१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

खान्की, जीवाणु र शरीर

परिमार्जन विज्ञानको आधार हो। आजको वस्तु तथा सेवालाई भोलि अझ असल बनाउनु विज्ञानको मर्म हो, अनुसन्धानको धर्म हो। तत्कालका आविष्कारले पुष्टि गरेका तथ्यको जगमा विगतका धारणा परिवर्तन गर्नु वैज्ञानिकको कर्तव्य हो। मानव जीवनलाई भोलिका दिनमा अझ असल बनाउन अनुसन्धान गरिन्छ।  

कोरोना आतंकबाट भाइरसले कसरी संसारलाई नै स्थिर बनाउँछ भन्ने देखिएको छ। ब्याक्टेरियाका कारण लाग्ने दर्जनौँ रोग र तिनको इलाज निम्ति प्रयोगमा आएका सयौँ एन्टिबायोटिक्सको प्रयोगबारे अनविज्ञ को नै छ र ? ब्याक्टेरिया तथा भाइरस मात्र होइन, फड्गाइले समेत मानिसलाई सताएको देखिन्छ। दिमाग तथा नशामा लाग्ने ‘फड्गल मेनेन्जाइटिस’ ले सजिलै मानिसको ‘न्युरोलोजिकल सिस्टम’ लाई परास्त गरेको देखिन्छ। विभिन्न रोगको कारक भएकाले ब्याक्टेरिया, भाइरस तथा फड्गाइ भन्ने शब्दले समाजलाई आतंकित बनाउनु स्वाभाविक छ। तर के उल्लिखित जीवाणुहरू सन्त्रासका कारक मात्र हुन् कि तिनीहरू लाभप्रद् पनि छन् भन्ने अन्वेषण पस्कनु यो आलेखको लक्ष्य हो। 

समष्टिगतरूपमा शाकाहारी खान्कीले असल ‘गट ब्याक्टेरिया’ को संख्या बढाउने भएकाले जंक फुडको बदला साद्गीपूर्ण भोजनमा जोड दिन आवश्यक छ।

आमाको गर्भ अति नै स्वच्छ हुन्छ र त्यहाँ कुनै पनि जीवाणु प्रवेश संभव हुँदैन। तर ‘स्टेराइल’ आमामा पेटबाट निस्कने बित्तिकै बच्चा सुक्ष्म जीवाणुको समुन्द्रमा प्रवेश गर्छ। जीवाणुरहित गर्भमा हुर्किएको बच्चा २ वर्ष उमेर नपुग्दै हजारौँ प्रजातिका ब्याक्टेरियाको बासस्थान बन्न पुग्छ। तर असंख्य जीवाणु संक्रमणका अतिरिक्त हुर्कँदो बच्चाको स्वास्थ्यमा कुनै प्रतिकूल प्रभाव परेको देखिन्न। बरु शिशुको स्वास्थ्यलाई अझ सबल बनाउन ती कीटाणुहरूले सकारात्मक भूमिका खेलेको देखिन्छ। यसरी शारीरिक विकास र सुक्ष्माणुको बढ्दो आयतनबारे विचार गर्दा मानवीय ‘इभोल्युसन’ (उद्भव) कै क्रममा जीव र जीवाणुबीच सहकार्य समझदारीको भान हुन्छ। प्रकृतिले जीवले सुक्ष्माणुलाई बासस्थान उपलब्ध गराउने अनि ब्याक्टेरियाले मानिसलाई बाह्य प्रभावबाट जोगाउने सहमतिपत्रमा दस्तखत गराएको पो हो कि जस्तो देखिन्छ।  

