२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

शिष्ट, सादा र सज्जन व्यक्ति

पछिल्लोपटक करिब बीस दिनअगाडि मैले हेमराज ज्ञवालीज्यूलाई टेलिफोन गरेको थिएँ । भलाकुसारी भए । स्वास्थ्य कस्तो छ ? के छ भनेर सोध्दा उहाँले बुढ्यौलीले सताउने केही समस्याबाहेक अरू अहिले ठीक छ भन्नुभयो। मैले आफ्नो स्वास्थ्यबारे अवगत गराएँ । निमोनियाले ग्रस्त छु, औषधि चलिरहेको छ भनिसकेपछि गीता समुदय प्रकाशनबाट प्रकाशित हुने समुदयका लागि लेख मागें । उहाँले सकेसम्म चाँडै तयार पारेर दिन्छु भन्नुभयो । मैले लेख सकिएपछि थाहा पाऊँ, कसैलाई लिन पठाउँछु भनें । उहाँले ठीक छ खबर गर्छु भन्नुभयो।

त्यसैको करिब हप्ता दिनपछि उहाँको नश्वर शरीर अवसानको खबरले म स्तब्ध भएँ । मृत्यु शाश्वत छ, कसैले रोक्न सक्दैन । तर उहाँको अवस्था, शरीर, लगन र उत्साहलाई हेर्दा मृत्युले यति चाँडै वरण गरिहाल्लाजस्तो लागेको थिएन।

ब्रेकरः नेपाल रिपब्लिक मिडियामार्फत् नेपाली दैनिक नागरिक, अंग्रेजी दैनिक रिपब्लिका, नागरिक न्युज अनलाइन तथा अंग्रेजी संस्करण माई रिपब्लिका प्रकाशन सुरु गरेर परम्परागत सोच र स्वरूप फेर्दै नेपाली पत्रकारिता क्षेत्र अग्रगामी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकतालाई अझ स्पष्ट दिशाबोध गरेको अनुभूति उहाँले गराएर जानुभएको भान पर्छ।

पिता भुवनेश्वर र माता पूर्णकुमारीको सुपुत्रका रूपमा वि.सं.१९९५ चैत १७ गते श्री रामनवमीका दिन गुल्मीको मानकोटमा उहाँ जन्मिनुभएको थियो । त्यस्तो अनकन्टारमा जन्मेर पनि ज्ञवालीले आमा (बाबु र गुरुजनको प्रेरणा र हौसलाले आफ्नै घरको पिंढीबाट सुरु भएको सामान्य शिक्षाको भोकलाई शान्त पार्न पछि भारतको वाराणसेय संस्कृत विश्वविद्यालय पुगी कडा मेहनतका साथ शास्त्रीसम्मको अध्ययन गर्नुभयो । र, नेपालमा आई त्रिभुवन विश्वविद्यालयबाट संस्कृतमा एमए उत्तीर्ण गर्नुभयो । त्यतिखेर पढ्ने भनेकै सरकारी जागिर खानका लागि जस्तो थियो । उहाँ पनि सरकारी जागिरतिर आकर्षित हुनुभयो र वि.सं. २०१७ मा सरकारी सेवामा प्रवेश गरेर जागिरे जीवनको यात्रा अगाडि बढाउनु भयो । झन्डै २७ वर्षसम्म सरकारी सेवामा निरन्तर लागेपछि उहाँ वि.सं. २०४४ मा सेवानिवृत्त हुनुभयो । सरकारी सेवामा रहँदा विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, भन्सार विभागको महानिर्देशक र सह–सचिवजस्ता उच्च ओहदामा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

उहाँ बेला–बेला भन्ने गर्नुहुन्थ्यो– मानिसको जीवन कहाँ कुन अवस्थामा कसरी अगाडि बढ्छ थाहै नहुने रहेछ । राजधानीबाट टाढा गुल्मीको मानकोटजस्तो ठाउँमा जन्मेको मानिस, संस्कृत पढेर के–के न गरूँला भनेर पढियो । तर अगाडिको भविष्य कस्तो होला भन्ने त्रासले र जागिरे जीवनमा एमएसम्मको पढाइ त चाहिन्छ नै होला भन्ने लागेर पढियो । प्रशासनमा लागेपछि पढेको पनि बिसेजस्तो हुने रै’छ। जीवन्त र उद्यमी भएर बाँच्नु जीवन हो भन्ने लागेर काम गर्दै जाँदा कान्तिपुर पब्लिकेसन्सको संस्थापक अध्यक्ष एवं प्रकाशक तथा नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष बनायो । यो सोचेको कुरै थिएन, कहिलेकाहीं लाग्छ, कसरी यो सम्भव भयो ? अनुभवमात्रै पनि जीवन होइन रहेछ, खतरा मोलेर पनि कहिलेकाहीं जीवनलाई अगाडि बढाउन जमर्को गर्दा परिवार, समाज र राष्ट्रप्रतिको समर्पण भावले सफलता मिलेझैं लाग्छ । यस अवधिमा अनेकौं आरोह–अवरोह,  तीतामीठा अनुभव पनि संगालियो।

