९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

दुत्कार्नु समाधान होइन

संकटका बेला आफ्नो प्रवृत्ति चिन्ने मौका पाइन्छ । कोभिड–१९ संक्रमणका बेला हाम्रा केही सामाजिक पक्ष उजागर भएका छन् । खासगरी विदेशबाट आएका व्यक्तिलाई घृणाको दृष्टिले हेरिएका केही प्रसंग सार्वजनिक भएका छन् । त्यतिमात्र होइन, एउटा ठाउँबाट अर्को ठाउँमा पुगेका व्यक्तिप्रति पनि त्यस्तै नकारात्मक व्यवहार हुन थालेको छ । कोरोना भाइरसको संक्रमण रहर होइन । देश÷विदेश यात्रा गर्दा सहजै संक्रमित हुन्छ । यो तपाईँ हामी जोसुकैलाई पर्ने कुरा हो । ढिलो÷चाँडो यसको संक्रमण हामीकहाँ पनि भएको छ । संक्रमण भइसकेपछि मानिसले मानिसलाई दुत्कार्ने भन्दा यसको समाधानको उपाय खोज्ने हो । संक्रमण फैलिन नदिन तिनमा लक्षण पहिचान गर्ने र उपचार थाल्ने हो । त्यसरी मात्र समस्याको समाधान निस्कन्छ । 

भर्खरै कीर्तिपुरमा डेरा गरी बसेकी गर्भवती देवी शर्मा, उनका पति र बच्चालाई घरबाट निकालिएको खबर सार्वजनिक भएको छ । यो निःसन्देह दुःखलाग्दो खबर हो । हाम्रो मानवीय संवेदना खल्बलिन थालेको संकेत यसले गर्छ । हामी जहिल्यै अरुलाई पर्दा सहयोग गर्ने जाति हौँ । जस्तै संकटमा अरुलाई सहयोग गर्ने हामी अहिले यो नयाँ प्रकृतिको विषाणु संक्रमणले गर्दा व्यवहार परिवर्तन गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ । जुन घर धनीले ती गर्भवतीलाई निकाले, दोष उनको पनि छैन । यो सहजै संक्रमण हुन्छ भन्ने बुझेका व्यक्तिले आफ्नो ठाउँबाट निकाल्नुबाहेक अन्य विकल्प नदेख्न सक्छन् । यसका निम्ति स्थानीय सरकार र अगुवाले जागरणको काम गर्नुपर्छ । 

अहिले गर्भवती महिलालाई घरबाट निकालेको जानकारी सार्वजनिक हुनुअघि स्वास्थ्यकर्मीहरूमाथि यस्तै दुव्र्यवहार भएको थियो । कतिपय ठाउँमा नर्सलाई डेरामा बस्न नदिएपछि स्वास्थ्य संस्थामै बस्नुपरेको देखिएको हो । अहिले संक्रमण बढ्दै गएपछि होटल वा अस्पतालमै उनीहरूलाई राखेर उपचारको व्यवस्था हुन थालेको छ । वीरगन्जमा संक्रमणको प्रभाव बढी देखिन थालेसँगै स्वास्थ्यकर्मीलाई होटलमै राख्न थालिएको छ । र, विस्तारै यस किसिमको अभ्यास अन्यत्र सदैछ । निश्चय पनि उपचारमा संलग्न चिकित्साकर्मीलाई समेत यसको संक्रमण हुन्छ । अन्यलाई संक्रमण नहोस् भनी उनीहरूलाई छुट्टै बस्ने व्यवस्था गर्नु उचित अभ्यास हो । कतिपय स्वास्थ्यकर्मीले घरमा पनि अलग्गै बसेर सेवा दिँदै आएका छन् । 

