१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

विदेशी आँखामा हामी: असभ्य र निकम्मा

पृष्ठभूमि

मानिस सामान्यतः आफू र आफ्ना पूर्वजको अपमान सुन्न चाहँदैन । केही वर्षयता नेपालमा आफूलाई जन्मजात पापी र पूर्वजलाई असभ्य वा सैतान भनेर वा भनाएर लाभ लिने चलन बढे बढाएको चर्चा सुनिन्छ । त्यसका निम्ति राष्ट्रिय, सामाजिक र पारिवारिक सद्भावका तन्तु चुडाउन पराईहरू मुकाम कायम गरेर बसेको भन्ने पनि भनिन्छ । व्यक्तिमा कुण्ठा वा अरूप्रति घृणाभावको तालिम दिएर र व्यक्तिलाई पारिवारिक एवं सामाजिक रूपमा एक्लाएर दया देखाउन माफियाले भरमग्दुर प्रयास गरेका उदाहरण समेत छन् भनिन्छ।

अरू सभ्यता, संस्कृति, सम्पदा, संस्कार र समन्वयका तन्तु मात्र होइन, राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डता  समाप्त गर्न संगठित प्रयास भइरहेको कुरा प्रकाशमा आएका छन् । यी क्रियाकलाप नेपाल मात्र होइन भारत, चीन, म्यान्मार, श्रीलंका, क्याम्बोडिया, भियतनामजस्ता भिन्न सभ्यता भएका मुलुकमा सञ्चालित भएको मानिन्छ । ‘अन्तर्राष्ट्रिय’को आवरणमा मन्द विषसहित आउने अधिकाधिक विदेशी गैरसरकारी संस्था शान्ति, पहिचान, अल्पसंख्यक, अधिकार, रूपान्तरण आदिको नाममा मात्र होइन, भाषा सिक्ने सिकाउने, लगानी गर्ने र स्वयंसेवकका रूपमा समेत खटिएका उदाहरण सार्वजनिक हुन थालेका छन् । राजिब मल्होत्राले आफ्नो ‘ब्रेकिङ इन्डिया’,‘बिइङ डिफरेन्ट’ ‘ब्याटल फर संस्कृत’ लगायतका किताबमा यसको प्रकृति, प्रवृत्ति र खतराबारे सप्रमाण उल्लेख गरेका छन्।

नेपालमा एक वर्ष जति पहिले सौरभ र सुजित मैनालीको ‘ब्रेकिङ नेपाल’ नामको किताब बजारमा आएको छ । त्यो किताबमा कतिपय विदेशीहरूले नेपाल र नेपालीबारे दिएका प्रतिक्रियाका सारांश उधृत गरिएको छ । युद्धको अग्रपंक्तिमा होम्न बहादुर भन्ने वा प्रलोभनमा पारी सभ्यता नष्ट गर्न इमानदार भन्ने, नेपालको अखण्डता समाप्त गर्न क्षेत्रीयतामा लगानी गर्ने, सामाजिक सद्भाव समाप्त पार्न घृणाको स्कुलिङ चलाउने र व्यक्तिलाई एक्लो पार्न कुण्ठाका सूत्र बाँड्ने काम अहिले मात्र प्रायोजित र संगठित भएको होइन, विगतबाट नै त्यसमा लगानी थियो भन्ने कुरा यो पुस्तकबाट पुष्टि हुन्छ। 

लालचको घुम्टोले यो अपमान कति दिन छोप्ने ? अझ कति घोडा चढ्न दिने अब कति अपमान सहने ? 

यो आलेखमा ब्रेकिङ नेपाल नामक किताबबाट केही प्रसंग अनुवाद गरी उधृत गर्ने प्रयास गरिएको छ । यस आलेखको आशय सबै विदेशीले त्यस्तै धारणा राख्छन् भन्ने होइन । तर सो किताबमा उल्लिखित विदेशी लेखकले लेखेका धारणा पढेर प्रभावित हुने विदेशीले नेपाल र नेपालीप्रति सकारात्मक धारणा बनाउन पक्कै हम्मेहम्मे हुन्छ । तिनका ती धारणा पढेर पनि यहाँ आपसमा विभाजन, घृणा र कुण्ठा खेती गर्न एक अर्काविरुद्ध खनिनु कति जायज होला त ?

