शोभा रञ्जन
मेरो साथीले मप्रति गरेको माया र सम्मान देखर म छक्क परिरहेकी छु। हामी एउटै गाउँका हौं। धैैरै मिल्थ्यौं। एउटै कक्षामा पढ्थ्यौं। अहिले उनी विवाह गरेर नवलपरासीको सुनवलमा बस्छिन्।
२०७५ असारमा शिक्षक सेवा आयोगको परीक्षाका लागि म सुनवल पुगेकी थिएँ। उनैको घरमा बस्न गएँ। साथीकोमा पुग्नासाथ सन्चो–बिसन्चो सोधियो र गाउँघरका कुरा पनि गरियो। त्यसै बेला मेरो साथीको आफन्त पर्ने दिदी पनि परीक्षाका लागि आइपुगिन्। सबैजना एकछिन कुरा गरेर बस्यौं। रातको खाना खाने बेला भयो। मेरी साथीले मलाई हामी बसेकै कोठामा खाना ल्याइदिइन्। दिदी पनि त्यहीं थिइन्। त्यसैले भनें– ‘पहिला दिदीलाई देऊ, बच्चाकी आमा भोक लागेको होला।’ साथीले भनिन्– ‘पहिले तिमी खाऊ, अनि हामी सँगै खान्छौं।’ म त्यहीं बसेर खान थालें। उनीहरू भने भान्साकोठामा गए। मैले भान्साकोठासम्म जाने कष्टसमेत गर्नुपरेन। त्यति मात्र कहाँ हो र ! मैले खाएको थालसमेत उठाउन दिइनन्। सोचें– आफ्नो साथीलाई पनि किन यति सम्मान गर्नुपरेको होला ? मैले खाएको थाल उसले उठाउँदा अप्ठेरो लागेको थियो।
अर्को दिन, खाना खाई परीक्षाका लागि निस्किएँ। ढोकाबाट के बाहिर पुगेकी थिएँ, झसंग भएँ। किनकि मेरो नजर घरको पेटीमा सुकाइएका एउटा थाल र गिलासमा पुग्यो। जुन मैले खाएका भाँडा थिए। साथीबाट पाएको माया र सम्मानको अर्थ बल्ल थाहा पाएँ। यसबाट छर्लंग भयो कि सम्मानका निहुँमा कतिसम्म छुवाछूत भइरहेको छ !
थाहा पाएँ– म बसेकै ठाउँमा खाना ल्याइदिनुको कारण त भान्साकोठामा पस्ने हो कि भन्ने डरले पो रहेछ ! जुठो थालसमेत साथी आफैंले लैजानुको कारण त कतै छोइदिन्छे कि भनेर पो रहेछ !
थाहा पाएँ– म बसेकै ठाउँमा खाना ल्याइदिनुको कारण त भान्साकोठामा पस्ने हो कि भन्ने डरले पो रहेछ ! जुठो थालसमेत साथी आफैंले लैजानुको कारण त कतै छोइदिन्छे कि भनेर पो रहेछ ! म पानी लिन भान्साकोठामा जान लाग्दा पनि पख पख म आफैं ल्याइदिन्छु भनेको किन रहेछ बल्ल बुझें। वास्तवमा मलाई त जातीय भेदभाव र छुवाछूत पो भइरहेको रहेछ।
परीक्षाका लागि अनेक प्रश्न र उत्तर दिमागमा सोच्दै निस्किएकी म बाहिर सुकाएका थाल र गिलासले रन्थनायो। आफ्नै साथीबाट भएको छुवाछूतले मेरो दिमागमै प्रहार ग¥यो। समाजमा जातीय भेदभाव तथा छुवाछूतको जरा गाडिएको छ। उखेल्ने प्रयत्न नभएका त होइनन्, तर त्यो मान्छेको मानसिकतामै गाडिएपछि कसको के लाग्दो रहेछ र ! मानसिकतामा रहेको छुवाछूत परिस्थितिअनुसार परिवर्तन हुँदोरहेछ, तर मेटिँदो रहेनछ।
मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै छुवाछूत गर्ने तरिका पनि परिवर्तन भएछन् क्यारे ! हिजोआज गरिने छुवाछूत ‘भिआइपी’ पाराको लाग्यो। पढेलेखेका, समाजसेवी विद्वान्हरूले गर्ने छुवाछूत, जुन सर्वसाधारण दलितले सीधै थाहा पाउन नसक्ने। मलाई छुवाछूत भयो भनेर प्रमाण पेस गर्न पनि नसकिने खालको शानदार छुवाछूत। सम्मानजनक छुवाछूत। सायद त्यस दिन मैले भात खाएको भाँडा सुकाएको मैले नदेखेकी भए मलाई नि थाहा हुँदैनथ्यो कि छुवाछूत भइरहेको छ। तिमी अछूत हौ, भान्साकोठामा जान हँुदैन त भनिन् साथीले, तर व्यहारले छुवाछूत।
सानैदेखि सँगै बस्ने÷खेल्ने गरेको साथीबाटै त्यस्तो व्यवहार भोग्दा साह्रै नमज्जा लाग्यो। छुवाछूत अन्त्य नहुनुमा चेतना र शिक्षाको कमी हो भन्छन्, तर मेरो साथीमा त दुवै छ। तर के चिजको कमी भयो मेरो साथीलाई, जसका कारण मलाई छुवाछूत गरिन् ? अशिक्षा र चेतना अभावको बाहनाले छुवाछूत बचाइराख्ने काम भएको छ। हजुरबा÷हजुरआमालाई देखाएर अहिलेको पुस्ताले छुवाछूत गरिरहेको छ। आफूलाई आधुनिक देखाउने पुस्ता नै छुवाछूत अन्त्यका लागि चुनौतीका रूपमा खडा भइरहेको छ।
छुवाछूत अन्त्य दलितको प्रयासले मात्र हँुदैन। छुवाछूत दलितको मात्र समस्या होइन। यो समाजको साझा समस्या हो। तर यसको अन्त्य गर्ने बढी जिम्मेवारी नयाँ पुस्ताको हो। त्यसका लागि छुवाछूत अन्त्यका लागि नयाँ पुस्ताको सोच र व्यवहारमा परिवर्तन जरुरी छ। त्यस दिन मेरी साथीले आफ्नो सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन सकेकी भए वा कुसंस्कार तोड्ने हिम्मत गरेकी भए त्यस घरमा छुवाछूतले निरन्तरता पाउने थिएन कि ! मलाई लाग्छ, मेरो पुस्ताले गर्ने आँट यही हो। लेखक दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित लेखन तालिमकी सहभागी हुन्।
प्रकाशित: ८ आश्विन २०७६ ०६:०७ बुधबार