बोलीचालीमा चिनी मल भनिने युरियामा पाइने नाइट्रोजन बिरुवाको खाना बनाउन नभई नहुने मुख्य तत्व हो । बिरुवाले हरितकोषमा यही नाइट्रोजनको सहायताले सौर्य ऊर्जा उपयोग गरी पानी र कार्बनडाइअक्साइडबाट ग्लुकोज अर्थात चिनी बनाउँछ । सँगै यो सबै जीवन प्रक्रियामा नभई नहुने प्रोटिनको महत्वपूर्ण तत्वसमेत हो । तर अहिले बिरुवालाई यो चिनी बनाउन चाहिने चिनी मल भनेर चिनिने कृत्रिम मलबाट पूरा गरिन्छ । अहिले यसैको अभावले हाहाकार मच्चिएको छ । किसानहरूयहीमल नपाउने कुराले विचलित भएका छन् । अरू सरोकार समूह यसैका वरिपरि रुमलिएका छन् ।
कृत्रिम मलमानिर्भर हुँदै गएका खेतीपाती गरेर परिवारको पेट पाल्ने र घर व्यवहार चलाउने किसानले समयमै यो मल नपाउँदा धानको उत्पादन घट्ने र यसले आफ्नो दैनिकी चलाउन मुस्किल हुने कुराबाट चिन्तित हुनु स्वाभाविक होे । यस्तो परिस्थितिमा उनीहरूको चिन्ता र चासोलाई सम्बोधन गर्नेतर्फ सरकारले समयमै उचित ध्यान नदिएकामा सबैतिर आक्रोश बढेको छ । यिनै कुरालाई संचार माध्यमले अहिले मुख्य खबर बनाएका छन् । धेरैजसो यी चर्चामा पहिलो समयमै युरिया मल ल्याउन नसकेको सरकारको निकम्मापन र दोस्रो यो मल नहँुदा धानको उत्पादन घट्ने कुरा उल्लेख गरेका छन् । यस लेखमा दोस्रो प्रसंगसँग सम्बन्धित भएर केही चर्चा गर्ने प्रयास गरिएको छ ।
युरिया मल बनाउने खोज २०० वर्षपहिले नै भएको हो । सन् १८१८मा जर्मन रसायनशास्त्री फड्रेरिच ओलरले मानिस र अन्य जीवमा पाइने युरिया प्रयोगशालामा कृत्रिम तरिकाले बनाए । यो नै रसायनको मात्र प्रयोगबाट कृत्रिम तरिकाले जैविक यौगिक बनाउने पहिलो खोजसमेत थियो । यही खोजका आधारमा बोटबिरुवालाई चाहिने नाइट्रोजनको सहज आपूर्ति गर्न कृत्रिम युरिया मल बनाउने कामको सुरुवात भयो । यो बन्नुअघिसम्म संसारभर नै जैविक मलका भरमा मात्र खेतीपाती गरिन्थ्यो । माटोमा आवश्यक नाइट्रोजनको व्यवस्था गर्न यस्तो जैविक मलको मुख्य स्रोत वस्तुभाउको पिसाव, गोबर, गोठेमल, कम्पोस्ट र मानिसको दिशापिसाव उपयोग गरिन्थ्यो ।सँगै कोशेबाली र रुख लगाएर हावाबाट नाइट्रोजन लिएर बिरुवामै दिने र पोषण तत्व कायम राख्ने प्राकृतिक व्यवस्था बलियो बनाइन्थ्यो ।