यस आलेखमा कोष्ठमा रहेको अंक ‘ब्रेकिङ नेपाल’को पृष्ठ हो । ती विदेशी व्यक्तिको नाम यस आलेखमा उधृत गरिएको छैन । ती व्यक्ति मूलतः डेनियल राइट, लरेन्स ओलिफेंट, ब्रायन हड्सन, जोन नास, थोमस बेल, लिओनेल काप्लान, फ्रान्सिस हेमिल्टन, थोमस स्मिथ, हेनरी ओल्डफिल्ड, जोन हेल्प्टन, निगेल वुडयाट, जि.यच. डी. गिम्लेट, जेम्स इंग्लिस, पार्सिभल लन्डन, लुडविग स्टिलर, जे टि व्हिलर्स आदि हुन् । यो आलेखमा यी विदेशीले नेपाली र नेपालका विभिन्न जातजाति, भाषा व्यक्तित्व आदि प्रति उनीहरूले व्यक्त गरेको द्वेष, घृणा र अन्य मन्तव्यसम्म उधृत गरिएको छ । यसबारे जानकारी लिन रुचि भएमा ‘ब्रेकिङ नेपाल’बाट स्रोत खोजी कसले के भने भन्नेबारे प्राथमिक जानकारी लिन सकिन्छ। 

उद्धरण

नेपालीहरू उनीहरूका बारेमा सोधी खोजी गर्दा इष्र्या राख्छन् र अपरिचितप्रति शंकालु हुन्छन् । नेपालीहरूसँग न कला छ, न साहित्य छ, न त व्यापार नै छ । नेपाल जस्तो भ्रष्ट देश विरलै देखिन्छ ।(४३) 

ब्राह्मण र बुद्धमार्गीमा अन्धविश्वास व्याप्त छ अरू जंगली जातिहरूमा त त्यो भन्दा पनि बढी छ । नेपालमा कुनै युरोपियन कतै घुम्न निस्क्यो भने एउटा सिपाही पछाडि लगाई छाड्छन् । नेपालीहरू कंगाल र लालची हुन् ।(४४) नेपालका महिलाहरू यति कुरूप (अग्ली) छन् कि तिनीहरूको अनुहार मानिससँग कम र राक्षससँग बढी मिल्छ ।(४६) पहाडियाहरू कसैलाई एक कप चिया खानुस्सम्म भन्दैनन् ।(११४)

गोबधको विषयमा नेपालले आफूलाई पोपभन्दा क्याथोलिक र भारतभन्दा हिन्दू देखाउँदै छ ।(११४) क्रिस्चियानिटीको प्रभाव लामा कल्टमा विकसित हुँदै छ । किनकि लामा कल्ट क्याथोलिक कल्टको प्रतिरूप (क्यारिकेचर) जस्तो छ । (११६) भूगर्भविद्का रूपमा आएका मिचेल पिसेल र टोनी हेगन, भाषाविद्का रूपमा आएका सुबाशी तोबा र अरू, आइकोनोग्राफरका रूपमा आएकी मेरी सेफार्ड सलाउसर र वनस्पतिविद्का रूपमा आएका जोन हुकर मिसनरीका लागि काम गर्थे ।(१२४, यो कथन सम्पादकहरूको हो)

नेपालीहरूले कम्मरमा बाँध्ने सेतो पटुका कल्पना बाहिरको भद्दा लुगा हो ।(४७) भीमसेन थापा आफ्ना असभ्य मालिक जस्तै पाखुरे जीउडालको, महत्वाकांक्षी र सिद्धान्तहीन हुन् ।(४७) काठमाडौँमा भएका हिन्दू मन्दिर अरू मन्दिर जस्तै रुचि पैदा नहुने र सुन्दरताविहीन छन् ।(१०६) स्थानीय स्तरका नर्तक नर्तकीहरू न कलामा पोख्त छन्, न त रूपवान् छन् ।(१०६) सन् १८४० मा बेलायत विरोधी नेपाली प्रधानमन्त्री रणजंग पाण्डेलाई हटाई फत्तेजंग शाहलाई प्रधानमन्त्री बनाउने काम बेलायती दबाबमा गरिएको थियो ।(१०८)

नेपालका इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, विद्वान्, प्राध्यापक र पत्रकार आदिले विदेशीको न्यारेटिभ चिर्न आफ्नो ठाउँबाट प्रयत्न गर्न जरुरी छ । आफ्नो देश, आफ्ना पूर्वज, आफ्ना राष्ट्रिय व्यक्तित्व र नेपालीको अपमान गरेको कुरा लुकाएर वा नजरअन्दाज गरी कति भ्रममा रहने ?   

