१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

तनाव पनि फाइदाजनक !

प्रेमनारायण भुसाल

हामी सामान्यतया तनाव वा चिन्तालाई हानिकारक मान्छौं। हुन पनि चिन्ताले कार्यक्षमतामा ह्रास पु¥याउने मात्र नभएर मानसिक तथा शारीरिक रूपमा व्यक्तिलाई रूग्ण बनाउँछ। यसैले तनावलाई दीर्घकालीन र असाध्य रोगको कारक ठानिन्छ। तनावलाई सकारात्मक र नकारात्मक, क्षणिक र दीर्घकालीन तथा विगत, वर्तमान वा भविष्यसम्बद्ध गरी मूलतः तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ। यीमध्ये सकारात्मक र क्षणिक तनावले व्यक्तिलाई जागरूक तथा परिश्रमी बनाउने भएकाले यसलाई मानसिक तथा शारीरिक हिसाबले हितकारीसमेत मानिन्छ।

अकस्मात् लड (फाइट) वा भाग (फ्लाइट)को अवस्था सिर्जना हुनुलाई तनावपूर्ण अवस्था मान्न सकिन्छ। तर तनावको कारक के हो भन्ने विषयमा समेत सबैजना एकमत हुन सक्ने वा सर्वमान्य उत्तर प्राप्त हुन सक्ने सम्भावना रहन्न। होल्म्स र राहेले सन् १९६७ मा गरेको अध्ययन सोसियल रिएडजस्टमेन्ट रेटिङ स्केल (एसआरआरएस)को निष्कर्ष स्वरूप प्राप्त तनावका कारक तथा ती कारकबाट सिर्जित तनावको संख्यात्मक परिमाणलाई धेरैजसो विद्वान्ले स्वीकार गरे पनि परिस्थितिगत तथा व्यक्तिगत विविधताका कारण पूर्णतः सर्वमान्य भने हुन सकेको छैन। धेरै व्यक्ति फलानो कारण तनाव भयो वा कसैलाई समस्या परेको अवस्थामा उसलाई तनाव छ भनेर अनुमान गरिहाल्छन्। तर अध्ययनहरूले तनावको कारण निरपेक्ष रूपमा घटना विशेष नभई व्यक्तिगत सोच एवं दृष्टिकोण हो भन्ने निष्कर्ष निकालेका छन्। यसैले समान प्रकृतिका घटनाले कसैलाई गम्भीर तनावमा पारेका हुन्छन् भने अर्काथरी मानिसलाई खासै विचलित बनाएका हुँदैनन्। व्यक्ति विशेषको जीवन–जगत् हेर्ने दृष्टिकोण, उसको मनोकांक्षा र बुझाइगत भिन्नता नै तनावका मात्रात्मक अन्तरका कारक हुन्।

मानव सभ्यता विकासको प्रमुख आधारसमेत मानिसमा जन्मजात रूपमा रहेको तनाव भएकाले सबै किसिमका तनावबाट भाग्ने होइन, बरु त्यसको व्यवस्थापन गर्ने हो।

तनाव सिर्जना हुँदा हाम्रो मनमा मात्र होइन, शरीरमा पनि तात्विक परिवर्तन आउँछ। न्युरो ट्रान्समिटरले खतरापूर्ण अवस्थाको संकेत मस्तिष्कमा प्रवाह गर्नासाथ मस्तिष्क तथा हर्मोन उत्पादन गर्ने ग्लान्डले संकटकाल सामना गर्न उत्कर्षमा पुगेर काम गर्छन्। फलतः शरीरलाई आवश्यक अक्सिजनको मात्रा बढाउन फोक्सोले श्वासप्रश्वास तथा शरीरका सबै कोषमा पर्याप्त मात्रामा अक्सिजन तथा ग्लुकोज पु¥याउन मुटुले रगत पम्प छिटोछिटो गर्न थाल्छन्। परिणमतः रगतमा ग्लुकोजको मात्रा ह्वात्तै बढ्छ। यस प्रकारको संकट सामनाको क्षणमा शरीरले अनुपम ऊर्जा प्राप्त गर्ने भएकाले उसले चोटपटकका पीडा तथा अन्य असहज परिस्थिति महसुस नै गर्दैन। यसैले त ठूलो दुर्घटनामा परेर पनि व्यक्ति ‘मलाई ठीकै छ’ भन्दै तुरून्तै सामान्य क्रियाकलाप गर्न तयार हुन खोज्छ। सडक पार गर्दै गर्दा अकस्मात् विपरीत दिशाबाट तीव्र गतिमा अनियन्त्रित हुँदै ठूलो सवारीसाधन आउँदा व्यक्तिले यही विशेष ऊर्जाकै कारण अपरिमित बल प्रप्त गरी आफूलाई बाटाको छेउमा हुत्याउन सक्छ।

