९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

आमाको मुख हेर्ने औँसी

वास्तवमा हामीले आमाको मुख किन हेर्नुपर्ने भन्ने थाहा पाउन सबैभन्दा पहिला हामीले आमा भनेको को हो ? आमाको महत्व र अस्तित्व कति छ भन्ने कुरा थाहा पाउन सक्नुपर्छ। ‘आमा’ यो शब्द यति व्यापक छ कि त्यसको वर्णन जति गरे पनि पुग्दैन। संसारमा कसैले पनि भगवान नदेखे आमाको मुख हेरे पुग्छ। भगवानका पनि भगवान हुन् आमा। आमाले हामीलाई जीवन दिनुहुन्छ। गु मुत सोहरेर अर्थात सफा गरेर हुर्काउनुहुन्छ, अमृतमय दूध खुवाउनुहुन्छ। हाम्रो स्वास्थ्य सधैँभरि उचितरूपमा स्वस्थ पारिरहनुहुन्छ। रात/रातभर ननिदाइकनै आमाले हाम्रो हेरविचार गरेर हुर्काउनुहुन्छ।  

गुरुमध्ये पनि गुरु हो आमा। हाम्रो प्रथम गुरु नै आमा हो। आमाले नै हामीलाई सबैभन्दा पहिला कुरा गर्न सिकाउनुहुन्छ। तोते बोलीमै हामीले पनि बाबा÷आमा भन्न सिक्न थाल्छौँ। आमाले नै हामीलाई शिक्षा दिनुहुन्छ, संस्कार सिकाउनुहुन्छ र व्यवहार पनि सिकाउनुहुन्छ। हाम्रा आफन्त दाजुभाइ, दिदीबहिनी, बाबा, फुपू आदि सबै नातेदारलाई चिनाइदिनुहुन्छ। यस्ता धेरै धेरै गुण छन् आमाका। त्यसैले भनिन्छ, आमाको गुण तिर्न सकिँदैन। सहस्रधारा आमाको दूधको भार लाग्छ, आमाको गुण बिर्सन हुँदैन त्यसै भनिएको होइन।  

आमाको महत्व यति धेरै छ कि आफूलाई जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दा ठूलो छ। त्यसैले त भन्ने गरिन्छ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।’ आमा भन्दा ठूला भगवान पनि छैन भन्दा पनि हुन्छ। आफूलाई जन्म दिने आमा र बाबु नै भगवान हुन। त्यसैले भन्ने गरिन्छ– ‘मातृ देवो भवः, पितृ देवो भवः।’ त्यसैले आफूलाई जन्म दिने आमाको सेवा गर्नु नै भगवानको पूजा गर्नु हो भनिन्छ।  

नौ महिनासम्म आफ्नो गर्भमा राखेर आमाले आफूलाई जन्माएर जन्मेदेखि नै दूध खुवाएर हुर्काएर, कुरा गर्न सिकाएर, तायतिति गरेर हिँड्न सिकाएर, अलिकता तर्से पनि मेरो बाबा, मेरो छोरा, मेरो छोरी भनी माया गरी हुर्काउने आमालाई नै आजकलका स्कूुल क्याम्पस जाने छोरा÷छोरीले उल्टै तिमीलाई के थाहा भन्दै जुनसुकै कुरामा पनि झर्कीफर्की गर्छन्। यस्ता छोरा÷छोरीले के बुझ्नुपर्छ भने आमाको ममताले गर्दा नै आफू यतिसम्म हुन पाएको हो।  

आमा बाबुले दिनुभएका ज्ञान र आदर्शका कुरा सुनेर त्यसैअनुरूप आफ्नो जीवन सफल पार्दै अघि बढ्नुपर्छ। आफूले बुझेको कुरा पनि आमा बाबुलाई बुझ्ने गरी बताउनुपर्छ। अशिक्षित आमा बुबा भए पनि हेप्न हुन्न। आमा बाबुले दिनुभएको व्यावहारिक अनुभव र ज्ञानका रूपमा दिनुभएको उपदेश पनि सुन्नुपर्छ।  

हाम्रा पुर्खाले हरेक वर्ष आमाको मुख हेर्ने भनी दिनै तोकेको त्यसै होइन। आमाको महत्व र महानतालाई सम्झेर पूजा गर्ने र मान्ने अवसरका रूपमा आमाको मुख हेर्ने चलन चलाइएको हो। वैशाख कृष्णपक्ष औँसीका दिन आमाको मुख हेर्ने भनी छोरा/छोरीले आमालाई अण्डाको सगुन दिने अनि मीठा मीठा मिठाइका परिकार खुवाउने नेवारको चलन छ। नेवारको यो संस्कार नै हो। हुन त अन्य सबै जातिकाले पनि आआफ्नै संस्कारअनुरूप आफ्नी आमाको मुख हेर्ने गर्छन्। तर नेवारको आफ्नै मौलिक संस्कारअनुरूप विवाह गरी पठाइसकेका छोरीहरूले माइतीमा आइ आमाको मुख हेर्ने गर्छन्। 

छोरी दिएर पठाइसकेपछि पहिलोपटक अर्थात पहिलो वर्षमा आमाको मुख हेर्न आउँदा नयाँ भारी भन्दै मिठाइका विभिन्न परिकारलगायत चिउरा, अण्डा, तारेको माछा, मासु, फलफूल, रक्सी, जाँड आदि धेरै नै परिकार ल्याउने चलन पनि नेवारी संस्कार नै हो। आमा नभएका अर्थात आमा दिवंगत भइसकेकाहरूले मातातीर्थमा गएर नुहाएर श्राद्ध गरेर वा सिधा दान गरेर आमालाई सम्झन्छन् र श्रद्धा व्यक्त गर्छन्। यो दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ।  

परापूर्वकालमा गाई चराउने गोठाला केटाहरूले एउटा कुण्डमा हेर्दा एउटा आमा नभएको केटाले दिवंगत भइसकेकी आफ्नी आमालाई देखेछ रे। त्यहीबेलादेखि आजसम्म त्यही कुण्डलाई मातातीर्थ कुण्ड भन्ने चलन भएको हो। त्यसैले आजसम्म पनि त्यहाँ आमाको मुख हेर्ने भनी आमालाई सम्झेर आमाको नाममा श्रद्धापूर्वक स्नान गरेर आमाको मुखमा परोस् भनी श्राद्ध गर्न वा सिधा दान दिँदै आइरहेको हो। यो मातातीर्थ कुण्ड थानकोटको मातातीर्थ नामक स्थानमै छ।  

आजको यस आधुनिक युगको बाटोमा लम्किरहेका युवा छोरा÷छोरीमध्ये कतिपयले गरिरहेका विभिन्न किसिमका अव्यावहारिक र अमानवीय काम कुराले गर्दा यो समाज कता गइरहेको छ भनी हामीले सबैले चिन्ता र चासो लिनुपर्छ। जे/जस्तो भए तापनि आफ्नी आमाको त्याग, तपस्या, आदर्श र बलिदानलाई कहिल्यै बिर्सनुहुँदैन। आमालाई भगवानको रूपमा मान्नुपर्छ, कहिल्यै रुवाउनुहुँदैन। आमाको गुणलाई भगवानको रूपमा मान्नुपर्छ, कहिल्यै रुवाउनुहुँदैन। आमाको गुण सम्झेर आफ्नो कर्तव्यबाट विचलित हुनुहुँदैन भन्ने यो आमाको मुख हेर्ने दिनले हामीलाई ज्ञान दिइरहेको छ।  

प्रकाशित: २८ वैशाख २०७८ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App