१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सांस्कृतिक स्खलनको सकस

घम्बर नेपाली

सुसंस्कृत व्यक्ति समाजको जरुरी पार्टपुर्जा हो। जसको उपयुक्त र व्यवस्थित संयोजनबाट नै सभ्य समाजरूपी इन्जिन सञ्चालन हुन्छ। आजको दुनियाँमा रहेका जति पनि मानावीय मूल्य छन्, ती सभ्य र सुसंस्कृत समाजकै उपज हुन्। यस्ता नैतिक मानावीय मूल्य व्यक्तिले अभ्यास गर्दै जान्छन्। जब यी मूल्य समाजकै लागि स्वीकार्य हुन्छन्, तब ती सारा समाजकै साझा सांस्कृतिक मूल्यमा रूपान्तरण हुन्छन्। नैतिक मूल्य पारस्परिक विश्वास र भरोसामा निर्माण र सञ्चालन हुन्छन्। जब एकापसमा भरोसा टुट्न थाल्छ, तब सांस्कृतिक स्खलनले गति लिन्छ।

नेपाली समाज मूलतः हिन्दू सांस्कृतिक मूल्य÷मान्यतामा आधारित छ। यसैको ऐतिहासिक विरासतबाट हाम्रो संस्कृति बनेको हो। विश्व मानव सभ्यताले निर्माण गरेका लोकतन्त्र, समाजवाद, पुँजीवादजस्ता सांस्कृतिक मूल्यबाट पनि हाम्रो समाज उत्तिकै प्रभावित छ। नेपाली समाजको नेतृत्व गर्ने राजनीतिक दलले अवलम्बन गरिरहेका संस्कृति पनि हाम्रो संस्कृति निर्माणको अर्को महत्वपूर्ण पक्ष बनेको देखिन्छ। तर पछिल्लो तीन दशकको परिदृश्य मात्र नियाल्दा पनि आफैंले ग्रहण गरिरहेका सांस्कृतिक मूल्यबाट हामी क्रमशः चिप्लिँदै गएका छौं। हामीले नै स्थापना गरेका सांस्कृतिक मूल्यलाई अझ समृद्ध पार्दै लानुपार्नेमा किन एकपछि अर्को विचलनतिर धकेलिँदै छौं भन्ने कारण खोजी यस आलेखको मुख्य पक्ष हो।

के हो सांस्कृतिक विचलन ?
पहिलोपटक कम्युनिस्ट राजनीतिमा लाग्दै गर्दा सांस्कृतिक विचलनबारे जान्ने अवसर पाएँ। जहाँ सांस्कृतिक विचलन भन्नाले सीमाबाहिर गएर गरिने अवैध यौन क्रियाकलाप बुझिन्थ्यो। यौन क्रियाकलापबाट विचलित हुनेलाई पार्टी सदस्यबाट निष्कासन गर्ने, श्रमकैदमा राख्नेदेखि सफायासम्म कारबाही गरिन्थ्यो। यसरी यौनसम्बन्धी कमजोरीलाई गम्भीर नैतिक पतनका रूपमा लिइन्थ्यो। जब सांस्कृतिक विचलनबारे थप अध्ययन गर्दै गइयो, तब थाहा भयो– यो बृहत् मानवीय मूल्यसम्बन्धी अवधारणा रहेछ। मानव मात्र नभएर, यो जगत्का सम्पूर्ण जीवजन्तु तथा वनस्पतिले आआफ्ना सीमाभित्र रहेर कर्तव्य निर्वाह गर्ने कुरा रहेछ।

मानिसले आफूलाई संसारकै सर्वश्रेष्ठ प्राणी दाबी गरे पनि उसका कतिपय क्रियाकलाप पशुपक्षी र जनावरको भन्दा पनि गिरेको देखिन्छ। खानाकै कुरा गर्दा जीवजन्तु आफूलाई चाहिनेभन्दा बढी ओगट्दैनन्। उदाहरणका लागि बाघ कुनै जनावरको मासु खाइसकेपछि मात्र अर्को सिकारमा निस्किन्छ। तर अहिले मानव प्रवृत्ति हेर्दा लाग्छ– उसको स्वार्थ नै सबै चिजको निर्णायक हो। मानव यति विघ्न स्वार्थी बन्दै जाने हो भने यो पृथ्वी आउँदो पुस्ताका लागि बस्न योग्य होला ? यसर्थ मानिसका राजीतिक, आर्थिक, सामाजिक, भौतिक क्रियाकलापले पारेको गहिरो छाप नै संस्कृति हो। समग्र मानवीय संस्कृतिको पहिचानबाट नै व्यक्ति तथा समाजको सभ्यताको स्तर निर्धारण गर्न सकिन्छ।

