नेपालमा २०४६ सालको परिवर्तनपश्चात निर्वाचित प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारतीय प्रधानमन्त्री पि.बि. नरसिंह रावसँगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्न सोधियो–‘विश्वमा शीतयुद्ध अन्त्य भयो। व्यापक परिवर्तन विश्वव्यापीरूपमा देखियो। के छिमेकी नेपालसँगको सम्बन्धमा परिवर्तन हुन्छ ?’ जवाफमा रावले भनेका थिए– ‘हो, विश्वमा परिवर्तन भएको छ तर छिमेकी जस्ताको तस्तै रहन्छ।’ यो कथनले भारत–नेपाल सम्बन्ध सन् ५० को सन्धिकै आधारमा वरिपरी घुम्छ भन्ने हो। यसको उदाहरण सन् २०१५ मा गठित दुवै राष्ट्रका प्रबुद्ध व्यक्तिहरूले द्विपक्षीय सम्बन्ध अद्यावधिक गर्न बनेको समूहले तयार पारेको प्रतिवेदन भारतले २ वर्षसम्म नबुझ्नुले रावको छिमेकी जस्ताको तस्तै रहन्छ भन्ने कथनकै निरन्तरता हो भनेर बुझ्न सकिन्छ।
२००७ सालको परिवर्तनपश्चात नेपालले बाह्य संसारसँग सम्बन्धको विकास गरेसँगै अहिलेसम्म विश्व राजनीतिमा आमूल परिवर्तन भएको छ। भारत बेलायती उपनिवेश जस्तो छैन भने चीन नेपालियनले भने जस्तो सुतेको छैन। भारत र चनि दुवै नयाँ विश्व व्यवस्थाका निर्माणकर्ता र दावेदारकारूपमा देखा परेका छन्। एक्काइसौँ शताब्दी एसियाको हुने भनिरहेका बेला चीन र भारतको आर्थिक र सैन्य क्षमता र व्यवहारमा परिवर्तन देखापरेका छन्। यी दुई ठूला राष्ट्रका बीच रहेको नेपालले बदलिँदो विश्व संरचनाअनुसार व्यवहार गर्नुपर्छ। हुन त भन्नेहरू छन्कि नेपालको गन्तव्य भूगोलले तय गरिदिएको छ। तीनतिरबाट भारत र उत्तरतर्फ चीनको भौगोलिकतासँग नेपाल भूपरिवेष्ठित भए पनि सन् २०१९ मा नेपाल भ्रमणमा रहेको चिनिया राष्ट्रपति सि जिङपिङले नेपाल अब भूजडित भयो भनेर भन्नु पक्कै पनि महत्वपूर्ण छ।
करिब २५० वर्षअघि राष्ट्रका रूपमा बनेको नेपाल दक्षिण एसियाकै सबै भन्दा पुरानो राष्ट्र हो। बेलायती साम्राज्यसँग कूटनीतिक सम्बन्ध राख्ने यस भेगको पहिलो राष्ट्र हो। नेपालको कूटनीतिको सार उत्तर र दक्षिण छिमेकीसँगको सन्तुलनमा रहेको तथ्य ऐतिहासिक कालदेखिनै स्पष्ट छ। सन् १९५० सम्म यस हिमाली अधिराज्यमा ५ स्वतन्त्र राष्ट्र थिए– तिब्बत, सिक्किम, भुटान, काश्मीर र नेपाल। सिक्किम १९७५ मा भारतमा विलय भयो। तिब्बत १९५९ मा चीनको अधीनमा गयो, काश्मीर भारतमा विलय भयो भने सन् १९४९ को सन्धिअनुसार भुटान पराराष्ट्र र सुरक्षा मामला भारतलाई बुझाउँदै संरक्षित राज्य बन्यो।
चीन र भारत दुवैको सुरक्षा स्वार्थलाई रक्षागर्ने र एकअर्कालाई विरुद्धमा प्रयोग गर्ने चालबाट हामी बच्नुनै उपयुक्त हुन्छ।