पृथ्वीनारायण शाह मित्रद्रोही, गुप्त योजना बनाउने, डरपोक, धूर्त, अमानवीय र निरंकुश हुन् ।(४९) जेम्स लोगनले नेपाललाई बेलायतको प्रभावमा ल्याउन चाहन्थे । यसका लागि पृथ्वीनारायण शाहका विरोधी समूहहरूलाई विद्रोही (रिबेलियन) बनाउने वा गोर्खाका राजालाई नै राजी गराउने उपाय अवलम्बन गर्ने प्रयास गरिएको थियो । तर पनि लोगान मिसन असफल नै रह्यो ।(६३) पृथ्वीनारायण शाह भारतीय सामान नेपाल भित्रिन दिन अन्ततः मन्जुर भए पनि उनी बेलायती सामान निषेध गर्न भने अटल थिए । पृथ्वीनारायण शाहले तिब्बतलाई अंग्रेजसँग सम्बन्ध नराख्न आग्रह गरेका मात्र होइन अंग्रेजलाई आफ्नो देशमा प्रवेश दिन इन्कार गरेका थिए।

नेवार राजा गोर्खाका राजाबाट अपदस्त भएपछि व्यापारको च्यानलमा अवरोध आएको छ र नाफा घटेको छ ।(६४) पृथ्वीनारायण शाह आफैँ अन्धभक्त हिन्दू हुन् । राष्ट्रपिता (फादर अफ नेसन) पृथ्वीनारायण शाह सांस्कृतिक विविधता नचाहने व्यक्ति मात्र थिएनन्, उनी आधुनिक अर्थमा राष्ट्रभक्त पनि थिएनन् ।(६५) पादरी जिसेप्पीद्वारा (जसलाई जासुसीको आरोपमा बेतिया धपाइएको थियो) पृथ्वीनारायण शाहलाई मानवताको राक्षस, धूर्त, मित्रद्रोही र रक्तपिपासु भनिएको छ । (६६) पृथ्वीनारायण शाहले जर्मन र इटालियनले ती देश एकीकरण गरेझैँ नेपाल एकीकरण गरेका थिए ।(९३) पृथ्वीनारायण शाहले व्यापारी, रोमन क्याथोलिक मिसनरी र उत्तर भारतीय संगीत र कला सम्बद्ध विदेशीलाई स्थायी रूपमा देश निकाला गरेका थिए।(११०)

भोटे समूहका फिरन्ते मंगोलहरू उत्तर तर्फबाट र इन्डोआर्यनहरू दक्षिण तर्फबाट बसाइ सरी आएका हुन्। (११०)  

सन् १८०१ मा क्याप्टेन नक्सले दामोदर पाण्डे र उनका साथीलाई प्रलोभनमा पार्न प्रस्ताव दिएका थिए तर उनीहरू लालचमा फसेनन् । १८१६ मा पनि केही नेपाली सरदारलाई पेन्सन दिने प्रस्ताव गर्दा इन्कार भएको थियो ।(७०) हाल आएर भने सरकारका धेरै कर्मचारी गैरसरकारी संस्थासँग पार्टटाइम रूपमा काम गर्छन् वा व्यक्तिगत रूपमा घनिष्ठ सम्बन्ध राख्न आउँछन्।(७०)

त्यसबेला नेपालस्थित बेलायती रेजिडेन्टले कूटनीतिज्ञभन्दा सूचनादाता वा राजनीतिक जासुसका रूपमा काम गर्थे । क्याप्टेन नक्सले दामोदर पाण्डे, चौतारिया भीम शाह, गजराज मिश्रलाई बेलायती आर्थिक निगाहमा राख्ने प्रयत्न गरेका थिए । तर उनीहरूले भने आफ्नो देशको स्वतन्त्रतालाई प्राथमिकता दिँदै आफ्नो उच्च निजी मर्यादा कायम राखे।(७१)

