१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

महामारीको अन्त कसरी ?

खोप प्रभावकारी भएपनि कोरोना भाइरस र यसका नयाँ भेरियन्टका कारण महामारीको शृंखलाबद्ध लहर निरन्तर जारी रहनेछ।  सामान्य जीवनमा फर्कन खोप,औषधि, सार्वजनिक स्वास्थ्य मापदण्ड र गहिरो विश्वव्यापी सहयोगसहितको बहुपक्षीय रणनीति आवश्यक देखिएको छ।

कोरोना महामारीको पाँचौँ लहरमा अमेरिका प्रवेश गरेकोछ। हरेक लहरमा अपेक्षित प्रतिकार्यको अभावमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपरेकोछ। पहिलो लहरमा लकडाउन र अन्य निषेधाज्ञा प्रखर थिए। तर खोप अभियान सुरु भएयता नयाँ संक्रमण उल्लेख्यरूपमा घटेकोछ। भाइरसको डेल्टा भेरियन्टका कारण खोप नलगाएको जनसंख्या जोखिममा छ।  

हरेक लहरमा कोभिड–१९ का लागि जिम्मेवार मानिएको सार्स–कोभ–२ भाइरसलाई कम आकलन गरिएको थियो। दीर्घकालीनरूपमा रोग नियन्त्रणका लागि खोप, एन्टिभाइरल ड्रग, सुदृढ जनस्वास्थ्यका उपाय र गहिरो अन्तर्राष्ट्रिय सहयोगसहितको रणनीति आवश्यक देखिएकोछ।  

खोप भाइरसविरुद्धको प्रतिरक्षाका लागि पहिलो चक्र हो। अमेरिकामा हाल उपलब्ध पहिलो पिँढीका  खोप प्रभावकारी देखिएकाछन्। अब दोस्रो, तेस्रो तथा त्यसपछिको पिँढीका खोप झन् प्रभावकारी हुने निश्चित छ। तर भाइरसको नयाँ भेरियन्टलाई लक्षित गरेर विकास गरिने बुस्टर खोप तथा नयाँ पिँढीका खोपले मात्र महामारी अन्त हुने देखिन्न।  

खोपले सबैमा अपेक्षित नतिजा नदिन सक्छ। सबै भन्दा राम्रो अवस्थामा पनि सुरुमा देखिएको जंगली प्रकारका भाइरस रोक्न खोप ५ प्रतिशतसम्म असफल रहेको देखिएकोछ। खोपले बनाउने प्रतिरक्षालाई तोड्न डेल्टा भेरियन्ट झन् सफल देखिएकोछ। अमेरिकाका सम्पूर्ण जनसंख्यालाई खोप उपलब्ध गराइए पनि  १ करोड ७५ लाख जनसंख्या भाइरसको सम्पर्कमा आएमा अझैपनि संक्रमण र रोगको जोखिममा रहनेछन्।

यसबाहेक अन्य रोगबाट ग्रसित जनसंख्याको ठूलो तप्कामा खोपको प्रभावकारिता न्यून रहनेछ। अंग प्रत्यारोपण गरिएका, इम्युनोसप्रेसेन्ट औषधि सेवन गरिरहेका, क्यान्सर रोगी तथा केही वृद्धवृद्धामा खोपले अपेक्षित सुरक्षा नदिन सक्छ। यसैगरी बर्सेनि रुखा/खोकीविरुद्ध दिइने खोप, जस्तै कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिता पनि समयसँगै क्रमशः घट्दै जाने देखिएकोछ।  

एन्टिभाइरल तथा अन्य औषधिले यो अन्तर मेट्न भाइरसविरुद्धको प्रतिरक्षाको दोस्रो चक्र निर्माण गर्न सक्छन्। अमेरिकाले कोभिड–१९का लागि एन्टिभाइरल थेरापी विकास गर्न  हालै ३ अर्ब २० करोड अमेरिकी डलर बराबरको रकम खर्च गर्ने घोषणा गरिसकेकोछ। यस्ता औषधिले रोगको उपचारमा सहयोग गर्ने ठाने पनि अन्ततः यसले महामारी नियन्त्रणमा सहयोग गर्नेछ किनकि रोगनिरोधी औषधिले भाइरसको सम्पर्कमा आएका मानिस बिरामी हुन र अन्यलाई संक्रमणबाट  जोगाउँछन्।  

सत्य के हो भने उत्पादन लागत र क्लिनिकल वातावरणमा नसामा दिनुपर्ने औषधिमात्र हाल उपलव्ध रहेकाले यस्ता औषधिको व्यापक प्रयोग हुन कठिन छ। त्यसो भएपनि यस्ता औषधिको नयाँ संस्करण चक्कीका रूपमा आउन सक्ने देखिन्छ जसका कारण प्रतिरक्षा प्रणाली कमजोर रहेका र खोपमा मात्र भर पर्न नसक्ने संरक्षणगृहमा रहेका वृद्धवृद्धामा यसको प्रयोग गर्न सहज हुनेछ। विद्यालय, व्यापार, व्यावसायिक खेलकुद टोली र पानी जहाजका यात्रुमा पनि यसको उपयोग हुन सक्छ। यस्तो बेला एकजनामा संक्रमण देखिएमा अन्य सबैले सम्भावित संक्रमण रोक्न एउटा चक्की औषधि सेवन गर्न सक्छन्।  

