डा.पालिथा अबेकुन, प्रोफेसर डा.माहा एल रब्बाट, डा.डेविड नबार्रो, डा.जोन नकेंगासोंग, डा.मिर्टा रोजेस र प्रोफेसर साम्बा सो
हाल विश्वभर सार्स–कोभ– २ भाइरसका अधिक संक्रामक स्वरूप देखापर्न थालेका छन्। यस्तो बेला खोपमा सबैको न्यायोचित पहुँच सुनिश्चित गर्नु हामी सबैको नैतिक जिम्मेवारी हो। तर मुठीभर राष्ट्रले अन्य राष्ट्रलाई उछिनेर आफ्नै जनतालाई मात्र खोप लगाएका छन्। कोभिडसँग जुधिरहेका समुदायहरू अधैर्य र थकित हुँदै गएका छन्। मास्क लगाउनु, भौतिक दूरी कायम राख्नुजस्ता आधारभूत जनस्वास्थ्य उपायलाई खुकुलो पारिए संक्रमण दर बढ्ने सम्भावना कायमै छ। भाइरसका अधिक संक्रामक स्वरूप देखिइरहेकै बेला केही राष्ट्रले आफूलाई मात्र ध्यानमा राखी छिटोभन्दा छिटो खोप पाउने होडबाजी गर्नुले खोप नलगाएका र एउटा मात्र डोज खोप लगाएका मानिसका लागि जोखिम बढिरहेको छ।
आज विश्व एउटा ठूलो संकटको घडीमा छ। हामी विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूतहरू यस महामारीलाई पराजित गर्न एउटा बृहत् रणनीति वा उपाय अपनाउने दिशामा नवीन प्रतिबद्धताका लागि आह्वान गर्दैछौँ। यसअन्तर्गत हामीले दुईवटा मार्ग लिएर अघि बढ्नुपर्नेछ। प्रथम मार्गअन्तर्गत सरकार तथा खोप निर्माताले विश्व स्वास्थ्य संगठनका सबै सदस्य राष्ट्रलाई आफैँ खोप उत्पादन गर्न सक्षम बनाउन र तिनका सबैभन्दा बढी जोखिममा रहेका समुदायलाई खोप लगाउन चालिएका द्रूत प्रयासमा समर्थन गर्नेछन्। दोस्रो मार्गअन्तर्गत व्यक्ति तथा समुदायले संक्रमणको शृंखला तोड्न आवश्यक जनस्वास्थ्य उपाय अपनाउन कटिबद्ध रहनेछन्।
प्रथम मार्गअन्तर्गत विश्व स्वास्थ्य संगठन र यसका ‘कोभ्याक्स’ साझेदारले खोपको सर्वोत्तम उपयोगका लागि बारम्बार गरेका आह्वानको तत्काल कार्यान्वयन गर्नुपर्नेछ। हालसम्म झन्डै तीन अर्ब डोज खोप विश्वव्यापी रूपमा वितरण भइसकेका छन्, तर तीमध्ये नौ करोड मात्र ‘कोभ्याक्स’मार्फत वितरण गरिएका हुन्। कम्तीमा ६० देश खोपका लागि ‘कोभ्याक्स’मा निर्भर छन्, हालसम्म ती देशमा औसत तीन प्रतिशत जनसंख्यालाई मात्र खोप लगाइएको छ। स्वास्थ्यकर्मी, वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका मानिस लगायत सबैभन्दा बढी जोखिममा भएकालाई पहिले खोप लगाउने रणनीति विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा लागू गर्न आवश्यक छ।
यसअन्तर्गत सेप्टेम्बर (मध्य भदौ २०७८) सम्म प्रत्येक देशको जनसंख्याको कम्तीमा १० प्रतिशतलाई खोप लगाउने विश्व स्वास्थ्य संगठनको आह्वान र २०२१ को अन्त्य (मध्य पुस २०७८) सम्म ४० प्रतिशतलाई खोप लगाउने ‘ड्राइभ टु डिसेम्बर’ अभियानका लागि आवश्यक समर्थन प्रदान गर्नुपर्छ। ‘सेप्टेम्बर लक्ष्य’ प्राप्त गर्न अबको चार महिनाभित्र कम र मध्यम आय भएका देशका स्वास्थ्यकर्मी तथा सबैभन्दा बढी जोखिममा रहेका समूहलाई प्राथमिकता दिई थप २५ करोड मानिसलाई खोप लगाउनुपर्नेछ।
यी लक्ष्य यस वर्षको अन्त्यसम्म विश्वको कुल जनसंख्याको ४० प्रतिशत र सन् २०२२ को मध्यसम्म ६० प्रतिशतलाई खोप लगाउने विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन र विश्व बैंकले गरेको दृढ पहलकदमीसँग मेल खान्छन्। यस उद्देश्यका लागि विश्वव्यापी खोप अभियानमा थप ५० अर्ब अमेरिकी डलर कोष वृद्धिका लागि आह्वान गरिएको छ।
