१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कुकुरदेखि सावधान !

गीता मैनाली
यही वैशाख २१ गते राति १० बजे हात्तीसार चोकमा गाडीबाट ओर्लेर घर जाँदै गर्दा पछाडिबाट आएर चूपचाप कुकुरले टोक्यो र आएकै बाटो फक्र्यो। टोकेको घाउ दुखाइसँगै अति नै पोल्दोरहेछ। म निकै आत्तिएँ। रातको समय प्राथमिक उपचार दिमागमा आएन। घरमा गएर तातो पानी तताएर त्यसमा नून र डिटेल राखेर घाउ सफा गरेँ। कुकुरले दाह्रा गाडेको प्वालबाट रगत बगिरह्यो। त्यसलाई मुभले टालँे र वरिपरि पनि मुभ लगाएँ। भोलिपल्ट डराइडराइ टेकु अस्पताल गएँ। करिब दुई घन्टापछि पालो आयो। लाइन बस्नेहरू सबैजसो व्यक्ति कुकुरको टोकाइबाट बच्न रेबिजको सुई लगाउन आएका रहेछन्।

त्यहाँ गएपछि थाहा पाएँ– घरमा आफैँले गरेको प्राथमिक उपचार उल्टो परेछ। साबुन र चिसो पानीले घाउ धुनुपर्दो रहेछ। जोरपाटी अत्तरखेलका गोविन्द लामाका छोरालाई स्कुल जाँदा कुकुरले झम्टेछ। ढुंगा टिपेर कुकुरलाई हान्दा मान्छेलाई लागेपछि ठूलै लफडा परेको पनि त्यहाँ सुन्न पाइयो। धोबीधारामा बस्ने रुद्र सिंहलाई पनि एक महिनाअघि कुकुरले टोकेछ मलाई जसरी नै। नजिकैको निजी अस्पतालमा गएर प्रतिसुई ६ सयका दरले पाँचवटा रेबिजविरुद्धको सुई लगाएछन्। भन्दैथे– हिँड्दा कुकुरको डर लागिरहन्छ। बालाजुस्थित माछापोखरीका सुमल गुरुङ पनि छिमेकी अंकलको घरमा पालेको कुकुरले टोकेपछि रेबिजविरुद्धको ३ सुई लगाएर थप उपचारका लागि टेकु आएका थिए। आइतबार र बुधबार टेकु अस्पतालमा रेबिजविरुद्धको सुई लगाउनेको संख्या निकै हुने रहेछ।

काठमाडौँ महानगरपालिकामा दैनिक सडकमा बस्ने कुकुरको संख्या २२ हजार छ। कुकुरको बिगबिगी बढेसँगै यहाँका बासिन्दा असुरक्षित बन्दै गएका छन्।

कुकुरले टोकेपछि गएको माघमा ८ हजार ९ सय ७१, फागुनमा ९ हजार ८ सय ७ र चैतमा १० हजार ३ सय ६४ जना रेबिजको सुई लगाउन आएछन् यो अस्पतालमा। जुन सुई टेकु अस्पतालले निःशुल्क वितरण गर्दै आएको छ। पहिले कुकुरले टोकेपछि नाइटो वरिपरि १४ वटा यस्तो सुई लगाउनुपथ्र्यो। पछि ७ वटामा आयो र अहिले तीनवटा लगाए पुग्ने रहेछ। टोकाइको अवस्था हेरी सामान्य, सानो घाउ र ठूलो घाउ गरी तीन खण्डमा विभाजन गरी घाउको अवस्था र त्यो व्यक्तिको तौलअनुसार इमिनो ग्लोबियल भ्याक्सिन घाउकै वरिपरि दिइन्छ। जसबाट रेबिजका कीटाणुविरुद्ध लड्ने क्षमता बढ्छ।

यो भ्याक्सिन २ किसिमका हुन्छन्– एउटा घोडाबाट तयार पारेको इआरआइजी, अर्को मान्छेबाट तयार पारेको एचआरआइजी। यी भ्याक्सिन बिरामी आफँैले किन्नुपर्छ। घोडाबाट बनेको भ्याक्सिन १ हजार ५ सय रुपैयाँबाट सुरु हुन्छ भने मान्छेबाट बनेको भ्याक्सिन ४० हजारबाट सुरु हुन्छ। महँगो भ्याक्सिनबाट साइड इफेक्ट कम हुने डाक्टर बताउँछन्। विगत वर्षमा रेबिजविरुद्धको सुई किन्न मात्र नेपाल सरकारले १० देखि १२ करोड रुपैयाँ खर्च गर्दै आएकामा यस वर्ष बढेर १४ करोड पुग्ने अनुमान टेकु अस्पतालको रेबिज तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. समीरकुमार अधिकारीको छ। यसबाट पनि यो समस्याको आकार थाहा पाउन सकिन्छ।

