जनावरले मानवसभ्यताको विकासमा धेरै भूमिका खेलेकाछन्। खाना तथा बस्त्र आपूर्तिकालागि पशुहरू प्राचीन कालदेखिनै प्रयोग गरिए। जीवजन्तुले कृषि तथा यातायात क्षेत्रमा महत्वपूर्ण योगदान गरेकाछन्। खाना, छाला तथा बस्त्रकालागि विभिन्न जन्तु मारिएका अनि कृषि तथा यातायातका लागि जनावरको प्रयोग भएका धेरैले देखे तापनि जनावरले औषधि विज्ञानको क्षेत्रमा दिएको योगदानबारेभने कमै मानिस परिचित देखिएका छन्। जन्तुहरूले ‘बायोमेडिकल साइन्स’ को विकासमा कसरी भूमिका खेलिरहेका छन् भन्ने विषयको चर्चा सान्दर्भिक छ।
तथ्यांकले प्रारम्भिक प्रयोगशाला परीक्षणका क्रममा संभाव्य ठानिएका १० हजार ‘केमिकल’ मध्य केबल एउटा रासायनिक पदार्थ मात्र रोगको ओखतीका रूपमाबजारमा पुग्ने गरेकोे भन्छ। विश्वविद्यालय तथा अनुसन्धानशालामा वैज्ञानिकहरूले संभाव्यता देखेका धेरै रासायनिक पदार्थ ‘ड्रग्स डिस्कभरी’ का क्रममा नासिन्छन्, हराउँछन्। टेस्ट ट्युबमा क्रियाशील देखिएका केमिकलले शरीरमा काम नगर्नु, चिताएअनुरूप रोग निको पारे पनि अर्को अंगमा घात पार्नु, अनि एउटा लक्षण शान्त पार्दा अर्को शारीरिक समस्या देखिएका कारण अधिकांश संभाव्यता बोकेका रासायनिक पदार्थहरू औषधि अनुसन्धानको दौडबाट बाहिरिन्छन्।
मानिसको शरीरमा जाने रासायनिक पदार्थले तोकेको रोग निको पार्नुका अतिरिक्त अन्य कुनै थप समस्या भित्र्याउनु हुँदैन। एउटा रोग बिसेक पार्ने अनि अर्को शारीरिक समस्या निम्त्याउने ओखती कसले खोज्छ र?एकेडेमिक ल्याबमा संभाव्यता बोकेकोमध्ये अधिकांश रासायनिक पदार्थ ओखतीका रूपमा अस्पताल जान नसक्ने तथ्यांकले देखाएको अवस्थामा कुनै पनि केमिकल सिधै रोगी मानिसलाई सेवन गराउँदा पीडा कम नहुने अनि थप शारीरिक समस्या निम्तन सक्ने खतरा अधिक देखियो। तसर्थ यस्तो चुनौतीपूर्ण अवस्थामा कुनै पनि रासायनिक पदार्थ मानिसमा ‘क्लिनिकल’ परीक्षण गर्नुअघि जनावरमा जाँच गरी उक्त ड्रग्सले मानिसमा पार्न सक्ने संभाव्य असरको अध्ययन गरिन्छ। उक्त प्रक्रियालाई वैज्ञानिक भाषामा ‘सेफ्टी टेस्ट’ (सुरक्षा परीक्षण) भनिन्छ।
सुरक्षा परीक्षणका लागि रासायनिक पदार्थहरूलाई उनीहरूको चरित्रका आधारमा मुसा, कुकुर, सुँगुर, खरायो तथा बाँदर जस्ता जनावर प्रयोग जाँच गरिन्छ। कस्तो प्रकृतिको ओखती परीक्षणका लागि कुन जनावर प्रयोग गर्ने भन्ने सम्बन्धमा अनुसन्धान संहिता स्थापितछन्। सुगुरको मुटुको आकार तथा ‘फिजियोलोजी’ मानिससँग मिल्दोजुल्दो भएकाले ‘कार्डिएक’ बिरामीलाई लक्षित गरी विकास गरिएका ओखतीको सुरक्षा परीक्षण यसैमा गरिन्छ। त्यस्तै मानिस र बाँदरको इम्युन सिस्टम समान चरित्रका भएकाले कुनै पनि भ्याक्सिनको ‘मंकी’ मा परीक्षण गर्ने संहिता बन्यो। जुन ‘अर्गेन’ लाई लक्ष गरी ओखती बनाउन लागिएको हो त्यस्तै आकार तथा चरित्रको अंग भएको जनावरमा उक्त केमिकल परीक्षण गर्नु उचित हुन्छ भन्ने प्रोटोकल स्थापितछ।
