७ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

कोरोना मुक्तिको बाटो

अत्यन्तै विषम परिस्थितिमा यतिबेला नेपालीले नयाँ वर्ष २०७७ को स्वागत गर्नुपरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार वीरगन्जमा कोरोना भाइरस संक्रमित तीन जना भारतीय नागरिकको पहिचानले हामीलाई थप निराश तुल्याएको छ । झन् नयाँ वर्षकै दिन रौतहट र कैलालीमा थप दुई संक्रमित थपिएका छन् । यसले गर्दा झण्डै तीन साता पुग्न लागेको बन्दाबन्दीबाट मुलुकले तत्काल पार पाउने स्थिति देखिएको छैन । संक्रमित व्यक्तिहरूको पहिचान चाँडै गरी उपचार गराउने र थप विस्तार हुन नदिन बन्दाबन्दीको अवस्थामा मुलुकलाई राखिएको हो । प्रत्येक साताजस्तो संख्या थपिइरहेको स्थिति अब दैनिकीमा  आइसकेको छ । नेपाल कोरोनो भाइरस संक्रमितको संख्या १४ पुगेको विश्वमानचित्रमा चित्रित भइसकेको छ । एक जना यसबीचमा निको भएर गइसकेका भए पनि यो संक्रमणको खतरा हामीबाट टरेको छैन । 

यो संक्रमणबाट मुलुकलाई जोगाउने एकमात्र उपाय भनेको ‘सामाजिक दूरी’ कायम गर्ने हो । यो दूरी व्यक्ति–व्यक्तिबीचको मात्र होइन परिवार, समाज, वडा, क्षेत्र, प्रदेश हुँदै विदेशसम्म पनि हो । हामीले यतिबेला संक्रमण फैलिन नदिन व्यक्तिसँगको दूरी कायम राखे पनि अन्तर्राष्ट्रिय आयाम समयमा बुझ्न नसक्दा संकटमा पर्ने देखिँदैछ । पहिलो, हामीले अन्तर्राष्ट्रिय उडान रोक्न साह्रै ढिला ग¥यौँ । दोस्रो, छिमेकी भारतसँगको सम्बन्धका आयामलाई विचार गरी त्यताबाट हुने संक्रमणबाट जोगिन यथेष्ट प्रयत्न गरेनौँ । अहिले मुलुकमा देखिएका संक्रमितका आधारमा हामीले यही निष्कर्ष निकाल्नुपर्ने हुन्छ । कतार एअरवेजको गत चैत ४ मा आएको उडान क्युआर ६५२ बाटै अधिकांश कोरोना संक्रमित व्यक्ति नेपाल प्रवेश गरेका हुन् । कोरोना संक्रमित मुलुकबाट आएका यात्रुको समयमै पहिचान, तिनको एकान्तबास र उपचारको व्यवस्था गरेको भए यो संक्रमणको मारमा पर्नुपर्ने थिएन । त्यसैगरी भारत र नेपालमा तब्लिगी जमात नामका धार्मिक गतिविधिका कारण दुवै देशमा संक्रमित पुग्न मौका मिलेको छ । यस्ता गतिविधिमा समयमै ध्यान पुग्न सकेन । त्यतिमात्र होइन बन्दाबन्दी घोषणा भइसकेपछि पनि यस्ता व्यक्तिको स्वतन्त्र आवागमन सम्भव देखिएको छ । धन्य, धेरै ढिलो गरी तिनको पहिचान भएको छ । तिनीहरूमार्फत् अन्य कतिमा कोरोना भाइरस संक्रमण भएको छ भन्ने पहिचान (ट्रेसिङ) अत्यन्तै तीव्र गतिमा हुनु आवश्यक छ । 

कोरोना भाइरस संक्रमणको यो प्रकरणबाट सीमा नियमनका निम्ति राजनीतिक इच्छाशक्तिसमेत देखाउने बेला भइसकेको छ । सीमाबाट आउजाउ गर्ने व्यक्तिहरूको अभिलेख मात्र राख्ने हो भने पनि यस्ता समस्याबाट जुध्न सजिलो हुन्छ । मुलुकलाई बन्दाबन्दीमा राखिसकेपछि पनि नेपाल र भारतबीचका सीमामा रहेका छिद्रबाट जोसुकै आउजाउ गर्न सक्ने अवस्था छ । त्यसमा पनि सीमा क्षेत्रमा वारिपारि दुवैतिरका नातेदार छन् । यस्तो असजिलो अवस्थामा आफ्ना प्रियजनको नजिक हुन जोसुकैलाई इच्छा हुन्छ । तथापि, यो कोरोना भाइरस भनेकै आफन्तजनबाट समेत टाढा हुनुपर्ने किसिमको छ । यसको प्रकृति बुझेर पहिल्यै सीमा नाकामा दुवै देशका सुरक्षाकर्मीलाई तैनाथ गर्नु उचित हुन्थ्यो । यस्तो परिस्थिति भए पनि वीरगन्जमा तीन जना भारतीय संक्रमित नागरिकको पहिचान नहुञ्जेल सीमामा सुरक्षाकर्मी परिचालन गरिएन ।

