१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

कोभिड महामारीका चुनौतीपूर्ण सहसंक्रमण

हामीले प्रत्येक दिन अपराह्नको समयमा कोभिड पोजेटिभ र कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या गणना गरिरहेका तथ्यांक समाचार सुन्न पाउँछौँ। यो तथ्यांकले जनमानसमा कस्तो प्रभाव र असर गर्ला त्यो अर्को बहसको विषय बन्ला तर वास्तविक तथ्यांक त्यो संख्या भन्दा केही हेरफेरमा आउन सक्छ। कतिपय हाम्रो ग्रामीण भेगमा परीक्षण हुन पाएका छैनन् भने मृत्युको कारण पनि पहिचान गर्न सकेको छैन।

अझ त्यसमाथि हामीकहाँ सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूसमेतमा जनचेतनामूलक भन्दा डर र त्रास उत्पन्न हुने किसिमका भ्रामक सन्देशले उचित स्थान पाएका छन्। तर यसो भन्दैमा त्रास मान्नुपर्ने कुरा छैन र हुँदैन पनि। कोभिड पोजेटिभ भएका सबै बिरामी जटिल भएर अस्पतालमा भर्ना नै हुन्छ भन्ने हुँदैन। केही संक्रमितलाई त लक्षण नै देखिँदैन भने धेरै जस्तो संक्रमितलाई केही सामान्य किसिमका लक्षण देखा पर्छन् जसलाई घरैमै सामान्य उपचार गरेर उन्मुक्ति पाउन सकिन्छ। केही संक्रमितलाई भने गम्भीर प्रकृतिको लक्षण देखिन सक्छ। हामीलाई महत्वपूर्ण कुराचाहिँ कुन र कस्तो अवस्थामा स्वास्थ्य संस्था वा अस्पताल जाने भन्ने कुराको जानकारी हुन आवश्यक छ। 

अस्पतालमा भर्ना भएको संक्रमितमध्ये थोरैलाई मात्रै सघन कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ। यस्तो गम्भीर अवस्थामा संक्रमितको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुनाले अन्य संक्रामक जीवाणु/विषाणु/परजीवीहरूले पनि आक्रमण गर्न सक्छन्। यसलाई चिकित्सकीय भाषामा सहसंक्रमण/अवसरवादी संक्रमण भनिन्छ। अहिले सञ्चार माध्यमहरूमा चर्चामा आएको कालो ढुसी (ब्ल्याक फङ्गस् अर्थात म्युकोरमाइकोसिस) यस्तै एक अवसरवादी संक्रमण हो। यतिमात्रै होइन, अस्पतालमा भर्ना हुँदा अन्य धेरै किसिमका ब्याक्टेरिया, भाइरस, फन्जाइ र परजीवीले संक्रमण गर्न सक्छन्। हामीसँग सबै ठाउँमा यथेष्ट सुविधा सम्पन्न प्रयोगशाला नहुने हुँदा यस्तो संक्रमण पहिचान गर्न केही जटिल र कठिनाइ पनि हुने गर्छ।

पछिल्लो समय कोरोना भाइरसमा आएको उत्परिवर्तनले पहिलेको तुलनामा दोस्रो लहरमा अलि धेरै समस्या निम्तिएको भने पक्कै हो। धेरै बिरामीलाई सहयोगी (अक्सिजन) उपचार आवश्यक पर्ने परी दृश्यहरू देखिरहेका छौँ। भाइरसहरूमा यसरी उत्परिवर्तन हुँदा केही जटिल वा सामान्य किसिमको हुन जान्छ। हाल नेपालमा तीन किसिमका भेरियन्ट सक्रिय रहेका पाइएको छ। जसमध्ये डेल्टा (इन्डियन भेरियन्ट) धेरै सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अलि जटिल र आक्रामक किसिमको देखिएको छ। यद्यपि नेपालमा यो भन्दा फरक भेरियन्ट पनि हुन सक्छन्। हामीले थोरैमात्र नमुनाको जीन सिक्वान्सिङ्ग गरेको हुनाले थाहा नभएको हुन सक्छ।