यस महामारीले निम्त्याउने खर्बौं डलर बराबरको आर्थिक घाटा र लागतको तुलनामा यस्तो लगानीलाई सानै मान्नुपर्छ। विश्व स्वास्थ्य संगठनले सुरक्षित तथा प्रभावकारी खोप र अन्य उपकरण उपलब्ध गराउन आवश्यक कार्य जारी राखेको छ। हालसम्म संगठनले आठवटा खोपका लागि आपतकालीन उपयोग सूची (इयुएल) जारी गरेको छ। सबै राष्ट्रमा जोखिममा रहेका मानिसको निदान, उपचार र खोप सुनिश्चित गर्न र विकासशील देशलाई आफैँ खोप उत्पादन गर्न सक्षम बनाउन ‘कोभिड–१९ टुल्स एक्सेलेरेटर’ कार्यक्रम प्रारम्भ गरेको छ। यो महामारीलाई नियन्त्रणका लागि उत्पादन तथा निदान क्षमताको विकासमा लगानी गर्न, भाइरस अनुक्रमण क्षमता बढाउन, संक्रमित व्यक्तिको थप निगरानी गर्न र अन्य उपाय लागू गर्न आवश्यक छ।
अन्य देशले खोप प्राप्त नगरेको अवस्थामा खोपको सबैभन्दा ठूलो मौज्दात भएका देशले खोप जम्मा गरेर राखिरहने र आफ्नै सम्पूर्ण जनसंख्यालाई मात्रा खोप लगाउने होड गर्नुहुँदैन। त्यसो गर्नु वास्तवमा दीर्घकालीन रूपमा ती देशकै लागि समेत हितकर नहुने देखिन्छ। किनभने खोप नपाएका देशमा संक्रमण बेसरी फैलिएमा भाइरसका अधिक संक्रामक र खतरनाक नौला स्वरूपको उदय हुँदै जाने सम्भावना बढ्छ र तिनले हाल लगाइएका खोपलाई समेत कम प्रभावकारी बनाउन सक्छन्।
यसबीच विश्वले ‘दोस्रो मार्ग’लाई पनि बेवास्ता गर्नु हुँदैन। मास्क लगाउने, शारीरिक दूरी कायम राख्ने, वायुसञ्चार सुनिश्चित गर्ने आदि उपायलाई जारी राखी आफू र अन्यको सुरक्षा गर्ने प्रतिबद्धतामा सबै दृढ रहन आवश्यक छ। महामारी सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेको अवस्थामा मानिसलाई महामारी नियन्त्रणमा सहभागिता गराउनका लागि तिनका समुदायसँग संलग्न रहन, उनीहरूको विश्वास जित्न र उनीहरूलाई आफू प्रतिकार्यको हिस्सा भएको महसुस गराउन आवश्यक छ।
अहिलेको आपतकालीन आह्वान भनेको जीवन बचाउनु हो। यो आह्वानलाई सम्बोधन गर्नु विश्वभरका सबै राष्ट्रको अनिवार्य नैतिक जिम्मेवारी हो। विश्वव्यापी ऐक्यबद्धता भाइरसका नयाँ स्वरूपको उदय रोक्ने स्वार्थी मनसायबाट प्रेरित भए पनि आजका लागि अत्यन्त आवश्यक छ।
सबैभन्दा बढी जोखिममा भएकालाई खोप लगाउने तथा जनस्वास्थ्य उपायलाई पालन गर्ने द्वैतमार्ग रणनीतिका लागि सक्रिय आह्वान गरी थप योगदान दिन सक्नेलाई सक्रिय बनाउन सके सारा विश्व लाभान्वित हुन सक्नेछ। थप जीवन बचाउन सकिनेछ। याद राखौँ, जबसम्म सबै सुरक्षित हुँदैनन् तबसम्म कोही पनि सुरक्षित छैनन।
-डा.अबेकुन दक्षिण–पूर्व एसियाका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूत, प्रोफेसर -डा.रब्बाट पूर्वी भूमध्यसागरीय क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूत, -डा. नबार्रो युरोप र उत्तरी अमेरिकाका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूत, -डा. नकेंगासोंग अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूत–अंग्रेजीभाषी, -डा. रोजेस ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूत, प्रोफेसर सो अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका महानिर्देशकका विशेष दूत–फ्रेन्चभाषी हुन्।
प्रकाशित: २१ श्रावण २०७८ ०४:३६ बिहीबार