सांस्कृतिक विचलन बढ्दो
मुहान् सफा भए मात्र धारोमा सङ्लो पानी आउँछ भन्ने उखानै छ। यो कुराले हाम्रो समाजको राजनीतिलाई बढी इंगित गर्छ। विकसित देशका प्रधानमन्त्री कुनै नैतिक विवादमा परे भने तुरुन्तै राजीनामा दिन्छन् र पद छाडेपछि सामान्य नागरिकसरह आफ्नो काममा जोडिन्छन्। तर हाम्रो मुलुकमा ज्यान जाला कुर्सी छाडिन्न। विकसित देशमा राजनीतिलाई सेवाका रूपमा लिइन्छ, हामीकहाँ पेसाका रूपमा। त्यसो त दल स्थापना गर्ने बेला तथा आन्दोलन/विद्रोह हुँदै गर्दा  तिनका पनि विचार मात्र होइन, व्यवहार पनि क्रान्तिकारी नै हुन्छन्। तर जब ती सत्तामा पुग्छन्, तब क्रान्तिकारिता खोक्रो आडम्बरमा परिणत हुन थाल्छ।

दुनियाँमा साँच्चै बदलिने र बदल्ने चाहना भएका व्यक्तिले आफूलाई सफल बनाएका कैयौं उदाहरण छन्। अहिले नेपाली समाज रूपान्तरणका लागि पनि त्यस्तै परिवर्तनकारी अभियन्ताहरूको खाँचो छ।

नेपाली कांग्रेसका नेता बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको नारा हेरौं न  हरेक किसानको एउटा सानो घर, एउटा दुहुनो गाई, एकहल गोरु र खेतबारी होस्; कति मीठो सपना बाँडिएको थियो। कांग्रेस नेतृत्वको संघर्षले राणा शासन  मात्र अन्त्य गरेन, राजतन्त्रलाई पनि सक्रिय राजनीतिबाट बेदखल गरिदियो। त्यत्रो लामो र कठिन संघर्षबाट उदाएको नेपाली कांगे्रसले देश र जनताको अवस्था परिवर्तनका लागि सार्थक काम गर्ला भन्ने ठूलो जनविश्वास थियो। तर जनताले बहुमत दिएर सत्तामा पठाएका नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबे। केही नेता÷कार्यकर्ता सत्ताको दुरूपयोग गरेर राम्ररी पोसिए। गण्डक, टनकपुरलगायत राष्ट्रघाती सन्धि कांग्रेसकै सरकारले ग¥यो। हुँदाहुँदा अहिले आलम प्रवृत्ति मौलाउँदै छ।

गरिब, दुःखी जनताको असली नेतृत्व गर्ने पार्टी कम्युनिस्ट हो भन्दै २०२८ सालको झापा विद्रोहबाट नेकपा माले (पछि एमाले) उदायो। २०४६ सालको जनआन्दोलनको एउटा मुख्य शक्ति यही दल बन्यो। निरंकुश पञ्चायती शासनलाई घुँडा टेक्न बाध्य बनाएको यस पार्टीका नेता÷कार्यकर्ता पनि जेल/नेल र कठोर संघर्षबाट गुज्रिएका थिए। राजनीतिक स्वतन्त्रता मात्र होइन, धनी–गरिबबीच समानता कायम हुने धेरै जनताको अपेक्षा थियो। तर एमाले २०५१ सालमा जब सत्तामा पुग्यो, तब उसमा सांस्कृतिक विचलन तीव्र हुन थाल्यो। एमाले दलीय सत्तामा पहुँच र पकड भएका केही नेता/कार्यकर्ता मोटाए। सांसद किनबेचमा अर्बाैं चलखेल भयो। राष्ट्रघाती महाकाली सन्धि गर्न यिनै तम्सिए। यिनै विकृति/विसंगतिविरुद्ध देशमा सशस्त्र माओवादी विद्रोह सुरु भयो।

