१५ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

दसैँले दिएको सन्देश

यसपटकको दसैँसकिने क्रममा छ । नेपाली परम्परामा कसैका लागि यो विजयादशमीका दिनसँगै सकिन्छ । कसैका लागि कोजाग्रत पूर्णिमासम्म कायमै रहन्छ । दसैँनेपालीको महान चाड हो वा हिन्दुहरूको ?दसैँको शुभकामना आदान–प्रदानका क्रममा यसमा विविधता देखियो । कसैले नेपालीको महान चाड भने त कसैले हिन्दुहरूको । यसलाई वैदिक हिन्दु सनातन धर्म ठान्नेहरू पनि छन् । दसैँमा जसको आराधना गरिन्छ, ती हिन्दु देवीहरू हुन् । महाकाली, महालक्ष्मी र महासरस्वती नै नवरात्रिका मूल देवी हुन् । आराधना उपासना यिनै देवीहरूको हुँदै आएको छ।

विजयादशमी विजयोत्सवका रूपमा प्रचलित छ । त्रेता युगमा राजा रामले देवीको प्रसाद ग्रहण गरेर युद्ध गर्न गएपछि रावणमाथि विजय प्राप्त गरेको देवीपुराणमा उल्लेख छ । तर पद्मपुराणले चैत्रशुक्ल चतुर्दशीका दिन रामले रावणको वध गरेको बताएको छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन देवताहरूले आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेको अवसरलाई विजयादशमी मानिँदै आएको पौराणिक तथ्य पनि छ । जे भए पनि, निर्विवाद सत्य के हो भनेदसैँ असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो।

दसैँ एउटा परम्परा हो । यो अब धर्ममा मात्र सीमित छैन । यस अर्थमा यो हिन्दुहरूको मात्र चाड रहेन । दसैँ सांस्कृतिक पर्वका रूपमा आमनेपालीले मनाउने चाड बनेको छ । राज्यले पनि बडादसैँलाई कुनै धर्मविशेषको पर्वका रूपमा मानेको छैन । अरु कतिपय धार्मिक पर्वका बिदाहरू सम्बन्धित क्षेत्र वा सम्प्रदायका व्यक्तिलाई दिन सुरु गरेको छ । तर दसैँ र तिहार कुनै खास धर्म वा सम्प्रदायका लागि मानिएको छैन । दसैँमा कसैले जमरा राखून् वा नराखून्, टीका लगाउन वा नलगाउन्, दसैँको वैदिक प्रक्रियाबाट अलग रहेकाहरू पनि यसको प्रभावबाट मुक्त छैनन् । यस अर्थमा दसैँ आमनेपाली नागरिकको पर्व बनेको छ । यसमा सबै रमाएकै छन्।

हिन्दुहरूमै पनि मधेसी र पहाडे खस समुदायले मनाउने चलन र दसैँलाई दिने महत्वमा फरक छ । मधेसमा नवरात्रिभर ठूल्ठूला पण्डालमा दुर्गाका माटाका मूर्ति सजाइ पूजा गरेपछि मूर्तिलाई नदीमा लगेर विसर्जन गरिन्छ । पहाडी भेगमा शक्तिपीठमै गई दर्शन र पूजा गर्ने, बलि दिने चलन छ । पूर्वी र मध्य नेपालका मधेसी समुदायका लागि छठ दसैँजत्तिकै महत्वको चाड हो । यद्यपि उनीहरू पनि दसैँमा अरु समुदायका नागरिकसरह रमाउने गर्छन् । भारतमा नेपालभन्दा विल्कुल फरक ढंगमा दसैँ मनाइन्छ । उनीहरू नवरात्रिभर नवदेवीको व्रत बसेर फलफूल वा ’चोखो’ मात्र खाने गर्छन् । मांसाहारीले पनि दसैँका बेला माछा–मासु खाँदैनन् । नवरात्रिभर चण्डी, दुर्गा सप्तशती, भगवती स्तोत्र आदि पाठ गरेर उपवास लिने चलन छ । कतिपयमा महाअष्टमी वा महानवमीका दिन भगवतीलाई बलि दिएपछि त्यसको प्रसादका रूपमा मासु खाने चलन छ।

वर्ष दिनको यो चाडका लागि हैसियलअनुसार साँचेर भएपनि राम्रो लाउने, राम्रो खाने र खुसी मनाउने गरिन्छ।

