९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

खरायो कोरोना कछुवा सरकार

एउटा पुरानो बालकथा छ– खरायो र कछुवाबीच दौड प्रतियोगिताको। कथा सुनेर अथवा पढेर हामी सोच्थ्यौँ, स्वाभाविकरूपमा दौड खरायोले जित्छ। तर त्यसो हुँदैन। आफ्नो दौड क्षमतामा पूर्ण विश्वास भएको खरायो दौडेर कछुवा भन्दा धेरै पर पुग्छ र आराम गर्न बस्छ। आराम गर्दागर्दै ऊ फुस्स निदाउँछ। त्यही बेलामा आफ्नै गतिमा निरन्तर हिँडेको कछुवाले खरायोलाई उछिनेर दौड जित्छ। यो पुरानो कथा हो र पहिलो कथा पनि हो।  

खरायो र कछुवाको कथालाई थप कल्पनाशीलताले सजाएर दोस्रो, तेस्रो र चौथो नयाँ अर्थात् आधुनिक कथा पनि बनिसकेका छन् जुन कथाले धेरैवटा सन्देश दिन्छन्। दोस्रो कथाअनुसार दौड हारेको खरायोले आत्मसमीक्षा गर्छ र कछुवासँग पुनः दौडने प्रस्ताव गर्छ। अति आत्मविश्वास र लापरबाहीका कारण दौड हारेको खरायोले यसपटक कुनै हेलचेक्र्याइँ नगरी संकल्पका साथ दौडन्छ र दौड जित्छ।  

तेस्रो कथामा चाहिँ दौड हारेको कछुवाले आत्मसमीक्षा गर्छ। उसले खरायोले तोकेको मार्ग र सर्तमा दौडिँदा आफूले हारेको ठहर गर्छ। त्यसपछि उसले जसरी पनि दौड जित्छु भन्ने संकल्प गरेर दौडको मार्ग परिवर्तन गर्ने निर्णय गर्छ र खरायोसँग पुनः दौडको प्रस्ताव राख्छ। जितको घमण्डले फुलेको खरायोले कछुवाको प्रस्ताव सहर्ष स्वीकार्छ र दौडन तयार हुन्छ। पहिलेझैँ खरायो दौडेर कछुवा भन्दा धेरै अगाडि पुग्छ। तर निश्चित दूरी पूरा गर्न एउटा खोला पार गर्नुपर्ने हुन्छ। खरायो जति छिटो दौडे पनि अन्ततः खोला तर्न नसकेर दौड हार्छ। सुस्तरी हिँडे पनि कछुवाले दौड जित्छ किनभने ऊ खोलामा पौडिन सक्छ।  

यहाँ खरायो र कछुवाको कथालाई अहिलेको परिस्थितिमा कोरोना र हाम्रो सरकारसँग जोड्न खोजिएको छ। यतिखेर संसारभरि नै कोरोना खरायोको गतिमा फैलिरहेको छ। विकसित राष्ट्रहरूले नयाँ नयाँ रणनीति अपनाएर कोरोनालाई जित्ने क्रममा छन्। जहाँबाट कोरोना उत्पत्ति भएको थियो त्यहीँ त्यस्तो समस्या छैन, जुन समस्या अहिले हामी भागिरहेका छौं। सरकारले कोरोनालाई जित्ने रणनीति अपनाउन नसक्दा कोरोनासँग हार स्वीकार गर्नुपर्ने परिस्थिति सिर्जना भइरहेको छ।  

खरायो र कछुवाको कथामा आफ्नो दौड क्षमतामा अति विश्वास भएको खरायो आराम गर्ने बहानामा फुस्स निदाउँथ्यो। तर हाम्रो सरकार भने खरायो जस्तो तीव्र गतिको कोरोनासामु कछुवा जस्तो सुस्त गतिको देखिएको छ। अझ अर्को विडम्बना त के हो भने, कथामा खरायो निदाउँथ्यो। तर हाम्रो सन्दर्भमा त कछुवा नै निदाइरहेको छ अर्थात् सरकार निदाइरहेको छ। कछुवा नै निदाएपछि खरायोसँगको दौड कसरी जितिन्छ ? कोरोना भनेको केही होइन। बेसार–पानी खाएर हाच्छ्यँुसाच्छ्युँ गरे ठीक हुन्छ भन्ने कुरा गलत रहेछ भन्ने ज्ञान झण्डै पाँच हजार नेपाली जनताले कोरोनाको कारण मृत्यु वरण गरेपछि मात्रै भयो हाम्रा शासकलाई। कछुवाको भन्दा पनि ढिलो गति देखेर नेपाली जनता रुनु कि हाँस्नु !  