नेपालको समकालीन कूटनीति सञ्चालन गर्दा हिमालयका यी राष्ट्रहरूको इतिहास बिर्सनुहुँदैन। बचाइको संकटले ती राष्ट्र विलोप भएका थिए। हिमाली अध्ययनका प्रसिद्ध विद्वान् लियो रोजले नेपालको कूटनीतिक इतिहास र हिमालय क्षेत्रको राजनीतिको अध्ययन गर्दै नेपालको कूटनीतिको सार बाँच्नुको रणनीति हो भनी ‘नेपालः स्ट्राटेजी फर सर्भाइबल’ पुस्तकमा सविस्तार उल्लेख गरेका छन्। नेपालको तटस्थ नीतिले हामीलाई दुवै राष्ट्रको सन्तुलनबाट सार्वभौमिकता कायम राख्न मद्दत पुगेको कूटनीतिज्ञ हेनरी किसिन्जरले ‘वल्र्ड अर्डर’ पुस्तकमा उल्लेख गरेका छ।
भूगोल अहिले विश्व राजनीतिमा फर्किएको छ। युक्रेनको क्रिमियालाई रुसमा गाभ्ने दक्षिणी चीन समुद्र तनाव र भारत–चीन सिमानामाझडप भएका छन्। यी घटनाक्रमलाई नेपालले नियाल्नुपर्छ। २०औँ शताब्दीको शीतयुद्ध युरोपबाट एक्काइसौँ शताब्दीमा एसियामा सरेको टिप्पणी गरिँदैछ। जसमा मुख्य कारण चीन र भारतको उदय रहेको छ। १९७८ मा आर्थिक सुधार र चिनिया चरित्रको समाजवाद अविष्कार गरेको ४० वर्षमा चीन विश्वको दोस्रो आर्थिक शक्ति बनेको छ भने तेस्रो सैनिक शक्ति बनेको छ। भारत सन् १९९१ को आर्थिक उदारवादीकरणपछि आर्थिक र सैन्यरूपमा उदाएको छ। आज भारत विश्वमा साउदी अरेवियापश्चात सबैभन्दा धेरै सैन्य सामग्री खरिद गर्ने चौथो विश्व सैन्य शक्ति बनेको छ।
यस परिप्रेक्ष्यमा हामीले भारत र चीनको शक्ति आकलन गरेर दुवै राष्ट्रको विश्वास जित्नुपर्ने आवश्यकता छ। चीन र भारत दुवैको सुरक्षा स्वार्थलाई रक्षागर्ने र एकअर्कालाई विरुद्धमा प्रयोग गर्ने चालबाट हामी बच्नुनै उपयुक्त हुन्छ। अमेरिका महत्वपूर्ण भएपनि ऊ नेपालको मित्र महाशक्ति राष्ट्र हो, छिमेकी होइन। चीन र अमेरिकाबीच दुई ध्रुवीय विश्वको संकेत पनि देखापर्दै जाँदा शीतयुद्धका बेला नेपालको परराष्ट्रनीतिका सञ्चालक नेपाली चाणक्य यदुनाथ खनालका विचार र व्यवहारको हेक्का राख्न वर्तमान नेपाली मंडारिनह–ले जरुरी छ। भारतका प्रबुद्ध पत्रकार जो पछि सहायक विदेश मन्त्री पनि बने, एम जे अकबरले लेखेका छन् कि नेपालको प्रधानमन्त्री परवेज मुसरफ भएपनि ऊ प्रो. भारत हुनुपर्छ। भारतीयहरूको अवधारण यस्तो छ। यसको अर्थ हामीलाई भूगोलले चेपेको भए पनि लिपुलेकको प्रश्नमा नक्सा जारी गर्न हँुदैनथ्यो भन्ने प्रश्ननै उठदैन।
