११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

वर्तमान महामारीपछिको स्वास्थ्य

विगत डेढ वर्षको अवधिमा कोभिड–१९ ले संसारलाई विक्षिप्त बनायो। भाइरसका कारण लाखाैं मानिसको ज्यान गयो।  अहिले नेपाल कोरोना दोस्रो तरंगको चपेटामा छ। भाइरस सिर्जित विष्फोटक परिस्थिति नियन्त्रण गर्न कफ्र्यु, लकडाउन जस्ता उपाय अवलम्बन भयो। कोरोनाको बढ्दो आयतनसँगै संसारभरका मानिसको दिनचर्या फेरियो। अनलाइन कक्षा, भच्र्युअल अफिसले गर्दा मानिस घरबाट बाहिर निस्कनैपर्ने बाध्यता भएन। भाइरसका कारण धेरै किसिमका व्यापारमा गिरावट आयो। व्यवसाय धराशायी भएपछि मानिस बेरोजगार भए, खर्च धान्न गाह्रो भयो। दैनिकी चलाउन पैसा नहुँदा समस्या आउने नै भयो।  

घरबाट बाहिर निस्कँदा कोभिड–१९ सर्छ कि भन्ने डरले सताएपछि मानिसको दैनिकी फेरियो। हस्पिटल तथा क्लिनिकमा जाँदा कोरोना सर्ने हो कि भन्ने त्रासका कारण शारीरिक समस्या तथा नियमित डाक्टरी जाँचका लागि चिकित्सा परामर्श गर्ने तालिका फेरियो। मर्निङ वाक, जिमखाना जाने अनि खेलकुदमा भाग लिने बानीमा बिराम लाग्यो। बाहिर जाने भन्दा घरभित्रै रुमलिने अवस्था आयो। यसरी नवीन भाइरसले ल्याएको मानिसको दैनिकी परिवर्तनको दूरगामी प्रभावको चर्चा यो आलेखको लक्ष्य रह्यो।

अमेरिकाको स्वास्थ्य अनुगमन निकाय ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)’ तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रकाशित नतिजा नियाल्दा मुटु रोग र क्यान्सरपछि कोभिड–१९ का कारण गत वर्ष संसारमा सबैभन्दा धेरै मानिस मरे। लामो समयदेखि मृत्युको कारकका रूपमा मुटु रोग प्रथम अनि अर्बुद रोग दोस्रो स्थानमा रहेकामा गत वर्ष कोरोना भाइरस थपियो। सन् २०२० मा कोरोना तेस्रो सबै भन्दा बढी मानिस मार्ने रोग बन्यो। वर्तमान वैज्ञानिक अन्वेषण र नतिजालाई विश्लेषण गर्दा भगवानको अनुकम्पा परेबाहेकको अवस्थामा कोभिड–१९ बाट विश्वले त्यति छिटै छुट्कारा पाउने अवस्था देखिन्न। कोरोनासँगै बाँच्न सिक्नुपर्ने परिस्थिति नआउला भन्न सकिन्न। भाइरसका कारण फेरिएको बानी/बेहोराले अन्य रोगलाई कसरी प्रभाव पार्‍यो त ? विचार गरौँ।  

केही महिनाअघि ‘अमेरिकन हर्ट एसोसिएसन’ को जर्नल ‘सर्कुलेसन’ मा एउटा सर्भे प्रकाशित भयो। उक्त प्रक्षेपणले कोरोनाका कारण फेरिएको दैनिकीका कारण संसारमा मुटु रोगीको संख्या आउँदा वर्षमा अत्यधिक बढ्ने देखायो। अमेरिकन हर्ट एसोसिएसनका अध्यक्ष तथा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक मिच एलकिन्ड कोरोनाको ‘बाइ प्रडक्ट’ का रूपमा ‘हर्ट डिजिज’ निकै बढ्ने र त्यसको वास्तविक तथ्यांक आउन भने केही वर्ष लाग्ने बताउँछन्।

गत वर्षको ग्रिष्म ऋतुमा जर्नल ‘जामा कार्डियोलोजी’ मा एउटा अनुसन्धान प्रकाशित भयो। १ सय कोभिड–१९ संक्रमित बिरामीको मुटु अध्ययन गर्दा ७८ जना रोगीको मुटुका कोसमा सामान्य समस्या देखियो। कोरोनाले शरीरका अन्य कोसझैँ मुटुका ‘सेल’ समेत संक्रमण गरे पनि भाइरसकै कारण मुटु क्षतिग्रस्त भइ बिरामी हर्टअट्याक भएर मर्ने संभाव्यता भने देखिएन। कोभिड–१९ ‘हार्ट प्रोब्लम’ को प्रत्यक्ष कारण हो भन्ने पुष्टि भएन। तर कोभिडपछि मानिसको जिउने तरिकामा आएको परिवर्तनले भने हर्ट डिजिज अत्यधिक बढ्ने ठानियो। अनि तत्सम्बन्धी अनुसन्धान चर्चायोग्य बन्यो।  

