९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कर्मकाण्डी नेपाली पर्यटन

आजको विश्वमा हरेक देशको एक प्रमुख उद्योगका रूपमा पर्यटन क्षेत्रलाई लिइन्छ। बाह्य पर्यटकको आगमन र आन्तरिक पर्यटकको भ्रमणले पर्यटन उद्योग प्रमुख रूपमा विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगका रूपमा विश्वभर विकास भइरहेको छ। नेपालजस्तो अल्पविकसित देशमा त यो उद्योगको झनै ठूलो महत्व हुन्छ। पर्यटकीय आकर्षण, पर्यटकलाई दिने सेवा–सुविधा गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्छ। नेपालमा भने कर्मकाण्डी पाराका योजना तथा कार्यक्रम तर्जुमा गर्ने, गुणस्तरीय सेवा, सुविधा दिने र पूर्वाधार निर्माणमा ध्यान नदिने तथा व्यावसायिक दक्षताभन्दा पनि जेनतेन गुजारा चलाउने खालको परिपाटीमा पर्यटन क्षेत्र चलेका कारण सबै खाले पर्यटकका लागि उपयुक्त संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएर पनि नेपालले पर्यटन क्षेत्रबाट उचित लाभ लिन सकेको छैन।

हरेक सेप्टेम्बर २७ मा संसारभर विश्व पर्यटन दिवस मनाइन्छ। यस वर्ष यो दिवस ‘पर्यटन र रोजगार ः सबैका लागि राम्रो भविष्य’ नारासाथ मनाइएको छ। गुणस्तरीय सेवाका लागि पर्यटन क्षेत्रमा शिक्षित, तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ, तर छोटो समयको सामान्य खालको तालिम लिएर पनि पर्यटकीय सेवा प्रदान गर्ने गरेको पाइन्छ। काम गर्दै, सिक्दै पनि सेवा दिन सकिने भएकाले पनि यो क्षेत्रमा धेरैको आकर्षण रहेको पाइन्छ। पर्यटनले विदेशी मुद्रा आर्जन गर्ने मात्र नभएर प्रत्यक्ष–अप्रत्यक्ष लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने तथा नेपालको अनुपम प्राकृतिक छटा, बहुसंस्कृति र गौरवशाली इतिहास विश्वसामु चिनाउने काम पनि गर्छ। विश्व पर्यटन दिवस पर्यटन क्षेत्रका लागि ठूलो पर्व हो, जुन नेपालका लागि पनि पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार बन्न सक्छ। नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न यस्ता कार्यक्रमको ठूलो भूमिका रहन्छ।

तर नेपालमा यो दिवस केवल कर्मकाण्डी मात्र बन्ने गरेको देखिन्छ। दिवसका नाममा प्रभातफेरी गर्ने, विमानस्थलमा पर्यटकलाई स्वागत गर्ने र केही औपचारिक कार्यक्रम गर्नेजस्ता क्रियाकलापले मात्र अपेक्षित लाभ लिन सकिन्न। यसलाई पर्व र उत्सवका रूपमा मनाउने, विशेष सहुलियतसहित मनोरञ्जनात्मक कार्यक्रम गर्ने, टुर प्याकेजहरू, होटल, रेस्टुरेन्टहरूमा छुटसहितका प्याकेजहरू दिने, नयाँ गन्तव्यहरूमा घुम्न जाऊँ भन्ने खालका विभिन्न आकर्षक कार्यक्रम समेटेर यो दिवसलाई प्रभावकारी बनाउन सकिन्छ। पर्यटकीय आकर्षणहरू मात्र भएर हुँदैन, अथाह सम्भावनाहरू रहेको पर्यटनको प्रवद्र्धन गर्न र भरपुर फाइदा लिन नयाँ–नयाँ कार्यक्रम आयोजना गर्ने, पर्यटकीय अकर्षणहरू थप्दै जाने, पर्यटकलाई दिइने सेवा–सुविधामा गुणात्मक सुधार गर्दै जाने तथा शान्ति सुरक्षामा सुधारजस्ता काम गर्नु आवश्यक छ।

कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन क्षेत्र विकास हुँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