बेलायत सरकारले राजा रणबहादुर शाहको कमजोरीको फाइदा उठाउँदै राजनीतिक छुट लिने कोसिस गर्याे । धूर्त राजाले बेलायती खेल बुझिहाले र बनारसबाट निस्किने प्रयास गर्न थाले । उनको नेपाल जाने प्रयासलाई रोक्न उनलाई बेलायती सेनाको कठोर पहरेदारीमा राखियो । उनले त्यसको विरोध पनि गरे तर सफल भएनन् । यही मौकामा सन् १८०२ मा बेलायतले नेपालसँग सन्धि गर्याे।(७३)

नेपालमा चीनले कुनै प्रभाव पार्ने प्रयास गर्याे  भने हामीले (बेलायत) त्यसको विरोध गर्नुपर्छ।(७४)

ब्राह्मणहरू मुस्लिम आक्रमणका कारण नेपाल पसेका हिन्दू हुन् । ठाकुर (ठकुरी ?) र क्षत्री मुख्यतः मंगोलाइड हुन् ।(७९) ठाकुरहरू उत्तर पश्चिम भारतका राजपूतका वंशज हुन् । यिनीहरूले गुरुङ र मगरसँग अन्तरविवाह (इन्टर म्यारेज)गरे । नेपालका राजा र राणा यसै समूहका हुन् ।(८०) तेह्रौँ शताब्दीमा भारतीय मूलको मल्ल वंश नेपालमा स्थापित भयो ।(८७) नेपालमा कुनै हिन्दूले जात गुमाए मुसलवान बन्छ।(९१) 

पहाडी हिन्दूहरू कपटी (डिसिटफुल), झुटा, विश्वास गर्न नसकिने, निर्दयी र दम्भी हुन्।(१८०)

नेपालका बुद्धिस्टहरूमा अपरिचित मानिसप्रति मूर्खतायुक्त दुर्भावना हुन्छ । लेभीका अनुसार उनीहरू उत्तर भारतबाट आएका हुन् । नेपाली बुद्धिस्टहरू आफ्ना साना समूहको रुढ (डग्मा) र प्रतीकको गोप्यताप्रति अरूले रुचि राख्दा दुर्भावना राख्छन् । बुद्धिज्म सुधारका लागि आएको वा सुनी सुनाई कुरा मात्र थियो । यो कुनै मौलिक पद्धति भने थिएन।(२६)

चेपाङ र कुसुण्डाहरू जंगली जाति हुन् ।(२७) गुरुङ जातिमा हतियारको नशा छ ।(३४) जुम्लीहरू कपालसम्म नकोरेका जंगली थिए ।(३५) पहाडी जातिका किरातीहरू तल्लो जातका हिन्दू हुन् । किरातको उल्लेख वेदमा पनि छ र उनीहरू पश्चिमी हिमालयका बासिन्दा हुन् जहाँ उनीहरूको वैदिक आर्यनसँग सम्पर्क भयो ।(३७) किरातहरू बोलीवचनमा कुनै भद्रता देखाउँदैनन् (रुड) (३८) । नेपाल, सिक्किम र भुटानमा पाइने लेप्चा जंगली मानिस (जंगल फोक) हुन् जो आफूलाई रोङ्ग भन्दछन् । यिनीहरूले बिफ, पोर्क र अभक्ष भनिने सबथोक खान्छन् र लाज नमानी कडा रक्सी पिउँछन्।(३९) 

