१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

आमाको गलैँचा उद्योग

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्ककी दावा तामाङ बिहानै उठेर गलैँचाको धागो तान्दै थिइन्। नुन–चियाको चुस्की लगाउँदै झरीमा बाहिरका कामबाट भन्दा गलैँचाबाट फाइदा भएकाले उनको दिनचर्या यही काममा बित्ने गरेको हो। आम्दानी राम्रै छ। दुई महिनामा एकजोर गलैँचा बुन्छिन्। एक जोरको सबै खर्च कटाएर २० हजार रुपैयाँ आउँछ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रायः घरमा गलैँचाका तान छन्। यसलाई स्थानीय महिला फुर्सदमा गर्ने काम भन्छन्। तर आम्दानी राम्रो छ। यस ठाउँमा जीविकाको प्रमुख स्रोत कृषि भनिए पनि बालबालिकाको शिक्षा, स्वास्थ्य, घरायसी अन्य खर्च गलैँचाबाट आएको आम्दानीले राम्रैसँग धानेको छ।
झरीमा बाहिर निस्कन समस्या हुन्छ। त्यसैले यहाँका महिला हात खाली बस्दैनन्। गलैँचाका तान लगाएका प्रायः घरका बालबालिका तथा ज्येष्ठ नागरिकसँग पनि यो सीप छ। लामो समय विद्यालय बिदा भएका बेला बालबाललिकाले आफ्ना अभिभावकलाई गलैँचा बुन्न सघाइराखेका हुन्छन्।

हेर्दाहेर्दै सिकिने सीप
सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–८ की रञ्जना गिरीले छिमेकीकै घरमा लगाएको तानबाट गलैँचा बुन्न सिकिन्। एक छोरा र आफू गरी उनको परिवारमा दुई जनामात्र छन्। श्रीमान् बितेको ७ वर्ष भयो। त्यसपछि उनको घरमा आर्थिक संकट हुन थाल्यो। उनीसँग तान किन्ने क्षमता पनि थिएन। त्यसैले जसले धागो उपलब्ध गराउँछ, उसैैबाट तान भाडामा लिएर गलैँचा बुन्न थालिन्। यो सिक्न रञ्जनाले कुनै औपचारीक तालिम लिएकी छैनन्। छिमेकी दिदीले घरमा गलैँचाको तान लगाएर बुनेको हेर्दै सिकेकी हुन्, उनले।

रञ्जनाले गलैँचा बुन्न थालेको ५ वर्ष भयो। योे कामबाट सहजै घर खर्च धान्ने आम्दानी हुने भएपछि उनी थप हौसिएकी छन्। खेती गर्ने बेला १ महिनाबाहेक अरू समय उनी गलैँचा बुन्नमा लगाउँछिन्। शारीरिक रूपमा पनि धेरै भार नपर्ने हुँदा उनले यो पेसालाई व्यावसायिक बनाएकी हुन्। छोरालाई स्कुल पठाएर, घरका अन्य काम गरेर पनि सजिलैसँग  गलैँचा बुन्न सकिने भएकाले अरू कामभन्दा यही पेसा अँगालेको रञ्जना बताउँछिन्।

रञ्जनाका उमेरका धेरै महिला विदेश छन्। तर उनले विदेशमा गएकाले भन्दा बढी कमाइ गाउँमै गलैँचाबाट कमाउँछिन्। रञ्जना भन्छिन्, ‘सामान्यतया गलैँचा बेचेर मासिक ४० हजार कमाउन सक्छु।’ गलैँचाका कारण उनको दिनचर्या नै फेरिएको छ। पहिले उनको समय त्यतिकै बित्थ्यो। अहिले त्यो समय सदुपयोग गरेर उनी आत्मनिर्भर भएकी छन्। उनले भनिन्, ‘एउटा गलैँचा तयार गर्न १५ देखि २० दिनसम्म लाग्छ।’ तयार गलैँचा गाउँमै आएर व्यवसायीले खरिद गर्ने गरेका छन्। ‘काम गरेर बिक्री नहोला भन्ने चिन्ता छैन,’ रञ्जना सुनाउँछिन्। त्यसैले गाउँका महिला यो पेसाप्रति आकर्षित भएको उनी बताउँछिन्।   

