेवारी, आत्मानुशासन र निष्पक्षता वोध गराउँछ। लोकतन्त्रका मूल्यहरूले लोकतन्त्रका संरचना र कार्यपद्धतिका लागि आधार दिन्छ। सोही कार्यपद्धतिका आधार निर्माणका लागि महाधिवेशन गर्ने गरिन्छ।
पार्टीको सिद्धान्त, मार्गदर्शन, विधि विधान निर्माण, परिमार्जन, संशोधन, नीति निर्देश, समीक्षा, योजना निर्माण, सफल कार्यान्वयनसँगै पार्टी नेतृत्व निर्माण गर्ने महत्त्वपूर्ण थलो हो महाधिवेशन। जहाँ लाखौँ कार्यकर्ताले विधानतः प्रतिनिधि छनोट गरी आफ्ना भावना विचारको प्रतिनिधित्व गराएका हुन्छन्। तद्नुरूप बृहत् छलफल गरी विधि/प्रक्रियाबमोजिम सर्वसम्मत रूपमा या बहुमत/अल्पमत मत विभाजनद्वारा पाँच वर्षका लागि विधान र नेतृत्व निर्वाचित हुन्छन्।
यसरी निर्वाचित पदाधिकारीले राजनीतिक दलसम्बन्धी ऐनको दफा २० मा निर्दिष्ट प्रतिस्पर्धात्मक बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणसम्बन्धी कार्य गर्ने, मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक विकासका नीति योजना र कार्यक्रम जनसमक्ष ल्याउनुपर्ने र मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समृद्ध अर्थतन्त्र निर्माण गर्नुपर्नेलगायतका दायित्व कर्तव्य निर्देशित गरिएको पाइन्छ। जसअनुसार लोकतन्त्रलाई वैधता दिने र नागरिक अभिमत परिचालन गर्ने कार्यमा यिनै राजनीतिक दलहरू क्रियाशील हुन्छन् भने राजनीतिचाहिँ विचार, दर्शन र सिद्धान्तका आधारमा प्रतिस्पर्धामा रहन्छ।
राज्यका विभिन्न संरचना र तहमा जनताको समान सहभागितालाई सहज पार्नु र लोकतान्त्रिक संस्थाहरूलाई जनताप्रति प्रत्यक्ष उत्तरदायी बनाउनु नै लोकतन्त्रको प्रमुख उद्देश्य हो। तर लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा यी कुरा कसरी साँचो अर्थमा जनस्तरमा पुर्याउने भन्ने खोज अहिले पनि गर्नु परिरहेको छ।
वास्तवमा लोकतन्त्रको सफलता भनेको समृद्धि, स्वाभिमान, समानता, शान्ति, सुरक्षा र स्वतन्त्रतामा देखिन्छ। यी कुरा प्राप्त गर्न दलका नेता/पदाधिकारीका व्यवहार लोकतान्त्रिक आदर्शअनुरूप क्रियाशील हुन सक्नुपर्छ। अनिमात्र लोकतन्त्रलाई जनजीवनमा पुर्याउन सकिन्छ। विडम्बना नै भन्नुपर्छ कि अहिले पनि नेता/पदाधिकारीका आचरण/व्यवहार त्यो अनुकूलका छैनन्। अब त्यस्तो अवस्था अन्त्य हुुनुपर्छ।
पार्टी भनेको संगठन हो। जसलाई परिचालन गर्ने मानिसले नै हो जसलाई नेतृत्व भनिन्छ।। नेतृत्व गर्ने टिम एक्काइसौँ शताब्दी अनुकूलको गतिशील हुने आउनुपर्छ। पानी जमेर बसेको ताल जस्तो नभई निरन्तर बगिरहने नदी जस्तो हुनुपर्छ। संगठन मानिसको सामूहिक संलग्नताको स्वरूप हो जसको उद्देश्य र त्यहाँसम्म पुग्ने प्रक्रिया पनि साझा हुन्छ।
