१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

दिल्लीको सन्देश

भारतको दिल्ली सरकार परिवर्तन गर्न भएको निर्वाचनको परिणामले वैकल्पिक राजनीति गर्नेहरूमा फेरि एकपटक उत्साह सञ्चार गरेको छ। त्यहाँको आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभाको कूल ७० सिटमध्ये ६० सिटमा जित हासिल गरेको छ भने २ सिटमा अग्रता लिएको छ। बाँकी ८ स्थानमा केन्द्र सरकारको नेतृत्वकर्ता भारतीय जनता पार्टी (भाजपा)ले जित हासिल गरेको छ। प्रमुख विपक्षी भारतीय कांग्रेसको भने दिल्लीमा शून्य उपस्थिति देखिएको छ।

पछिल्लो मतपरिणाम आधारमा आप दुई तिहाइभन्दा बढी स्थानमा विजय हासिल गरी दिल्ली सरकार नेतृत्व गर्ने अवस्थामा आइपुगेको छ। आपका प्रमुख अरविन्द केजरीवालले तेस्रोपटक मुख्यमन्त्रीका रूपमा दिल्ली सरकार नेतृत्व गर्ने अवसर पाउँदै छन्। निर्वाचन प्रचार क्रममा उनको पार्टी आपले आफ्नो सरकारको कार्यकालमा गरिएका कामको जानकारी गराएको थियो। खासगरी विद्युत् महसुल घटाएको, स्वास्थ्य केन्द्र र सरकारी स्कुलमा गरिएका सुधारका काम निर्वाचन प्रचार क्रममा प्रस्तुत गरिएका थिए। र, मतदाताले त्यसमा सहमति जनाउँदै यो निर्वाचनमा मत दिएका हुन्।

केन्द्रीय सत्तामा पकड जमाएको भाजपाले भने निर्वाचन दौरान विवादास्पद नागरिकता–कानुन बनाएको र मुस्लिम महिलालाई पीडित बनाइरहेको ‘तीन तलाक’लाई गैरकानुनी बनाएको विषय उपलब्धिका रूपमा जोडतोडसाथ अघि सारेको थियो। स्थानीय राजनीतिलाई राष्ट्रिय राजनीतिक अजेन्डाद्वारा प्रभावित गर्ने भाजपाको प्रयासलाई दिल्लीवासीले अस्वीकार गरेका छन्। स्थानीय नागरिकका मुद्दा सम्बोधन गरेका कारण मतदाताले आपलाई उल्लेख्य मत दिएर पुनः सरकार निर्माण गर्ने अवसर उपलब्ध गराएका हुन्। सन् २०१२ मा स्थापना भएको आपले २०१३ को दिल्ली विधानसभाको निर्वाचनमा २८ सिट जितेको थियो भने २०१५ मा ७० सिटमध्ये ६७ सिट हात पारेको थियो। गत आम निर्वाचनमा आपले ठूलो सफलता हासिल गर्न सकेन। तर दिल्लीवासीले भने आपलाई फेरि एकपटक सुविधाजनक ढंगले सरकार बनाउने अवसर दिएका छन्।

हाम्रो मुलुकका राजनीतिक दलले समेत आपको यो सफलताबाट केही शिक्षा लिन सक्छन्। हामीकहाँ प्रमुख दलप्रति व्यापक गुनासो भइरहे पनि तिनैलाई निर्वाचनमा मत दिनुको विकल्प देखिएको छैन। वैकल्पिक राजनीतिका निम्ति अग्रसर दलले समेत आम विश्वास प्राप्त गर्न नसकेको स्थिति छ। आपको सफलताबाट बुझ्नुपर्ने पहिलो कुरा हो– स्थानीय स्तरमा उठेका मुद्दा सम्बोधन गर्ने दल सफल हुन सक्छन्। आपले दिल्लीका बासिन्दालाई किन यसपटक पनि उम्मेदवार बन्न लागेको भन्ने बुझाउन हजारौं स्वयंसेवक परिचालन गरेको थियो। साथै उसले आफू यथास्थितिवादविरुद्ध रहेको सन्देश आम रूपमा दिएको थियो। स्थानीय नागरिकका दैनिक समस्यामा ध्यान दिने हो भने निःसन्देह निर्वाचनमा मतदाताको ध्यानाकर्षण गर्न सकिन्छ। दिल्लीका अस्पतालको अवस्था, स्कुल र महँगो बिजुली महसुलजस्ता समस्या आपले सम्बोधन गर्नासाथ स्वाभाविक रूपमा स्थानीय नागरिकको ध्यान ऊप्रति आकर्षित भएको हो। ठूलठूला गफभन्दा स्थानीय नागरिकका ससाना समस्या समाधान गर्न सक्ने कुनै पनि दल मतदाताको प्रिय बन्न सफल हुन सक्छन्।

आपलाई सुरुका दिनमा केही असजिलो भए पनि उसले आफूले गरेका प्रतिबद्धता पूरा गरेको छ। अझ केन्द्रमा शासन गरिरहेको भाजपा सरकारले दिल्ली सरकारलाई असहज स्थिति पैदा नगरेको होइन। तर यति हुँदाहुँदै पनि आफ्नो स्रोत÷साधन र क्षमता प्रयोग गरेको देखिन्छ। खासगरी शिक्षा र स्वास्थ्यमा राज्य–स्रोत प्रयोग गर्ने हो भने सर्वसाधारणले सुख पाउने स्थिति बन्छ। हाम्रा राजनीतिक दलले पनि शिक्षा र स्वास्थ्यलाई सहज बनाउन सके भने स्थिति फरक हुन्छ। दिल्लीका निजी स्कुलभन्दा सरकारी विद्यालयले राम्रो गर्न थालेको देखिएको छ। सरकारी अस्पतालमा पनि व्यापक सुधार देखिएको छ। पानी र बिजुलीको महसुल घटेपछि स्वाभाविक रूपमा स्थानीय नागरिक खुसी छन्। आप सरकारको काम गराइ प्रभावकारी भएको सन्देश नै अहिले उसको विजय हो।

नागरिकको हृदयमा बास गर्ने हो भने समर्पण र इमान्दारिता आवश्यक हुन्छ। निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दललाई आम नागरिकले अर्कोपटक पनि समर्थन गरिहाल्छन्। चुनाव जितेपछि नागरिकलाई सहजभन्दा सकेसम्म अप्ठ्यारो बनाउने कानुन ल्याउन खोज्ने, आफूलाई सेवकभन्दा मालिक ठान्ने प्रवृत्तिलाई मतदाताले परास्त गर्ने निश्चित हुन्छ। हामीकहाँ पनि विवेकशील नेपाली र साझाजस्ता दलले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अग्रसर गराइरहेका छन्। अहिलेको सरकारबाट जारी भइरहेका जनविरोधी विधेयक र काम÷कार्बाही सार्वजनकि गर्दै आफूले असल सरकार दिने प्रतिबद्धता व्यक्त गर्ने हो भने आपलाई प्राप्त सफलता यिनलाई पनि प्राप्त हुनेछ। वैकल्पिक राजनीति सम्भव छ भन्ने सन्देश दिन सकियो भने विद्यमान ठूला दल पनि आफूलाई सुधार गर्न बाध्य हुनेछन्।  

प्रकाशित: २९ माघ २०७६ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App