चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका छन्– ‘तिमी १ वर्षको योजनामा छौ भने धान रोप, १० वर्षको योजना गर्दै छौ भने रूख रोप र १०० वर्षको योजनामा बनाउँदै छौ भने बालबालिकालाई शिक्षा देऊ।’ सय वर्षपछिको नेपाल कस्तो हुनेछ ? त्यसका निम्ति अहिलेको शिक्षामा भइरहेको प्रगति हेरे हुन्छ। अबको आधा दशकमा हाम्रो मुलुकमा कस्ता व्यक्ति राज्यको नेतृत्व तहमा पुग्नेछन् ? त्यसको झलक अहिलेको १२ कक्षाको परिणामले देखाउँछ। राष्ट्रिय शिक्षा बोर्डले सोमबार सार्वजनिक गरेको परीक्षाफलले शिक्षाको निराशाजनक चित्र प्रस्तुत गरेको छ। आगामी दशकमा नेपाल हाँक्ने व्यक्तिहरू अत्यन्तै कमजोर हुनेछन्। अहिलेको सरकार, मन्त्रालय र शिक्षा प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको संकेत पनि यसले गरेको छ। उच्चतम स्थान हासिल गर्ने विद्यार्थीको संख्या घटेको छ। यसले अहिले पढाइलेखाइको वातावरण अत्यन्तै कमजोर देखाउँछ। मुलुकमा राजनीतिक परिवर्तनका लागि आन्दोलन भइरहेका ३० देखि ६० को दशकसम्मको भन्दा अहिलेको स्थिति भिन्न छ। राजनीतिक आन्दोलनकै कारण शिक्षाको अवस्था कमजोर भएको छैन। विगतमा राजनीतिक आन्दोलनले विद्यार्थी कमजोर रहेको तर्क दिने गरिएको थियो। जसरी मुलुकको विकास नहुनाको दोष कहिले दरबार र कहिले विदेशीलाई दिने गरिन्थ्यो। अहिले आफ्नै हातमा आइसकेपछि त्यो दोष कर्मचारीतिर सोझिएको छ। शिक्षामा अपेक्षित उपलब्धि हासिल गर्न नसक्नाको दोष अहिले कसलाई दिने ? वास्तवमा अहिलेको कमजोर शिक्षा स्थितिको दोष मुलुकको शिक्षा प्रशासन, शिक्षक र विद्यार्थीलाई जान्छ। विद्यार्थीलाई उत्प्रेरणा दिने वातावरण बन्न नसकेको प्रस्ट छ।
अहिलेकै स्थितिमा विद्यार्थी उत्तीर्ण हुने र उच्च ग्रेड ल्याउन नसक्ने हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले अघिसारेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा समय नपुग्दै निराशामा परिणत हुनेछ।
कक्षा १२ को परिणामअनुसार ग्रेड ३ दशमलव ६१ देखि ४ जिपिएसम्म पाउने विद्यार्थी संख्या ३ हजार ६७ मात्र छ। २ लाख ९२ हजार १ सय ५३ नियमित विद्यार्थी परीक्षामा सहभागी हुँदा यति थोरेले मात्र उच्च ग्रेड हासिल गरेका छन्। यो भनेको कूल विद्यार्थी संख्याका आधारमा ० दशमलव ०१ भन्दा कम हो। जुन शिक्षा प्रणालीले न्यून ग्रेडका विद्यार्थी बढीभन्दा बढी उत्तीर्ण गर्छ, त्यो बेरोजगार उत्पादनको कारखाना हो। आजको प्रतिस्पर्धात्मक बजारमा खपत हुन क्षमतावान् विद्यार्थी उत्पादन हुन सक्नुपर्छ। हाम्रो मुलुकको प्राथमिकता वर्षौंसम्म खाडी मुलुकमा रोजगारी खोज्न जाने अदक्ष कामदार उत्पादन मात्रै हुन सक्दैन। आफूले दिने