अब सुरक्षा परीक्षण कसरी गरिन्छ भन्नेतिर जाउँ। केमिकलको चरित्रका आधारमा कुन जनावरमा सेफ्टी टेस्ट गर्ने भन्ने कुरा एकीन गरिन्छ। छनोटमा परेको जनावर केही दिनको ‘क्वारेन्टिन’ र आवश्यक स्वास्थ्य परीक्षणपछि प्रयोगशालामा भित्रन्छ। अनुसन्धानात्मक जीवमा कुनै शारीरिक समस्या तथा बाह्य रोगको प्रकोप नहोस् भनेर विषादी तथा केमिकल प्रयोग नगरिएको अर्गेनिक खाना दिने गरिन्छ। अनि, जनावरको संपर्कमा आउने कर्मीलाई क्षयरोगलगायतका कुनै पनि शारीरिक समस्या नभएको एकीन गरिन्छ। यसरी खान्की तथा संपर्कमा रहने कर्मीहरूबाट अन्य रोग भित्रने संभाव्यता न्युन भएपछि ओखती परीक्षणका क्रममा देखिएका स्वास्थ्य समस्या ड्रग्सको साइड इफेक्ट हो भन्ने मानुपर्ने हुन्छ।
कुनै पनि ओखतीले प्रभावकारिता देखाउन उक्त केमिकलको निश्चित मात्रा आवश्यक हुन्छ। अति न्यून भएमा रासायनिक पदार्थ प्रवाहविहीन हुने अनि अत्यधिक बढी भएमा प्रतिकूल असर देखिने भएकाले औषधिको उचित मात्रा पहिल्याउन आवश्यक हुन्छ। संभाव्यता बोकेको केमिकललाई स्थापित फर्मास्युटिकल मान्यताका आधारमा विभिन्न मात्रामा जनावरमा परीक्षण गरिन्छ। खाने, छालामार्फत तथा ब्लडमा दिइनेलगायतजुन प्रकृतिको रासायनिक पदार्थ हो त्यसैअनुरूप जनावरमा ओखती हालिन्छ। एउटामात्र जनावरमा परीक्षण गर्दाठोस नतिजा आउन नसक्ने भएकाले परीक्षणका क्रममा धेरै जनावर प्रयोग गरिन्छ। भाले र पोथीको शारीरिक बनोट तथा बायोलोजी फरक हुने भएकाले अनुसन्धानका क्रममा उक्त कुरालाई समेत ध्यान दिइन्छ।
ओखतीले पछि जन्मने बच्चाको स्वास्थ्यमा समस्या पार्ने अथवा अंगभंग हुने जस्ता जटिलता ल्याउँछ कि भनी एकीन गर्नकालागि समेत पोथी जनावरमा औषधिको परीक्षण आवश्यक हुन्छ। त्यस्तै ओखती दिइएको र औषधि सेवन नगर्ने जनावरबीचको फरक पहिचान नगरी ड्रग्सको प्रभावकारिता भन्न कठिन हुने भएकाले सबै किसिमका ‘कन्ट्रोल एक्सपेरिमन्ट’ हरू गरिन्छ। कुनै पनि रासायनिक पदार्थ सेवनपछि शरीरका विभिन्न भागमा पुग्छ। विभिन्न अंगमा पुगेको रासायनिक पदार्थले शरीरलाई विभिन्न किसिमले प्रभाव पार्छ।
संभाव्यता बोकेको रासायनिक पदार्थ उच्च मात्रामा शरीरमा पस्दा विभिन्न किसिमका शारीरिक लक्षण तथा समस्या देखिनु अन्यथा भएन। मुटु, कलेजो, फोक्सो, रगत, मस्तिस्कलगायतका मुख्य अंगहरूमा ओखतीको प्रभाव देखिन थाल्छ। महत्त्वपूर्ण अंगमा समस्या देखिएपछि परीक्षण जनावरको आनीबानीमा परिवर्तन आउनु अस्वाभाविक हुँदैन। दबाइले प्रतिकूल प्रभाव पारेको खण्डमा जनावरको मृत्युसमेत हुन सक्छ। तसर्थ, ओखती परीक्षणका जनावरहरू २४सै घण्टा चिकित्साकर्मीको निगरानीमा रहन्छन्।
औषधि परीक्षण र उत्पादनको क्रममा संसारमा झण्डै २ करोड जनावर बर्सेनि मारिन्छन्। उक्त संख्या धेरै जस्तो देखिए पनि खानाका लागि मारिने जनावरको कुल संख्याको केबल १ प्रतिशतमात्र अनुसन्धानको क्रममा प्रयोग गरिने गरेको यथार्थ बिर्सनुहुँदैन।
