२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
विचार

ज्ञान बढाउन चलचित्र

सर्वज्ञा राई
कक्षा १०, गोल्डेन पिक हाइ स्कुल 
चावहिल काठमाडौं 

कोरोनाको कारण हाम्रो एसइई परीक्षा पनि सर्‍यो। लकडाउनमा हरपल परिवारसँगै बस्न पाएकी छु। यतिवेला धेरै काम सिक्ने मौका पनि पाएँ। ममी र बाबासँग खाना बनाउन सहयोग गर्दैछु। समिक्षा दिदी र मेरो एक जोडी छ भने ममी र बहिनीको अर्को जोडी। उहाँहरूले  भाँडा माझे हामी लुगा धुन्छौं, उहाँहरूले लुगा धोए हामी भाँडा माझ्छौं।  हजुरआमालाई सहारा चाहिन्छ, त्यसैले बेलुकीपख आँगनमा हिँडाउँछौं। हजुरआमाले गाँउका बारेमा, उहाँका बाल्यकालका घटना सुनाउँदा लोककथा जस्तो लाग्छ। 

ममी र बाबा अफिसको काम घरबाटै गर्नु हुन्छ, त्यसैले उहाँहरूका लागि दिउँसोको खाजा बनाउने काम म र बहिनीले गर्छौ। ममीले विदेशी साथीसँग इमेल तथा इन्टरनेट मार्फत् कुरा गर्दा सम्पादन गरेर म सहयोग गर्छु। ममीलाई सामाजिक सञ्जालमा कुरा गर्न खुब मन पर्छ। म ममीको हरेक दिनका फोटा तथा भिडियो खिचेर युट्युवमा राखिदिन्छु। मलाई भिडियो सम्पादन गर्न अलिअलि आउँछ। ममीको च्यानलमा अपलोड गरिदिने काम गर्छु। बहिनी टिकटक बनाउन चाहन्छे त्यसैले दिउँसो टिकटक बनाइदिन्छु। म निर्देशन पनि गर्छु कस्तो बनाउने र कसरी फोटो खिच्ने भन्नेमा। जब ममी दिदी, बाबा, हजुरआमा बास्केटबल, फुटबल, व्याटमिन्टन खेल्न थाल्नुहुन्छ म उहाँहरूको भिडियो सुटुक्क लिन्छु र ममीको सामाजिक सञ्जालका लागि तयार गरिदिन्छु।   

चलचित्रबाट आत्मबल दह्रो बनाउन, स्वाभिमानी बन्न, आत्मरक्षाका लागि सीप सिक्न र सृजनात्मक बन्न सिकें ।

हामी आफुले आफैंलाई सुरक्षित बनाउन घरमै एकान्तबास बसिरहेका छौं। यसबेला परिवारका सदस्यलाई सहयोग गर्दै जीवनपयोगी सीप सिकिरहेका छौं। मैले हजुरआमाका कथाबाट त्यो बेला र आजकोे समाजको बारेमा बुझ्न पाएँ। हामीलाई त कति स्वतन्त्रता रहेछ ! ममीबाट परिवारमा मेलमिलाप ल्याउने उपाय, अरुको विचारको कदर गर्ने, आफ्नो विचार अरु सामु कसरी राख्ने भन्ने सिकें। बाबाबाट समयको सदुपयोग, सफलता हासिल गर्न कस्ताकस्ता सीप चाहिन्छ भन्ने सिकें। बहिनीबाट सानाले के चाहन्छन् र दिदीको कतव्र्य के हो भन्ने बुझें। यो एकान्तबासले काठमाडौंको वातावरण सुन्दर, स्वच्छ अनि शान्त पनि हुँदोरहेछ भन्ने थाहा पाएँ। घरवरपर गाडी र मान्छे हिँडेको आवाजमात्र सुनिरहेको आजभोली जताततै चिरबिर सुनिन्छ। साथमा कुकुर भुकेको आवाज पनि। साँच्चै हामी प्रकृतिसँग कति नजिक रहेछौं।  

लकडाउनका बेला दिनमा कम्तिमा एउटा चलचित्र हेर्ने गरेकी छु। बहिनी र म सँगै बसेर हेर्छौं। हामी एमाजोनको प्राइम भिडियो र नेटफिल्क्समा चलचित्र हेर्छौं। धेरैजसो अंग्रेजी भाषाको चलचित्र हेर्न थालेकी छु। मैले हेरेका अंग्रेजी भाषाका चलचित्रहरु स्टेपअप, मिन गल्र्स, मिन गल्र्स टु, क्लुलेस, एनोदर सिन्ड्रेला स्टोरी, व्रिङ्ग इट अन, प्रिन्सेस डायरी, प्रिन्सेस डायरी टु, ह्यारी पोटर, सिन्ड्रेला टुइस्ट इन टाइम हुन्। त्यस्तै हिन्दीमा विरजारा, केजीएफ, जानु, गुडन्यूज, गिता गोभिन्दम हेरें भने नेपाली भाषामा तीन घुम्ती र लभस्टेसन। चलचित्रबाट विभिन्न कालखण्डका संगित, भाषा, संस्कार र चालचलन बुझ्न पाएँ। त्यसबेलाको समाज र राजनीति नियाल्न पाएँ। त्यतिबेलाको हेयर स्टाइल र फेसनका बारेमा जानकारी पाएँ। मन छोएको चलचित्र मिन गल्र्समा हाई स्कुलमा एक युवतीले भोग्नु परेका चुनौतीका साथै एक व्यक्तिले अर्कोलाई प्रगति र प्रख्यात हुन नदिन कस्ताकस्ता खेल रच्दा रहेछन् भन्ने बुझ्न पाएँ। 

चलचित्रबाट आत्मबल दह्रो बनाउन, स्वाभिमानी बन्न, आत्मरक्षाका लागि सीप सिक्न र सृजनात्मक बन्न सिकें। संगतको असर कस्तो हुन्छ र कस्ता साथी बनाउने भन्ने पनि सिकें। आफूले आफैंलाई माया गर्नु पर्छ भन्ने शिक्षा पनि पाएँ। यसरी मैले लकडाउन सदुपयोग गर्दै आएकी छु। 

प्रकाशित: २५ चैत्र २०७६ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App