यस्तो कृत्रिम युरिया र यसका सहोदर अन्य कृत्रिम रासायनिक मलको प्रयोग युरोप तथा अन्य पश्चिमी मुलुकमा विश्व युद्धअघिदेखि नै भएको थियो । तर विश्वयुद्ध सकिएलगत्तैअन्य विषादी रयी मलको प्रयोग ह्वात्तै बढ्यो । त्यतैको सिको गर्दै नेपालमा भित्रिएको यो मलको व्यापक प्रयोग नेपालको कृषिलाई आधुनिक बनाउने भन्दै सन् १९८० बाट मात्र सुरु भएको देखिन्छ । जनस्तरमा यसको प्रयोगको मिश्रित प्रतिक्रिया छ । यसको नकारात्मक प्रभावका भुक्तभोगी र अनुभवी स्थानीय स्रोतबाट जैविक मल पु¥याउन सक्ने किसानहरू अहिले पनि यो मल प्रयोग गर्न रुचाउँदैनन् । तर सरकार र अन्य बिचौलिया (बौद्धिकसमेत) को जोडबलमा यसको प्रयोग र परनिर्भरता निरन्तर बढ्दै गएको छ ।
यसरी युरिया भित्राएसँगै धेरै किसान माटोमा आवश्यक नाइट्रोजन तत्वको व्यवस्था गर्न परम्परागत तरिकालाई चटक्कै छाडेर यही मलमा भर पर्दै गएका छन् । हुनत यस्तो परनिर्भर खेती प्रणाली अपनाउन किसानहरूसामाजिक, आर्थिक र वातावरणीय परिस्थिति फेरिएसँगै बाध्य हँुदै गएका हुन् । हँुदाहुँदा अब यो मल नभए खेती नै हुँदैन भन्नेसम्मको भ्रम परेको छ । यी भ्रमबारे केही चर्चा गरौँ ।
युरिया मलबाट बिरुवाले लिन सक्ने नाइट्रोजन बनाउनसमेत माटोमा भएका ब्याक्टेरियाले काम गरेका हुन्छन् । तर युरियामा हुने हाइड्रोजनले माटोमा अम्लीयता बढाउने हुँदा यसलाई सन्तुलित गर्न चुनको प्रयोग बढाउँदै जानुपर्छ । रासायनिक मलको प्रयोग मात्र गर्दा माटोमा नाइट्रोजनको मात्रा निरन्तर घट्ने हुँदा यस्तो मल थप्दै जानुपर्ने अर्को बाध्यता हुन्छ यसरी मल थप्दै जाँदा यसको खर्च र माटो अम्लीय हुने र युरियाबाट बिरुवाले लिन सक्ने यौगिकका टुक्रिने क्रममा नाइट्राइट जस्ता विषाक्त यौगिक बन्ने र माटो तथा बिरुवामा फैलिने र विषाक्त हुने प्रक्रिया पनि सँगै बढ्दै जान्छ ।
यसको प्रभावले खाना, माटो प्रकृति र पर्यावरणसमेत विषाक्त बन्दै विविधतामा व्यापक ह्रास आएको छ । युरिया हालेको माटोमा नाइट्राइटको मात्रा बढी हुन्छ । यस्तो माटोमा हुर्केको बिरुवाबाट तयार भएको खानेकुराले मानिसको पेटमा समेत नराम्रो असर गर्छ । यस्तो खानेकुरामा विषाक्त नाइट्राइटको मात्रा बढी हुन्छ भने यसमा आइरन, जिंक, क्यारोटिन, भिटामिन सी, कपर र प्रोटिनमा समेत कमी हुने पाइएको छ । जसका कारण रगतबोक्ने साना नलीहरू र फोक्सोमा समस्या देखिने गर्छ । भर्खरै अमेरिकाको रोड्ले इन्स्टिच्युटले गरेको एक अध्ययनले झण्डै १० करोड अमेरिकीमा यस्तो रक्तनलीसम्बन्धी समस्या भएको तथ्यांक बाहिर ल्याएको छ । नेपालमा पनि यस्तो अवस्थाका बिरामी निरन्तर बढेका छन् ।
