१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अचूक औषधि अश्वगन्धा

प्राचीनकालदेखि नै आयुर्वेदिक उपचारमा प्रयोग भइरहेको शक्तिशाली जडीबुटीमध्ये एक हो– अश्वगन्धा। विभिन्न कारणले शरीरभित्र बिग्रिन पुगेका आन्तरिक संरचना तथा प्रणाली पुनर्निर्माण तथा पुनःसञ्चालन गराई मानिसलाई स्वस्थ बनाउने क्षमता भएका कारण अश्वगन्धा विश्वभर प्रसिद्ध छ। संस्कृतमा अश्वगन्धको अर्थ हो– घोडाको गन्ध।

अश्वगन्धाको जराले घोडाको पसिनाको जस्तो गन्ध दिने गर्छ। अश्वगन्धा सेवनले मानिसलाई साँढे वा घोडामा हुनेजस्तो जोस, बल र क्रीडा शक्ति प्राप्त हुने विश्वास गरिन्छ। प्रदूषित वातावरणका कारण शरीरमा उत्पन्न हुने विष शिथिल पारी आराम दिलाउन बायो–साइन्स र आयुर्वेद दुवैले जडीबुटीको सार तत्वलाई एमिनो एसिड र भिटामिनसँग मिसाएर तयार पार्ने ओखतीलाई औषधि–विज्ञानमा एडाप्टोजिन भनिन्छ। अश्वगन्धालाई परम्परागत रूपमै एक स्नायु टोनिक र एडाप्टोजिनका रूपमा उपयोग गरिएको पाइन्छ।

नेपाल, भारतलगायत क्षेत्रमा शास्त्रीय रूपमा करिब ५ हजार वर्षदेखि बच्चा हलक्क बढ्न नसक्दा, वृद्धावस्थाको कमजोरी, गठिया, कब्जियत, अनिद्रा, स्नायुमा तनाव, गलगाँड, जोर्नीको दुखाइजस्ता समस्या तथा परजीवी नियन्त्रण, हर्मोनको सन्तुलन आदिका लागि अश्वगन्धाको प्रयोग भइरहेको छ। छाला पोल्ने, छालाको जलन, अल्सर र अन्य संक्रमणमा समेत अश्वगन्धाको जराको चूर्ण अर्थात् पाउडर मिसाएर बनाइएको परम्परागत लेप अथवा पेस्टको लेपन छालामा लगाएर उपचार गर्ने गरिएको छ। आज संसारका नाम चलेका उपचार केन्द्रहरूमा क्यान्सरको केमोथेरापी वा शल्यक्रियापछि शक्तिहीन बनेका बिरामीलाई समेत शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन अश्वगन्धा दिने गरिएको पाइन्छ।

कुनै हिंस्रक जनावर वा तपाईंले त्यही दर्जामा राख्ने मानिससँग जम्काभेट हुँदा होस् वा ठूलो आवाज सुनेर जब तपाईं झसंग बन्नुहुन्छ, तब तपाईंको शरीरले तत्काल तनाव महसुस गरी कि भिड्ने कि भाग्ने गरी प्रतिरक्षा प्रणाली निर्माण गरेको हुन्छ। जब तपार्इं अचानक कुनै खतरा सामना गर्नुहुन्छ, तब तपाईंका आँखाले देखेका चित्र, कानले सुनेका आवाज र अन्य केही अनुभव भए, त्यसको सूचना मस्तिष्कमा रहेको भावनात्मक गतिविधि प्रशोधन गर्ने भाग अमेगडलामा पुग्छ।

अनिद्रा वा चिन्ताबाट पीडित व्यक्तिले १ कप तातो दूधमा १ चिया–चम्चा अश्वगन्धा चूर्ण वा सुत्नुअघि एउटा अश्वगन्धा–क्याप्सुल खानु लाभकारी मानिन्छ।

