५ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

जनस्वास्थ्यमा समस्या

प्रदेश १ का १४ जिल्लाको खानेपानी परीक्षण गर्दा पहाडी जिल्लामा ई–कोली ब्याक्टेरिया र तराईका जिल्लामा आर्सेनिकको समस्या जे जस्तो हिसाबले देखिएको छ, त्यसले स्वच्छ खानेपानीको अभावमा मानव स्वास्थ्यमा गम्भीर असर पारेको प्रस्ट भएको छ। मानिस वा जनावरको दिसा मिसिएको पानीमा ई–कोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने खतरा हुन्छ। अझ आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर नै हुने खतरा रहन्छ। यस हिसाबले चाहे ई–कोली भएको पानी पिउँदा होस् वा आर्सेनिक भएको पानी, यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने कुरामा दुईमत छैन। तैपनि सर्वसाधारण त्यस्तै दूषित र हानिकारक पानी पिउन बाध्य छन्। अझ यसअघि सर्वसाधरणले पिउँदै आएको यस किसिमको पानी के कस्तो छ भनेर सरकारी निकायबाट परीक्षणसमेत हुने गरेको थिएन। तर, अहिले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरअन्तर्गत पानी परीक्षण प्रयोगशाला इटहरीले आर्थिक वर्ष २०७५÷७६ का विभिन्न अवधिमा कार्यालयमै ल्याएर आठ सय ७० वटा नमुना परीक्षण गरेको थियो भने कार्यालयको कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा पुगी एक सय ६० वटा नमुना परीक्षण गरेको थियो। परीक्षण गर्दा पहाडी जिल्लामा मूल वा खोलाको पानीमा ई–कोली र तराईका जिल्लामा ट्युबवेलको पानीमा आर्सेनिक पाइएको हो।

सरकारी निकायले पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने सन्देश दिन जरुरी छ। ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उत्तिकै जरुरी छ। अझ बर्खाको बेला पानीमा ई–कोलीको मात्रा बढी हुन्छ। त्यसैले स्थानीय, प्रादेशिक र संघीय सरकारले यस विषयमा जनचेतना फैलाउन ढिलाइ गर्न हुँदैन। सर्वसाधारणले पनि बर्खाका बेला पानी परीक्षण गरेर खानेतर्फ ध्यान दिन जरुरी छ। अझ पानी तताएर र शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ।

प्रयोगशालाका अनुसार कार्यालयको आफ्नो कार्यक्रमअन्तर्गत परीक्षण गरिएका एक सय ६० वटा पानीका नमुनामध्ये आधामा ई–कोली देखिएको हो। परीक्षण गरिएकामध्ये धनकुटाबाट १३, मोरङबाट २३, झापाबाट १६, उदयपुरबाट १२, सुनसरीबाट २०, ओखलढुंगाबाट ६ र इलामबाट ११ वटा नमुना लिइएको थियो। कार्यालयले खोटाङ, पाँचथर र तेह्रथुमबाट १०÷१० वटा, ताप्लेजुङबाट नौ, सोलुखुम्बुबाट सात, संखुवासभाबाट ६ र भोजपुरबाट आठवटा नमुना लिएको थियो। त्यति मात्र होइन, प्रदेश १ का विभिन्न खानेपानी उपभोक्ता संस्था, पानी बिक्री गर्ने उद्योग र व्यक्तिगत रूपमा परीक्षण गर्न विभिन्न स्थानबाट ल्याइएका नमुनामा समेत ई–कोली पाइएको छ। आठ सय ७० नमुनामध्ये सात प्रतिशतमा यस किसिमको ई–कोली पाइएको हो। पानीमा मानव वा जनावरको दिसा मिसिएको अवस्थामा त्यस्तो पानीमा ई–कोली पाइन्छ। यसबाट सर्ने रोगसमेत लाग्ने भएकाले यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्छ। यता तराईका जिल्लामा ट्युबवेलको पानीमा आर्सेनिकको समस्या देखिएको छ, जुन पानी धेरै समयसम्म लगातार पिउँदा क्यान्सरको खतरा हुने चिकित्सकको भनाइ छ। तराईको पानीमा आइरनको समस्या पनि देखिएको छ। आइरन भएको पानी धेरै खाएमा बान्ता हुने र लगातार पिउनाले पेटसम्बन्धी रोगको खतरा हुने गर्छ।

एकातिर पिउने पानीको अवस्था यस्तो छ भने अर्काेतिर परीक्षण गर्नुपर्छ भन्ने ज्ञान पनि धेरै व्यक्तिमा छैन। यो अवस्थामा सरकारी निकायले पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने सन्देश दिन जरुरी छ। ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उत्तिकै जरुरी छ। अझ बर्खाको बेला पानीमा ई–कोलीको मात्रा बढी हुन्छ। त्यसैले स्थानीय, प्रादेशिक र संघीय सरकारले यस विषयमा जनचेतना फैलाउन ढिलाइ गर्न हुँदैन। सर्वसाधारणले पनि बर्खाका बेला पानी परीक्षण गरेर खानेतर्फ ध्यान दिन जरुरी छ। अझ पानी तताएर र शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ। त्यस्तै तराईका जिल्लामा ट्युबवेलको पानीमा आर्सेनिक देखिए पनि डिप बोरिङमा यस किसिमको समस्या देखिएको छैन। त्यसैले डिप बोरिङ गरेर खानेपानीको प्रबन्ध गर्नेतर्फ सरकारी निकायले ध्यान दिन जरुरी छ। यसका साथै आर्सेनिकयुक्त पानी शुद्धीकरण गर्न फिल्टर प्रयोग गर्नेतर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ। मुख्य कुरा स्थानीय, प्रादेशिकदेखि संघीय सरकारले सर्वसाधारणमा जनचेतना फैलाउने काम गर्नुका साथै त्यसैअनुरूप पूर्वाधार निर्माण गर्नतर्फ ध्यान दिन आवश्यक देखिन्छ।

प्रकाशित: २६ श्रावण २०७६ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App