२०४७ को संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टीगरेसँगै उहाँसहितको समूहले २०४९ फागुन ७ गते कान्तिपुर पत्रिका प्रकाशन सुरु गरेको थियो । ‘कान्तिपुर’को प्रकाशनसँगै नेपालमा निजी क्षेत्रबाट व्यावसायिक पत्रकारिता प्रारम्भ भएको मानिन्छ । उहाँको अध्यक्षता एवं प्रकाशकत्वमा कान्तिपुर, कान्तिपुर कोसेली (वि.सं. २०५०), साप्ताहिक (वि.सं. २०५१), नारी (वि.सं. २०५४), नेपाल (वि.सं. २०५७), कान्तिपुर एफएम (वि.सं. २०५५), कान्तिपुर अनलाइन (वि.सं.२०५७), कान्तिपुर टेलिभिजनको परिकल्पना भए जसले नेपाली भाषा, साहित्य, कला, संस्कृति एवं शब्द भण्डारको क्षेत्रमा ठूलो योगदान पु¥याएको कुरालाई स्वीकार्नु पर्छ । यस अर्थमा छापादेखि रेडियो, टेलिभिजन एवं अनलाइनसम्म उहाँको योगदान नेपाली सञ्चार जगतका लागि साँच्चै भन्ने हो भने एउटा कोसेढुंगो नै बनेर रहिरहने छ।

यो नेपाली पत्रकारिता एवं सञ्चार क्षेत्रकै लागि पनि विवेचनाको विषय बनेर भावी पिंढीसम्म रहने छ भन्नेमा दुई मत नहोला । किनभने यसले नयाँ विधि र प्रविधिको प्रवेश नेपालमा गरायो र विश्वका विकसित मुलुकसरह सूचना र समाचारलाई सहज रूपमा नागरिकको पहुँचमा ल्याउन उल्लेख्य भूमिका निर्वाह ग¥यो । सूचना र समाचार तटस्थ, निष्पक्ष र सत्यमा आधारित भयो भने त्यसले पत्रकारिताकै साखलाई बढाउँछ र विश्वसनीयता प्राप्त गर्न सक्छ भन्ने पक्षमा उहाँ विचार राख्नुहुन्थ्यो।

नेपाल रिपब्लिक मिडियामार्फत् नेपाली दैनिक नागरिक, अंग्रेजी दैनिक रिपब्लिका, नागरिक न्युज अनलाइन तथा अंग्रेजी संस्करण माई रिपब्लिका प्रकाशन सुरु गरेर परम्परागत सोच र स्वरूप फेर्दै नेपाली पत्रकारिता क्षेत्र अग्रगामी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकतालाई अझ स्पष्ट दिशाबोध गरेको अनुभूति उहाँले गराएर जानुभएको भान पर्छ।

चाहे कान्तिपुर पब्लिकेसन्समा रहँदा होस् वा नेपाल रिपब्लिक मिडियामा आवद्ध हुँदा होस्, उहाँले आफ्नो प्रकाशनमा कहीं न कहीं आध्यात्मिकतालाई स्थान दिनुभयो । र, यस विषयमा विभिन्न लेखक एवं रचनाकारका अनेकौं लेख/रचना प्रकाशित गराउनु भयो । मैले पनि उहाँबाट प्रेरणा पाएरै कान्तिपुर दैनिकको प्रारम्भिक दिनमा दुई वर्षजति समसामयिक विषयहरूमा लेख्ने अवसर पाएको थिएँ । कुनै धार्मिक÷आध्यात्मिक पुस्तकहरू हात पर्नासाथ त्यसको समीक्षा आफ्नो पत्रिकामा लेख्ने उहाँको एक प्रकारको बानी नै थियो । यसरी पनि उहाँले धेरै नवप्रकाशित पुस्तकहरूको परिचय जनसमक्ष गराउनुभएको छ।