अनि प्राप्त चित्र, ध्वनि र अन्य सूचना अमेगडलाले व्याख्या गरी तपाईं वास्तवमै खतरामा हो कि होइन, निष्कर्ष निकाल्छ। जब त्यसले तपार्इं वास्तवमै खतरामा रहेको निश्चय गर्छ, तब मस्तिष्कको निर्देशन केन्द्र अर्थात् हाइपोथालेमसलाई स्थिति गम्भीर रहेको संकेत पठाउँछ। मस्तिष्कको हाइपोथालेमसले स्नायु–प्रणालीमार्फत जोडिएर श्वास, रक्तचाप, मुटुको धड्कन, रक्तनली, फोक्सोमा रहेका ससाना वायुमार्ग वा ब्रोन्कियोल्सलाई छिटो वा सामान्य रूपमा कार्य गराउने आदि स्वायत्त रूपमा सञ्चालन र परिचालन गर्ने गर्छ।

अमेगडलाबाट स्थिति गम्भीर रहेको संकेत प्राप्त हुनासाथ हाइपोथैलेमसले एड्रिनल ग्रन्थीहरूमा संकेत पठाएर रक्त–प्रवाहमा एपिनेफ्रिन (एड्रेनालाईन) हर्मोन छाड्छ। एपिनेफ्रिन रगत हुँदै शरीरका विभिन्न अंगमा पुग्नेबित्तिकै मुटु सामान्यभन्दा छिटो धड्किने, मांसपेशी, मुटु र अन्य महत्वपूर्ण अंगहरूमा रगतको प्रवाह ह्वात्तै बढ्ने गर्छ। मुटुको चाल र रक्तचाप बढ्छ।
यी परिवर्तनका कारण तपाईं छिटोछिटो सास फेर्न थाल्नुहुन्छ। फोक्सोका ससाना वायुमार्गहरू फराकिला र खुला बन्छन्। फोक्सोले प्रत्येक सासमा सकेसम्म धेरै अक्सिजन लिन थाल्छ। दिमागमा नियमितभन्दा धेरै अक्सिजन पुग्दा दिमागको सतर्कता ह्वात्तै बढ्छ। तपाईंको दृष्टि, श्रवण–शक्ति र अन्य इन्द्रियसमेत नियमितभन्दा धेरै तीक्ष्ण बन्छन्।

एपिनेफ्रिनको रगतमा हुने प्रवाहका कारण शरीरमा अस्थायी भण्डारणमा रहेका  चिनी (ग्लुकोज) र बोसो रगतमा छिटोछिटो घुल्न थाल्छन्। अनि रगतको प्रवाहमा घुलेका पोषक–तत्वका कारण शरीरमा अधिक ऊर्जा उत्पादन हुन्छ। अधिक ऊर्जाका कारण तपार्इं उत्पन्न खतराविरुद्ध आवश्यकताअनुरूप कि भिड्न कि भाग्न सक्षम बन्नुहुन्छ र तत्काल निर्णय गरिहाल्नुहुन्छ।

तपाईंको शरीरभित्र यी गतिविधि एकछिनमै कुशलतापूर्वक यसरी सञ्चालन हुन्छन् कि आउँदै गरेको कारले तपाईंलाई ठक्कर दियो–दियोजस्तो लाग्नासाथ उफ्रेर भागेपछि मात्र भर्खर के भयो भन्ने महसुस हुने गर्छ। मतलब, तपाईंले सोच्नुभन्दा पहिले नै सारा काम फत्ते भइसकेका हुन्छन्।

मस्तिष्कले तपाईंको अनायास वा तत्काल सामना गर्नुपर्ने खतरा रगतमा एपिनेफ्रिनको सञ्चार गराएर गर्ने भए तापनि भय जारी रहने वा दोहोरिने अवस्थामा रगतमा एपिनेफ्रिन कम हुँदै जाने हुँदा हाइपोथालेमसले तनावविरुद्ध लड्न पिट्युटरी ग्रन्थी र एड्रिनल ग्रन्थीलाई उपयोग गर्छ। हाइपोथैलेमसले पिट्युटरी ग्रन्थीमा हर्मोन पठाएर एड्रिनल ग्रन्थीहरूलाई कोर्टिसोल बनाउन उत्तेजित पार्न निर्देशन दिन्छ। त्यसपछि पिट्युटरीले हर्मोन पठाई एड्रिनल ग्रन्थीहरूलाई उत्तेजित पारिदिन्छ।