ठूलो भूकम्प आउँदा खुट्टा नभएका व्यक्ति पनि अरूको सहयोगबिनै घरबाट सुरक्षित ठाउँसम्म पुगेका र उनीहरू स्वयं आफू कसरी त्यहाँसम्म पुग्न सकेको भन्ने विषयमा अनभिज्ञ रहेकाबाट पनि सकारात्मक र क्षणिक तनाव व्यक्तिका लागि फाइदाजनक हुने तथ्य प्रमाणित गर्छ। यसलाई अर्को सरल उदाहरणबाट पनि बुझ्न सकिन्छ। सवारीसाधन चलाइरहेका बेला विपरीत लेनमा गई ओभरटेक गरिरहेको अवस्थामा तीव्र गतिमा विपरीत दिशाबाट सवारीसाधन आउँदा चालकले एक्सिलेटर दबाएर गति बढाई साधनलाई आफ्नो लेनमा ल्याउँछ। ओभरटेक गर्दागर्दै आएको समस्याले उसलाई क्षणिक तनाव दिन्छ र आफ्नो भएभरको सामथ्र्य लगाई ऊ सुरक्षित ठाउँमा पुगी तनावमुक्त हुन्छ। विपरीत दिशाबाट साधन आउँदासमेत उसमा तनाव सिर्जना नहुँदो हो त तत्कालै दुर्घटनाको अवस्था आउँथ्यो। यसबाट के बुझिन्छ भने अकस्मात् आइपर्ने समस्याले व्यक्तिको मस्तिष्कमा तुरून्तै भाग वा भीड भन्ने संकेत दिनासाथ ऊ भएभरको शक्ति र सामथ्र्य लगाई समस्याबाट मुक्त हुन प्रयास गर्छ। मानव शरीरमा प्रकृतिले यही संकटकालीन परिस्थिति सामना गर्ने शक्ति दिएकाले त्यसको उपयोगका लागि पनि क्षणिक तनाव हितकारी देखिन्छ, जसबाट शरीरले एक किसिमको व्यायाम तथा मस्तिष्कले समस्यासँग जुध्न सक्ने मनोबल प्राप्त गर्छ।

परीक्षाले व्यक्तिलाई पीडित मात्र बनाउँदैन, राम्रो अंक ल्याउन तयारीका लागि उत्प्रेरित पनि गराउँछ। सधैं ढिला उठ्ने व्यक्ति परीक्षा समयमा छिटो उठ्छ, २–३ दिन पढेर तयारी गर्न नसकेका कुरा १–२ घण्टामा तयार गर्छ। प्रभावकारी सिकाइको एउटा महत्वपूर्ण घटक सकारात्मक एवं क्षणिक तनाव हो। त्यसो हुँदैनथ्यो भने मानव निष्क्रियताको पराकाष्ठामा पुग्थ्यो। प्रकृतिप्रदत्त सीपको निरन्तर प्रयासबाटै नवीन कार्य थालनी सम्भव हुने भएकाले पनि व्यक्तिलाई अघि बढ्न कुत्कुत्याउने तत्वका रूपमा यसलाई लिनुपर्छ। वास्तवमा जीवनलाई पुनर्ताजगी गराउन पनि सकारात्मक तथा क्षणिक तनाव आवश्यक देखिन्छ। त्यसैले त समाजमा पनि ईख नभएको मान्छे र बिख नभएको सर्प काम लाग्दैन भन्ने भनाइ प्रचलित छ। यसको मूल कारण एक किसिमको असन्तोष वा तनावले नै व्यक्तिलाई काममा अग्रसर गराउँछ भन्ने हो।