अमेरिकाको अनुसन्धान निकाय न्यासनल इस्टिच्युट अफ हेल्थको ह्युमन माइक्रोबायोम प्रोजेक्टमार्पmत गरिएको एउटा अनुसन्धानले औसत ६० किलो वजन भएको स्वस्थ मानिसको शरीरमा झण्डै एक किलोग्राम सुक्ष्म जीवाणु भएको आकलन गर्‍यो। स्वस्थ मानिसको शरीरमा मानव कोस (सेल) को तुलनामा झण्डै १० गुणा अधिक सुक्ष्म जीवाणु हुन्छन् भन्ने वैज्ञानिक आकलन छ। जीवाणुको आकार मानव कोसको तुलनामा अति सुक्ष्म हुने भएकाले तिनीहरूको वजन मानव कोसको तुलनामा कम हुनु अस्वाभाविक होइन। साथै, थप अध्ययन गर्दा मानव शरीरमा लाखौँ प्रकृतिका ब्याक्टेरिया, भाइरस, फड्गाइलगायत विभिन्न प्रजातिका कीटाणु पाइएको छ। अझ महत्वपूर्ण कुरा त लाखौँको संख्यामा रहेका ती जीवाणुहरूमध्ये अधिकांशले मानिसलाई विषाक्त बनाउने कुनै खराब कार्य गरेको पाइएन बरु तिनीहरूले व्यक्तिको स्वास्थ्य सबलीकरणमा सकारात्मक योगदान गरेको देखिन्छ।

मानव शरीरमा पाइने सुक्ष्म कीटाणुलाई सामान्य भाषामा माइक्रोबायोम तथा माइक्रोबायोटा भनिन्छ। तर हजारौँ प्रजातिका जीवाणु रहने माइक्रोबायोम समूहमा मुख्य हिस्सा ब्याक्टेरियाकै देखियो। माइक्रोबायोम शरीरको प्रत्यक अंग/प्रत्यंगमा पाइने भए पनि सबै भन्दा ठूलो हिस्सा पाचन प्रणालीको सानो आन्द्रामा रहन्छ भने सुक्ष्म अंश छालामा समेत पाइन्छ। ‘डाइजेस्टिभ ट्रयाक’ मा पाइने सुक्ष्माणुलाई ‘गट माइक्रोबायोम’ अनि छालामा पाइने समूहलाई ‘स्किन माइक्रोबायोम’ भनिन्छ।  

बाह्य संक्रमणबाट जोगाउन मुख्य भूमिका खेल्ने भएकाले छालालाई शरीरको ‘फस्ट लाइन अफ् डिफेन्स’ भनिन्छ। छालामार्फत् विभिन्न किसिमका खराब भाइरस ब्याक्टेरिया शरीरमा पस्ने भएकाले उक्त प्रवेश मार्ग रोक्न ‘स्किन माइक्रोबायोम’ ले महत्वपूर्ण भूमिका खेल्छन्। जनघनत्व तथा विविधीकरणका हिसाबले ‘गट माइक्रोबायोम’ जस्तो परिस्कृत नभए पनि छालामा पाइने जीवाणुहरूले हामीलाई कसरी रक्षा गर्छन् भन्ने यथार्थ कुरा बुझ्न केही उदाहरण उपयुक्त हुने देखिन्छ। ‘क्युटिब्याक्टेरिएम एक्निस’ तथा ‘स्ट्राफाइलोककस इपिडर्मिडिस’ नाम गरेका ब्याक्टेरियाहरू स्किन माइक्रोबायोमका दुई महत्वपूर्ण सिपाहीहरू हुन्। क्युटिब्याक्टेरिएमले छालामा उत्पादन हुने चिल्लो पदार्थलाई ‘एसिडिक’ वस्तुमा रूपान्तरण गर्छ अनि हाम्रो त्वचा अम्लीय बन्छ। ‘एसिडिक’ वातावरणमा धेरै सुक्ष्म जीवाणुहरू बाँच्न नसक्ने भएकाले छालाको संसर्गमा आएका खराब जीवाणुहरू स्वतः नासिन्छन्, हामी बाह्य संक्रमणबाट जोगिन्छौँ। त्यस्तै स्ट्राफाइलोककस ब्याक्टेरियाले शरीरमा उत्पादन गर्ने विशेष किसिमको प्रोटिन ‘एन्टी माइक्रोबियल पेप्टाइड’ ले धेरै किसिमका खराब जीवाणुलाई मार्नुका अतिरिक्त छालाका कोसहरूलाई थप सबलीकरण गर्छ। त्यति मात्र होइन, यस माइक्रोबायोमले इम्युन सिस्टमको ‘टि सेल’ सँग प्रत्यक्ष समन्वय गरी हाम्रो प्रतिरक्षा प्रणालीलाई थप सबलीकरण गरी हामीलाई अन्य रोग लाग्नबाट समेत जोगाएको पाइन्छ। दुई ब्याक्टेरियाको मात्र माथि चर्चा गरिए पनि मानिसको छालामा झण्डै एक हजार प्रजातिका गुणी जीवाणु पाइन्छन्। अनि, ती जीवाणुहरूले विभिन्न विधिमार्पmत हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। समष्टीगतरूपमा शरीरमा डेरा जमाएर बसेका असल ब्याक्टेरियाले हामीलाई विषाक्त जीवाणुबाट जोगाएको देखिन्छ।