मिर्गौलाको माथि रहने एड्रिनल ग्रन्थीहरूले कोलेस्ट्रोलबाट कोर्टिसोल हर्मोन बनाई रगतमा प्रवाह गराउँछ। एपिनेफ्रिनको काम अब कोर्टिसोलले नियमित बनाउँछ। खतरा सकिएको महसुस हँुदा कोर्टिसोलको मात्रा घट्छ र तपाईं सुरक्षित महसुस गर्नुहुन्छ। तपाईंको मनस्थिति सामान्य अवस्थामा फर्किन्छ। 

आज संसारमा धेरै मानिस आफ्नो तनावबाट मुक्ति पाउन नसकिरहेको भेटिन्छन्। लामो समयसम्मको तनावले तिनको रगतमा कोर्टिसोलको नियमित प्रवाह भइरहन्छ। लामो समय कोर्टिसोलको उपस्थितिले नियमित रक्तप्रवाह बढ्ने, दैनिक गतिविधि स्थिर नहुने, अनायास उत्तेजित बन्ने, बेचैनी हुने आदि हुनाले मानिसमा डर र चिन्ता बढ्छ। तनावका बेला उत्पन्न हुने अत्यधिक डर र चिन्ताले मानिसमा प्यानिकऐटेकसमेत आउन सक्छ। मानिस बेहोस हुनेसम्मको अवस्था आउँछ। दीर्घकालीन तनावले डिप्रेसन र एनजाइटीजस्ता स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ।

मानिसको स्नायु–प्रणाली र मस्तिष्कबीच निउरोट्रान्समिटरमार्फत संवाद हुने गर्छ। तत्कालीन अवस्थामा तपाईंलाइ के भइरहेको छ भन्ने सूचना दिमाग र स्नायु–प्रणालीबीच त्यसले गराउँछ।

नेपालमा खाइने हरियो साग र पर्मेन्टेसन हुने खाना, जस्तै : गुन्द्रुक, सिन्की, कोरियन किम्ची, जापानी मिसो, टेम्पे नामको इन्डोनेसियन तोफु आदिमा प्राकृतिक रूपमै गामा–एमिनो– बिउटाइरिक एसिड (गाबा) पाइन्छ। शरीरले प्राकृतिक रूपमै गाबा उत्पादन गर्ने गर्छ। जसले शरीरको आन्तरिक सूचना सञ्चारमा एन्टिनिउरोट्रान्समिटरको काम गर्छ। जब मानिस अति डराउँछ, तब दिमागको गाबा रेसेप्टरमा पुगेर गाबा एमिनो–एसिड टाँसिएर बसिदिन्छ। दिमागबाट सम्प्रेषित खबर स्नायु–प्रणालीमा सञ्चार हुनबाट रोकिदिन्छ। यसले मानिसलाई चिन्ता, दुःख र डरको अनुभूति कम गर्न मद्दत पु¥याउँछ।

हालै भएको अनुसन्धानले अश्वगन्धामा पाइने तत्वले दिमागमा गाबा एमिनो–एसिड एन्टिन्युरोट्रान्समिटरले खेल्ने भूमिका निर्वाह गरी तनाव तथा चिन्ता कम गर्न प्रभावकारी भएको प्रमाणित गरेको छ। यसैकारण अहिले अश्वगन्धा विश्वमै अत्यधिक खोजी गरिने जडीबुटी र हिलिङ फुड बन्दै छ। जुन उच्च गुणस्तर कायम हुने गरी नेपालमा सजिलै उत्पादन गर्न सकिन्छ।

एसिया मलुकमा अश्वगन्धाको चूर्ण वा पाउडर मह वा घिउमा मिसाइएर खाने गरिन्छ। पश्चिमी देशमा भने ५ सयदेखि हजार मिलिग्रामसम्म क्याप्सुलका रूपमा खान सिफारिस गरिएको पाइन्छ। अनिद्रा वा चिन्ताबाट पीडित व्यक्तिले १ कप तातो दूधमा १ चिया–चम्चा अश्वगन्धा चूर्ण वा सुत्नुअघि एउटा अश्वगन्धा–क्याप्सुल खानु लाभकारी मानिन्छ।
खाद्य तथा औषधि–विज्ञ, क्यानडा

प्रकाशित: १६ माघ २०७६ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App