यसैगरी सुरक्षाको अर्काे चक्र भनेको सार्वजनिक स्वास्थ्य मापदण्ड हुन्। अस्ट्रेलिया, चीन, न्युजिल्यान्ड, सिंगापुर र ताइवानले भाइरसको परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, अनिवार्य आइसोलेसन, कडा सीमा व्यवस्था तथा नयाँ आगन्तुकलाई क्वारेन्टिनमा राख्ने जस्ता व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गरेकाछन्। यस्तो रणनीतिले रोग नियन्त्रण गर्न सहयोग गरेको देखिन्छ। तर अमेरिका र विश्वका अन्य देशमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ त्यति प्रभावकारी र सफल देखिएन्। सौभाग्यवस, भाइरसको उपचारमा नयाँ औषधिको आगमनले यस्तो असफलतालाई रोक्न सक्नेछ।  

यसअघि ‘टेस्ट, ट्रेस, र क्वारेन्टिन’ भन्ने गरिएकामा आगामी दिनमा ‘टेस्ट, ट्रेस र एउटा चक्की सेवन’ भन्ने नयाँ वैकल्पिक तथा आकर्षक अवधारणा आउन सक्छ। यस्ता औषधिले यात्रा गर्दा अनिवार्य क्वारेन्टिन बस्न नपर्ने स्थिति आउन सक्छ। यसरी सुरक्षाका तीनवटा चक्रले भाइरसविरुद्ध प्रभाकारी प्रतिरक्षा सिर्जना गर्न सक्छन्। तर सर्वत्र कार्यान्वयनमा नआएसम्म यी उपाय पर्याप्त हुने छैनन्। सुरक्षाको अर्काे चक्र भनेको अन्तर्राष्ट्रिय सहयोग हो। 

अन्तर्राष्ट्रिय समुदायले निगरानी व्यवस्थालाई सुधार गर्न तथा भाइरसको परीक्षण, उपचार तथा खोपको विश्वव्यापी पहुँच सुनिश्चित गर्न सहकार्य आवश्यक छ। यो सन्दर्भमा एक्ट एक्सलेरेटर र कोभ्याक्स महत्वपूर्ण सुरुवात हुन्। तर आआफ्नो स्वार्थ र खोप राष्ट्रवादका कारण यी मञ्चले अपेक्षित काम गर्न सकेका छैनन्। त्यसो भएपनि धनी राष्ट्रसँग चाहिने भन्दा बढी खोपको मौज्दात रहेकाले उनीहरूले भविष्यमा अन्य आवश्यक राष्ट्रलाई यी खोप उपलब्ध गराउने आशा गरिएकोछ। यसैगरी स्थानीय स्तरमा खोप उत्पादनका प्रयास पनि सकारात्मक छन्।  

यी प्रयासबाहेक, अन्तर्राष्ट्रिय समुदायले विश्वव्यापी रोग निगरानी व्यवस्था बनाउन थप लगानी गर्न आवश्यक छ। नयाँ महामारी फैलन नदिन र संक्रामक भेरियन्ट रोक्न यो व्यवस्था अत्यावश्यक छ। यसका लागि उच्चस्तरको निगरानी व्यवस्था, भाइरसको अनुवांशिक अध्ययन तथा तथ्यांक पाउनासाथ बाँड्नु आवश्यक छ। यसरी अग्रपंक्तिमा विकास गरिने प्रणाली स्थापनासँगै विश्वका वैज्ञानिक, अनुसन्धानकर्ता तथा औषधि निर्माता कम्पनी मिलेर भाइरसको नयाँ भेरियन्टलाई कसरी नियन्त्रण गर्ने भन्नेमा मिलेर काम गर्न आवश्यक छ। 

महामारीको डेढ वर्षमा हामीले यसलाई अन्त गर्न आवश्यक पर्ने सरचना र सयन्त्र पहिचान गरिसकेका छाैं। अब हामीसँग भएको ज्ञान र सयन्त्रको प्रयोग गर्ने बेला आएको छ। महामारी नियन्त्रणमा एकल विधि तथा उपाय यथेष्ट हुने देखिँदैन। त्यसैले खोप, एन्टिभाइरल औषधि, जनस्वास्थ्य मापदण्ड तथा अन्तर्राष्ट्रिय सहयोगसहितको चार सुरक्षा चक्रको कार्यान्वयनले कोभिड–१९लाई जित्न सकिन्छ। यसो गरेमा यो घातक रोग नियन्त्रण गर्न सकिन्छ र विश्वमा नयाँ बिहानी ल्याउन सकिन्छ।  

(हेजल्टाइन वैज्ञानिक तथा सरुवा रोग विशेषज्ञ हुन। यो आलेख प्रोजेक्ट सिन्डिकेटबाट लिइएको हो।)

प्रकाशित: १७ श्रावण २०७८ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App