गएको वर्ष चैत ११ गते कोभिड–१९ को पहिले चरणमा सरकारद्वारा लकडाउन घोषणा गरिएको थियो। यसको १४ महिनापछि फेरि कोभिड–१९ को दोस्रो लहरले मुलुकलाई आक्रान्त पारेपछि मुलुक पुनः लकडाउनमा परेको छ। नेपालमा दिन÷प्रतिदिन कोरोना संक्रमित र मृत्यु संख्याले सगरमाथाको चुचुरो छुन लागेको छ। यस्तो विषम परिस्थितिमा नेपाल सरकारले हामी कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्थामा छैनौँ भनेर हात उठाएर आफ्नो नागरिक दायित्वबाट पन्छिएको छ।
सरकार भन्छ– कोरोना संक्रमितको उपचारका लागि हामीसँग अस्पतालमा शैया छैन। तर मुलुकका १७–१८ वटा चिकित्साशास्त्र अध्ययन संस्थानका अस्पतालमा पाँचौँ हजारको संख्यामा शैया खाली छन्। सरकार भने यी शैया उपयोग गर्नुको साटो नयाँ एकान्तबास केन्द्र र सरकारी अस्पतालमा शैया थप्न व्यस्त छ। सरकारलाई थाहा छ– यी पूर्वाधार जादुको छडीले तुरुन्तै तयार हुन सक्दैनन्। तर यी काममा सरकारी कोषको रकम हिनामिना गर्न पाइने हुँदा सरकार यस काममा व्यस्त छ। कोरोना–१ मा सरकारले ओम्नी जस्ता अनेकौँ भ्रष्टाचारीलाई साथ र सहयोग दिएर जनताको कात्रोमा पनि कमिसन खाएकै हो। अहिले कोरोना–२ मा पनि त्यही क्रम जारी छ।
कोरोना संक्रमितको उपचारमा युद्धस्तरमा लाग्ने बेलामा नेपालका राजनीतिक दलहरू चाहे ती सत्तासीन हुन् वा विपक्षी, सत्ता लुँछाचुँडीको विद्रुप प्रहसनमा व्यस्त छन्। यसले नेपालको लोकतान्त्रिक राजनीतिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको छ। सरकार केका लागि ? जनताका लागि वा केही निश्चित व्यक्तिको सुखसयलका लागि ? नेपाली जनता यो संकटको घडीमा सोच्न बाध्य भएका छन्। यस्तोमा कवि शिरोमणि लेखनाथ पौड्यालको अनायास सम्झना आउँछ। उनले लेखेका छन्–
‘म खाउँ, मै लाउँ, सुखसयल वा मोज म गरुँ। म बाँचु, मै नाचुँ, अरू सब मरुन् दुर्बलहरू। भनी दाह्रा धस्दो अबुझ सठ (सत्ताधारी राजनीतिक दल र विपक्षी) देखि छक परी। चिता (कोरोनाबाट मृत्यवरण गरेका नेपाली जनता) खित्का छोडी अभयसित हाँस्यो मरी मरी।।
कवि शिरोमणिको यो कविताबाट के स्पष्ट हुन्छ भने नेपालमा राणाकालदेखि अहिलेसम्म सत्तासीन वर्गले जनतालाई गर्ने व्यवहारमा कुनै परिवर्तन आएको छैन। भलै जनताको मतद्वारा चुनिएको भनिएको सरकार नै किन नहोस्। उता दक्षिणी छिमेकी भारतलाई कोरोना–२ ले यति नराम्रोसँग गाँजेको छ कि कोरोना संक्रमणबाट मृत्यु भएकाको शव मसानघाटमा ठाउँ नभएर सार्वजनिक पार्कमा समेत जलाउन थालिएको छ। भारतमा कोरोना–३ पनि देखिइसकेको छ जुन अत्यन्त खतरनाक छ। यसैबाट भयाबह स्थिति बुझ्न सकिन्छ। जुन छिमेकी भारतले हामीलाई कोरोना–१ मा खोप र अन्य कोरोना औषधि र उपकरणले सहयोग गरेको थियो, अहिले ऊ कोरोनाको भयाबह स्थितिबाट आफ्ना नागरिकको जीवन–रक्षाका लागि विश्वसामु हात फैलाउन बाध्य भएको छ।