सामान्यतः दबाइको प्रभाव निश्चित अवधिसम्म कायम रहने भएकाले शरीरमा ओखतीको मात्रा कसरी परिवर्तन भइरहेको छ भन्ने एकीन गर्न आवधिकरूपमा रक्त संकलन र परीक्षण गर्ने काम निरन्तर कायम रहन्छ। ओखती कति अवधि शरीरमा कायम रह्यो अनि रासायनिक पदार्थले के/कस्तो असर पार्यो भन्ने कुराको निधोकालागि नियमित ल्याब परीक्षण आवश्यक हुन्छ।
धेरै पटक सेवन गर्नुपर्ने किसिमको ओखती भए आवधिकरूपले दिने र बायोलोजिकल प्रभावको अध्ययन गर्ने काम त्यसैअनुरूप गरिन्छ। एक खोराक मात्र लिनुपर्ने अवस्थाको ओखती भए एक मात्रापछि उक्त ड्रग्सले विभिन्न अंगमा पारेको प्रभावको लेखाजोखा गरिन्छ। ओखतीको मात्रा अत्यधिक भए क्षणिकरूपले कुनै अंगमा समस्या देखिनु अन्यथा होइन। तर ओखतीले कुनै अंगमा पारेको नकारात्मक प्रभाव केही समयपछि आफैँ ठीक हुन्छ/हुँदैन भन्ने कुरासमेत हेरिन्छ। रासायनिक पदार्थले परीक्षण जीवको अंगमा कुनै प्रतिकूल प्रभाव पारेको छ कि भनी एकीन गर्नअध्ययनको अन्त्यमा जनावरका अंगहरूको विस्तृत ल्याब परीक्षण गरिन्छ। ओखतीले पारेको ‘टक्सिक’ इफेक्टको एकीन गरिन्छ।
ओखतीको निश्चित मात्राले परीक्षणका क्रममा जनावरको कुनै पनि महत्त्वपूर्ण अंगलाई ठूलो नकारात्मक प्रभाव पारेको देखिएन भने उक्त औषधिले ‘सेफ्टी टेस्ट’ पास गरेको मानिन्छ। कदाचित ‘मोडन एनिमल’ मा गरिएको ओखती परीक्षणले जनावरको महत्वपूर्ण अंगलाई कामै नलाग्ने बनाएको देखिए उक्त रासायनिक पदार्थमा गरिएको सुरक्षा परीक्षण सन्देहास्पद देखाउँछ। सुरक्षा चुनौती देखिएको अवस्थामा उक्त ‘केमिकल’ दबाइ विकासको अर्को चरणमा जान सक्दैन।
परीक्षणका क्रममा ओखतीको मात्रा र महत्वपूर्ण अंगमा देखिने जटिलताबीच प्रत्यक्ष संबन्ध स्थापित हुन जरुरी हुन्छ। औषधि नखाने जनावरका अंगहरूमा कुनै पनि खोट देखिनुहुँदैन भने सबै भन्दा अधिक ओखती दिइएको जनावरको शारीरिक अवस्था सबै भन्दा दयनीय हुनुपर्छ। दबाइको मात्रा र परीक्षण जीवमा देखिएको खतीका बीच प्रत्यक्ष संबन्ध स्थापित भएको देखिए ‘सेफ्टी टेस्ट’ मान्य भएको ठानिन्छ। कदाचित ओखतीको मात्रा न्यून प्रयोग गरिएको जनावरको अवस्था अधिक दबाइ दिइएको जन्तुको स्वास्थ्य अवस्था भन्दा जटिल देखिए उक्त परीक्षणमा प्रश्न लाग्छ, थप उत्खनन जरुरी पर्छ।
दबाइ उत्पादक कम्पनीले जनावरमा गरिएको परीक्षणको सकारात्मक नतिजासहित मानिसमा क्लिनिकल परीक्षणको अनुमतिका लागि ‘न्यू ड्रग्स एप्लिकेसन’ हाल्छन्। फलानो ओखती यति मात्रासम्म यो जनावरमा परीक्षण गर्दा प्रतिकूल असर नपारेको देखिएको विवरणसहित औषधि नियन्त्रण निकायमा दिएको निवेदन स्वीकृत भए उक्त रासायनिक पदार्थ मानिसमा क्लिनिकल परीक्षणका लागि अघि बढ्छ। संभाव्यता बोकेको दबाइ मानिसमा परीक्षण सुरु हुन्छ। औषधि परीक्षण र उत्पादनको क्रममा संसारमा झण्डै २ करोड जनावर बर्सेनि मारिन्छन्। उक्त संख्या धेरै जस्तो देखिए पनि खानाका लागि मारिने जनावरको कुल संख्याको केबल १ प्रतिशतमात्र अनुसन्धानको क्रममा प्रयोग गरिने गरेको यथार्थ बिर्सनुहुँदैन। खानाका लागि मात्र महत्वपूर्ण ठानिएका जनावरले ओखती अनुसन्धानमा खेलेको भूमिका सराहनीय देखिन्छ।
प्रकाशित: १ भाद्र २०७८ ०४:२९ मंगलबार