किन्समिल बोन्ड/अन्गस मेक्रोन/जुल्स कोर्टेनहस्र्ट
कार्बन घनत्व भएको जीवाष्म इन्धनबाट तुलनात्मक रूपमा सफा, भरपर्दो नवीकरणीय ऊर्जा (जस्तै वायु र सौर्य ऊर्जा)मा विश्वव्यापी रूपान्तरण चलिरहेकै छ। तर मुख्य प्रश्न– सन् २०२० को दशक र त्यसपछि त्यस्तो संक्रमण कति तीव्र गतिमा हुनेछ भन्ने हो। जीवाष्म इन्धन स्रोतबाट नवीकरणीय ऊर्जातर्फ रूपान्तरण धिमा गतिमा हुनुको अर्थ अहिले विद्यमान ऊर्जा स्रोत फस्टाउनु हो।
नवीकरणीय ऊर्जाको ठाउँमा विद्यमान ऊर्जा स्रोत फस्टाउँदा सन् २०१५ को पेरिस जलवायु सम्झौतामा तय गरिएको उत्सर्जन न्यून गर्ने लक्ष्यमा हामी पक्का असफल हुनेछौं। रूपान्तरण तीव्र गतिमा भए विद्यमान ऊर्जा स्रोतले अनेक अवरोध सामना गर्नुपर्ने हुन्छ। जसले पेरिस सम्मेलनको लक्ष्य हासिल गर्न सम्भव बनाउनेछ। हामीसामु जीवाष्म इन्धन र नवीकरणीय ऊर्जाका ढोका जनाउने दुई अवस्था छन्।
विश्व आर्थिक मञ्चअन्तर्गत ऊर्जासम्बन्धी विश्वव्यापी भविष्य परिषद्को नयाँ प्रतिवेदनमा हामी र सहकर्मी लेखकले हाम्रो बाटो निर्धारण गर्ने प्रमुख ४ क्षेत्र पहिचान ग¥यौं। ऊर्जा रूपान्तरणको आजको अवस्था नियाल्दा जीवाष्म इन्धनबाट नवीकरणीय ऊर्जातिर रूपान्तरण निकै तीव्र गतिमा भएको मनग्य प्रमाण फेला पार्न सक्छौं। विश्व ऊर्जा प्रणालीका सबै पक्ष यो परिवर्तित अवस्थाका लागि तयार रहनुपर्छ।
क्रमिक र तीव्र गतिमा भइरहेको ऊर्जा क्षयीकरणको एउटा विकल्प–नवीकरणीय ऊर्जा विकास गर्नु हो। विद्यमान सबै ऊर्जाका स्रोतलाई नवीकरणीय ऊर्जा स्रोतले कहिले विस्थापन गर्ने हो ? ऊर्जा विकासका सबै हिस्सा नवीकरणीय ऊर्जा स्रोतले ओगटेको र विद्युतीय आपूर्ति बढे मात्र नवीकरणीय ऊर्जाको प्रधानता स्थापना गर्न सक्छ। सन् २०२० दशकको सुरुवाततिर त्यस्तो अवस्था बन्ने देखिन्छ। नवीकरणीय ऊर्जा स्रोतले ऊर्जा क्षेत्रको उद्योगमा नेतृत्व गर्नेछ। वित्तीय निकायले आफूसँग भएको पुँजी पनि नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्नेछ।
दोस्रो प्रमुख क्षेत्र भनेको ऊर्जा प्रविधिको अनुसन्धान र नयाँ प्रविधि विकास हो। विद्युत् उत्पादनको हिसाबबाट जीवाष्म इन्धन सौर्य र वायु ऊर्जाभन्दा सस्तो बनिसकेको छ। विद्युतीय सवारी साधनले झन्डै–झन्डै इन्धनले चल्ने कारको मूल्यलाई चुनौती दिइसकेको छ। विद्युतीय गाडीको विकासमा आइपरेका चुनौती निकट भविष्यमै समाधान गर्न सकिने भनी पुष्टि भइसकेको छ। त्यसमाथि सानै आकारमा हरित हाइड्रोजन ऊर्जाको सम्भव प्रविधिको अनुसन्धानमा नयाँ उभार आइरहेको छ। अहिलेको ऊर्जा स्रोतको तुलनामा नवीकरणीय ऊर्जाको मूल्य पनि काम हुँदै जानेछ। हरित ऊर्जामा तीव्र विकासले नवीकरणीय ऊर्जालाई सस्तो बनाउनेछ।