आत्मनिर्भरतर्फ महिलाहरू
गाउँ होस् वा सहर। अहिले पनि घरायसी काममा दिनरात खट्ने गृहिणीहरूलाई आवश्यक सामग्री खरिद गर्न श्रीमान्कै भर पर्नुपर्छ। कतिले सहज रूपमा पाउँछन्, कतिले श्रीमान्को हप्की खाएर मात्र जेनतेन खर्च जुटाउँँछन्। यस्ता पीडा भोग्ने महिला धेरै छन्। तर पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अधिकतर महिला गलैँचा बुनेरै आत्मनिर्भर भएका छन्।

उक्त गाउँपालिका–१, बाँसखर्ककी ठूली तामाङले गलैँचा बुनेरै ६ जनाको परिवार पालेकी छन्। दुईवटा गलैँचा तानबाट महिनामा उनको कमाइ ५० हजार हुन्छ। आफूलाई पुग्ने आम्दानी भएकाले उनी यसैमा सन्तुष्ट छिन्। ठूलीजस्तै स्थानीय माइली तामाङको दिन पनि गलैंँचा बुन्नमै बित्ने गरेको छ। सात वर्ष भयो, उनी तानमा बस्न सुरु गरेको छ। पहिले मेलम्ची बजार आउन पनि श्रीमान्सँगै खर्च माग्नुपथ्र्याे। तर अहिले आफूलाई आवश्यक सामग्री किन्न मात्र होइन, छोराछोरीको विद्यालय खर्चका लागि समेत उनले अरूको मुख ताक्नुपर्दैन। पहिला त्यसै खेर जाने समय अहिले गलैँचा बुनेर उनी आत्मनिर्भर भएकी छन्।

बुढ्यौलीमा पनी गर्न सकिने काम
जब बुढ्यौली सुरु हुन्छ, तब अरूका भरमा बाँच्नुपर्न हुन्छ। आफूलाई चाहिने खर्च जुटाउन ज्यालाबनी पनि गर्न सकिन्न। घरका अरू सदस्यसँग माग्यो, खर्चभन्दा पहिला वचन पाइन्छ। त्यसैले यस्ता उमेरकाका लागि गलैँचा बुन्ने काम उपयोगी भएको छ। तान लगाउन कसैको सहयोग भयो भने बसेर बुन्न कुनै गाह्रो हुँदैन। घाम, पानी, उकालो–ओरालोमा हिँड्न नपर्ने भएकाले ६० देखि ७५ वर्षसम्मका ज्येष्ठ नागरिकले यो पेसालाई निरन्तरता दिएका छन्।

मेलम्ची नगरपालिका–८, की धनमाया गिरी ६३ वर्षकी भइन्। उनलाई घुँडा दुख्ने रोग छ। उकालो– ओरालो गर्न सक्दिनन्। त्यसैले उनी घरमै बसेर गलैँचा बुन्छिन्। अहिलेसम्म तान पनि आफैँले लगाएकी छन्। महिनामा एकजोर गलैँचा बुनेर २० हजार कमाउँछिन्। उनलाई खर्च गर्न निर्धक्क पुग्छ। धनमाया भन्छिन्, ‘घरमा छोरी÷चेली र नातीनातिना आउँदा म आफैँ खर्च दिन्छु। अहिलेसम्म अरूको भर पर्नुपरेको छैन। केही खान मन लाग्यो भने बजार जानेलाई ल्याउन लगाउँछु।’ यो उनका लागि बुढ्यौलीको सुरक्षित पेसा भएको छ। अहिले उनको नामै परिवर्तन भएको छ ‘आमैको गलैँचा उद्योग’। जसले गलैँचा लग्ने हो, उसले त्यो नाम राखिदिएको हो। धनमाया भन्छिन्, ‘आमैको गलैँचा उद्योग भन्दा खुसी लाग्छ।’

उनका अनुसार गलैँचा जसले लाने हो, उसैले धागो गाउँमा ल्याउँछन्। न धागो ल्याउनुपर्छ न गलैँचा बाकेर लानुपर्छ। नेपालको गलैँचा अन्तर्राष्ट्रिय बजारमा समेत फैलिएको छ। यसको निश्चित मूल्य छ। भाउ घट्ने वा बढ्ने हुँदैन। कसैले ठग्ला कि भन्ने डर पनि छैन। त्यसैले यसलाई महिलाले सुरक्षित उद्योगका रूपमा लिएका छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App