अहिले जलवायु परिवर्तनको प्रभाव, असर र नाटकीयरूपमा देखिन थालेका यसका दुष्परिणाम केही देखिने उदाहरण मात्र हुन् । आधुनिक कृषि प्रणाली यस्तो दुष्परिणामको एक महत्वपूर्ण कारक हो । यसले माटोमा भएका उपयोगी सूक्ष्म जीवको नास गर्छ । यी जीवले नै अन्य वनस्पती र जीवका अवशेषलाई बिरुवाले लिन सक्ने खाद्य तत्व बनाउने गर्छन् । युरिया र यस्तै अन्य कृत्रिम मल खेतबारीबाट चुहिएर यिनमा रहेका विषक्त योगकी, जस्तै– नाइट्राइट पानीका स्रोत खोलानाला र जमिनमुनिको पानीमा पुग्छन् । यसले पानीमा आधारित जैविक प्रक्रिया ध्वस्त बनाउँछ । साथै यी पानीको स्रोत हुँदै मानिस तथा अन्य जीवको शरीरमा समेत पुग्छन् ।
यी सबै जटिलता थपिनुमा हजारौँ वर्षदेखि अपनाउँदै आएको परम्परागत रसायन, विषादी र प्लास्टिक मुक्त खेतीपातीलाई निर्वाहमुखीको आरोप लगाएर खेतीपातीलाई उन्नत बनाउने भन्दै यस्ता कृत्रिम रसायनको प्रयोग बढाएर हो । यसको परिणाम केही दशक नबित्दै मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका बिकराल समस्याले सबैलाई सताउन थालेको छ । मुख्यतः जलवायु परिवर्तनका असर तथा प्रभावहरू खेतीपातीमा क्रमशः देखिन थालेका छन् । यसबाट खेतीपाती बचाउन के गर्ने भन्ने सबैको टाउको दुखाइ बनेको छ ।
यसलाई सच्याउनअब विवेकशील किसान र सामाजिक अगुवाको भूमिका झनै बढेको छ । आफ्नो तत्कालीन बाध्यताको आक्रोश पोख्दै मर्नु भन्दा बौलाउनु निको भनेर युरिया मलको खोजी गर्दैगर्दा स्वाभिमानी किसान अपहेलना र अपमानको जिन्दगी बिताउन किन बाध्य भएका छाैँ ? भनेर खोज्ने बेला भएको छ । किसान कसरी परचक्री दलाल बिचौलियाका स्वार्थबाट पीडित हुँदैछन् ? र, यिनको चंगुलबाट खेतीपातीलाई कसरी मुक्त पार्ने भन्ने कुराको चिन्तन–मनन पनि सँगै गर्नुपर्ने भएको छ ।
यस अर्थमा किसान समुदाय र यिनका सारथि सबैलाई विनम्र अनुरोध छ, अब ढिलो गरी युरिया हालेर खानेकुरा बिगार्नु भन्दा यसपटक मल नपाएर हुने क्षतिको हिसाब खोज्न सबै संगठितरूपमा अघि बढौँ । किनकि धान पसाउने बेलामा मात्र राखिने युरियाले समग्र धान र चामलको गुणस्तरीय उत्पादन बढ्ने भन्दा पराल मात्र बढ्ने हुन्छ । यो कुरा अगुवा किसानका आफ्नै अनुभव हुन् । बरु यसको थप परीक्षण गरौँ । यसका लागि केही खेतमा युरिया राखेर र केहीमा नराखेर आफैँले समेत परीक्षण गर्दा हुन्छ । त्यसै पनि यो मल पर्याप्त पनि छैन । एकआपसकै तानातानमा सरकारले १४ रुपियाँमा उपलब्ध गराएको युरिया ६५ रुपियाँ प्रतिकेजीसम्म हालेर किन्नुपरेको तीतो यथार्थ छँदैछ । अझै भारतीय बजारबाट कालो बजारी गरेको युरियाको गुणस्तरको प्रश्न त छँदैछ ।