जबकि भारत विश्वशक्ति बन्ने आकांक्षा राखेको राष्ट्र हुनुका साथै सन् १९१६ मा नै उसले कुनै पनि विदेशी सहायता नलिने निर्णय गरेको राष्ट्र हो। अहिले भारतमा विश्वभरिबाट कोरोना सहयोग सामग्री लिएर कार्गो हवाईजहाजको ओइरो लागेको छ। यसका लागि दिल्ली अन्तर्राष्ट्रिय कार्गो टर्मिनललाई चौबीसै घण्टा खुला राखिएको छ। आखिर भारतमा यस्तो स्थिति आउनुमा दोषी को त ? स्पष्टरुपमा प्रधानमन्त्री मोदी यसका लागि दोषी देखिन्छन्। सत्ताधारी भारतीय जनता पार्टीले गत फेब्रुअरीमा एक संकल्प प्रस्ताव हुँकारका साथ पारित गर्दै भन्यो– गर्वका साथ भन्न सकिन्छ, भारतले दूरदर्शी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम, बुद्धिमान र प्रतिबद्ध नेतृत्वमा कोभिड–१९ लाई हराएको छ। कोभिडविरुद्धको लडाइँमा भारतलाई गौरवपूर्ण र विजयी–राष्ट्रका रूपमा दुनियाँसामु परिचित गराएकामा हाम्रो पार्टी नेतृत्वको जय/जयकार गर्छ।
यो संकल्प प्रस्ताव पास भएको एक महिनामै अहिले भारतको परिस्थिति कस्तो छ ? सम्पूर्ण विश्वलाई थाहै छ। नेपालको भारतसँग लगभग १८८० किलोमिटर खुला सीमा छ। त्यसकारण भारतको कोरोना–२ को प्रभावले गर्दा नेपालको स्थिति पनि भयाबह भएको छ। के नेपालको नागरिक प्रशासन भारतको जस्तै भयाबह स्थिति सामना गर्न सक्षम छ ? अत्यन्त गम्भीर र विचारणीय प्रश्न छ। यहाँ पनि कोरोनालाई गम्भीरताका साथ नलिइ पार्टीका जुलुस, ठूलठूला बैठक र भोजभतेरमा कुनै रोकटोक थिएन।
विश्वमा सबभन्दा पहिले कोरोना खोप निर्माण गरेको रुसले नेपाललाई सुरुआती चरणमै खोप दिने प्रस्ताव गरेकै हो। त्यसका लागि काठमाडौँस्थित रुसी राजदुत एलेक्सी ए नोविकोभ आफ्नो देशले विकसित गरेको कोरोना खोप स्पुतनिक–५ लिइदिन मन्त्रालय धाएकै थिए। तर त्यतिबेला कमिसन र मेडिकल माफियाका कारण उनको कुरा सुनिएन। अहिले प्रधानमन्त्री केपी ओलीले तुरुन्त खोप उपलब्ध गराउन उनलाई भनेका छन्। नेपालको अर्को भरपर्दो मित्र उत्तरी छिमेकी चीनसँग प्रधानमन्त्री केपी ओलीले उच्चस्तरमा यस महामारीबाट नेपाली जनतालाई जोगाउन अहिलेसम्म कुनै वार्ता नगरे तापनि छिमेकीको धर्म निर्वाह गर्दै चीनले नेपाली जनतालई सहयोग गर्न प्रारम्भ गरेको छ। जबकि छिमेकी भारतसँग ठूलो सीमा विवाद रहँदारहँदै चिनियाँ राष्ट्रपति सि चिन फिङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेरै भारतलाई ठूलो परिणामको कोरोना राहत सामग्री पठाइरहेका छन्। यस्तै भारतसँग अनेकौँ किसिमका समस्या हुनुका बाबजुद पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘मानवता’ पहिलो भन्दै भारतलाई सहयोगको प्रस्ताव गरेका छन्।
महामारीले सत्ताको घमण्डलाई चकनाचुर पार्छ भन्ने कुराको पाठ के प्रधानमन्त्री केपी ओलीले आफ्ना समकक्षी मोदीबाट सिक्लान् ? अहिले नेपालको नागरिक सरकार असफल हुने दिशातर्फ अघि बढेको छ। नेपालको सर्वोच्च संस्था राष्ट्रपति र न्यायपालिका, कार्यपालिकाको हुकुम तामेल गर्ने संस्थाका रूपमा स्थापित भएका छन्। यस्तोमा संविधानको संरक्षक र नेपाली जनताको आशा र भरोसाको केन्द्र सर्वोच्च अदालतबाट कसरी न्याय आशा गर्ने ? प्रश्न गम्भीर छ। राष्ट्रमा अहिले महामारीले गर्दा असाधारण परिस्थिति उत्पन्न भएको छ। यो महामारीबाट नेपाली जनतालाई जोगाउन नेपाली सेनालाई पूर्ण अधिकारका साथ अग्रपंक्तिमा खटाइ नेपाली सेनालाई नै समन्वयको कामसमेत दिनुपर्छ। जसले गर्दा नेपाली जनताले सरकार भएको अनुभूत गर्न सकून्। राष्ट्रको सेना यस्तै आपत्विपत्का लागि हो।
प्रकाशित: २३ वैशाख २०७८ ०३:३१ बिहीबार