राई र लिम्बूहरू उत्तेजनामा आउने (ब्याड टेम्पर्ड) र हेलमेल गर्न (म्यानेज) कठिन हुन् । उनीहरू तल्लो जातका हिन्दू हुन् । लिम्बूका प्रिय देवता भीमसेन हुन् । यी अभद्र (रुड) मानिसले केही खास अनाज उब्जाए पनि माछा र जंगली फल खाएर गुजारा गर्छन् । खासगरी लिम्बूहरू घटिया सिपाही मानिन्छन् किनकि उनीहरू आफ्नो अनुशासनहीनताका लागि ख्यातिप्राप्त छन् । उनीहरू छोटा कदका सक्रिय बहादुर हुन् तर अनुशासनप्रति अनिच्छुक हुन्छन् ।(४०) लिम्बूका छोरीहरूको उमेर पुगेपछि बिहे हुन्छ । उनीहरूको नैतिकता सम्बन्धी धारणा कमजोर (ल्याक्स) हुन्छ । उत्सव (वैवाहिक ?) विना नै उनीहरूको मिलन हुन्छ । विवाहपूर्व महिलाहरूबाट सतित्व (चेस्टिटी) प्रति कमै ध्यान दिइन्छ । यिनीहरू पियक्कड हुन्छन् र सिङ्गो जाति व्यक्तिगत बानी व्यहोरामा निकै फोहोरी हुन्छन् । उनीहरू आफ्नो गुजाराका लागि आफ्ना छोरी बेच्ने कुरा बताउँछन् । लिम्बूहरू कठोर र झगडालु प्रकृतिका हुन्छन्, मगर र गुरुङजस्ता असल सैनिक मानिँदैनन् । नेपाली सेनाको भैरवनाथ रेजिमेन्टमा लिम्बू मात्र छन् उनीहरूको झगडालु स्वभावका कारण सदैव रेजिमेन्टभन्दा केही दूरीमा बसाइन्छन्। (४१)

भोटियाहरू काठमाडौँ उपत्यका वरिपरि र नेपाल तथा तिब्बतको बीचमा छन् । उनीहरू अभद्र बोली बोल्छन् र अज्ञात देवता मान्छन् । उनीहरू बलिया, कुरूप (अग्ली) र असभ्य हुन्छन् । (२५) ह्यामिल्टनका अनुसार तामाङहरूको मुख्य पेसा खेतीपाती हो र उनीहरू नेवारहरूको भारी बोक्छन्।(९८)

थारूहरू राम्रोसँग विकसित नभएको र टिठलाग्दो जाति हो । उनीहरू कालो अनुहार (डार्क फेस) भएका असभ्य भाषा बोल्ने अज्ञानी र धूर्त हुन्।(५६)  

सम्बन्ध विच्छेद गर्न पाउने स्वतन्त्रता भएकाले नेवार महिलाहरूसँग, नायरजस्तै, आफूले इच्छा गरे जति पति छन् । नेवारमा अरू असभ्य जातिमा हुने सबै प्रकारका खराबी छन् । लेभीले त सहरको सम्पूर्ण जनसंख्या सम्पूर्ण रूपमा अज्ञानी (इग्नोरेन्ट) पाएका थिए । केही नेवारहरू त जिन्दगीमा सायदै एकदिन नुहाइधुवाइ गर्छन् होला !(५०) नेवारहरू प्रिमिटिभ सेक्टका बुद्धिस्ट हुन् । नेवार अति फोहोर लुगा लगाउने र सास गनाउनेहरू हुन् । नेवारहरू शान्तिप्रिय हुन्, उनीहरू पर्वतीयाको हत्यामा आदती छैनन् तर पनि उनीहरूमा असभ्य जातिमा हुने अरू सबै खराबी छन् ।(५१) संस्कृतबाट नलिई नेवारीबाट लिएकाले नेवारहरूका नाम पनि झन्डै झन्डै असभ्य छन् । नेवार महिला आफूले चाहेका बेला आफ्नो लोग्ने छोड्न सक्छन्, आफ्नो वा आफूभन्दा माथिल्लो जातका मानिससँग सहवास गर्न सक्छन् र फेरि इच्छा लागेका बेला पतिको घरमा फर्केर परिवार चलाउन सक्छन् । कर्कप्यात्रिकले बताएअनुसार त नेवार महिला आफूले चाहेजति पति राख्न सक्छनन्।(५२) 