यो तथ्यांकलाई आधार मान्दा पनि काठमाडौँमा कुकुरको बिगबिगी बढेसँगै यहाँका बासिन्दा असुरक्षित बन्दै गएका छन् भन्ने सहजै बुझ्न सकिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)ले प्रत्येक वर्ष नेपाल राज्यभर २ लाख ५० हजार रेबिजविरुद्धको सुई निःशुल्क वितरण गर्दै आएको छ। यस वर्ष यो संख्या बढाएर ३ लाख ५० हजार खरिद गर्ने तयारीमा रहेछ। उपत्यकामा भने टेकु अस्पताललाई मात्र हप्ताको १८ सय रेबिजविरुद्धको सुई वितरण गर्दै आएको जानकारी पाइयो।
बेवारिसे पशुको हेरचाह र व्यवस्थापन गर्ने काम स्थानीय तहको हो। जसअन्तर्गत काठमाडाँंै महानगरपालिकाले गत वर्षदेखि कृषि तथा पशुसेवा विभाग नै गठन गरी छाडा पशुहरूको व्यवस्थापन सुरु गरेको छ। यसअघि सन् २०१६ देखि ‘स्वस्थ जनावर र सुरक्षित समाज’ नारा लिएर अगाडि बढेको ‘मनोमित्र’ गैरसरकारी संस्थासँग समन्वय गरी सामुदायिक कुकुर व्यवस्थापनमा महानगरपालिकाले काम गरेको छ। मनोमित्रले सन् २०१६ मा गरेको सर्भेअनुसार काठमाडौँ महानगरपालिकामा दैनिक सडकमा बस्ने कुकुरको संख्या २२ हजार छ। अर्थात् प्रतिएक किलोमिटरको दूरीमा १४ कुकुर भेटिन्छन्। ८४ हजार घरमा पालिएका कुकुर छन्। तीमध्ये ४० प्रतिशत कुकुर सडकमा आउने गर्छन्।

मनोमित्रले महानगरपालिकाभित्र २३ वटा समिति गठन गरेर सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने र रेबिजविरुद्धको सुई लगाउने काम गरेको छ। जसका लागि महानगरपालिकाले मनोमित्रमार्फत ८३ लाख रुपैयाँ बराबर औषधीय सामग्रीमा खर्चेको छ। मनोमित्रले करिब १४ हजार सामुदायिक कुकुरको बन्ध्याकरणसमेत गरिसकेको छ। यसबीच रेबिज लागेका १४ वटा कुकुर फेला परेको मनोमित्रकी कार्यक्रम संयोजक संगीता सापकोटाले जानकारी दिएकी छन्।

महानगरपालिकाभित्र कुकुर व्यवस्थापन र नियन्त्रण गर्न यति धेरै रकम खर्च गर्दासमेत बेवारिसे कुकुरको संख्या बढ्नाको कारण छिमेकी जिल्लाबाट मानिसको बसाइँसराइसँगै आउने कुकुर र सौख अनि घरभित्र पालिएका कुकुर बिरामी वा बूढो भएपछि सडकमा ल्याएर छाड्ने प्रवृत्ति नै मुख्य भएको काठमाडौँ महानगरपालिका कृषि तथा पशुसेवा विभागका प्रमुख हरि भण्डारी बताउँछन्। उनका अनुसार आगामी साउनदेखि घरपालुवा कुकुरको दर्ता अनिवार्य गरिनेछ भने सामुदायिक कुकुरको पनि वडाको सहयोगमा दर्ता अनिवार्य गर्न लागिएको छ। त्यसैगरी आफूले पालेको कुकुर जथाभाबी दिसापिसाब गराउने धनीलाई कडाभन्दा कडा कानुनी कारबाही गरिने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए। कुकुर मानिसको साथी पनि हो। काठमाडौँ महानगरभित्र कुकुर व्यवस्थापन गरेर मान्छेलाई नटोक्ने वातावरण सिर्जना गर्न सक्यौँ भने ठूलो खर्च जोगिनाका साथै महानगरवासी सुरक्षितसमेत हुन सक्थ्यौंँ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App