१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

चीन–अमेरिका द्वन्द्वको थुसिडेडिस ट्राप

अमेरिका र चीनबीच चलेको व्यापार युद्ध सजिलै रोकिनेवाला छैन। चीनबाट अमेरिका आयात हुने स्टिललगायतका सामानमा ट्रम्प प्रशासनले भारी कर लगाएपछि चीनले त्यसको जवाफ अमेरिकी सामानमाथि थप कर लगाएर दिएको छ। दक्षिणी चीन समुद्रमा चीनले कृत्रिम टापु र सैन्य सशक्तीकरण गरेपछि उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय नियमको पालना हुनुपर्ने अमेरिकाले बताउँदै आएको छ। ताइवानलाई सैन्य सामग्री उपलब्ध गराउने अमेरिकी योजनाको चीनले एक चीन नीतिको पालना गर्नुपर्ने बताउँदै विरोध गर्दै आएको छ। तिब्बत स्वतन्त्रताको अभियानबाट अमेरिका हटेको छैन। मानव अधिकार र धार्मिक स्वतन्त्रताको विषयमा अमेरिका र चीनबीच मतभेद छ । तर पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गरिरहेकै छन् । सीसँग उत्तर कोरियाको आणविक समस्यामा काम गरेर अघि बढ्ने टिप्पणी ट्रम्प गर्छन् । के चीन अमेरिका सम्बन्ध सामान्य छ त ? विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध मानिएको यो सम्बन्ध दीर्घकालीन होला ? यी यस्ता प्रश्नहरू हुन्, जसको उत्तर सजिलो छैन।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राह्म एलिसनको नयाँ पुस्तक ‘डेस्टिन फर वार ? क्यान अमेरिका चाइना स्केप्ड थुसिडेडिस ट्राप ?’ ले अमेरिका–चीन सम्बन्धको जटिलता र भविष्यमा हुने ध्वंसको सम्भावनाको लेखाजोखा राख्छ । के हो थुसिडेडिस ट्राप ? यसलाई बुझ्न एकछिन प्राचीन ग्रीकको इतिहासतर्फ लाग्नुपर्ने हुन्छ । थुसिडेडिस प्राचीन ग्रीकका इतिहास विषयका पिता र संस्थापक हुन् । उनको त्यहाँ भएको पेलेपोनेसियन युद्धबारे कृति छपिएको छ । थुसिडेडिस ट्राप त्यो संकटलाई जनाउँछ, जब स्थापित रूपमा शासन गरिरहेको शक्तिलाई उदाउँदो शक्तिले चुनौती दिन्छ, त्यसलाई थुसिडेडिस ट्राप भनिन्छ । त्यस समयमा स्थापित स्पार्टा नगर राज्यलाई उदाउँदो एथेन्स नगर राज्यले चुनौती दियो । स्थापित स्पार्टाले आफूले शासन गर्दै आएको सत्ता छोड्न मानेन र यी दुवै नगर राज्यबीच युद्ध भयो । यही शक्तिको संकटलाई अन्तर्राष्ट्रिय राजनीतिमा थुसिडेडिस ट्राप भनिन्छ । प्राध्यापक एलिसनका अनुसार अहिले अमेरिका स्थापित शक्ति स्पार्टाजस्तै छ भने चीन उदाउँदो शक्ति छ । करिब दोस्रो विश्वयुद्धयता विश्व व्यवस्थामा हैकम चलाउँदै आएको अमेरिकालाई चीनले चुनौती दिन थालेको छ। यो चुनौती तीन सय वर्षयता पश्चिमाहरूले थोपरेको विश्व व्यवस्थालाई पनि चुनौती हो । यदि थुसिडेडिस ट्रापमा परिरहेका अमेरिका र चीनबीच शान्तिपूर्ण ढंगले समस्या हल नभए ठूलो युद्धको रूप लिने एलिसन बताउँछन् । शीतयुद्ध कालमा सोभियत युनियनले अमेरिकालाई चुनौती दिएको थियो । साम्यवादी सोभियत संघले अहिले चीनको जति आर्थिक शक्ति हासिल गरेको थिएन । चीनका नेताहरूमा आफ्नो राष्ट्र प्राचीन कालदेखि विश्वको केन्द्रमा रहेको भन्ने मध्य अधिराज्यको ग्रन्थिले काम गरिरहेको छ।