गत सेप्टेम्बर महिनामा कोरोना भाइरसको आतंकले मानिसको जीवनी कसरी फेरियो भन्ने सम्बन्धमा केही खँदिला नतिजा सार्वजनिक भए। अमेरिकन मेडिकल एसोसिएसनको जर्नल ‘जामा’ मा प्रकाशित एउटा अनुसन्धानले कोरोनाका कारण घरमा बन्दी भएर बस्नुपरेका कारण ‘अल्कोहल’ को खपत १४ प्रतिशतले बढेको देखायो। अध्ययनले लकडाउनका बखत केबल रक्सीको खपत मात्र बढेको देखाएन बरु वयस्कमा ‘जंक फुड’ को सेवन गर्ने बानीसमेत ३१ प्रतिशतले उकासिएको पाइयो। यसरी अक्लोहल र जंकफुड दुवै स्वस्थ मुटुका लागि प्रतिकूल सावित भएको अवस्थामा रक्सी र फास्टफुडको खपत बढ्नुले आउँदा दिनमा ‘कार्डिएक प्रोब्लम’ उकालो लाग्ने नै देखियो।  

लकडाउनका बखत केबल रक्सीको खपत मात्र बढेको देखाएन बरु वयस्कमा ‘जंक फुड’ को सेवन गर्ने बानीसमेत ३१ प्रतिशतले उकासिएको पाइयो। यसरी अक्लोहल र जंकफुड दुवै स्वस्थ मुटुका लागि प्रतिकूल सावित भएको अवस्थामा रक्सी र फास्टफुडको खपत बढ्नुले आउँदा दिनमा ‘कार्डिएक प्रोब्लम’ उकालो लाग्ने नै देखियो।

शारीरिक कसरत स्वस्थ मुटुका लागि वरदान हो नै। तर हालै जर्नल ‘साइकियाट्री’ मा प्रकाशित एउटा अनुसन्धानले धमिलो नतिजा प्रस्तुत गर्‍यो। विगतमा शारीरिक क्रियाकलापमार्फत आफूलाई सक्रिय राख्ने युवा जमातमध्ये झण्डै एकतिहाइले कोरोनापछिका दिनमा आफूलाई चलायमान राख्न नसकेको देखियो। यसरी एउटा ठूलो जमातले शारीरिक तन्दुरुस्तीबाट विचलित भएपछि पछिल्ला दिनमा ‘हर्ट डिजिज’ बढ्नु अस्वाभाविक भएन।

कोरोनाका कारण मानिसको खान्की तथा दैनिकी मात्र फेरिएन, बरु कोभिड–१९ का कारण आफन्त गुमाउनुको पीडा अनि आर्थिक समस्यासँग जुध्न नसक्दा धेरै किसिमका मानसिक तनाव थपियो। मानसिक चिन्ताले रक्तचाप बढ्ने अनि अन्ततः मुटुमा प्रहार गर्ने छँदैछ। खस्कँदो आर्थिक अवस्था अनि डाक्टरकहाँ जाँदा भाइरस बोकेर आइन्छ कि भन्ने त्रासका कारण नियमित चिकित्सकीय परामर्शमा कमी आयो। उच्च रक्तचाप अनि कोलेस्ट्रोल तथा ट्राइग्लिसराइडस अनियन्त्रित भएका बिरामीका लागि नियमित चिकित्सकीय परामर्श आवश्यक पर्छ। तर ‘ग्लोबल तथ्यांक नियाल्दा उल्लिखित ‘क्रोनिक समस्या’ भएका बिरामीले डाक्टरी जाँचको कार्यतालिकालाई स्थगित गरेको पाइयो। यसरी ‘हाइ ब्लडप्रेसर’ लगायतका मुटुका पूर्ववत् समस्या भएका रोगीले चिकित्सकलाई भेट्ने रफ्तार घट्दा अन्ततः ‘हार्ट डिजिज’ बढ्ने नै भयो।  

संयुक्त राज्य अमेरिकामा बर्सेनि झण्डै ७ लाख मानिस मुटु रोगका कारण मर्छन् भने गत वर्ष कोरोनाले ३ लाख ६० हजारको ज्यान लियो। तर उल्लिखित तथ्यांकले मृत्युको यथार्थ तस्बिर बाहिर ल्याएको देखिन्न। अमेरिकन हर्ट एसोसिएसनका अध्यक्ष डा. मिच एलकिन्डको विचारमा कोरोना सिर्जित प्रतिकूलताका कारण उपयुक्त चिकित्सकीय परामर्श पाउन नसक्दा सन् २०२० मा संयुक्त राज्य अमेरिकामा मात्र झण्डै ५ लाख मानिस अकाल मर्न पुगे। तथ्यांकले कोरोना संक्रमणका कारण मरेका मानिस भन्दा कोभिड–१९ को आतंकले सिर्जना गरेको परिस्थितिका कारण अत्यधिक मानिस मरेको देखायो। 