दसैँ मनाउन स्वदेश वा विदेशमा बसेका नेपालीहरू सकेसम्म आ–आफ्नो घर फर्कन्छन्। यस अर्थमा दसैँ मिलन पर्व हो । देश बाहिर होस् वा भित्र, वर्षौँ आफ्नो थातथलोमा फर्कन नपाएका नेपालीले दसैँलाई लक्ष्य गरेर घर फर्कने योजना बनाएको हुन्छ ।दसैँ धनी र गरिब सबैको साझा चाड हो । वर्ष दिनको यो चाडका लागि हैसियतअनुसार साँचेर भए पनि राम्रो लाउने, राम्रो खाने र खुसी मनाउने गरिन्छ । कसैका जीवनमा अरुले दिएको आशीर्वादले कति अर्थ राख्ला वा नराख्ला तर आआफ्ना मान्यजनबाट आशीर्वाद थाप्न दसैँको अवसरलाई नै प्रयोग गर्ने गर्छन् । कसैलाई विनाभेदभाव दिइने आशीर्वादमात्रै हो । नेपाली पुगेका हरेक देशमा दसैँ नेपाली चाडका रूपमा स्थापित भइसकेको छ । घर वा मन्दिरमा जमरा राखेरै टीका लगाउने अभ्यास नेपाली समाजमा व्याप्त छ । नेपालबाहिरका खासगरी भारतका नेपालीले दसैँ र तिहारलाई गोर्खालीहरूको पहिचानका रूपमा लिन्छन् । भारतका दार्जिलिङ, सिक्किम, डुअर्स, आसाम,देहरादुनमा दसैँ र तिहारलाई गोर्खाहरूको एकता पर्वका रूपमा लिने गरेका छन्।

दसैँ पर्व मान्ने सबैले यसलाई एकैप्रकारले मनाउँछन् भन्ने छैन । नेपालमा अधिकतम नागरिकहिन्दु छन् । तर विश्वमा भारत, बर्मा, श्रीलंका, इन्डोनेसिया, हङकङलगायत विश्वका अनेकौँ देशका हिन्दुनागरिक छन् । उनीहरू आआफ्नै प्रकारले दसैँलाई ठूलो मान्यताका साथ मनाउँछन्। रातो टीका र जमरा दसैँको प्रसादका रूपमा ग्रहण गर्ने कतिपय नेपालीको मान्यता छ । तर यही नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू आदिले दहीसँग मुछेर सेतो अक्षताको टीका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक बनाउने चलन छ । भारतमा टीका नलगाएरै पनि दसैँ उत्सव मनाइन्छ। नेपालका बौद्ध धर्मालम्वीहरूले दसैँलाई पराइको पर्व मानेका छैनन्, जसरी बुद्ध पूर्णिमालाई उत्तिकै मान्यताका साथ मनाउने गर्छन् । नेपालका अरु धर्मावलम्वीले व्यवहारमा खाएर, लगाएर, रमाइलो गरेर बिताउँछन्।

नवरात्रि पर्वका रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दसैँलाई निकै पवित्र चाडका रूपमा मनाउँछन् । बालबालिकाबाहेक घरका सबै सदस्यले नौ दिनसम्म पानीमात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर पकाएर भवानी देवीको पूजा गरिन्छ ।भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दसैँ मनाइन्छ । यी नौ दिनमध्ये पहिलो तीन दिन लक्ष्मीको, त्यसपछिकोतीन दिन सरस्वतीको र बाँकी तीन दिन दुर्गाको धूमधाम पूजा गरिन्छ । गुजरातमा नवरात्रिको नामले परिचितदसैँमा नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । उत्तरप्रदेश, बिहार, उत्तराखण्ड र मध्यप्रदेश क्षेत्रको दसैँमा दुर्गा माताको भन्दा भगवान रामको पूजा र रामलीला प्रदर्शन गरिन्छ । हिमाञ्चल प्रदेशका नागरिकले दुर्गाको साथैरघुनाथ देवतालाई झकिझकाउ पारेर मूर्ति यात्रा र नाचगान गर्छन्।

