१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

‘मेरो’ होइन, ‘हाम्रो’

देवमान हिराचन
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारासाथ गैरआवासीय नेपाली संघ(एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबार काठमाडौंमा सुरु भएको छ।

बिहीबारसम्म चल्ने सम्मेलनका लागि विश्वका विभिन्न देशबाट सहभागी (गैरआवासीय नेपाली)हरू काठमाडौंमा भेला भएका छन्। आफू र आफ्नो परिवारको पालनपोषण तथा सुखसुविधाका लागि अवसर खोजी गर्दै विदेशिएका नेपालीले ती देशमा आर्जन गरेका सीप, अनुभव र रकम मुलुकको उन्नतिका निम्ति लगाउने अवधारणासहित डेढ दशकअघि गैरआवासीय नेपाली संघ(एनआरएनए) को जन्म भएको हो।

आफू परदेशमा रहे पनि मातृभूमिप्रतिको कर्तव्य निर्वाह गर्दै देशको सेवा र व्यक्तिगत रूपमा आत्मसन्तुष्टि आर्जन गर्ने पात्र कालान्तरमा एनआरएनका रूपमा परिणत भएका हुन्। उनीहरूले गठन गरेका गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै नेपालको शान्ति, विकास र पुनःनिर्माणमा लाग्ने प्रतिबद्धता जनाएको हो।

व्यक्तिगत, समूहगत वा संस्थागत रूपले कुनै मुनाफा कमाउने उद्देश्यले एनआरएनए स्थापना भएको होइन। यो मनन गर्नु यसका हरेक सदस्यको पहिलो दायित्व होे।

अहिले विश्वका ८१ देशमा रहेका नेपाली संगठित भइसकेका छौं। हाम्रो चाहना मातृभूमिका लागि केही योगदान गरौं भन्ने नै हो।

संस्थाको नेतृत्वमा रहेकाहरूले यस कुरालाई मूल मन्त्रकै रूपमा बोध गर्न आवश्यक छ। संस्थालाई भजाएर व्यक्तिगत फाइदा उठाउने उद्देश्य राख्नु घोर अनैतिक ठहरिन्छ। तर सस्ंथालाई व्यक्ति वा समूह विशेषको स्वार्थपूर्तिको साधन बनाउन खोजिएको त होइन भन्ने आशंका संस्थाभित्रै र बाहिरबाट समेत यदाकदा उठे÷उठाइएको पाइन्छ। सस्ंथा कतै अनावश्यक राजनीतीकरणको सिकार बनेको त होइन भन्ने चर्चा पनि कहिलेकाहीं सतहमा आउँछ। हावा नचली पात हल्लिँदैन भन्ने भनाइ मान्ने हो भने कहीं–कतै केही न केही चुकेकैले यस्तो आरोप लागेको अनुमान लगाउनुपर्ने हुन्छ। काम गर्ने व्यक्तिको डाह–ईष्र्या गरेर पनि यस्तो आरोप लगाइएको हुन सक्छ।

यथार्थ जे भए पनि व्यक्ति विशेषलार्ई औंल्याएर आरोप÷प्रत्यारोप गर्नुभन्दा त्यस्तो विकृति–विसंगति संस्थामा भइरहेको छ वा हुन लागेको छ भने सबैको प्रयासले समयमै त्यसलाई जरैदेखि निर्मूल पार्नुपर्ने हुन्छ। संस्था मेरो होइन हाम्रो हो भन्ने सोचेर सबै एक भएर आगाडि बढ्नुप¥यो। त्यसो त राजनीतिक आस्थाभन्दा माथि उठ्ने लक्ष्यसहित स्थापना गरिएको संघलाई अनेकौं तर्क झिक्दै राजनीतिको रङ दिन खोज्ने प्रवृत्तिको पनि यहाँनिर आलोचना गर्नु वाञ्छनिय हुनेछ।

एनआरएनएको नेतृत्व पंक्तिले यो कुरा कति महसुस गरेको छ वा छैन त्यो भन्न सकिन्न, तर देशका लागि एनआरएनहरूले के गरेका छन् भन्ने प्रश्न आम रूपमा तेर्सिएको छ। हरेक वर्ष दसैंआसपास विशेष कार्यक्रमको बहाना बनाएर नेपाल आउने र ठूलठूला कुरा गरेर फेरि विदेश फर्किने गरेको आरोपको जवाफ सकारात्मक कर्मबाटै दिनु अपरिहार्य छ। संविधान कार्यान्वयनसँगै तुलनात्मक रूपले स्थिरतातर्फ मुलुक लम्किन खोजेको भनिएको आजको परिवेशमा आफ्ना वाचा तथा प्रतिबद्धताअनुरूप देश विकासको एउटा अहं हिस्सा बन्नेतर्फ एनआरएन उन्मुख हुनैपर्छ।

संस्थामा म होइन, हामी भन्ने भावनाले स्थान पाउनुपर्ने कुरालाई पंक्तिकारले हरदम जोड दिँदै आएको छ। ‘म’लाई ‘हामी’मा रूपान्तरण गर्न नसकेसम्म यो संस्थामार्फत सकारात्मक परिणाम प्राप्त गर्न कठिन हुनेमा दुईमत हुँदैन। अब एनआरएनले कुरा गर्नेभन्दा काम देखाउने बेला हो यो। किनकि सिंगो देश र सारा जनताले गहिरिएर हेरिरहेका छन्। ठूलठूला प्रतिबद्धता गरिएका छन्, तर ती कसरी पूरा गर्ने, खासै गहिरिएर सोचिएको अनुभूति हुँदैन।