नेपाल करिब १४० राष्ट्रसँग कूटनीतिक सम्बन्ध भएको स्वतन्त्र मुलुक हो। २०३० र ४० को दशकमा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव ल्याएका थिए। जसलाई १ सय भन्दा बढी राष्ट्रले समर्थन गरेका थिए। वर्तमान तनावपूर्ण समयमा सो प्रस्तावको औचित्य रहेको कुरा बेलायतमा रहेका नेपाली प्राज्ञ डा. सूर्य सुवेदीले गरेका छन्। विश्व बहुध्रुवीय हुने सैद्धान्तिक खाकाहरू तयार भइरहेको वर्तमानमा नेपालले विश्व राजनीतिको सही आकलन गर्दै भारत र चीन सम्बन्धको उचित व्यवस्थापन गर्न जरुरी छ। सन् १९६२ मा भारत–चीन सिमाना युद्ध हुँदा नेपालले तटस्थता अपनाएको थियो। वर्तमान कालखण्डको अवस्थामा नेपालले आफ्नो पारम्परिक कूटनीतिक उपायह– असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको वडापत्रमा आधारित आदर्शहरूलाईनै समकालीन कूटनीतिको अस्त्र बनाउनुपर्ने हुन्छ।
वर्तमान सरकार सञ्चालकहरूले वक्तव्य जारी गरेर मात्र कूटनीति सञ्चालन हुँदैन। वास्तवमा नेपाल–भारत सम्बन्ध नेपाल–चीन सम्बन्ध एकअर्कामा स्वतन्त्र भए पनि त्यसको प्रभाव र तरङ्गहरूबाट भने नेपाल मुक्त हुन सक्दैन। चीनसँगको सम्बन्धलाई भारतले शंकाको दृष्टिकोणले हेर्नुपर्ने कारण छैन। तर भारत–चीनसँगको सम्बन्धमा दुवै देश नेपालमा प्रतिस्पर्धा गर्न थालेका घटनाक्रमले देखाएको छ। केही समययता चीन नेपालमा सूक्ष्म व्यवस्थापन गर्न लागेको हो कि भन्ने शंका जन्मिएको छ। ओली सरकार आएपश्चात भारत सूक्ष्म व्यवस्थापनमा निष्क्रिय बनेको हो। तर कूटनीतिज्ञ दिनेश भट्टराईका अनुसार अहिले नेपालमा महाखेल जारी छ। यो महाखेल विश्व राजनीतिकै प्रतिस्पर्धा र संघर्षको चरित्र हो। यदि भट्टराई सही हुन् भने नेपालले यो महाखेलको व्यवस्थापन गर्नुपर्छ।
नेपालले चीनको बेल्ट र रोड अभियानमा सहमत भएर जसरी चीनको विश्वास जित्न सफल भयो त्यसरीनै एमसिसीको पनि उचित समायोजन गर्नुपर्ने देखिन्छ। भारत बेल्ट र रोड अभियानमा संलग्न छैन यसलाई उसले आफ्नो सामरिक स्वार्थ विपरीत देखेको छ। हामीले भने हरेक मित्रसँगको सम्बन्धलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने हुन्छ। उदाहरणका लागि जसरी बंगलादेशले चीन र भारतसँग सन्तुलित सम्बन्धको व्यवस्थापन गरेकोबाट पाठ सिक्न सकिन्छ। त्यस्तै सिङ्गापुर नेपाल भन्दा सानो राष्ट्र भए पनि उसले चीन–अमेरिका सम्बन्धलाई व्यवस्थापन गरेको छ। संसारमा सक्षम राष्ट्रहरूले बहुपक्षीय कूटनीति गर्छन्। त्यस्तै नेपालले पनि बहुपक्षीय कूटनीतिमा दक्षता देखाउनुपर्छ। भारत र चीन नेपालको भूगोलको बाध्यता हो। यस बाध्यताबाट हामी भाग्न सक्दैनौँ।
प्रकाशित: ५ आश्विन २०७७ ०४:२९ सोमबार