केही दिनअघिको घटना हो। काठमाडौंको एक ठाउँमा एक सुत्केरी र शिशु कोठाभित्र मृत अवस्थामा फेला परेको जानकारी पाएपछि म प्रहरी टोलीसँग घटनास्थल निरीक्षणका लागि गएँ। एक दम्पति र उनीहरूको केही महिना मात्रकोे शिशु एउटा निकै सानो कोठामा बस्दारहेछन्। कोठाका झ्याल पूरै बन्द थिए। उनीहरू साँझपख बाहिर दाउरा बाल्दारहेछन् र बेलुका बाँकी बसेका कोइला कोठाभित्र कराइमा ल्याएर कोठालाई न्यानो बनाउँदारहेछन्। त्यही दिन बिहानको ३ बजेतिर श्रीमान् उठ्दा आफ्ना श्रीमती र बच्चा बेहोस अवस्थामा देखेछन्। केही गर्दा पनि होसमा नआएपछि मृत्यु भइसकेको बुझे।
घटनास्थलको अनुसन्धानपछि शव पोस्टमार्टमका लागि पठाइयो। पोस्टमार्टममा मृत्यु हुने हुने खालको केही चोट वा रोग नदेखिए पनि छाला तथा केही भित्री अंग अस्वाभाविक रूपमा रातो देखियो। त्यही भएर रगतको नमुना कार्बाेक्सिहेमोग्लोबिन परीक्षणका लागि प्रयोगशालामा पठाइयो।
शिशु तथा बच्चाले ठूला मानिसले भन्दा छिटो गतिमा सास फेर्छन्, जसले गर्दा कार्बन मोनोअक्साइड रगतमा छिटो संकलन हुन्छ र मृत्यु पनि छिटो हुन्छ। त्यही भएर शिशु कोठामा हुँदा झन् बढी सतर्कता अपनाउनुपर्ने हुन्छ।
अहिले काठमाडौंका साथै देशैभर जाडो निकै बढेको छ। आफूलाई न्यानो राख्न मानिस धेरै उपाय प्रयोग गर्छन्। सामान्यतया न्यानो÷बाक्लो लुगा लगाउँछन्। हिजोआज ग्यास हिटरको प्रयोग गर्ने चलन बढेको छ। नुहाउँदा ग्यास गिजर प्रयोग पनि बढ्दो छ। कतिपय अवस्थामा जस्तै सुत्केरी तथा नवजात शिशुलाई तेल लगाउँदा पनि इलेक्ट्रिक हिटरभन्दा कोइलाको ताप रुचाइन्छ। तर सावधानी नअपनाउँदा कतिपय अवस्थामा जानीनजानी दुर्घटना निम्त्याइन्छ।
किन हुन्छ मृत्यु ?
जब दाउरा मट्टितेल, ग्यास, पेट्रोल आदि (फोसिल फ्युल) बल्छन्, तब कार्बन मोनोअक्साइड तथा कार्बन डाइअक्साइडजस्ता ग्यास निस्किन्छन्। साधारणतया सास फेर्दा हावा फोक्सोमा पुग्छ, जहाँ हावामा भएको अक्सिजन रगतमा मिसिन्छ। रगतमा भएका हेमोग्लोबिनले अक्सिजन शरीरका प्रत्येक अंगमा पु¥याउँछ। हेमोग्लोबिनसँग अक्सिजन जति आकर्षण हुन्छ, त्यसभन्दा कार्बन मोनोअक्साइड ५०० गुणा बढी आकर्षण हुन्छ। जब हावामा कार्बन मोनोअक्साइड हुन्छ, तब हेमोग्लोबिन अक्सिजनको सट्टा कार्बन मोनोअक्साइडसँग टाँसिन्छ र कार्बाेक्सिहेमोग्लोबिन बन्छ, जसले अक्सिजन सञ्चार गर्न सक्दैन, जसले गर्दा सुरुमा टाउको दुख्ने, वाकवाक लाग्ने, रिंगटा लाग्ने, बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। कार्बोक्सिहेमोग्लोबिनको मात्रा रगतमा बढ्न गएमा अचानक मृत्यु पनि हुन सक्छ।
कार्बन मोनोअक्साइड ग्यास, दाउरा, कोइला बाल्दा, ग्यास हिटर र गिजर बाल्दा तथा पेट्रोलियम पदार्थ प्रयोगबाट चल्ने जेनरेटर, मोटरको इन्जिन आदिबाट पनि उत्पादन हुन्छ। त्यही भएर यी सबै खाले सामग्री तथा उपकरण प्रयोग गर्दा बाहिरी वातावरणबाट भित्र कोठामा हावा सञ्चार भएको छ कि छैन भन्नेमा विशेष ध्यान दिनुपर्छ। ग्यास गिजर चलाएर नुहाउँदा झ्याल केही खुल्ला राख्नुपर्छ। एक वर्षअघिको घटना, जेनरेटर राखेको सानो कोठाको भेन्टिलेसन झ्याल शौचालयमा जोडिएका कारण शौचालय गएका एकजनाले ज्यान गुमाउनुप¥यो।
उल्लिखित घटनामा एउटै कोठामा सुतेको भए पनि महिला र शिशुको ज्यान गयो, श्रीमान्लाई केही लक्षण मात्र देखिए। शिशु तथा बच्चाले ठूला मानिसले भन्दा छिटो गतिमा सास फेर्छन्, जसले गर्दा कार्बन मोनोअक्साइड रगतमा छिटो संकलन हुन्छ र मृत्यु पनि छिटो हुन्छ। त्यही भएर शिशु कोठामा हुँदा झन् बढी सतर्कता अपनाउनुपर्ने हुन्छ। सामान्यतया रातो रगत, जसमा हेमोग्लोबिन हुन्छ, पुरुषमा भन्दा महिलामा कम हुन्छ, जसले गर्दा महिलामा चाँडै असर देखिन्छ। त्यसैगरी वृद्ध मानिस, दम, मुटुको रोग, रक्तअल्पता (एनेमिया) भएका मानिसलाई चाँडै कार्बन मोनोअक्साइड ग्यासले असर गर्छ।
बिजुलीबाट चल्ने अर्थात् इलेक्ट्रिक हिटरले करेन्टका माध्यमबाट ताप उत्पादन गर्ने भएकाले यसबाट कार्बन मोनोअक्साइडको खतरा रहँदैन। यो हिसाबले इलेक्ट्रिक हिटर ग्यास हिटरभन्दा उपयुक्त मानिन्छ।
तर आगो बाल्दा वा हिटर प्रयोग गर्दा आगलागीबाट पनि ज्यान जोखिममा पर्न सक्ने हुनाले आगो ताप्दा आगलागीबाट बच्न सावधानी अपनाउनुपर्छ। तसर्र्थ आगो बाल्दा वा ग्यास, डिजेल, पेट्रोल प्रयोग हुने उपकरण प्रयोग गर्दा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरेमा यस्तो भवितव्यबाट सजिलै बच्न सकिन्छ।
त्रिवि शिक्षण अस्पतालमा फोरेन्सिक मेडिसिनमा स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सक
प्रकाशित: १६ पुस २०७६ ०५:१८ बुधबार