वीणा सिन्हा
कात्तिक महिना मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । यो तिहारको साथै महान् पर्व छठ व्रतको महिना हो । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो । अहिले यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ । राजधानीसहित देशका अधिकांश भागमा ४ दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ । घरबाहिरको सरसफाइदेखि सात्विक भोजनसम्म यो पर्वको विशेषता हो । उँच–नीच, धनी–गरिब, जातपात, छुवाछूतको केही स्थान रहँदैन यस पर्वमा।
छठ मूलरूपमा कात्तिक शुक्ल षष्ठीको दिन मनाइने पर्व हो । यो सूर्य उपासनको महान् पर्व हो । सूर्य पूजाको परम्परा प्राचीन र विश्वव्यापी छ । नेपाल, भारतका साथै बेबिलोन, युनान, मिश्र, जापानलगायत थुप्रै देशमा सूर्य उपासनाको परम्परा पाइन्छ । सूर्यको उपासना आरोग्य, आयुष्का लागि पनि गरिन्छ । साथै, यस पर्वको व्रत बसेमा चर्मरोग निदान हुन्छ भन्ने मान्यतासमेत पाइन्छ । धार्मिक, पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख पाइने गरेको छ । महर्षि अत्रिकी पत्नी अनसुयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य प्रेम र अटल सौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन्।
महाभारतमा उल्लिखित ऐतिहासिक वृत्तान्तअनुसार पाण्डवहरूको अज्ञात बास सफल होस् भन्ने कामनाका साथ दौपद्रीले सूर्यदेवको अराधना गर्दै षष्ठीव्रत गरेकी थिइन् । महाभारतकौ अर्को प्रसंगअनुसार एकपटक साम्बलाई असाध्य कुष्ठरोग लाग्यो । उनी यो रोगले गर्दा निकै पीडित भए । यस रोगबाट राहत पाउन उनले विभिन्न उपाय गरे तर केही सिप लागेन । अन्ततः भगवान् सूर्यको आराधना गरेपछि उनी यस असाध्य रोगबाट मुक्त भएका थिए।
यसरी पुत्र प्राप्ति, दाम्पत्य पे्रम, सन्ततिको दीर्घायु र आफ्नो अटल सौभाग्यका लागि प्राचीन समयदेखि अहिलेसम्म पनि छठ पर्वमा सूर्यको आराधना÷उपासना गरिँदै आएको पाइन्छ । अहिले यो पर्वले आफ्नो महिमा र गरिमाका कारण निकै विस्तार पाएको छ । पहिले तराईको भोजपुरी र मिथिला क्षेत्रको मात्र यो ठूलो चाड थियो । अहिले राजधानी काठमाडौँंलगायत विराटनगर, धरान, बुटवल, पोखरा, नेपालगन्ज जस्ता ठूला सहरमा पनि यो पर्व धूमधाम र निष्ठापूर्वक मनाइन्छ । काठमाडौँंमा छठ पर्व मनाउने परम्परा २०५० सालदेखि आरम्भ भयो।
अधिवक्ता राजीव सिन्हा भन्छन्– अहिले जस्तो सामूहिक छठ मनाउने चलन काठमाडौंँमा थिएन । दुई–चार जना घाटमा देखिन्थे । गुह्वेश्वरी घाटमा आठ–दश जना परिवार छठ पूजाका लागि उपस्थित हुन्थे तर बाँदरहरूको उपद्रवले छठ व्रतीहरू धेरै दिक्क हुनुपथ्र्यो किनकि बाँदर प्रसाद उठाएर भाग्थे । हामीले संगठितरूपले छठ मनाउनका लागि युवा संघ गठन गरेका थियौँ । छठ घाटमा ठूला राजनेता आमन्त्रित गथ्र्यौँ । यही कारण मिडिया विशेषगरी टेलिभिजनले छठका दृश्य समाचारमा देखाउन थाले । तत्पश्चात् काठमाडौँबासी विशेषगरी पहाडी समुदायमा छठ पूजाको महिमा र गरिमा थाहा हुँदै गयो । थापाथली, टंकेश्वेरी, गुह्वेश्वरी र वाग्मतीमा छठ मनाइए पनिरानीपोखरीमा भने हाम्रै लामो प्रयासपछि छठ मनाउन दिन नगरपालिका तयार भएको थियो।