त्यसैले संगठनले साधन, प्रविधि, मानिस र वातावरणलाई समान आकांक्षामा परिचालन गर्न सक्नुपर्छ। अब पिरामिडस्वरूपको संगठन हुनु हुँदैन। जति–जति माथिल्लो पद उति थोरै संख्या तर अधिकार र शक्ति माथितिर बढ्दै जाने हुनु युगसापेक्ष हुन सक्तैन। अब अहिलेको युग सुहाउँदो इल्टन मायोले सन् १९२४ देखि १९३२ सम्म अनुसन्धान गरी प्रचलनमा ल्याएका मानव सम्पर्क उपागमबाट सुरु भएको आधुनिक सिद्धान्त अपनाउँदा राम्रो हुने देखिन्छ।
यस सिद्धान्तले मानिसलाई यन्त्रका रूपमा होइन, मानिसकै रूपमा व्यवहार गरिनुपर्छ भन्ने मान्यता राख्छ। यसले ‘काम गर्ने भावना मानिसभित्र लुकेर बसेको हुन्छ जसलाई बाहिर ल्याउन प्रेरणा चाहिन्छ’ भन्ने कुरामा जोड दिन्छ। यसका प्रमुख विशेषता सकारात्मक वातावरण, मानिसमाथि जोड, उत्प्रेरणामा जोड, मानवीय सहयोग आदि छन्। यस सिद्धान्तले काम, कार्य समूह, नेतृत्व र कार्य वातावरणबीचको आपसी सम्बन्ध र अन्तरक्रियाबाट नै संगठनले दक्षतापूर्वक काम गरी लक्ष्य प्राप्त गर्न सक्छ भन्ने मान्यता राखेको छ।
त्यसैगरी यो सिद्धान्त निश्चित हदसम्म स्थिर, गतिशील र खुला प्रणाली, स्वचालित पृष्टपोषण र नियन्त्रण प्रणाली, जैविक सामाजिक प्रणाली र बहुआयामिक प्रणालीका रूपमा रहेको पुष्टि भएको छ। तसर्थ हामीले हाम्रा महाधिवेशनलाई पुरानो शैलीको संगठनलाई संशोधन गरी गतिशील बनाउने, परिमार्जित गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ। अन्यथा, अहिलेका सांगठनिक जीवन प्रणालीलाई नसच्याएमा लोकतन्त्रका उद्देश्य पूरा हुँदैन। लोकतन्त्रका उद्देश्य पूरा भएनन् भने जनतामा लोकतन्त्रप्रति वितृष्णा आउन थाल्छ। फलतः विद्रोह हुने सम्भावना भइ राजनीतिक अस्थिरता निम्तन्छ।
राजनीतिक अस्थिरताभित्र विभिन्न देशी/विदेशी शक्तिहरूले खेल्ने मौका पाउँछन्। यो विषयमा अफगानिस्तानको वर्तमान अवस्थाबाट पनि पाठ सिक्न सक्छौँ जहाँ राजनीतिक नेतृत्व र राज्यप्रति बहुसंख्यक जनताको विश्वास थिएन र राज्यसंयन्त्रको कदमलाई जनताले साथ दिएनन्। फलतः राज्यशक्ति कमजोर सावित हुँदै अन्ततः राज्यसंयन्त्र फेल हुन पुग्यो र तालिवानले राज्यसत्ता हत्याउन सफल भयो। यस घटनाबाट हामीले शिक्षा लिनुपर्छ। त्यो के भने राज्यशक्ति वास्तवमा शक्ति होइन, शक्ति त विचारमा हुन्छ, जन–जनमा भिजेको र सामाजिक अन्तरघुलन भएको संगठनमा हुन्छ।
जनताका हितमा ल्याइएका कार्यक्रममा हुन्छ। अनि त्यो जनशक्ति अजेय शक्ति हो जसलाई केहीले पनि हराउन सक्तैनन्। आज अफगानिस्तानमा सो सावित भएको छ। दिगो शान्ति दिने भनेर बसेको अमेरिकासमेत नसकेर आफ्नो देशमा फर्किनु पर्यो। यो कटु सत्यको हेक्का दलका नेता तथा भावी पदाधिकारीले राख्न सक्नुपर्छ। हरेक दलको बहुमूल्य सम्पत्ति भनेको नै फलामे अनुशासन हो। त्यो अनुशासनले कसैलाई शासनमा राख्ने भन्दा पनि बरु आफैँलाई शासित गर्ने हो। यसको सौन्दर्यले समग्र संस्था उजिल्याउने काम गर्छ।
(अधिवक्ता )
प्रकाशित: २८ भाद्र २०७८ ०१:३६ सोमबार