पश्चिम बंगालमा दसैँलाई दसहराको नाममा पाँच दिनसम्म मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मूर्ति बनाएर राख्ने गरिन्छ । मिठाइ र मीठामीठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरूले यसरी नैदसैँ मनाउने चलन छ । राजधानी ढाकालगायतका ठाउँमा देवी दुर्गाको विशाल मण्डप बनाइएको हुन्छ र अन्तिम दिन समुन्द्रमा लगेर विसर्जन गर्ने गरिन्छ । महाराष्ट्र क्षेत्रमा दसैँको नौ दिन दुर्गाको रदशौँ दिन सरस्वतीको पूजा गरिन्छ । यो दिन नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारीका लागि उपयुक्त मानिन्छ।

दसैँको सर्वाधिक सवल पक्ष भनेकै राष्ट्रिय संस्कृति हो । यो नेपाली जातिको साझा चाड हो । नेपाली समुदायको पहिचान हो । यो परिवार र समाजको सामूहिक मिलन पर्व हो । आत्मीयता बढाउने पर्व हो।

दसैँमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ । कृष्ण प्रणामी, वैष्णव, जैन धर्मावलम्वीले पशुबलिलाई अमानवीय विकृति ठान्छन् । यसको विरोध गर्ने क्रम पनि बढिरहेको छ । तथापि दसैँमा पशुपक्षीको बलि चढाउने क्रम जारी छ । हिन्दु धर्ममा पशु बलि चढाउने कुरा कुनै शास्त्रले गर्दैन । तर खास उद्देश्य प्राप्तिका लागि नरबलि र पशुपक्षी बलिका अभ्यास भने हुँदै आएका पौराणिक कथाहरूमा भेटिन्छन् । यही हिन्दु धर्मले जो मांसाहार गर्दैनन्, उनीहरूले कुभिण्डोको बलि दिने विकल्प पनि अभ्यासबाट खडा गरिदिएको छ।

दसैँको सर्वाधिक सवल पक्ष भनेकै राष्ट्रिय संस्कृति हो । यो नेपाली जातिको साझा चाड हो । नेपाली समुदायको पहिचान हो। यो परिवार र समाजको सामूहिक मिलन पर्व हो । आत्मीयता बढाउने पर्व हो । राजनीतिक दलले दसैँको चियापान आफ्ना मत सुरक्षित गर्नका लागिमात्र होइन, दलीय संस्कारको विकासका लागिसमेत गरेका हुन् । दसैँमा देखिने केही तडकभडक र फजुल खर्चकोे अनावश्यक प्रतिस्पर्धा पर्व आफैंँले ल्याएको विकृति होइन, यो समाजले सिर्जना गरेको हो । समाजलाई बदल्ने कसम खाएका दल, नेता र नागरिकको सामूहिक प्रयासमा यस्ता विकृति कमगर्न सकिन्छ । गर्नु पनि जरुरी छ।

सरकारले राष्ट्रिय पर्वका रूपमा यसलाई अंगीकार गरिरहँदा नागरिकका समस्याप्रति भने संवेदनशील हुन सकेको छैन । दसैँमा हुने खर्चलाई कम गर्न सस्तो र सुलभ बजार आमनेपाली नागरिकको पहुँचमा छैन । सबैभन्दा बढी आर्थिक कारोवार हुने यो समयमा आमनागरिक ठगिँदै आएका छन् । विजयादशमीको दिन ओलाङचुङगोला पुगेको वा कालापानीमा रहेको नागरिक कसरी अर्को दिन कार्यक्षेत्रमा फर्कन सक्छ । कर्मचारीमात्र होइन, यातायातका साधन चलाउने पनि दसैँ मान्ने नागरिक नै हुन् । पर्वको रौनक सकिन नपाउँदै झिटीगुण्टा कस्नुपर्ने गरी दिइएको बिदा बिल्कुल व्यावहारिक छैन । अरु सम्प्रदायविशेषका पर्व बिदा कटौती गरेका सन्दर्भमा यो पर्वलाई दिनुपर्ने महत्व राज्यले दिन चाहेको छैन । दसैँलाई राजनीतिक वा धार्मिक आँखाबाट नहेरी सामाजिक÷सांस्कृतिक पर्वका रूपमा मनाउने संस्कारको विकासमा राज्य सहयोगी हुनुपर्छ । नागरिक सद्भाव कायम गरेर राज्यमा अमनचयन कायम गर्न पनि यो पर्व सहयोगी नै हुनेछ।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App