कोरोना संक्रमणले फेरि पनि हाम्रो राजकीय अभ्यासमाथि गम्भीर प्रश्न खडा गरेको छ । संकट आउँदै गर्दा जोगिने पूर्वतयारीमा हामी जहिल्यै चुक्दै आएका छौँ । गत पुसमै चीनको वुहानमा कोरोना भाइरस संक्रमण सुरु भएपछि त्यसको विस्तार क्रमशः विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिउञ्जेल त्यसबाट बच्ने सम्भावित उपायको प्रतीक्षा गरिरहनुपर्ने थिएन । यस्ता विषयमा नागरिक सर्वोच्चताको जतिसुकै अपेक्षा गरे पनि त्यो सम्भव देखिएको छैन । खासगरी स्वास्थ्य क्षेत्रको नेतृत्व पंगु देखिएको छ । त्यही भएर वाध्यतावश नेपाली सेनालाई यो संक्रमण रोकथामको जिम्मासमेत दिनुपरेको छ । वीरगन्जका संक्रमितको पहिचानका क्रममा ‘ट्रेसिङ’ गर्ने काममा समेत सेनाले भूमिका निवाह गरेको देखिएको छ ।

कोरोना संक्रमण थप बढ्न नदिन, नागरिक जीवन सहज तुल्याउन र अर्थतन्त्रलाई समेत गति दिन अब केही रणनीतिक योजना बनाइहाल्नुपर्ने देखिन्छ । पहिलो, जहाँ यो संक्रमण देखिन्छ, त्यसलाई तत्काल ‘सिल’ गरी थप संक्रमितको खोजी जारी राख्नुपर्छ । दुई, नेपाल–भारतबीचको सीमा व्यवस्थित गर्ने र अहिलेदेखि नै सीमामा सुरक्षाकर्मी तैनाथ राख्नुपर्छ । थप संक्रमित व्यक्ति आउजाउ गर्न नसक्ने गरी दुवै देशका सरकारले पहल गर्नुपर्छ । तीन, देशभित्रै पनि राजधानी काठमाडौँ वा अन्य ठाउँमा हिँडेर सर्वसाधारण गइरहेका अवस्था छ, तिनलाई जहाँ छन्, त्यही राखेर खाने÷बस्ने व्यवस्था गर्नुपर्छ । चार, देशलाई पूरै बन्दाबन्दीमा राखे पनि केही क्षेत्र मात्र खोल्ने अभ्यास पनि गर्नुपर्छ  । त्यसले जनजीवन सहज बनाउँछ र मानिस काममा व्यस्त हुन सक्छन् । पाँच, खास किसिमका उद्योगधन्दालाई व्यवस्थित ढंगले तिनका कामदारलाई सामाजिक दूरी कायम गरी काम लगाउन सकिन्छ । यसको सबैभन्दा राम्रो उदाहरण बन्दाबन्दीका बेलामा समेत राजधानीमा सडक रेखांकनको काम पूरा हुनुलाई लिन सकिन्छ । 

कोरोना संक्रमणले थलिएका बेला स्वागत गरिएको नयाँ वर्ष २०७७ लाई रचनात्मक ढंगले उपयोग गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । यो संक्रमणमा जति लापरवाही गरिन्छ, त्यति नै कठिन अवस्थामा मुलुक आगामी महिनामा पुग्नेछ । अहिले अमेरिकालगायत मुलुकले भोगेका कठिनाइ यसअघिका दुई÷तीन महिनामा देखाएको अपरिपक्वताको नमुना हो । त्यसैले बुद्धिमत्तापूर्वक समस्या समाधानका प्रयास हुनुपर्छ ।

प्रकाशित: २ वैशाख २०७७ ०४:०७ मंगलबार

सम्पादकीय  कोरोना