अम्बरिश पोख्रेल
भगवती कुँवर पोख्रेल
१. चीनको वुहान सहरमा गत मंसिरमा सुरु नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले पुस अन्त्यतिर महामारीको रूप लिन थाल्यो। त्यसपछि चीन सरकारले छिटोभन्दा छिटो विभिन्न सहर लकडाउन (बन्दाबन्दी) गर्दै भाइरसको फैलावट नियन्त्रणमा लिन सकेको देखिन्छ। लकडाउन भनेको व्यवस्थापनका लागि उपयोग गर्ने समय हो। लकडाउनका कारण चीनका सहमार दैनिक गुड्ने करोडौं सवारी साधन ठप्प भए।ती सवारी साधन तथा दसौं हजार कलकारखानाबाट निस्किने प्रदूषण स्वतःशून्य अवस्थामा झरेको छ। अर्थात् वातावरणले आफ्नो पुरानो स्वरूप ग्रहण गर्न पाएको छ। त्यसले गर्दा यतिबेला त्यहाँ चिसो हावाको चाप सक्रिय हुन पुगेको छ।
२. मानव जाति आफैँले सिर्जना गरेको प्रदूषण लकडाउनमार्फत यसरी विश्वका अन्य थुप्रै देशमा पनि न्यून वा शून्य अवस्थामा झरेको छ। प्रदूषणको सुरुवात लगभग सन् १८५० मा भएको मानिएको छ। यो मितिलाई आधार मान्दा वातावरणलाई दुई प्रकारले हेर्न र बुझ्न सकिन्छ। अर्थात् यो मिति अघिको प्राकृतिक वातावरणमा मानव जातिको हस्तक्षेप कम थियो भने पछिल्लो अवस्थामा वातावरणमा मानिसको हस्तक्षेप बढ्दै गयो, फलस्वरूप अप्राकृतिक वस्तुको उत्सर्जन हुन थाल्यो।
३. विश्व मानव जातिले गरेको अप्राकृतिक वस्तुको उत्सर्जन तथा प्राकृतिक दोहनले गर्दा वातावरणको आफ्नो ऐतिहासिक पहिचानमा फेरबदल भइरहेको छ। यही कुरा विचार गरेर नै विभिन्न देशले विभिन्न प्रकारका वातावरणीय मापदण्ड निर्धारण गरेका छन्। जसअन्तर्गत मानिस कानुनी र व्यावहारिक रूपले आफूलाई समयानुकूल बनाउन बाध्य भएका छन्। सन् १८५० पछि पनि पुनःविभिन्न चक्रीय स्वरूप देखापरे, विशेष गरी एसिया तथा पूर्वी एसियाका देशमा। सन् १९८० को दसकपछि पनि विभिन्न चक्र देखा परे। यसको सामान्य अर्थ के हो भने वातावरणमा समय अनुसार हावाको उच्चर न्यूनचापीय केन्द्रबिन्दु फेरबदल भइरहेको छ। दक्षिण एसियाका थुप्रै क्षेत्र(देश) मा समेत त्यो प्रकारको फेरबदल भइरहेको छ। न्यून र उच्चचाप केन्द्रमा आइरहेको फेरबदल नै मौसम परिवर्तन हो। हाल वैशाख महिनामा पनि धेरै चिसो हुनु यसैको परिणाम हो। यो क्रम वर्षाैंवर्षसम्म रहेको अवस्थामा मात्र त्यो वातावरणीय अर्थात् हावापानीको परिवर्तन हुन जान्छ।
एकैपटक एकै प्रकारको अंकुश (प्रदूषण) बाट वातावरण स्वतन्त्र हुन पाएका कारण यसपालि वैशाखमा विगतका वर्षको तुलनामा दैनिक मौसममा नयाँ प्रकारको फेरबदल भइरहेको छ।
४. हामीले सरसर्ती पुनरवलोकन गर्दा गतवर्ष(सन् २०१९) अप्रिलका ३०, २९ र २८ तारिखमा नेपालको पश्चिमतिरबाट तातो हावा प्रवेश गरी काठमाडौंसम्म आइपुगेको पाइयो। त्यो प्रकारको हावा भारत हुँदै पाकिस्तानको मरुभूमि क्षेत्रमा समेत पुग्छ।हामीले गरेको परीक्षणबाट पनि काठमाडौंको सतहदेखि १००, २०० र ५०० मिटर उचाइमा पाँच दिने हावाको बहाव (२६,२७,२८,२९ र ३०) को दिशा तथा प्रस्थान केन्द्रसमेत एउटै रहेको देख्न सकिन्छ। यो प्रकारको बहाव स्थानीय नभएर अन्तरदेशीय तथा क्षेत्रीय आयतनमा देखापरेको छ, जुन कुरा हामीले वर्षौंदेखि सुनेका हौं र त्यसको नतिजासमेत अनुभव गरेका छौं।