मानव शरीरमा पाइने सुक्ष्म कीटाणुलाई सामान्य भाषामा माइक्रोबायोम तथा माइक्रोबायोटा भनिन्छ। तर हजारौँ प्रजातिका जीवाणुहरू रहने माइक्रोबायोम समूहमा मुख्य हिस्सा भने ब्याक्टेरियाकै छ।  

‘स्किन माइक्रोबायोम’ को तुलनामा ‘गट माइक्रोबायोम’ को बनोट अति जटिल हुनका अतिरिक्त संलग्न सुक्ष्माणुहरूको संख्यासमेत अत्यधिक भएका कारण आन्द्रामा रहेका ब्याक्टेरियाले हामीलाई स्वस्थ राख्न अझ महत्वपूर्ण भूमिका खेल्नु अस्वाभाविक होइन। अनि, प्रत्येक मानिसको शरीरमा हजारौँ किसिमका जीवाणु करोडौँ करोडको संख्यामा रहने भए पनि सबै मानिसमा पाइने ब्याक्टेरियाको संख्या र प्रकृति भने फरक फरक हुन्छ। कुनै समाजमा खराब मानिसको वर्चस्व अनि अर्को गाउँमा असल नागरिकको हैकम चलेझैं कसैको शरीरमा खराब प्रकृतिको माइक्रोबायोमको राज हुन्छ भने अर्कोको जिउमा राम्रा जीवाणुको अधिपत्य हुनु अस्वाभाविक होइन। जसको शरीरमा असल जीवाणुको वर्चस्व हुन्छ त्यो व्यक्तिको स्वास्थ्य अवस्था ठीकठाक हुन्छ भने अर्को प्रकृतिको माइक्रोबायोमले राज गरेको व्यक्ति विभिन्न रोगको सिकार हुन पुग्छ।  

तीन दशकअघिसम्म मानिसको स्वास्थ्यलाई व्यक्तिको अणुवांशिक पदार्थ डिएनएले मात्र निर्देशित गर्छ भन्ने मान्यता थियो। एकै प्रकृतिको डिएनए संरचना भएका व्यक्तिको शारीरिक अवस्था समान हुन्छ भन्ने सोच थियो। तर त्यसबेला सोचे जस्तो डिएनएको बनोट र व्यक्तिको स्वास्थ्यबीच अन्तरसम्बन्ध स्थापना गर्न वैज्ञानिकहरू सफल भएका थिएनन्। डिएनएको बनोटका कारण रोग लाग्ने आकलन गरिएको मानिस स्वस्थ जीवन व्यतीत गरेको देखियो भने अणुवांशिक पदार्थको आधारमा स्वस्थ हुनुपर्ने मानिस रोगी भएको पाइयो। त्यस्तो विविधता किन छ त भनी थप अध्ययन गर्दा डिएनए खराब भए पनि गट ब्याक्टेरियाको बनोट उचित भएको खण्डमा मानिसका धेरै रोग स्वतः निस्तेज हुन्छन् भन्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ। अणुवांशिक पदार्थ खराब भए पनि माइक्रोबायोमको बनोट सकुशल राख्न सके स्वस्थ बन्न सकिने अवधारणा आएपछि गट ब्याक्टेरियाको अध्ययन थप चोटिलो बन्यो अनि आफ्नो शरीरमा असल ब्याक्टेरियाको संख्या बढाउन सबैको ध्यान गयो।  