सहसंक्रमण र अवसरवादी संक्रमण  

चिकित्सकीय भाषामा सहसंक्रमण भन्नाले दुई वा दुई भन्दा बढी संक्रमणजन्य जीवाणु÷विषाणुले एकैसाथ सँगै संक्रमण गर्नु हो भने अवसरवादी संक्रमण भन्नले सामान्य अवस्थामा हाम्रै वरपर रहने जीवाणु/विषाणुले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएको मौका छोपी संक्रमण गर्नुलाई बुझाउँछ। अहिले विश्वमा कोभिड संक्रमितहरूको मृत्यु दर धेरै हुनुको कारण कोरोना भाइरसमात्रै होइन, अन्य संक्रमित जीवाणु, दीर्घ रोगहरू र जोखिम कारक तत्वहरूको पनि उत्तिकै भूमिका छ।

विभिन्न देशमा गरिएका अनुसन्धानहरूले कोभिड संक्रमण सँगसँगै अन्य भाइरस, ब्याक्टेरिया र ढुसीको सहसंक्रमण भइ गम्भीर बनाउने र संक्रमित बिरामीको मृत्यु भइरहेको उल्लेख छ। सघन उपचार कक्ष तथा भेन्टिलेटरमा उपचाररत बिरामीहरूमा १०–१५ प्रतिशतलाई एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाबाट, ५ प्रतिशत भन्दा कम श्वास/प्रश्वाससम्बन्धी रोग लगाउने विभिन्न अरू भाइरस र केही मात्रामा ढुसीले संक्रमण गर्ने गरेको जनाइएको छ। 

कोभिड मात्रै संक्रमित बिरामी भन्दा अरू ब्याक्टेरिया वा ढुसीहरूले सहसंक्रमण गरेको बिरामीहरूको मृत्यु दर ३०% भन्दा बढी छ। यो तथ्यांक विकसित मुलुकहरूमा गरिएको अनुसन्धानको भएकाले हाम्रो जस्तो कमजोर स्वास्थ्य संरचना÷प्रणाली भएको देशमा यो भन्दा पनि धेरै मृत्यु दरको कारण हुन सक्छ। हामीले यस्तो सहसंक्रमणलाई खासै महत्व नदिए पनि यसले विश्वसामु एउटा चुनौती थपिरहेको छ।

सहसंक्रमण हुने जोखिम समूह

यस्तो संक्रमण विशेष गरी ५० वर्ष भन्दा माथि उमेर समूह, दम, मधुमेह, अंग प्रत्यारोपण गरेर औषधि सेवन गरिरहेका, मिर्गाैलाको डाइलासिस गरिरहेका, लामो समयदेखि धेरैखाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेका र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका दीर्घरोगीहरूलाई सहसंक्रमण वा अवसरवादी संक्रमण हुने उच्च जोखिम रहन्छ। त्यसमा पनि मधुमेह, मिर्गाैला, क्यान्सर तथा मुटुको समस्या भएका व्यक्तिलाई कोरोना संक्रमण भएमा जोखिम झन् बढी रहन्छ।

सहसंक्रमणका कारक तत्वहरू

अस्पतालजन्य कारण: सह वा अवसरवादी संक्रमित हुनुमा अस्पतालको वातावरण सबैभन्दा मुख्य कारक तत्व हो। अवसरवादी ब्याक्टेरिया, ढुसी (फन्जाइ) र परजीवीहरू अस्पतालको वातावरणमा धेरै लामो समयसम्म रहने गर्छन्। साथै यस्ता अवसरवादी जीवणुहरू हाम्रै शरीरका बाहिरी अंगहरू, प्राकृतिकरूपमा अस्पतालको वातावरण, उपचारमा प्रयोग गर्ने उपकरणहरू, बन्द कोठाको हावा (ढुसीको वीजाणु) र धाराका पाइपहरूमा पाइन्छ। जसले रोग प्रतिरक्षा कमजोर भएका व्यक्तिलाई मौका छोपी आक्रमण गर्छ। यसरी अस्पतालबाट सर्ने ब्याक्टेरिया वा ढुसीहरू औषधि (एन्टिबायोटिक वा एन्टिफङ्गाल) प्रतिरोधी क्षमता भएको हुन्छ र कतिपय औषधिले काम नगर्न पनि सक्छ।