शिक्षाको गुणस्तर नबढाइ ‘सबै पास’जस्ता जादुगर नीतिले मुलुकको भविष्य बर्बाद गर्छ। अहिलेकै स्थितिमा विद्यार्थी उत्तीर्ण हुने र उच्च ग्रेड ल्याउन नसक्ने हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले अघिसारेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा समय नपुग्दै निराशामा परिणत हुनेछ। अहिले १२ कक्षामा न्यून ग्रेडमा उत्तीर्ण तिनै विद्यार्थी हुन्, जसलाई २ वर्षअघि कक्षा १० मा एसएलसी हटाइ एसइईमा सहभागी गराइएको थियो। शैक्षिक गुणस्तर सुधार नगरी ग्रेडिङ प्रणाली लागू गरिएपछिका यी उत्पादनसँगै मुलुकको भविष्यमा पनि तुषारापात भएको छ। विद्यार्थीलाई उच्च कोटीको क्षमतासहित उत्पादन गर्नुको सट्टा ‘कोही फेल नहुने’ भनेर नराम्ररी झुक्याइएको छ। वास्तवमा सही सूचना नदिनु मुलुकप्रतिकै गम्भीर अपराध हो।
राजनीतिक नेतृत्व वर्ग, शैक्षिक नीति निर्माता र दातृ निकायले सिर्जना गरेको दुष्चक्रमा मुलुकको शिक्षा प्रवेश गरेको छ। अहिले १२ कक्षासम्मलाई उच्च माध्यमिक शिक्षाकै तहमा राखिएको छ। अहिलेको परिणामबाट प्रस्ट भएको छ– उच्च माध्यमिक तहको शिक्षण र सिकाइ अभ्यास अत्यन्तै कमजोर भएको छ। परीक्षामा मूल्यांकन गर्ने पद्धति परिवर्तन गरेर विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन सकिन्छ कि सिकाइ अभ्यासमा सुधार गरेर ? निःसन्देह सिकाइ अभ्यासमा सुधार आवयक हुन्छ। सिकाइ अभ्यास बलियो भएपछि जस्तोसुकै परीक्षा प्रणाली भए पनि फरक पर्नेछैन। सरकारले शिक्षा क्षेत्रको रोग एकातिर थियो, उपचार अर्कैतिर ग¥यो। ‘अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधि नाइटोमा लाइ’ उखान अहिलेको परीक्षा प्रणालीमा परिवर्तनपछि आएको परिणामका सन्दर्भमा भन्न सकिन्छ। शिक्षामा साम्यवाद आवश्यक छैन। सबैजना बराबरी हुने नारा पनि लगाउनुपर्दैन। विद्यार्थीका निम्ति सिकाइ अभ्यासको अवसर दिन सक्नुपर्छ। विद्यार्थीलाई आफू गएको स्कुलप्रति गर्व गर्न यसले कति मद्दत गरेको छ ? तिनीहरूसँग कतै नचल्ने खोटो सिक्काजस्तो प्रमाणपत्र मात्र छ। एसइईको जस्तै परिणाम कक्षा १२ को पनि आएको छ। यसबाट सहजै अनुमान लगाउन सकिन्छ– अब यो मुलुकको शिक्षा ओरालो लाग्यो। यी विद्यार्थीको काँधमा भविष्यको नेपाल रहनेछ। ती अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सक्षम हुने छैनन्। देशकै समस्या पनि तिनले समाधान गर्न सक्ने छैनन्। शिक्षा बिगारेर भविष्यको नेपाल अन्धकार पार्ने अहिलेको नीतिमा परिवर्तन गर्न गम्भीर थालनी आवश्यक छ। अन्यथा, यसको परिणाम भयावह हुनेछ। अहिलेका पुस्ताले भावी सन्ततिबाट सुख पाउने अवस्था आउने छैन।
प्रकाशित: १५ श्रावण २०७६ ०२:५२ बुधबार