तेस्रो प्रमुख क्षेत्र भनेको सार्वजनिक नीति हो। नयाँ प्रविधिले बजारको ढाँचा र विधि सुधार्न सिर्जना गर्ने अवसरप्रति नीति निर्माताहरू सावधान बन्नेछन् वा गतिशील र महŒवाकांक्षी बन्नेछन् ? जडता शक्तिशाली बनेको अवस्थामा विद्यमान नीतिहरूको घेरा साँघुरो हुने गर्छ। तर इतिहासले हामीलाई केही निकै महŒवपूर्ण पाठ सिकाएको छ ः जब कुनै वास्तविक परिवर्तन आउँछ, त्यो परिवर्तन व्यापक बन्छ।
नयाँ प्रविधिले उपभोक्ताको ऊर्जासम्बन्धी समस्यामा राम्रो समाधान दिएको अवस्थामा नीति–निर्माताहरूले पक्कै पनि आफ्नो मतदाताका ऊर्जासम्बन्धी माग पूरा गर्न चासो देखाउनेछन्। ऊर्जा रूपान्तरण त्यति महँगो नभएको बरु (मूल्य घटाएर) प्रतिस्पर्धासमेत गर्न सकिने थाहा पाएपछि राजनीतिक नेतृत्व वर्गले अहिले नै चलिरहेको परिवर्तनलाई संस्थागत गर्न ऊर्जा बजारसम्बन्धी नीतिमा परिमार्जन गर्नेछन्।
अन्तिम प्रमुख क्षेत्र भनेको उदीयमान बजार हो। यो बजारले कि विकसित देशहरूको जीवाष्म इन्धनको बाटो रोज्नेछ कि नयाँ ऊर्जा प्रविधिमा छलाङ मार्नेछ। चीन र भारतजस्ता देशले निस्सन्देह आफ्ना नागरिकका लागि थप ऊर्जा उत्पादन गर्नुपर्नेछ। संसारमा अझै पनि झन्डै १ अर्ब मानिसका घरमा बिजुली पुगेका छैनन्। तर त्यसको अर्थ विकासशील देशले उच्च उत्सर्जन गर्ने जीवाष्म इन्धनको विकल्पमा जानुपर्छ भन्ने होइन। विकासशील देशमा मोबाइल फोनले ल्यान्डलाइन फोनलाई असान्दर्भिक बनाउँदै लगेजस्तै सुपथ मूल्यमा नवीकरणीय ऊर्जा खरिद गर्न सकिने भएपछि त्यही नै सबैको पहिलो प्राथमिकतामा पर्नेछ।
आगामी वर्षमा ऊर्जाको रूपान्तरण अझ तीव्र बन्ने संकेत देखिएको छ। प्रमुख सरोकारवाला, नीति–निर्माता र लगानीकर्ताहरूले केही गल्ती गरी कुनै कमजोर निर्णय गर्छन् कि भन्ने खतरा भने छँदै छ। कदाचित् त्यस्तो गल्ती भए हामीले निरर्थक उच्च कार्बनयुक्त ऊर्जाको उच्च मूल्य बेहोरिरहनुपर्नेछ। हामी म्याद नाघेको प्रविधिमै खराब लगानी गरिरहेको हुनेछौं। दिगोपना हासिल गर्ने र पर्यावरणीय महामारीको खतरा न्यूनीकरण गर्ने अवसर हामीले गुमाउनेछौं।
अनुसन्धान प्रविधिका वैज्ञानिकदेखि विद्यमान ऊर्जा क्षेत्रका सबै पक्ष र सरकारी नीति निर्मातासम्मले अबका दिनमा हामीले कुन बाटो लिने भन्ने कुराको निर्णय गर्नेछन्। यदि सबै सम्बन्धित पक्षले अहिले भइरहेको विश्व ऊर्जा रूपान्तरणको तीव्र पदचाप सुन्न सके र त्यसलाई अंगीकार गर्न सके हामी पक्कै पनि पेरिस सम्मेलनको लक्ष्य हासिल गर्न सक्नेछौं। सबैले उन्नति गर्न सक्ने एउटा पृथ्वी बनाउन सक्नेछौं। (किन्समिल बोन्ड कार्बन ट्रयाकरका नयाँ उर्जा रणनीतिकार हुन्। अन्गस मेक्रोन ब्लुमबर्ग एनइएफका प्रधान सम्पादक हुन्। जुल्स कोर्टेनहस्र्ट द रक्की माउन्टेन इन्स्टिच्युटका सिइओ हुन्।) कपिराइट : प्रोेजेक्ट सिन्डिकेट, २०१९
प्रकाशित: ६ आश्विन २०७६ ०५:१२ सोमबार