नेपालमा पहिलो कोरोना संक्रमित भेटिँदा सरकारले संक्रमितको संख्या एक सयमा सीमित गर्ने भनेको हिजो जस्तो लाग्छ। तर कोरोनालाई जित्ने अथवा कोरोनालाई रोक्ने अनेकौँ उपाय र पर्याप्त समय हुँदाहुँदै पनि सरकार निदाएर बस्दा कोरोनाले भयावह रूप लियो। अहिले फेरि कोरोनाको दोस्रो लहर चलिरहेको छ। पहिलेको भन्दा अहिलेको संक्रमण झन् भयाबह देखिएको छ। नयाँ प्रजातिको भाइरस बढी संक्रामक र खतरनाक भएकाले संक्रमित र मृत्यु हुनेहरूको संख्या अकल्पनीयरूपमा बढिरहेको छ। जसले गर्दा जनमानसमा कोरोनाको निकै ठूलो त्रास फैलिएको छ। टोल–टोल र घर–घरमा संक्रमण फैलिएको छ। 

देशभरिका सरकारी तथा निजी अस्पतालहरूमा बेड, भेन्टिलेटर, अक्सिजन र अत्यावश्यक औषधिको अभाव चर्किएको छ। बजारमा औषधिको कालोबजारी मौलाएको छ। संवेदनशील अवस्थामा पनि कतिपय व्यापारीहरू कमाउने दौडमा छन्। औषधिदेखि खाद्यान्नसम्ममा बढेको महँगीले जनता थप सकसमा परेका छन् तर सरकारी अनुगमन शून्य छ। सरकार लाचार छ।  

कोरोनाको नयाँ प्रजातिसहितको दोस्रो लहर सुरु हुनुअघि सचेतना, सावधानी र पूर्वतयारीको पर्याप्त समय थियो। तर यो बीचको समयमा मानिसले लापरबाही गरे। कोरोनाको डर, त्रास र जोखिम बिर्सेर आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न भए। प्रशासनले प्रतिबन्ध लगाउँदा पनि जनप्रतिनिधि र स्थानीयको दबाबमा स्थानीय सांस्कृतिक पर्व, जात्रा, बिहे, ब्रतवन्ध आदिलाई निरन्तरता दिने काम भयो। यसबाट कोरोना संक्रमणले थप फैलिने मौका पायो। बिहे भोज खाएकै कारण फैलिएको संक्रमणबाट एकै घरका तीन जनासम्मको मृत्यु भएको दुखद खबर हामीले सुन्नुपर्‍यो।  

कोरोनाविरुद्ध लड्न पर्याप्त पूर्वतयारी गर्नुपर्ने सरकार उखानटुक्का र चुट्किला सुनाएर जगहँसाइ गरेर बस्यो। सरकार कोरोनाविरुद्ध लड्ने कुनै रणनीति, कार्यविधि र कार्ययोजना नबनाइ शिलान्यास, उद्घाटन र राजनीतिक भेलामा व्यस्त रह्यो। प्रदेशदेखि केन्द्रसम्म सरकार बनाउने, टिकाउने र गिराउने खेल चलिरह्यो। कोरोना रोकथाम र नियन्त्रणलाई भन्दा राजनीतिक लोकप्रियताका कामलाई प्राथमिकतामा राखेर अघि बढिरह्यो सरकार। कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्न सक्ने भ्याक्सिन, अक्सिजन र अरू औषधिजन्य वस्तुको जोहो गर्ने र क्वारेन्टिन, आइसोलेसन सेन्टर र कोभिड अस्पताल निर्माणलाई भन्दा भ्युटावर, राममन्दिर र धरहरा निर्माणलाई प्राथमिकतामा राखेर काम गर्‍यो सरकारले। कोरोना संक्रमितको उपचारमा भन्दा पशुपतिमा सुनको जलहरी चढाउन करोडौँ खर्च गर्न तयार भयो सरकार। 

सर्प पालनका लागि करोडौँ अनुदान दिन तयार भयो सरकार। तर यसबीचमा कोभिड अस्पताल बनेन। आइसोलेसन सेन्टर बनेन। क्वारेन्टिन बनेन। कोरोनाविरुद्धको भ्याक्सिन आयात भएन। अक्सिजन उत्पादन भएन र अक्सिजन सिलिन्डर आयात भएन। पर्याप्त औषधि आयात भएन। औषधि आयातमा पनि व्यापारी, बिचौलिया र सरकारबीच कमिसनको खेल चलिरह्यो। संकट चुलिँदै गर्दा पनि भ्याक्सिन खरिद गर्ने विषयमा सरकार अझै अलमलमा छ। अहिले त्यसैको परिणाम भोग्दैछौँ हामी।  

राजनीतिक अभीष्टका लागि खरायो गतिमै कुदिरह्यो सरकार। सत्ता र कुर्सी जोगाउने काममा दिनरात लागिरह्यो सरकार। तर कोरोनाले छट्पटाउँदै मर्दै गरेका जनताप्रति जिम्मेवार बनेन सरकार। संवेदनशील बनेन सरकार। सरकार यतिसम्म लाचार र गैरजिम्मेवार छ कि उसले कोरोनाले मर्नेहरूको लाश पनि समयमा उठाउन सकेको छैन। मन्त्रीका लागि रातारात मन्त्रालय थप्न सक्ने सरकारले कोरोना संक्रमितका लागि समयमा बेड थप्न सकेन। ‘हामी सत्ता जोगाउने महान् कार्यमा छौँ। तिमीहरू आफ्नो ज्यान आफैँ जोगाओ’ भनेझैँ गरिरह्यो सरकारले।

प्रकाशित: १२ जेष्ठ २०७८ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App