संस्कृत वाङ्मयमा हेमराज ज्ञवालीको विशेष पकड थियो । उहाँ बसिबियाँलोमा कहिले गद्यमा कहिले पद्यमा, अनुवाद गर्न रुचाउनु हुन्थ्यो। माण्डूक्योपनिषद्, योगवाशिष्ठसार त्यसैका उपज हुन् । केही महिनादेखि उहाँ बृहद्दारण्यक उपनिषद्लाई आवृत्त गर्दै केही लेख्ने तयारीमा हुनुहुन्थ्यो । उहाँ अद्वैत वेदान्तका पारखी र साधक हुनुहुन्थ्यो । आफै पनि अद्वैत वेदान्तका विषयमा राम्रो व्याख्यान गर्नुहुन्थ्यो । यसैकारण उहाँ कहिले डा. स्वामी रामानन्द गिरीको कार्यक्रम पशुपतिस्थित शंकराचार्य मठमा त कहिले देवघाटमा, कहिले स्वामी आत्मानन्द गिरीको कार्यक्रम त कहिले स्वामी ज्ञानानन्द सरस्वतीको कार्यक्रममा अनि प्रा. शिवगोपाल रिसालको स्वाध्यायमा बेलाबखत पुगेर अद्वैत वेदान्तको रसास्वादन गर्न पछि पर्नुहुन्थेन । त्यसभन्दा अघि लामो समय उहाँले डा. क्षितिशचन्द्र चक्रवर्तीको सानिध्यमा बसेर अद्वैत वेदान्तका विषयमा स्वाध्याय पनि गर्नुभएको थियो । स्वयम्भूस्थित गीता मन्दिरमा पनि उहाँको आवतजावत अद्वैत वेदान्तको भोक शान्त पार्नकै लागि हुन्थ्यो।

झन्डै बाइस वर्षदेखिको लामो साथ–सम्बन्धमा मैले उहाँलाई निकै शिष्ट, मृदुभाषी, सादा र सज्जन व्यक्तिका रूपमा पाएँ । गीता समुदय प्रकाशन होस् कि राजर्षि जनक स्मृति प्रतिष्ठानका काममा होस्, उहाँ सदैव सहयोगी र आत्मीय रूपमा प्रस्तुत हुनुहुन्थ्यो । उहाँ समयको असाध्यै पक्का हुनुहुन्थ्यो । तोकिएको समयभन्दा अघि नै उहाँ बैठक तथा कार्यक्रममा पुग्नु हुन्थ्यो। आफ्ना कारणले कसैलाई असजिलो र मर्का नपरोस् भन्ने उहाँको धारणा थियो । विभिन्न धार्मिक÷आध्यात्मिक संघ संस्थामा रहे पनि उहाँ चाहिनेभन्दा बढी बोझ बोक्नु नपरोस् भन्ने मनसायले सामान्य सदस्यमात्र बस्न रुचाउनु हुन्थ्यो । अहिंसा समवाय संस्थामा अध्यक्ष एवं गीता समुदय प्रकाशनको उपाध्यक्षका रूपमा उहाँको सेवा संस्थाले पाइरहेको थियो । त्यसैगरी जयतु संस्कृतम्को पूर्वअध्यक्ष एवं राजर्षि जनक स्मृति प्रतिष्ठानको उपाध्यक्षका हैसियतले पनि उहाँले आफ्नो समय दिएर संस्थालाई योगदान दिनुभएको थियो । सरकारी सेवा निवृत्तपछिको  जीवनलाई सक्रिय तुल्याएर राख्न सकेकै कारण लेखन तथा अध्ययनमा उहाँले आफूलाई समर्पित तुल्याउन सक्नुभएको थियो भन्दा फरक पर्दैन । उहाँले भन्सार प्रशासन एक विवेचना, योगवाशिष्ठसार, माण्डूक्योपनिषद्, पुष्पाञ्जलि, पौरखी पुर्खा र मेरो जीवनका पानाहरू, हाम्रो बद्री केदार यात्रा र हनुमानचालीसाको समच्छन्दमा नेपालीमा अनुवाद गरेर गुन लगाउनुभएको छ।

हेमराज ज्ञवाली यतिबेला हाम्रो सामु हुनुहुन्न । अब उहाँका कीर्ति र सम्झनामात्र बाँकी छन् । यस घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना एवं उहाँको आत्माको चीर शान्तिको कामना गर्दै श्रध्दाञ्जलि अर्पण गर्दछु । साथै प्रकाशन हुन बाँकी उहाँका लेख÷रचना तथा पुस्तकहरू जनसमक्ष आउँदै रहे तथा उहाँले परिकल्पना गर्नुभएको व्यावसायिक पत्रकारितालाई नेपाल र नेपालीको हितका निम्ति अझ के कसरी उपयोगी बनाउन सकिन्छ, त्यसतर्फ सामयिक प्रयास हुनु यस सन्दर्भमा अझ सच्चा श्रद्धाञ्जलि हुन सक्छ।

अन्त्यमा, जीवनमुक्ति र निर्वाणअन्तर्गत उहाँले वि.सं. २०७५ साउन १२ मा अनुवाद गरी ‘नागरिक’मा छपाउनु भएको यो पद्यले पनि उहाँको जीवन दर्शनलाई बुझाउन मद्दत गर्छः

सम्पूर्ण देखिने विश्व रचना मनको बुझ ।
मनोलय गरे द्वैत छैन यो ब्रह्म एक छ ।
निष्कम्प शान्त शिव जसभित्र यो विश्व कल्पित
यो चिदात्मा एउटै आधार विश्वका सब ।
शरीरलाई ज्ञानीले काँचुली सरी ।
मेरो भन्ने बुद्धि छाडी गर्दछ व्यवहार ती ।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App