सँगै, किसान समुदाय खेतीपाती गर्न आवश्यक जमिन र अन्य वातावरण मिलाएर सक्षम बनाए कस्तो खेतीपाती र कसरी गर्ने भन्नेमा कुरा सम्हाल्न उनीहरू सक्षम छन् । थप केही गर्न सक्ने हो भने सरकार र सरोकार समूहले बहुआयामिक कृषिको अनुसन्धान, शिक्षा र प्रसारलाई प्रभावकारी बनाएर किसानलाई नयाँ सिप र प्रविधिमा, रोग कीरा नियन्त्रण र बाली तथा वस्तुभाउको गुणस्तर वृद्धिमा सघाए हुन्छ । यसका लागि सबै तहमा आवश्यक जनचेतना र क्षमता बढाउने काम गरे हुन्छ । कृत्रिम मलबाट आउने कमिसनमा -याल चुहाएर नेपालको कृषि तहसनहस बनाउने छूट नदिउँ ।
तसर्थ पर्यावरणीय कृषिका सिद्धान्तको अभ्यासले मात्र हाम्रो माटो, पर्यावरण र स्वास्थ्य बचाउन सकिन्छ भन्ने कुराहामी सबैले विचार गर्नुपर्ने भएको छ । यो नै हाम्रो भविष्य सुरक्षित गर्ने सबैभन्दा सरल तरिका हो । मुख्यतः दिगो खेतीपाती तथा वस्तुभाउ व्यवस्थापन प्रविधि, स्वस्थ माटो र चिस्यान व्यवस्थापनका आधारभूत पक्षहरूमा ध्यान दिँदै गोठ सुधार, जैविक मल र विषादी बनाउने तरिका अपनाएर कृत्रिम रासायनिक मल तथा विषादी घटाउँदै जाने संक्रमणकालीन अभ्यासमा तत्कालै लाग्न आवश्यक छ । सँगैविविधता, बहुलता, एकीकृत र मिश्रित खेती प्रणालीमा जोड दिँदै कृषि उत्पादनका लागि स्थानीय विशेषताका आधारमा स्थानीय स्रोत परिचालनको बृहत् चित्र बनाउन र यसमा अभ्यास गर्न सबैले सघाउनुपर्छ ।
यी सबै कुराको मनन गर्दै कृत्रिम मल (युरिया)बारे बौद्धिक दिवालियापन नदेखाउन र भ्रमको खेती नगर्न सबैलाई अनुरोध छ । बरु यसमा पर्याप्त खोज अनुसन्धान र संवाद गरेर किसानका लागि उपयोगी ज्ञान र सिप फैलाउन सके हामी सबैको कल्याण हुनेछ । तसर्थ अब मल आएन भनेर एकअर्कालाई दोष दिएर पन्छिनु भन्दा यस वर्ष आएको मललाई आउँदो वर्ष उपयोग गर्ने र यसरी बचत हुने रकम इमानदारीपूर्वक यस वर्ष मल नपाएर क्षति बेहोर्नुपरेका किसानलाई राहत दिने काममा खर्च गरेर खेतीपाती सपार्ने संकल्प गरौँ।
सँगै, आगामी वर्षदेखि अरूसँग भर पर्नुपर्ने माटो, वातावरण र मानव स्वास्थ्यलाई समेत हानि गर्ने यस्तो विषाक्त मलको आयातमा कटौती गरी जैविक मल बनाउने घरेलु प्रविधि र यस्तोमल बनाएर स्वस्थ खाना उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्न उपयोग गर्नु उचित हुन्छ । यसले समग्रतामा खेतीपातीलाई उन्नत बनाउने बाटो त सपार्छ नै, साथै यसले यो मलको खरिद, बिक्री, ढुवानी र वितरणमा चलखेल गर्ने बिचौलिया दलालको समेत स्वास्थ्य राम्रो बनाएर भलो गर्छ ।
(कृषि नीति विश्लेषक)
प्रकाशित: ९ भाद्र २०७७ ०४:३३ मंगलबार