सन् २०१८ को वर्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको तथ्यांकअनुसार विश्वमा पर्यटन क्षेत्रको आम्दानी ८८ खर्ब अमेरिकी डलरभन्दा बढी र ३२ करोडभन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा कार्यरत छन्, जुन संसारभरिकै रोजगारी संख्याको झन्डै १० प्रतिशत हुन्छ। पर्यटन क्षेत्रमा रोजगारीका लागि महिला र पुरुषमा भेदभाव गर्न नहुने नीति छ। त्यसैले होला, पर्यटन क्षेत्रमा महिला सहभागिता पनि उल्लेख्य छ। पर्यटन क्षेत्रमा रोजगारीका लागि होटल, रेस्टुरेन्ट, ट्राभल एन्ड टुर्स, हवाई कम्पनी, ट्रेकिङ, स्पा, मनोरञ्जनात्मक क्षेत्र आदिमा प्रत्यक्ष रूपमा तथा कृषि, घरेलु उद्योग, सञ्चारलगायत अन्य विभिन्न क्षेत्रमा अप्रत्यक्ष रूपमा रोजगारी उपलब्ध हुने गरेका छन्। पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय संस्था युएनडब्लुटिओका अनुसार साना भए पनि माल्दिभ्स, कम्बोडिया, भुटानजस्ता देशमा ४० प्रतिशतभन्दा बढी नागरिकको जीवनयापन पर्यटन क्षेत्रबाट हुने गरेको छ। पर्यटनबाट प्रचुर मात्रामा फाइदा लिएको सानो देश भुटानमा पर्यटकले १ दिनमा गर्ने खर्च २५० डलरभन्दा माथि छ।

नेपालको कुरा गर्ने हो भने सन् २०१८ मा पर्यटक आगमन २४.८ प्रतिशतले बढेर ११ लाख७३ हजारभन्दा बढी पर्यटक आएका थिए। पर्यटन क्षेत्रको आम्दानी २ खर्ब ४० अर्बभन्दा बढी छ भने यसले १० लाख ५० हजारभन्दा बढी रोजगारी प्रदान गरेको पाइन्छ। सरकारले १४औं पञ्चवर्षीय योजनामा गत आर्थिक वर्षसम्ममा पर्यटकको बसाइ अवधि १५ दिन र दैनिक गर्ने खर्च ६० डलर पु-याउने लक्ष्य राखेको थियो। तर पर्यटक आगमन बढे पनि उनीहरूको बसाइ अवधि र प्रतिदिन गर्ने खर्च धेरै कम छ।

पर्यटकीय आकर्षणको बजारीकरण, गुणस्तरीय सेवा–सुविधाको सुनिश्चितता र यातायात सञ्जाल(हवाई, सडक)को विकास, अन्य पूर्वाधार होटल, रेस्टुरेन्ट, सञ्चार, सुरक्षाको पनि भरपर्दो प्रबन्धले मात्र नेपाली पर्यटन विकास हुन सक्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा प्रतिदिन गर्ने खर्च ५४ डलरबाट घटेर ४४ डलर र बसाइ अवधि १२.६ दिनबाट १२.४ मा झरेको छ। जसले गर्दा पर्यटन क्षेत्रबाट हुने लाभ पनि कम हुन गयो। विदेशी पर्यटकको मात्र होइन, आन्तरिक पर्यटनको पनि धेरै ठूलो योगदान छ, नेपाली पर्यटन उद्योगमा। नेपाली समुदायमा पनि घुम्न जाने, रेस्टुरेन्टमा खान जाने, रमाइलो गर्ने संस्कारको विकास द्रुत गतिमा भएको छ। सस्तो गेस्ट हाउस खोज्ने, बाटोमा पाउरोटी र चटपटे खाँदै हिँड्ने र दिनको २० डलरभन्दा कम खर्च गर्ने विदेशी(झोले) पर्यटकभन्दा निकै धेरै गुणा खर्च गरेर घुम्ने नेपालीको संख्या पनि उल्लेख्य छ, नेपालमा। त्यसैले आन्तरिक पर्यटनको पनि उत्तिकै प्रवद्र्धन गर्न जरुरी छ।