मानिसमा तनाव ‘तत्व’ हुँदैनथ्यो भने आज पनि ऊ जंगलका गुफामै हुन्थ्यो होला। मानव सभ्यता विकासको प्रमुख आधारसमेत मानिसमा जन्मजात रूपमा रहेको तनाव भएकाले सबै किसिमका तनावबाट भाग्ने होइन, बरु त्यसको व्यवस्थापन गर्ने हो। खाना देखेपछि खाने इच्छा जागृत भई प्राप्त गर्न नसक्दा तनाव सिर्जना भएकै कारण व्यक्तिले खाना खोज्ने वा प्राप्त गर्ने प्रयास गर्छ र निरन्तर प्रयासले ऊ सफल हुन्छ। तर एउटा सफलतापछि अर्को इच्छाको शृंखला सुरू भइहाल्छ। यही शृंखलामा गतिशील हुँदै जाँदा मानव–जीवन रहस्यमय एवं रुचिकर बन्छ। मानवले जीवनबाट विश्रान्ति लिएपछि वा जीवन समाप्त भएपछि मात्र तनावको शृंखला समाप्त हुन्छ। यसैले सधैं र सबै तनाव घातक हुँदैनन्, तीमध्ये धेरैजसो तनाव व्यक्तिलाई क्रियाशील बनाउने आधार वा उत्प्रेरकसमेत हुन्छन्।

क्षणिक तनावले मानिसलाई कामप्रति प्रेरित गर्ने भए पनि त्यो लम्बिँदै गयो भने हृदयाघात, रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, क्यान्सर र साइकोसिसजस्ता विकृति देखा पर्छन्, जसले जीवनलाई अनुत्पादक बनाउने मात्र होइन, अकाल मृत्युको मुखमा समेत धकेलिदिन्छ। माथिको उदाहरणमा आवश्यक ठाउँमा एक्सिलेटर दबाएकाले दुर्घटना टरेको थियो तर कुनै चालक जतिखेर पनि संकटकालमा झैं एक्सिलेटर दबाइरहन्छ भने दुर्घटना हुने सम्भावना बढ्ने मात्र होइन, तुरून्तै इन्जिनमा तीव्र ताप उत्पन्न भई विस्फोट हुने खतरासमेत निम्तिन्छ। हाम्रो शरीरका आपत्कालीन क्षणमा अति सक्रिय हुने कुनै पनि अंग– मुटु, फोक्सोलगायतमा लामो समयको तनावले विचलन ल्याई हृदयाघात, उच्च रक्तचाप, मस्तिष्काघात र उच्च मधुमेहका कारण शरीरलाई जीर्ण मात्र पार्ने नभई कुनै पनि बेला अप्रिय घटना निम्तिने सम्भावनासमेत रहन्छ। यसैले सकारात्मक र क्षणिक तनाव हाम्रा लागि फाइदाजनक भए पनि लामो समयसम्म तनावले ग्रस्त पारेमा चिन्ताले चितामा पु¥याउँछ भन्ने लोकोक्ति चरितार्थ पार्न सक्ने भएकाले दीर्घकालीन र नकारात्मक तनावबाट मुक्त हुन आहार, व्यवहार र चिन्तन शुद्धतामा ध्यान दिनुपर्छ।
मनोवैज्ञानिक परामर्शदाता

 

प्रकाशित: ३० मंसिर २०७६ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App