गट ब्याक्टेरियालाई कसरी सबलीकरण गर्न सकिन्छ भन्ने विषयमा भएका अध्ययन/अनुसन्धानलाई संश्लेषण गरी युनिभर्सिटी अफ् अकल्यान्ड र हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एक समीक्षात्मक लेख प्रकाशन गरे। उक्त अध्ययन गुणी ब्याक्टेरियाको प्रभुत्व रहेको माइक्रोबायोमले मानिसको वजन नियन्त्रित गर्ने, अनि मानसिक चिन्ताबाट मुक्त गर्ने मात्र होइन विभिन्न किसिमको ‘इन्फेक्सन’ बाट समेत जोगाउन सक्छ भने बैगुनी गट ब्याक्टेरियाले मानिसलाई बहुआयामिक पीडा दिने देखियो। युनिभर्सिटी अफ सिकागोमा गरिएको एउटा अर्को अध्ययनले आन्द्रामा गुणकारी ब्याक्टेरियाको संख्या बढाउँदा ‘अल्जाइमर्स डिजिज’ को प्रभावसमेत न्यून भएको देखियो। यसरी माइक्रोबायोमको बनोट परिवर्तनले अल्जाइमर्स जस्तो भयानक नशाको रोग पनि ठीक हुन्छ भने त्यस्तै सकारात्मक नतिजा अरू रोगको हकमा पनि सत्य होला भन्ने सोच्नु अन्यथा भएन।  

अध्ययनका क्रममा प्रिजर्भेटिभ हालिएका चलानी खानेकुरा खाँदा जंक खान्की रुचाउने खराब ब्याक्टेरिया बढेको देखियो। जंक खान्की रुचाउने ब्याक्टेरियाको संख्या पेटमा अत्यधिक बढ्दा मानिसलाई अझ बढी जंक खान्कीप्रति झुकाव बढ्दै जानु अस्वाभाविक भएन। त्यस्तो अवस्थामा व्यक्ति खराब खान्कीको चंगुलमा फस्दै जाने देखियो। अर्कोतिर तरकारी तथा फलफूल सेवन गर्ने व्यक्तिको पेटमा शाकाहारी भोजन मन पराउने गुणी जीवाणुको संख्या उकासिएको देखियो। अनि ती जीवाणुले मानिसलाई स्वस्थ खान्कीमा थप उत्साहित गर्ने गरेको पाइयो। उल्लिखित अध्ययनले व्यक्तिले नियोजित खान्कीमार्फत् आफ्नो पेटका खराब ब्याक्टेरियालाई असल जीवाणुमा रूपान्तरण गर्न सकिन्छ। विभिन्न स्थानमा गरिएको अध्ययनले सामान्यतः गुन्द्रुक, सिन्की जस्ता ‘फर्मन्टेसन’ विधिमार्फत् तयार गरिएको खान्कीले गुणी ब्याक्टेरिया बढाउने गरेको पाइन्छ। समष्टिगतरूपमा शाकाहारी खान्कीले असल ‘गट ब्याक्टेरिया’ को संख्या बढाउने भएकाले जंक फुडको बदला साद्गीपूर्ण भोजनमा जोड दिन आवश्यक छ।

प्रकाशित: ३ चैत्र २०७७ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App