अनावश्यक औषधिको प्रयोग: कोरोना भाइरसले हाम्रो शरीरमा प्रवेश पाएपछि हुने प्याथोफिजियोलोजीकल प्रोसेसहरू हुँदा साइटोकाइन भन्ने रसायनको मात्रै निस्कन थाल्छ र धेरै मात्रामा निस्कन थालेपछि संक्रमित बिरामीलाई गाह्रो बनाउँदै जान्छ। यो अवस्थालाई साइटोकाइन स्ट्रोम भनिन्छ। यो अवस्थामा बिरामीलाई थप जटिल नहोस् भनेर स्टेरोइट/टौलिजुमब जस्ता औषधि दिने गरिन्छ। यसले बिरामीको शरीर कमजोर पर्ने भएकोले सह वा अवसरवादी संक्रमणको जोखिम पनि धेरै हुन्छ। अहिले नेपालमा केहि मानिसहरुले विभिन्न सामाजिक संजालहरुमा फलनो डाक्टर वा जनस्वास्थ्य विदले सुझाएको भनेर अनावश्यक औषधिको सुचीहरु प्रचारप्रसार गरिरहेको पाइन्छ। 

चिकित्सक वा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना आफू खुसी अनावश्यक औषधि (जडिबुटी, एन्टिबायोटिक, स्टेरोइड लगायत अन्य) सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन पनि सक्छ र कालान्तरमा यसले धेरै नकारात्मक असरहरु निम्त्याउछ। एन्टिबायोटिकको जथाभावी प्रयोगले अहिले एन्टिबायोटिक प्रतिरोधी (एन्टिबायोटिकले मर्न नसक्ने) ब्याक्टेरियाहरु दिन प्रतिदिन बढी रहेको छ। यस्तो ब्याक्टेरियाले सन २०५० सम्ममा प्रत्येक वर्ष विश्वमा एक करोड (दश मिलियन) जनसंख्याको मृत्युहुने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरेको छ।

बाहिर मानिसहरुको आवतजावतः

उपचाररत कक्षमा बाहिरबाट आफन्तजनहरु भेटघाट गर्दा बाहिरबाट आउने ब्यक्तिको शरीर लगायत वातावरणमा भएको ब्याक्टेरियाहरु जुत्ता लुगा इत्यादिबाट बिरामीको उपचार कक्षमा प्रवेश पाउछ। यनिहरुले सामान्य अवस्थामा संक्रमण नगरे पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बिरामीलाई संक्रमण गर्न सक्छ।

महामारी संग डर र त्रास भन्दा पनि सचेत र सतर्क अपनाइ उच्च मनोबलका साथ लड्नु पर्छ। अनावश्यक आफू खुसी औषधिको सेवनले प्रभावकारिता भन्दा जोखिम बढी हुने भएकोले सहि समयमा आधिकारिक चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्शमा मात्रै औषधिहरु सेवन गर्ने उत्तम हुन्छ। हामीले अस्पतालहरुको वातावरणलाई बेला बेलामा किटाणुनाशक रासायनको प्रयोग गरि पुर्णरुपले जीवणु/विषणु/वीजाणु (स्पोर) रहित बनाइ सह–संक्रमणको संभावित जोखिमलाई न्यूनीकरण गर्दै सके सम्म कम भन्दा कम क्षतिमा महामारीलाई परस्पर गर्ने तर्फ अग्रसर हुनुपर्छ।  (मेडिकल माइक्रोबायोलोजीस्ट, त्रि. वि.)

प्रकाशित: १८ असार २०७८ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App