दैनिक कार्यतालिका तथा अभ्यासलाई नियाल्दा कोभिड–१९ को प्रत्यक्ष संक्रमणमा परी ज्यान गुमाउने भन्दा कोरोना आतंकले सिर्जना गरेको परिस्थितिका कारण मर्ने मानिसको संख्या अत्यधिक रहेको अमेरिकी तथ्यांक नेपाललगायत संसारका सबै मुलुकका हकमा सही रहेको ठान्छन् विश्लेषकहरू। नेपालको परिस्थिति विचार गर्दा ‘क्रोनिक डिजिज’ भएका बिमारीहरू ‘लकडाउन’, भाइरसको त्रास, कोरोनाका कारण पैदा भएको आर्थिक समस्याका कारण डाक्टरलाई भेट्न असमर्थ भए। हस्पिटल जाँदा कोरोना लागे तुरुन्तै मरिने तर ‘क्रोनिक’ अशक्तताका अतिरिक्त केही समय अरू बाँचिने मान्यताले काम गरेको देखियो।

मुटु रोगका कारण संसारमा सर्वाधिक मानिस मर्छन्, नेपाल अपवादमा पर्दैन। शारीरिक कसरत स्वस्थ मुटुका लागि सर्वाधिक महत्वपूर्ण हो भने ‘अल्कोहल’ तथा ‘जंकफुड’ को सेवन ‘हार्ट डिजिज’ को कारक देखियो। प्रकाशित ‘ग्लोबल डाटा’ ले कोरोनाका कारण फेरिएको दैनिकीले शारीरिक व्यायाम गर्ने आदत घट्दो देखायो अनि अल्कोहल तथा जंकफुडको खपत बढ्यो भन्छ। भाइरसका कारण देखिएको बदलिँदो मानवीय स्वभावले मुटुको स्वास्थ्यलाई प्रतिकूल अवस्थामा पुर्‍यायो। घट्दो ‘एक्सरसाइज ह्याबिट’ अनि बढ्दो खराब खानपिन आदतका कारण ‘हार्ट हेल्थ’ दोहोरो मारमा पर्‍यो।  

प्यान्डेमिकका कारण दैनिकी तथा आदत दुवै फेरिएको अवस्थामा कसरी मुटुलाई स्वस्थ राख्ने भन्ने विषयमा नेपालमा धेरै वर्ष ‘कार्डियक हेल्थ’ मा काम गरेका डा.भरत रावतको सुझाव सान्दर्भिक देखियो। मुटुलाई स्वस्थ राख्न चलायमान शारीरिक अभ्यास, स्वस्थ खानपिन तथा प्रफुल्ल मानसिक अवस्था अत्यावश्यक भएकाले त्यता ध्यान दिन सल्लाह दिन्छन् डा.रावत। 

बिहानै उठेर प्राणायाम, योग तथा ‘जम्प रोप’ मार्पmत शारीरिक अभ्यास गर्ने, घरमा बनेको स्वस्थ खाना खाने अनि बट्टामा प्याक भएर आउने जंक तथा प्रशोधित खानामा रोक लगाउने, नकारात्मक सन्देश प्रवाह गर्ने मानिस भन्दा सकारात्मक खबर सुनाउने व्यक्तिको संगत गर्ने, सामाजिक सञ्जालले खराब सन्देश पैmल्याउने संभाव्यता अधिक हुने भएकाले ‘ह्याप्पिनेस’ का लागि मार्गदर्शी पुस्तकहरू पढ्ने सल्लाह दिन्छन् उनी। स्मार्ट फोनमा हरक्षण ‘अपडेट’ हुने सन्देशले दिमागमा तनाव दिने भएकाले दिनको कम्तीमा ३ घण्टा ‘स्क्रिन फ्रि’ बस्न सल्लाह दिन्छन् उनी। आखिर स्वस्थ जीवनशैलीले परिणाम सकारात्मक दिन्छ नै।

कोरोनापछिको बदलिँदो दैनिकी अनि प्रकाशित अनुसन्धान तथा तथ्यांक नियाल्दा कोभिड–१९ उपरान्त मुटु रोगीको संख्या अत्यधिक बढ्ने देखियो। शारीरिक व्यायाम, स्वस्थ खान्की तथा सकारात्मक सोच र चिन्तनमार्फत बाह्य सहयोग तथा चिकित्सकीय परामर्शबिना नै मुटुलाई स्वस्थ राख्न सकिने भएकाले तद्अनुरूपको आचरण आवश्यक देखियो। सामान्य आहारबिहार परिवर्तनले मात्र पनि मुटुलाई स्वस्थ राख्न सकिन्छ भन्ने सन्देश प्रवाह गरौँ। जसरी ‘मास्क’ ले कोरोनाबाट बचाउँछ त्यसरी नै स्वस्थ जीवन यापनको आदतले मुटु रोगबाट जोगाउँछ भन्ने यथार्थप्रति सबैले ध्यान दिन आवश्यक छ।

प्रकाशित: २८ वैशाख २०७८ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App