१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अवरुद्ध आकाश

अति विशिष्ट व्यक्तिको भ्रमण क्रममा सुरक्षालाई ध्यान दिँदै जारी गरिने ‘नोटिस टु एअरम्यान’ (नोटाम)को दुरुपयोग सुरु भएको छ। देशभित्र अति विशिष्ट व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एकको औपचारिक यात्राका बेला विमानस्थलले नोटाम जारी गर्छ। हाम्रोजस्तो सीमित आकाश  र उडान चाप रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको देशमा विविध बहानामा हवाई सेवा अवरुद्ध पार्नु उचित होइन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाली सेना दिवसको पूर्वतयारीका नाममा एकाएक मंगलबार २ घण्टासम्मका लागि नोटाम जारी गरी आकाश अवरुद्ध पार्नु आफैंमा अख्तियार दुरुपयोग हो। दुई दिनपछि शुक्रबार शिवरात्रिका दिन आयोजना हुने सेना दिवस कार्यक्रम तयारीका निम्ति यसो गरिएको हो। यसका लागि यसअघि आकाश बन्द गराउने चलन थिएन। यो अभ्यास पनि सुरु भएपछि अब आकाश अवरुद्ध हुने समय थपिएको छ।

नोटाम जारी गर्ने हो भने समय दिनुपर्छ। यसो गरियो भने यात्रु र वायुसेवा सञ्चालकले आवश्यकताअनुसार आफ्नो समय व्यवस्थापन गर्न सक्छन्। तर यसपटक अत्यन्त छोटो समयमा नोटाम जारी गरियो, जसले गर्दा तयारी गर्ने मोकै नपाइएको गुनासो वायुसेवा सञ्चालकहरूले गरेका छन्। हवाई यात्रुले यसै पनि अनेक बहानामा समयमा यात्रा गर्न नपाउने समस्या छ। खासगरी अहिलेको मौसममा बिहान विमानस्थल नखुल्ने भएका कारण उडानमा ढिलाइ हुने गरेको छ। वास्तवमा समयमै हवाई यात्रा गर्न पाएको अनुभव बिरलै हुन्छ। खासगरी आन्तरिकतर्फका विमान सञ्चालकले समयमै नउड्ने मनस्थिति बनाएकै हुन्छन्। त्यति मात्र होइन, समयमा उडान भए पनि आकाशमै आधादेखि १ घण्टासम्म ‘होल्ड’मा बस्नुपर्ने अवस्था आउँछ। उदाहरणका लागि भैरहवाबाट काठमाडौं आउने विमानको उडान अवधि ३० मिनेट भए पनि कहिलेकाहीं विभिन्न बहानामा १ घण्टासम्म ढिलो भएको अनुभव यात्रुको छ।

अब सेना दिवसका नाममा समेत हवाई सेवा अवरुद्ध हुन थालेपछि त्यसले स्वाभाविक रूपमा नकारात्मक भावना पैदा गर्छ। नोटाम जारी गर्दा कम्तीमा १ दिनको समय दिनुपर्छ भन्ने हवाई सेवा सञ्चालकको माग जायज छ। यसो भयो भने सर्वसाधारणले अनाहकमा दुःख पाउने छैनन्।

त्रिभुवन विमानस्थलले मंगलबार दिउँसो १ः४५ देखि ३ः४५ का लागि नोटाम जारी गरेको थियो। यस अवधिमा दर्जनौं आन्तरिक तथा बाह्य उडान अवरुद्ध भए। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले उडान २ घण्टा मात्र रोकिएको उल्लेख गर्दै खराब मौसमका कारण बढी प्रभाव परेको दाबी गरेका छन्। मौसम खराब हुँदा हवाई सेवा सञ्चालकले समय व्यवस्थापन गर्ने गरेका छन्। मौसमी कारण हुँदा यात्रुले पनि समझदारी साथ बुझ्ने गरेका छन्। तर सेना दिवस तयारीका निम्ति गरिएको नोटाम जारीसँगै केही गम्भीर प्रश्न उठेका छन्। अब सबै शक्तिशाली संस्था र व्यक्तिले आवश्यकताअनुसार आकाश अवरुद्ध गर्न सक्ने भएका छन्। सेनाका तर्फबाट माग भए पनि यसको औचित्यमा ध्यान पुग्न सकेको देखिएन। सेना दिवस महŒवपूर्ण कार्यक्रम हो। तर यस्तो कार्यक्रम गर्दा हाम्रो हवाई सेवा अवरुद्ध हुन्छ भने त्यसका निम्ति अन्यत्र ठाउँ खोज्न उचित हुन्छ। विकल्पमा भक्तपुरको खरिपाटी वा अन्य यस्तै स्थानमा सेना दिवस मनाउने परम्परा थालनी गर्न सकिन्छ।

सर्वसाधारणले यसै पनि राष्ट्रपति वा प्रधानमन्त्रीको ‘सवारी’का कारण आकाश अवरुद्ध हुँदा आपत्ति जनाइरहेका छन्। यस्तो सुविधा प्रमुख व्यक्तिले पाउने पदीय शिष्टाचारका हिसाबले पाउने भए पनि हाम्रो विशिष्ट स्थितिअनुसार यस्ता विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ। त्यसै आधारमा राष्ट्रपतिको भ्रमणमा समेत सकेसम्म सर्वसाधारणलाई कम मर्का परोस् भनी उपाय अवलम्बन गरिएको देखिन्छ। अब सेना दिवसका नाममा समेत हवाई सेवा अवरुद्ध हुन थालेपछि त्यसले स्वाभाविक रूपमा नकारात्मक भावना पैदा गर्छ। पूर्वतयारीका सिलसिलामा त आकाश अवरुद्ध गरियो भने झन् दिवसकै दिन स्वाभाविक रूपमा यस्तो गरिनेछ। नोटाम जारी गर्दा कम्तीमा १ दिनको समय दिनुपर्छ भन्ने हवाई सेवा सञ्चालकको माग जायज छ। यसो भयो भने सर्वसाधारणले अनाहकमा दुःख पाउने छैनन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App