खस भनेका मूलरूपमा विश्वास गर्न नसकिने असभ्य (क्रिडलेस बारबरियान) हुन् । अचेल क्षत्रीय र सैनिक हुन लायक भनी घमण्ड गर्छन् । (३५) खस भाषा हिन्दूहरूको भ्रष्ट बोली हो र यसमा सुरुवाती (प्रिमिटिभ) क्रुरताको निरन्तरता छ ।(३५) खसले हिन्दुस्तानको उपनिवेशबाट आएर काली नदीपूर्व अधिकार जमाएका हुन् ।(३६) ब्राह्मण र सुद्रर्का बच्चालाई खसिया नाम दिइयो।(३७)

विगत ५० वर्ष (सन् १९७०को किताब) देखि लिम्बूहरू गोर्खा रेजिमेन्टमा भाडाका सैनिकका (मर्सिनरिज) रूपमा लिइन्छन् ।(३२) कांग्रेसले गोर्खा भर्तीको विरोध गरेकाले बेलायतले राणा शासनको समर्थनलाई निरन्तरता दिएको थियो ।(३१) खासगरी समुदायका थप कुण्ठित समूहहरू गोर्खा सैनिकका रूपमा सेवा गर्न आए । बेलायती सेनामा गोर्खा सैनिकको संख्या बढाउने प्रस्ताव लाग्दा महाराजले खासै रुचि देखाएका थिएनन् ।(३३) गोर्खाहरू यति दम्भी र आत्म प्रशंसक छन् कि कुनै गम्भीर विपत्ति नभोगी आफ्नो हीनभावनाबाट उभ्रिदैनन्।(३४)

नेपालको पहाडी भागमा तेह्रवटा भिन्न र राम्ररी चिन्न सकिने बोलीहरू बोलिन्छन् । ती हुन्— खस वा पर्वतीया, मगर, गुरुङ सुन(नु)वार, काछरी( ?), हाइयु, चेपाङ, कुसुण्डा, मुर्मी, नेवारी, किराती, लिम्बूवान र लाप्चान (लेप्चा ?) । ती सबै एकदमै अभद्र (रुड) छन्।(३८)

गुरुङहरू मंगोलिया र पश्चिम चीनमा मूलबासी (ओरिजिनेटेड) हुन् । उनीहरू तिब्बतको पूर्वी भाग हुँदै आएका हुन् । अरू तिब्बती र सम्भवतः तामाङ आएपछि मुस्ताङमा बस्ने गुरुङ थकाली भए। (१०१)

अन्त्यमा,

यो आलेखमा माथि उधृत कुरा अगाडि भनेझैँ विदेशीका कथन हुन् । अंग्रेजी भाषामा लेखिएका कुरा नेपालीमा अनुवाद गरी सबै नेपालीसम्म पुर्याउने प्रयाससम्म गरिएको हो । यसबाट नेपालका कानुन निर्माता, नीति निर्माता र पाठ्यक्रम निर्माताले पाठ सिक्न जरुरी छ । नेपालका इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, विद्वान् प्राध्यापक र पत्रकार आदिले विदेशीको न्यारेटिभ चिर्न आफ्नो ठाउँबाट प्रयत्न गर्न जरुरी छ।

विदेशीको लालचमा फसेर विदेशीले भनेका कुरालाई ध्रुवसत्य मान्ने वर्ग के माथि उधृत कुरामा सहमति राख्छ ? यो प्रश्नले इमान, धर्म वा दुवै बेचेका वा धरौट राखेकाहरूमा आत्मसमीक्षा गर्ने प्रेरणा मिलोस् । आफ्नो देश, आफ्ना पूर्वज, आफ्ना राष्ट्रिय व्यक्तित्व र अर्को नेपालीको अपमान गरेको कुरा लुकाएर वा नजरअन्दाज गरी कति भ्रममा रहने कति लालची बन्ने ? अझ तिनैमध्येकालाई बोलाएर पुरस्कृत गर्नेले तिनीहरूले आफूलाई नै के भनी कुख्यात गराएका रहेछन् मनन गरी प्रतिक्रियात्मक हुन जरुरी छ । लालचको घुम्टोले यो अपमान कति दिन छोप्ने ? अझ कति घोडा चढ्न दिने अब कति अपमान सहने ? अब पुग्यो अति भयो भन्दै  सबै नागरिक जाग्नुपर्ने र सतर्क रहने दिन आइसकेको छ।  

प्रकाशित: ११ आश्विन २०७५ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App