५. हामीले पुनः यो वर्ष(सन् २०२०) अप्रिलका ३०, २९ र २८ तारिखको मौसम अध्ययन गरेर हेर्दा गतवर्षको भन्दा लगभग १८० डिग्री को फरक दिशा तथा केन्द्रबाट हावाको बहाव काठमाडौँ प्रवेश गरेको पाइयो। यो हावामा विशेषगरी हाम्रो देशको हिमाल तथा पहाडको स्वच्छ हावाको प्रधानता देखिन्छ। चिनियाँ भूमिको हावा नेपालतिर आएजस्तो देखिएता पनि त्यो पूर्ण सत्य होइन। यहाँ बिर्सन नहुने कुरा के छ भने यो प्रकारको हावाको बहाव पुनः प्रदूषण सुरु भएको अवस्थामा परिवर्तन हुने हो वा होइन, अझै केही हप्ता हेर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा परिवर्तन भएन भने त्यो स्वतःमौसमबाट हावापानी परिवर्तनमा परिणत हुने छ। यसका पछाडिका आयामको विस्तृत अध्ययन तथा परीक्षण अहिले हामीले गर्नुपर्ने आवश्यकता महसुस गरेनौं। कारण केही हप्तापछि स्वतःथाहा हुनेछ।
६. विशेषगरी चिनियाँ तथा भारतीय सहरमा डिजेल, पेट्रोल तथा इन्धनबाट चल्ने गाडीदेखि लिएर कारखानाबाट उत्पादित प्रदूषणसम्म कम हुन गइरहेको अवस्थामा नेपालमा पनि लकडाउनका कारण थोरै मात्रामा भएपनि प्रदूषण घटेको छ। एकैपटक एकै प्रकारको अंकुश (प्रदूषण) बाट वातावरण स्वतन्त्र हुन पाएका कारण यसपालि वैशाखमा विगतका वर्षको तुलनामा दैनिक मौसममा नयाँ प्रकारको फेरबदल भइरहेको छ। सवारी साधन तथा कारखानाको प्रदूषणले विशेषतःहावाको बहाव नियन्त्रण गरिरहेको हुन्छ। अहिले त्यो बहावमा कुनै प्रकारको अन्तरदेशीय हावाको दबाब नपरेको हुँदा हामी नेपालीले आफ्नै भूमिको मौलिक मौसम वा चिसोपन अनुभव गर्न पाएका हौं।
७. यो प्रकारको फेरबदल थोरै मात्राको कारक तत्वले सम्भव हुँदैन। अहिलेको अवस्था ठूलो मात्राको कारक तत्वले भइरहेको हो। यसपछाडि आफ्नै मापदण्ड छन्। एउटै लेखमार्फत ती सबै कुरा व्याख्या गर्न सकिन्न। यसरी अहिले भइरहेको मौसमी अवस्था अन्तरदेशीय प्रभाव (दबाब होइन), तर नेपालकै मौलिक बहाव हो।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको हाल प्रकाशित एउटा रिपोर्टले त झन् यो कुरालाई अझ बलशाली बनाएको देखिन्छ। स्मरणीय छ, सानो मात्रामा सम्भव हुने अवस्था झन् धेरै थिए र छन्। तर त्यही अनुसार अर्को प्रकारको मौसमको प्रतिनिधित्व गर्छ। त्यसैले नौलो प्रकारको मौसम वैशाख महिनामा पनि प्रत्यक्ष अनुभव हामी आफैँ गरिरहेका छौं। यसपछाडिको विस्तृत विज्ञान पछि अझै पढौंला, जान्दै गरौंला।
(डा. पोख्रेल र डा. कुँवर ठमेलस्थित वातावरण विभाग, अमृत साइन्स क्याम्पसमा प्राध्यापनरत छन्।)
प्रकाशित: २७ वैशाख २०७७ ०७:५८ शनिबार