कुनै पनि सस्ंथालाई जब संस्थागत ढंगले अघि बढाउन सकिँदैन तब कहिल्यै अभियान सफल हुँदैन। त्यसैले यस कमजोरीप्रति गम्भीरता देखाउँदै सस्ंथामा ‘सिनियर’लाई सम्मान गर्ने, तिनका अनुभव सुन्ने र आवश्यक सल्लाह लिने प्रवृतिको विकास गर्न जरुरी छ। अन्यथा, मनपरी ढंगले संस्था चलाउन खोज्ने प्रवृति हुर्किंदै जान्छ र उद्देश्य प्राप्तिमा बाधा पुग्छ। संस्थाका हरेक काममा ‘मेरो’ होइन ‘हाम्रो’ भावना विकास हुन जरुरी छ। संस्थाका योजना तथा भावी कार्यक्रम स्पष्ट हुनुपर्छ।  त्यसबाट विगतका कमीकमजोरी सुधार गर्न मद्दत पुग्छ।

झन्डै ७० लाख नेपाली आज विदेशी माटोमा छौं। रहरले भन्दा बाध्यताले विदेशिएका हामी जहाँ रहे÷बसे पनि स्वदेश अवस्थाप्र्रति त्यतिकै चिन्तित छौं, जति स्वदेशमा रहने तपाईंहरू हुनुहुन्छ। यही कारण मातृभूमिका लागि केही योगदान गरौं भन्ने उद्देश्यसाथ हामी विदेशमा बस्ने नेपाली गैरआवासीय नेपाली सघंमार्फत संगठित भएका हौं। यसअन्तर्गत अहिले विश्वका ८१ देशमा रहेका नेपाली संगठित भइसकेका छौं। हाम्रो चाहना मातृभूमिका लागि केही योगदान गरौं भन्ने नै हो। हामी मातृभूमिबाट लिनुभन्दा पनि केही दिनुपर्छ भन्ने भावनाबाट पे्ररित छौं। अर्थात्, मातृभूमिको दूधको भारा तिर्न हामी अत्यन्त लालायित छौं। स्वदेशी माटोबाट पर रहनुपर्दा हामी एनआरएनले सिकेको सबैभन्दा ठूलो ज्ञान आफ्नो खुट्टामा कसरी उभिनुपर्छ भन्ने हो।

५२ घुस्सा, ५३ ठक्कर खाँदै हामीले विदेशी भूमिमा आफूलाई स्थापित गरेका छौं। यसक्रममा हामीले थुप्रै अनुभव, सीप र ज्ञान बटुल्ने अवसर पनि पाएका छौं। हामीमध्ये कतिपयसँग विदेशी विश्वविद्यालयका औपचारिक ज्ञान छ भने जोसँग यस्तो ज्ञान छैन, उनीहरूसँग अथाह अनुभव छन्। यसअतिरिक्त हामी विदेशमा बस्ने नेपालीसँग पुँजी पनि त्यतिकै छ। हामी चाहन्छौं– हाम्रा सीप, ज्ञान, अनुभव र पुँजीबाट मातृभूमि सिञ्चन गरौं। यही अभिप्रायले हामीले आफ्ना कार्यक्रम र योजना अगाडि बढाइरहेका छौं। १६ वर्षअघि गैरआवासीय नेपाली सघं गठन भएदेखि नै हामी स्वदेशको भलाइका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट अघि बढिरहेका छौं। एनआरएनए गठन हुँदा देशमा विद्यमान द्वन्द्व र पछिल्लो चरणमा नयाँ सविंधान निर्माण प्रक्रियाका कारण उत्पन्न गतिरोधले हाम्रो गतिमा पनि प्रभाव परेको थियो। खेतमा बाली लगाउनुअघि त्यो सुरक्षित हुन्छ÷हुँदैन भन्ने चिन्ता हुनु स्वाभाविकै हो।

अन्त्यमा, राष्ट्रले कल्पना गरेको समृद्ध नेपाल निर्माणका लागि दक्ष गैरआवासीय नेपाली पहिचान गर्दै उनीहरूका ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा एउटा ठोस निचोडमा पुग्न यो नवौं विश्व सम्मेलन सफल हुन्छ भन्ने अपेक्षा र विश्वास गरौं। विश्वभर छरिएर रहेका नेपाली र विश्व जगत्लाई जोड्न एनआरएनएले महŒवपूर्ण योगदान गर्न सक्छ र गर्नुपर्छ। यसका लागि विगतका राम्रा काम÷कुरालाई निरन्तरता दिँदै समयानुकूल नयाँ योजनाहरू बनाउनुपर्छ। नेपाल सरकार तथा सरकारका निकायहरूसित समन्वय गरी काम गर्न हामीले आफ्ना तर्फबाट कुनै कसर बाँकी राख्न हुँदैन। हृदयमा मातृभूमि सजाएर कर्म गरे लक्ष्यमा पुग्न पक्कै असम्भव छैन। सधैं सकारात्मक सौचौं र त्यहीअनुसार व्यवहार गरौं। विश्वभरि ‘वाह !’ नेपाली भन्ने गराऔं, जय एनआरएनए ! लेखक गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्वअध्यक्ष हुन्।

प्रकाशित: २९ आश्विन २०७६ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App