सन् १९५८का नोबेल पुरस्कार विजेता आनुवांशिकविज्ञ जोसुवा लेडरवर्गले नयाँ र संक्रामक रोगहरूको खतरा सम्बन्धमा भनेका थिए– यो रोग नित्याउने जिनविरुद्ध हाम्रो बुद्धिको लडाइँ हो।
नोवल कोरोना भाइरसको प्रकोपले मानव जातिको बुद्धिमत्तालाई अहिले चुनौती दिएको छ।. चीनको बुहानबाट गत डिसेम्बरबाट सुरु भएको कोरोना प्रकोप हाल विश्वका ९७ देशमा फैलिइसकेको छ। यस विषाणुबाट १ लाखभन्दा वढी मानिस संक्रमित भइसकेका छन् भने ३ हजार ६ सय ४६ जनाको त ज्यानै गइसकेको छ। तत्कालका लागि यो रोग निदानको औषधि अथवा भ्याक्सिन बनिसकेको छैन। त्यसैले यसले पु-याउने क्षतिको अनुमानसमेत कठिन भएको छ। वैज्ञानिकहरू नै यसको भ्याक्सिन बन्न ‘अझै केही महिना लाग्ने’ बताउँदै आउनुले कोरोनाले दिने दुःखको आकार अनिश्चित बन्न पुगेको हो।
यो विषाणुु सुरुमा पत्ता लागेको राष्ट्रचीनसँग नेपालको सिमानामात्र जोडिएको छैन, व्यापार तथा अध्ययनका हिसाबले पनि दुई देशबीचको आवत्–जावत् बाक्लो छ। यस्तै यो भाइरसले अत्यधिक प्रभाव पारेको धेरै राष्ट्रहरूमा नेपाली बसोबासरत्/कार्यरत छन्। अझ डरलाग्दो पक्ष त यो छ कि सबैभन्दा नजिकको छिमेकी तथा खुला सिमानासमेत भएको भारतमा यो भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। यो पक्कै पनि नेपालका लागि सुखद समाचार हुनै सक्दैन। यस्तै अक्सफोर्ड जर्नल अफ ट्राभल मेडिसिनको एक प्रतिवेदनले नेपाल कोरोना भाइरसको जोखिमका हिसाबमा १५ संवेदनशील मुलुकमध्ये पर्ने बताएबाट पनि हामी निकै सतर्क हुनुपर्ने अवस्था सिर्जिएको छ।
यी विविध कारणले नेपालमा पनिनोवल कोरोना विषाणुलाई लिएर आमनागरिकमा सन्त्रास फैलिरहेको छ। यही कारण औषधिदेखि खाद्यान्नसम्म जोहो गर्ने नेपालीको संख्या ह्वात्तै वृद्धि भएको छ। तर कोरोना भाइरस के हो ? यसको जोखिमबाट हामी कति नजिक/टाढा छौँ ? हाम्रो खाद्यान्न तथा औषधि मौज्दातको अवस्था के छ ? यी यावत पक्षमा सरकारको तयारी के छ ? आदि प्रश्नबारे जनमानस बेखबर छ। यसबारे आधिकारिक जानकारी दिने एकद्वार माध्यमको अभाव हुनु पक्कै पनि शुभसंकेतहोइन। यस्तै संयन्त्र अभावमा विषाणु संक्रमणबारे भ्रमपूर्ण सूचना सार्वजनिक भइरहेका छन्। जनसमुदायमा सजगताभन्दा पनि सन्त्रास बढ्नु र पसलहरूमा सामान जोगाडका लागि लाइन देखिनुको कारण पनि यही हो।
नेपालको दक्षिण छिमेकी भारतले कोरोनाबारे जानकारी दिनेखालका निर्देशिका र ट्राभल एड्भाइजरीलगायत रोगबारे प्रशिक्षण दिने प्रशिक्षकहरूलाई केन्द्रित गरीआवश्यकसन्दर्भ सामग्री, त्यो पनिविभिन्न भाषामा तयार गरी सम्बन्धितसम्म पु-याएर उदाहरणीय काम गरेको छ। केन्द्रीय र प्रान्तीय स्तरमा समेत हेल्पलाइन स्थापना गरेर आमजनसमुदायका जिज्ञासा तत्कालमेटाउने प्रयाससमेत गरेको छ।
नेपालमा पनि विज्ञहरूले विषाणुबारे जानकारी दिन एकद्वार सूचना सञ्जाल स्थापनाका लागि घच्घच्याएका छन्। जुन जायज पनि छ।यसले रोग नियन्त्रणका सवालमा सरकारको तदारुकता र विश्वसनीयता बढाउनेमात्र नभई आमजनसमुदायमा सकारात्मक मनोवैज्ञानिक असरसमेत सिर्जनागर्नेछ। किनकि हामी बाँचिरहेको वर्तमान सञ्चारको युग हो। त्यसैले यस्तो व्यवस्था गर्नु सञ्चारको सही उपयोगसमेत हो भन्ने बिर्सनु हुन्न।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यसअन्तर्गतको स्वास्थ्य आपत्कालीन परिचालन केन्द्रको वेबसाइटमा भाइरसबारे पछिल्ला जानकारी र केही सन्दर्भ सामग्री राखिएका भेटिन्छ। तर ती सामग्रीमध्ये अधिकांश अंग्रेजी भाषामा भएकाले ‘यो कसका लागि ?’ भन्ने प्रश्न सिर्जिएको छ।त्यसैले तत्काल आमनागरिकले बुझ्ने भाषामा यो रोगसँग सरोकारित विषयहरूका सामग्री उपलब्ध गराउन आवश्यक छ। किनकि नबुझ्ने सामग्री राखिनु भनेको नराख्नु बराबरै हो। यसैगरी दोहोरो सञ्चार प्रणाली स्थापना गर्न भारतकै जस्तो हेल्पलाइन र अनलाइन माध्यम तत्काल खडा गर्नु पनि उत्तिकै जरुरी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आवश्यकता पनि स्वीकार गरेको छ।त्यसैले अविलम्ब आमजनसमुदायलाई सही सूचना दिने प्रक्रिया थालिहाल्नु आवश्यक छ। यसमा सरकार चुक्यो भने यसबाट पुग्ने हानिको कल्पना पनि गर्न नसकिने हुन सक्छ।आमनागरिकमा अनावश्यक त्रासको वातावरण सिर्जना हुन नदिन आमसञ्चारका माध्यम पनि उत्तिकै संयमित र जिम्मेवार हुन आवश्यक छ। नोबेल परस्कार विजेता लेडरवर्गले भनेझैँहामी हाम्रो बुद्धिलाई विजयतर्फ उन्मुख बनाउने हो भने स्पष्टसँग सोचेर, सम्झेर अगाडि बढ्नुपर्छ र समयमै सही कदम चाल्नुपर्छ।
प्रकाशित: २७ फाल्गुन २०७६ ०६:२५ मंगलबार