लोकतान्त्रिक शासन व्यवस्थामा सरकारको जति महत्व छ, त्यति नै महत्व प्रमुख प्रतिपक्षीको पनि हुन्छ। मुलुकको अवस्थाप्रति जब–जब निराशाको स्थिति आउँछ, तब–तब प्रमुख प्रतिपक्षको भूमिकाप्रति ध्यान दिने गरिन्छ। यतिबेला प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसभित्र भइरहेका गतिविधिले आम नागरिकलाई खासै आकर्षण गर्न सकेको छैन। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दलभित्र मौलाएका अलोकतान्त्रिक गतिविधिले आम नागरिकलाई थप निराश बनाएका छन्। एकातिर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधि लोकतन्त्र खुम्च्याएर ‘नियन्त्रित’ तन्त्रमा झार्ने प्रयासमा छ भने अकौतिर प्रमुख विपक्षी कांग्रेस भने सरकारका यस्ता गतिविधिलाई बेलैमा सच्याउन प्रेरित गर्ने अवस्थामा छैन। बरु आन्तरिक लोकतान्त्रिक अभ्यास सशक्त बन्न नसक्दा मुलुककै उदारवादी व्यवस्थामा संकुचन आउन सक्ने खतरा देखिँदै छ। केही समययता पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाका आआफ्ना गुटका क्रियाकलापले कांग्रेसलाई थिलथिलो पारेको महसुस हुँदै छ। स्वाभाविक रूपमा दलको नेतृत्व पाएपछि देउवाले सबै पक्षलाई समेटेर लैजान सक्नुपर्ने थियो, तर त्यसो हुन सकेको छैन। त्यसैगरी देउवाले दलको नेतृत्व पाइसकेपछि अन्यको भाग पु-याउने/नपु-याउने उनैका हातमा छाडिदिएर अन्य निरन्तर दल र राजनीतिक शुद्धीकरणतर्फ लाग्नुपर्ने थियो। यस अर्थमा कांग्रेसभित्र कुनै एउटा पक्षलाई मात्र दोष दिन सकिने अवस्था छैन। यो अवस्था आउनुमा सबै शीर्ष नेताको समान भूमिका देखिन्छ।
कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ। उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ। आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ। त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ।
मुलुकको लोकतान्त्रिक राजनीतिको पृष्ठभूमिमा पुस महिनाको आफ्नै स्थान छ। यही महिनाको १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकार अपदस्थ भएको थियो। २०१७ सालको शाही ‘कु’पछि मुलुक ३० वर्षसम्म एकतन्त्रीय शासन भोग्न अभिशप्त रह्यो। निर्वाचित अवस्थामै २०३३ पुस १६ गते बिपी ‘मेलमिलाप नीति’ लिएर स्वदेश फर्के पनि देशमा परिवर्तनको कुनै संकेत देखिएन। यस अवधिमा कांग्रेस सबैभन्दा कमजोर रह्यो। २०४६ सालमा वामपन्थी शक्तिसँग मिलेर गरिएको जनआन्दोलनले मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउने वातावरण बन्यो। इतिहासले पटकपटक साबित गरेको छ– जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकमा लोकतन्त्रको भविष्य पनि कमजोर बन्छ। कांग्रेसलाई त्यसै लोकतन्त्रको पर्याय मानिएको होइन। तर, यतिबेला कांग्रेसले आफ्नो त्यो गौरवपूर्ण इतिहास बिर्सेको छ। हिजोका दिनमा कांग्रेस जतिबेला राजनीतिक–सामाजिक परिवर्तनका निम्ति क्रियाशील थियो, त्यसबाट समाजमा सकारात्मक प्रभाव पथ्र्याे। आज कांग्रेसले त्यो अवस्था गुमाएको छ। त्यति मात्र होइन, कांग्रेसले मुलुकलाई आफ्नो राजनीतिक मार्गमा हिँडाउन नसक्ने अवस्था आएको छ। बरु लतारिएर उसले अरूका अजेन्डामा आफूलाई हिँडाउनुपर्ने अवस्था बनेको छ। कांग्रेसलाई विगतमा नेतृत्व गरेका कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका अनुयायीले परम्परालाई निरन्तरता दिन सकेका छैनन्। कुनै बेला पार्टीमा मतभेद भएपछि अलग भएर कांग्रेस प्रजातन्त्रवादी गठन गरेका देउवा आफैंले अहिले कांग्रेसको नेतृत्व गर्ने मौका पाएका छन्। यस्तो बेलामा समेत उनीप्रति गुटको मात्र हित गरेकाजस्ता आरोप लाग्नु सुखद संकेत होइन।
कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ। उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ। आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ। त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ। कांग्रेसमा अहिले विभिन्न गुटका भेला भइरहेका समाचार आइरहेका छन्। गुटकै राजनीतिमा रमाउनेलाई त यसले खुसी पार्ला, तर मुलुकको लोकतान्त्रिक भविष्यप्रति चिन्तित नागरिकलाई भने अवश्य दुःखी बनाउँछ। लामो इतिहास र योगदान भएको दल अहिले कमजोर अवस्थामा पुगेको देखेर ठाउँठाउँमा टिप्पणी भइरहेको सुनिन्छ। देशको समग्र अवस्था चिन्ताजनक हुँदा आशा लाग्ने अर्को दल पनि बिगिँ्रदै गएको भनेर आलोचना भइरहेको छ। यस्ता विषयमा कांग्रेस नेतृत्व वर्गले आफैं सर्वसाधारणका धारणा बुझ्न र तदनुकूल अघि बढ्न उचित हुन्छ। कांग्रेसभित्रै बिपीको परिवारका सदस्य शशांक कोइराला, सुजाता कोइराला र शेखर कोइरालालगायतको उपस्थिति छ। नयाँमा पनि सम्भावना भएका गगन थापालगायत युवा नेता छन्। यस्तै विमलेन्द्र निधिजस्ता नेताको प्रभावशाली उपस्थिति कांग्रेसमा नभएको होइन। गुटको राजनीतिले आक्रान्त आफ्नो दललाई त्यसबाट बाहिर ल्याउने प्रयास गर्न यी नेताले भूमिका खेल्ने बेला आएको छ। कांग्रेस बिगिँ्रदा देशकै समग्र परिस्थितिमा नकारात्मक प्रभाव पर्छ। यो लुछाचुँडीले उदार लोकतन्त्रलाई ‘नियन्त्रित लोकतन्त्र’को बाटोमा नलैजाओस्। मुलुकको नेतृत्व पटकपटक गर्ने मौका पाएका कांग्रेस सभापति देउवाले अहिलेको विषम परिस्थितिलाई बेलैमा बुझ्न सकेनन् भने अवस्था अरू बिग्रिने खतरा देखिँदै छ। कांग्रेसभित्रको कलह बेलैमा टुंगोमा पुगोस्।
प्रकाशित: १७ पुस २०७६ ०३:०६ बिहीबार