संसदीय राजनीति साँच्चै फोहोरी खेल रहेछ भनेर जनताले राज्यको प्रणाली नै परिवर्तन गर्न माओवादीलाई साथ दिए। जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट साढे १० वर्षपछि ‘जनयुद्ध’ उत्कर्षमा पुग्यो। यसबीच माओवादीले थुप्रै सांस्कृतिक मूल्य निर्माण गरिसकेको थियो। धार्मिक अन्धताबाट मुक्त हुने, जातीय भेदभाव÷छुवाछूतजस्ता कुप्रथा बहिष्कार गर्ने, सरल जीवनशैली अपनाउने, जनवादी शिक्षा, श्रम र श्रमिकको सम्मान आदि। अपसोच ! शान्ति प्रक्रिया हुँदै सत्तामा पुगेपछि माओवादी फेरि त्यही पुरानै दलको विरासत थाम्न अझ १० हात उफ्रेर अगाडि आयो। आफूलाई क्रान्तिको नायक भन्न रुचाउने पार्टी अध्यक्ष प्रचण्ड नै कहिले भैंसी पूजा त कहिले श्रीमतीको सुस्वास्थ्यका लागि भन्दै शान्तिस्वस्ति गर्न थाले। उनलाई सामान्य घर र सुत्ने खाट मन पर्न छाड्यो। सर्वसाधारण जनतासँग देखभेट हुन छाड्यो। बिस्तारै उनी ठूलठूला दलाल र भ्रष्टहरूको माखेसाङ्लोमा पर्दै गए।

आफ्ना मुख्य नेता नै यसरी विचलित भइदिएपछि मातहतका नेता/कार्यकर्तालाई बाटो खुल्यो। पैसा, पद र प्रतिष्ठाका लागि हदैसम्म गिर्न थाले। युद्धकालमा भएका अन्तरजातीय जनवादी विवाह धमाधम विघटन हुन थाले। निजी विद्यालय बन्द गरेर हजारौं विद्यार्थीलाई अलपत्र पार्नेहरू आफैं करोडौं लगानी गरेर त्यस्तै विद्यालय तथा मेडिकल कलेज खोल्न थाले। अहिले लगभग सबै नेताको राजधानीमा महल छन्। गाडी छन्। पर्याप्त बैंक ब्यालेन्स छ। उनीहरूसँग एउटा चिज मात्र छैन। त्यो हो– नैतिक मूल्य।

चरम विलासी जीवनको उन्मादमा महरा प्रवृत्ति मौलाउँदै छ। अर्थात् राष्ट्रकै गरिमामय पद सभामुखजस्तो व्यक्ति तथा पार्टीको वरिष्ठ नेता नै परस्त्री गमनमा लिप्त। यो चर्चामा आएको एउटा नमुना घटना मात्र हो। भित्रभित्र यस्ता घटना कति होलान् कति ! जुन पद र पैसाका आडमा दबाइएका हुन्छन्। हिजो गरिब, दुःखी जनताका छोराछोरीलाई मुक्तिको सपना देखाएर युद्धमा हेल्ने कमान्डर जनार्दन शर्माकी छोरीको विवाह राजसी ठाँटबाँटभन्दा कुनै कम थिएन। अहिले दलबीच तुलना गर्दा माओवादी सबैभन्दा दुर्गन्धित छ।

स्खलनको सकस
समाजको संस्कृति निर्माणमा व्यक्ति र समाजबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ। अर्थात् हामी जनताजस्ता छौं नेता त्यस्तै बन्ने हुन्। नेताका विचार र व्यवहारले पनि समाजको संस्कृति निर्माणमा निकै प्रभाव पारेको हुन्छ। किनकि नेताको जीवनशैली अनुकरण गर्ने धेरै हुन्छन्। विज्ञान प्रविधिले गर्दा विश्व अहिले एउटा गाउँमा परिणत भएको छ। योसँगै पुँजीवादले विकास गरेको उपभोक्तावादी संस्कृति पनि हाम्रो समाजमा भित्रिएको छ। सनातनदेखि सञ्चालित हिन्दु संस्कृतिको प्रभाव त नेपाली समाजमा बलियो अवस्थामा छँदै छ, मूलतः उल्लिखित तीन प्रकारका संस्कृतिबाट नेपाली समाज प्रभावित देखिन्छ।