सम्भावित संक्रमणको डरले कसैमाथि दुव्र्यवहार होला कि भन्नेमा प्रत्येक व्यक्ति सजग हुनुपर्छ । ‘सामाजिक दूरी’ कायम गर्नुको अर्थ अरुप्रति दुव्र्यवहार गर्ने भन्ने होइन । त्यसका निम्ति तोकिएको एक मिटर दूरी कायम गर्ने हो । संक्रमित भइसकेका व्यक्तिको उपचार गर्ने आफ्नै मान्य अभ्यास (प्रोटोकल) छ । यसबाहेक अन्य व्यवहारमा पनि ध्यान दिनुपर्ने देखिन्छ । राहतका लागि हानथाप गर्ने गरेको पनि देखिन्छ । वास्तवमा यस्तो बेलामा आफूसँग खाने÷पिउने सामग्री अभाव छैन भने राहत अपेक्षा गर्नुहुन्न । जसलाई आवश्यक छ, तिनले मात्र राहत पाउनुपर्छ । सीमित स्रोतसाधनले काम चलाउनुपर्छ भन्ने मान्यता सबैमा हुनुपर्छ । गाउँठाउँमा यस्ता असल अभ्यास भएका पनि देखिन्छन् । रसुवाको कालिका गापा–३ का दुई सुकुमबासीले आफूलाई स्थानीय सरकारले उपलब्ध गराएको राहत फिर्ता गरेका समाचार छ । उनीहरूले आफूभन्दा बढ्ता समस्यामा परेका व्यक्तिलाई उपलब्ध गराउनु उचित हुने भन्दै राहत फिर्ता गराएको घटनाले ‘मानिस ठूलो दिलले हुन्छ’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कविता साक्षात हुन्छ । महान् हृदयका यी मुरली नेपाली र झक्कबहादुर भुसाल हाम्रा निम्ति प्रेरक हुन् । 

एकातिर नेपाली र भुसालजस्ता नागरिक छन् । अर्कातिर राहत नपाएको भनेर ढुंगामुढा गर्ने पनि छन् । सुनसरीको इनरुवा नपा–८ मा राहत वितरण गर्ने क्रममा विवाद हुँदा ढुंगा हानाहानै भयो । मुसहर, दलित र गरिबका निम्ति मात्र राहत वितरण गर्ने योजना स्थानीय सरकारले बनाएकामा यस किसिमको व्यवहार हुनु अनुचित छ । सक्नेले अरुलाई सहयोग गर्ने हो । राहत भनेको सबैभन्दा कमजोर व्यक्तिकै निम्ति हो । यस्ता विषयमा पनि हाम्रो ध्यान पुग्नुपर्छ । २०७२ को भूकम्पका बेला नेपालीको उज्यालो पक्ष अन्तर्राष्ट्रियरूपमा समेत चित्रण भएको छ । आफूभन्दा अरु आवश्यक भएकालाई राहत दिनू भनेर तिनले पठाइदिएका खबर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलिएका हुन् । त्यसैले हामी अरुप्रति सहयोगी भावनाले ओतप्रोत भएका नेपाली जाति हौँ भन्ने भावधारा निसृत गर्ने बेला पनि हो यो । 

त्यसैगरी भारतबाट नेपाल आउन नपाउँदा सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार भएका घटनासमेत सार्वजनिक भएको छ । सिरहा नपा–२९ स्थित सहोर्वा नाकाबाट दूधको पोका बोकेर बन्दाबन्दी अवज्ञा गर्दै नेपाल छिर्न खोज्ने भारतीयलाई रोक्न खोज्दा ढुंगा हानिएको हो । यो बेला स्वास्थ्यकर्मी जस्तै अग्रमोर्चामा सुरक्षाकर्मी पनि छन् । उनको काम अनावश्यक आउजाउ रोक्ने हो । यसरी नरोक्ने हो भने कोरोना भाइरसको महामारीले हाम्रो बन्दाबन्दीको अवस्था लम्बिन सक्छ । भारतले बन्दाबन्दी बढाएर वैशाख २१ सम्म पु¥याइसकेको छ । यसको अर्थ हो– हामीकहाँ पनि बन्दाबन्दीको दबाब अवश्य हुन्छ । यो कठिनाइलाई सहज पार गराउन हामी नेपालीको बुद्धिमत्तापूर्ण व्यवहार, अरुप्रति घृणा नगर्ने र संक्रमण हुन नदिने प्रतिबद्धता खाँचो छ ।

प्रकाशित: ३ वैशाख २०७७ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App