छठमा व्रत बस्ने आफ्नै विधि–विधान छ । यो व्रतको विधान पवित्र र कठोर छ जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ । छठको व्रत बस्ने (व्रती) ले कात्तिक महिनाको सुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि तामसी भोजन त्याग्नुपर्छ । तिहारको चौथो (चौठी) को दिन ‘अरवा अरबाइन’ वा ‘नुहायखाय’ भनिन्छ । यही दिन नुहाइधोइ गरेर व्रतीले शुद्ध भाँडामा सफा र भान्साघरमा भोजन पकाएर खान्छन् । पञ्चमी तिथि अर्थात् खरनाको दिन व्रतीले दिनभरि उपवास बसी साँझपख माटोको नयाँ चुलो र चोखो भाँडोमा सख्खर हालेर खीर, रोटी पकाइन्छ, जसले चन्द्रोदय भएपछि छठी माताको पूजा अर्चना गरेर नैवेद्य तथा प्रसाद चढाँउछन् । त्यही खिर प्रसादको रूपमा आपूmले लिने, आफन्त र अन्यलाई दिने गरिन्छ।
खरनाको भोलिपल्ट अर्थात् षष्ठीको दिनलाई यस व्रतको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । यस दिन व्रतालु दिनरात निर्जला उपवास बस्छन् । षष्ठीको दिनलाई सझियाघाट भनिन्छ, व्रतालु र श्रद्धालु भक्तजन पूजा सामग्री लिएर नजिकको नदी, पोखरीको किनार पुगेर सूर्यलाई अर्घ प्रदान गर्छन् । अर्घमा भाकलअनुसार माटाको ढकनी, नाङ्लो, सूर्य बाँसको छैयटी आदिमा ठकुवा, खजुरी, पेरुकिया आदि छठका प्रमुख पकवान र केरा, नरिवल, उखु, अदुवा, पान, कागती, सुन्तला, बेसारको गाँठी, सुठुनी आदि मौसमी फलपूmल चढाएर धूपदीप गरी भगवान् सूर्य देवतालाई चढाउने परम्परा छ । व्रत बस्नेहरू नयाँ रातो वस्त्र धारण गरी कम्मरसम्मको पानीमा बसेर अस्ताउन लागेका सूर्यलाई हात जोडेर भक्ति र निष्ठाले पूजा अर्चना गर्ने गर्छन् । सूर्य अस्ताउन थालेपछि कतिपय व्रतालु र श्रद्धालु रातभरि घाटमा बसेर छठीमातालाई सम्बोधन गरी गीत गाउँछन । जस्तै–
उ जे काँच ही बाँस के दउरवा,
दउरा लचकत जाय
उ जे बाट ही पुछले बटोहिया,
इ भार केकरा ही जाय
तू त आन्हर होइबे रे बटोहिया,
इ भार छठीदेइ का जाय
सप्तमी तिथिका दिन पुनः अघिल्लो दिनको जस्तै स्नानादि गरी नयाँ वस्त्र धारण गरेर पुनः घाटमा पुगी उदीयमान सूर्यलाई अर्घ दिएर पूजा अर्चना गरी व्रत समाप्त गरिन्छ । छठको प्रसाद भक्तालु र श्रद्धालुले निकै श्रद्धाभावले ग्रहण गर्छन् । षष्ठीको साँझ र सप्तमीको बिहान अर्घ दिने बेलामा घाटको दृश्य अति रमणीय र मनमोहक हुन्छ । यस व्रतमा आर्थिक, सामाजिक, धार्मिक दृष्टिले भेदभावको कुनै स्थान रहँदैन ।आर्थिक दृष्टिले कमजोर भएकाहरूलाई स्वतःस्पूर्mतरूपमा व्रतका आवश्यक सामग्री उपलब्ध हुँदै जान्छन् भन्ने जनविश्वास छ तर त्यसका लागि पूर्ण विश्वास र श्रद्धाभाव आवश्यक पर्छ।
यो समस्त जातजातिले मनाउने पर्व पनि हो । समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातीय समन्वय र सद्भावको जलन्त उदाहरण हो । हिन्दु वर्ण व्यवस्थाअन्तर्गत जातीय छुवाछूत र भेदभाव आज पनि हाम्रो समाजमा एउटा कलंकका रूपमा यथावत् छ तर यस पर्वमा डोमबाट बनाएको डलिया, कुम्हारबाट बनाएको माटोको भाँडा–दियाको पनि पूजामा श्रद्धापूर्वक उपयोग हुन्छन् । जसले यस पर्वमा सबै समुदायको समान सहभागिताले सामाजिक सद्भाव र सामञ्जस्यको सन्देश दिन्छ । यस पर्वमा पुरोहित, पण्डित र पुजारीहरूको केही स्थान हुँदैन । यो पर्व महिमाले यस पर्वको राष्ट्रिय पर्वको स्वरूप दिएको छ । दसैँ पर्व जस्तो छठपर्व पनि विशेष धूमधामका साथ मनाइन्छ । पहाड, तराई र राजधानीका समानरूपमा मनाइने छठपर्वले सबैको जीवनमा समानता, एकता, सहआस्था र बन्धुत्वभावको विकास गरेको पाइन्छ।
सम्पादक, द पब्लिक
प्रकाशित: २७ कार्तिक २०७५ ०१:५८ मंगलबार