नेपाली समाज नियाल्दा सबैभन्दा बढी सांस्कृतिक विचलन राजनीतिक नेतृत्वमा रहेकाहरूको जीवनशैलीका कारण भएको देखिन्छ। दश/बाह्र वर्षअगाडि आफूलाई सर्वहारा घोषणा गरेका नेताको अहिले अर्बाैंको सम्पत्ति र ऐसआरामको जिन्दगी देखेपछि समाजको एउटा ठूलो तप्का रातारात धनी हुने ध्याउन्नमा छ। यो प्रवृत्तिका मान्छेलाई गैरकानुनी, अवैध, अनैतिक कुनै कुरासँग मतलब छैन। सम्पत्ति प्राप्तिका लागि संगठित अपराधसम्म गर्नसम्म ती पछि पर्दैनन्। कुनै व्यक्ति कसरी एकाएक धनी बन्यो भनेर खोजबिन नगर्ने बरु उसैको प्रशंसा गर्ने हाम्रो गलत बानीले गर्दा यस्तो प्रवृत्ति अरू झाँगिदै गएको छ। यो श्रेणीमा ठूलठूला भ्रष्टाचारी, डन, दलाललगायत पर्छन्।

दोस्रो, माथि उल्लिखित तीनै प्रकारका संस्कृतिको प्रभाव परेका जनसाधारण छन्। यो तप्कालाई पनि छिट्टै धनी हुने र पुँजीवादले उपलब्ध गराएका वस्तु भोग गर्ने चाहनाले गाँजेको छ। तर सत्तासँग पहुँच नहुने वा कम हुने भएकाले यो तप्काका मानिस सकेसम्म वैधानिक बाटोबाट धनसम्पत्ति संकलन गर्छन्। यो श्रेणीमा व्यापारी, व्यवसायी, पेसाकर्मीदेखि वैदेशिक रोजगारीमा जानेसम्म पर्छन्।

अर्को तप्का पनि छ– इमान्दार, स्वाभिमानी, कर्मवीरहरूको। यो श्रेणीका मानिस आफ्नो परिश्रम र निष्ठामा विश्वास गर्छन्। कसैको दासत्व स्वीकार गर्दैनन्। यसअन्तर्गत मजदुर, किसान, पेसाकर्मी, वैदेशिक रोजगारीमा जानेलगायत पर्छन्।

निष्कर्ष
समग्रमा नेपाली समाज दलाली, चाकडी, आडम्बरजस्ता पतनशील सांस्कृतिक प्रवृत्तिबाट बढी प्रभावित छ। पारस्परिक विश्वास यति खस्किएको छ कि अहिले सामान्य लेनदेन गर्न पनि नसकिने स्थिति छ। उपभोक्तावादले मानिसलाई वस्तुकरण गर्दै लगेको छ। अन्धविश्वास र कुरीतिले समाजलाई गाँजेको छ। भ्रष्टाचार, घुसखोरी, अपहरण, बलात्कार, हत्या÷हिंसाजस्ता गम्भीर अपराध बढिरहेका छन्। यी सबै नियमन र व्यवस्थापन गर्ने राज्यका संस्थाप्रति आम भरोसा टुट्दै गएको छ। यसरी दिनप्रतिदिन मानवीय मूल्य र नैतिकता भत्किँदै जानुले नेपाली समाज तीव्र सांस्कृतिक स्खलनको सकसमा परेको संकेत गर्छ।

संस्कृतिको गहिराइ व्यक्तिको स्वत्वसम्म हुने हुँदा सजिलै रूपान्तरण गर्न गाह्रो हुन्छ। तर दुनियाँमा साँच्चै बदलिने र बदल्ने चाहना भएका व्यक्तिले आफूलाई सफल बनाएका कैयौं उदाहरण छन्। नेपाली समाज रूपान्तरणका लागि पनि त्यस्तै परिवर्तनकारी अभियन्ताहरूको खाँचो छ।

प्रकाशित: १ माघ २०७६ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App