संसारभरि नै मानिसमा नयाँ–नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, रमाउने, खर्च गर्ने संस्कृति विकास भइरहेको छ। भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, संसारकै सर्वाेच्च शिखर सगरमाथा, जीवित देवी कुमारीजस्ता आकर्षण नेपालमा मात्र छन्। यसबाहेक हिमालै हिमालको देश, प्राकृतिक सुन्दरताले भरिएको, मौलिक संस्कृति र सम्पदाले भरिपूर्ण, ट्रेकिङ ¥याफ्टिङ, बन्जी जम्पलगायत साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य, जैविक विविधतायुक्त, वीर गोर्खालीको देशजस्ता विभिन्न आकर्षणले नेपाल संसारकै एक उत्कृष्ट र मनोरम पर्यटकीय गन्तव्य बनेको छ। यसैगरी लोन्ली प्लानेटले काठमाडौंलाई संसारकै उत्कृष्ट सहरको सूचीको पाँचौं नम्बरमा, विश्वभर प्रख्यात ट्रिप एड्भाइजरले संसारका २५ उत्कृष्ट गन्तव्यमध्ये १९औं नम्बरमा, विश्व विख्यात फोब्स पत्रिकाले पनि केही वर्षअगाडि संसारका १० मुलुकमध्ये नेपाल र अन्नपूर्ण पदयात्रालाई नवौं नम्बरमा राख्नु सकारात्मक पाटा हुन्। पर्यटकीय आकर्षणको बजारीकरण, गुणस्तरीय सेवा–सुविधाको सुनिश्चितता र यातायात सञ्जाल(हवाई, सडक)को विकास, अन्य पूर्वाधार होटल, रेस्टुरेन्ट, सञ्चार, सुरक्षाको पनि भरपर्दो प्रबन्धले मात्र नेपाली पर्यटन विकास हुन सक्छ।

सन् २०१७ मा ९ लाख ४० हजार विदेशी पर्यटक आगमन भएको सन्दर्भमा २ वर्षपछि २० लाख पर्यटक भिœयाउने र सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने योजना हचुवामा गरेको निर्णय साबित भएको छ। सरकारी स्तरबाट भएका पर्यटन विकास र प्रवद्र्धनका काम त्यति सकारात्मक र उपलब्धिमूलक छैनन्। नेपाल भ्रमण वर्षको कमजोर तयारी, प्रवद्र्धन र सञ्चालनका लागि भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डबीच चलिरहेकोे शीतयुद्ध जिम्मेवार छ भने लामो समयसम्म नेतृत्वविहीन पर्यटन मन्त्रालय, ठूलो भ्रष्टाचार आरोप, गन्तव्य सहरहरूको उचित व्यवस्थापन गर्न नसक्नु, नेपाल एयरलाइन्स र वाइडबडी जहाज काण्ड, आरोहण र ट्रेकिङमा गएका पर्यटकहरूलाई गरिने ‘फेक रेस्क्यु’ प्रकरण, हालको अन्तर्राष्ट्रिय विमानस्थलको बेथिति र बन्न लागेका अन्य विमानस्थलको अनिश्चितता, सबैले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेका छन्।

भ्रमण वर्ष सचिवालयलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउनुभन्दा पनि देश–विदेशका पर्यटन क्षेत्रका विज्ञ तथा सफल व्यवसायीहरूलाई समेटेर नीति तथा योजना बनाउने र कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न जरुरी थियो। विश्व जगत्लाई नेपाल पर्यटकीय आकर्षणका विविधताले भरिएको सुरक्षित र भरपुर मनोरञ्जन लिन सकिने गन्तव्य हो भन्ने सन्देश दिन अझै सकिएको छैन।

नेपालले सन् १९९८ र २०११ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइसकेको सन्दर्भमा विगतका राम्रा कुरा अवलम्बन गर्दै कमजोरी सुधार गर्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन। अन्तर्राष्ट्रिय बजारमा आक्रामक किसिमले पर्यटन प्रवद्र्धन गर्ने, भारत, चीनजस्ता छिमेकी देशका साथै क्षेत्रीय पर्यटकलाई आकर्षण गर्ने खालका प्याकेजहरू ल्याउने, विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूले नेपालको पर्यटकीय आकर्षणबारे विश्व समुदायलाई जानकारी गराउने र नेपाल सुरक्षित गन्तव्य हो भनी आश्वस्त पार्दै धेरैभन्दा धेरै पर्यटक नेपाल भ्रमण गराउने काम गर्न जरुरी छ।

यसैगरी गैरआवासीय नेपाली संघ, विदेशमा रहेका नेपालीले पनि नेपालको पर्यटकीय आकर्षणबारे जनचेतनामूलक कार्य गर्न सके पर्यटक बढ्न सक्छन् र नेपाल भ्रमण वर्ष सफल हुन सक्छ। यस वर्ष युएनडब्लुटिओले विश्व पर्यटन दिवस भारतमा मनाउने निर्णय गरेअनुसार मनायो। आगामी वर्ष नेपाल भ्रमण वर्षका सन्दर्भमा सो दिवस नेपालमा मनाउने गरी सरकारी तवरबाट आवश्यक पहल गर्ने हो भने पर्यटन क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ। कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन विकास गर्न सकिँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

प्रकाशित: १२ आश्विन २०७६ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App