कुनै समय एक सय चिनियाँमा ९६ जना गरिब थिए भने अहिले एक सयमा चार जना गरिब छन् । चीन संसारको सबैभन्दा सक्षम र सम्पन्न मध्यम वर्ग भएको राष्ट्र बनेको छ । अहिले विश्वको दोस्रो अर्थतन्त्र चीन केही समयपछि पहिलो अर्थतन्त्र बन्नेछ । अहिले चीनमा अति राष्ट्रवादको लहर चलेको छ । अमेरिकासँग २ सय वर्षको राज्यकला कौशलको इतिहास छ भने चीनसँग ५ हजार वर्षको राज्यकला कौशलको इतिहास छ । पश्चिमी जीवनशैली र दार्शनिक मतलाई चुनौती दिन चीन आफ्ना प्राचीन नीतिशास्त्री कन्फ्युसियसको पनि आविष्कार गर्न लागेको छ । सैन्य क्षमताको दृष्टिले चीन संसारको तेस्रो शक्ति हो । उसले आफ्नो प्रभाव बेल्ट एन्ड रोड अभियानमार्फत मध्य एसिया युरोप र अफ्रिकामा बढाइरहेको, संघाईको अपरेसन र एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमार्फत आफ्नो विश्वशक्ति बन्ने महत्वाकांक्षा पूरा गर्न लागेको छ । युरोपेली युनियनसँग व्यापक रूपमा आर्थिक सम्बन्ध विकसित गरिरहेको छ । यसरी चीनको चकित पार्ने उदयले गर्दा लाग्छ, अब चीनले केही वर्षभित्र आफ्नो विश्व व्यवस्थाको दाबी गर्नेछ । अमेरिका भू–राजनीतिज्ञ रोबर्ट डी. कापलान अहिले विश्व राजनीतिमा भूगोल फर्किएको बताउँछन् । भू–राजनीतिको यस जटिल खेलमा चीन आफ्ना सिमाना जोडिएका १४ राष्ट्रहरूसँगको सम्बन्धबाट फाइदा लिन लागेको छ । उसको सिमाना प्रशान्त क्षेत्रदेखि रुस हुँदै दक्षिण एसियाको भुटानसम्म जोडिन्छ । यही शक्तिको भरमा उदाएको चीन अमेरिकाबीचको द्वन्द्वले विगत ७ दशकदेखिको विश्व शान्तिलाई खल्बलाउने आशंंका गरिएको छ । जसलाई राजनीतिक चिन्तक जोन गाद्धिसले ‘लामो शान्ति’ भनेका थिए । आजभन्दा एक सय वर्षअघि पहिलो विश्व युद्ध भएको थियो । यही पहिलो र दोस्रो विश्वयुद्धको थुसिडेडिस ट्राप दोहोरियो भने चीन–अमेरिकाबीच युद्ध पनि हुनसक्छ भनी एलिसनले बताएका छन् । यदि यो युद्ध भयो भने पृथ्वीवासीहरूको जीवनमा आधारभूत ढंगले परिवर्तन आउनेछ । जीडीपीमा सन् २००४ मा चीन अमेरिकाभन्दा तल थियो भने सन् २०१४ मा बराबरी भयो । सन् २०२४ मा अमेरिका भन्दा ठूलो हुन्छ । जसरी एथेन्सको उदयले स्पार्टामा भय उत्पन्न गरेको थियो, त्यसरी नै चीनले अमेरिकाको प्रभुत्वमा भय उत्पन्न गरिरहेको छ । जसरी शासन गरिरहेको शक्तिले आफ्नो स्थान न्यायोचित भएको भनी दाबी गर्छ, त्यसरी नै उदाउँदो शक्तिले आफ्नो स्थान उचित भएको भनी दाबी गर्छ । थुसिडेडिस ट्रापको यो चरित्र अब चीन अमेरिका बीचको प्रतिस्पर्धा र द्वन्द्वमा देखिन थालेको छ । थुसिडेडिस ट्रापको उच्चारण राष्ट्रपति सी जीङपीङ, अमेरिकी पूर्वविदेश मन्त्री जोन केरी, वर्तमान रक्षा मन्त्री जेम्स म्यातिसले गरिसकेका छन्। 

अहिले वासिंगटन र बेइजिङमा कोही पनि चीन अमेरिकाबीच युद्ध होस् भन्ने चाहँदैनन् । तर सन् १९६० को दशकमा अमेरिका र सोभियत संघबीच उत्पन्न क्युबाको मिसाइल संकटले झन्डै विश्व युद्ध निम्ताए जस्तो अवस्था नआउला भनेर भन्न सकिन्न । तत्कालीन साम्यवादी सोभियत संघले अमेरिकाको क्यारेबियन छिमेकी राष्ट्र क्युबामा मिसाइल तैनाथ गर्न आँटेपछि राष्ट्रपति जोन केनेडीको कार्यकालमा यो संकट आएको थियो । रणनीतिकारहरू उत्तर कोरियाको आणविक संकटले चीन अमेरिका थुसिडेडिस ट्रापमा पर्न सकिने बताएका थिए । तर दुवै राष्ट्रबीच सम्पन्न सम्झौताले अहिले यो संकट टरेको छ । विगत ५०० वर्षको इतिहासमा विश्वले १६ ओटा खतरनाक थुसिडेडिस ट्रापहरू भोगेको विवरण एलिसन दिन्छन् । जसमा १२ ओटा ट्रापमा भीषण युद्ध भएको र ४ ओटा शान्तिपूर्ण ढंगले समाधान भएको थियो । चीन–अमेरिकाबीचको यो संकट टार्न अमेरिकाका पूर्वविदेश मन्त्री हेन्री किसिन्जर दुवै राष्ट्र बीच ‘कोइभोलुसन’ हुनुपर्ने तर्क राख्छन् । उनी दक्षिण चीन समुद्रको समस्यामा व्यावहारिक समाधान खोज्नुपर्ने सुझाव पनि दिन्छन् । अझ यस ट्रापबाट मुक्त हुनका लागि दुवैले आणविक द्वन्द्व त्याग्नुपर्ने, मौसम परिवर्तन सम्झौतामा सहमतिका साथ कार्य गर्नुपर्ने, आर्थिक सम्बन्ध मजबुत बनाउनुपर्ने र भूमण्डलीकरणमा कार्य गर्न सकिने सुझावहरू पनि आएका छन् । हुनत अहिले चीन पहिलो विश्व युद्धअघि राष्ट्रपति थियोडोर रुज बेल्टको अमेरिका जतिको शक्तिशाली छैन तर अमेरिकाको क्षय सुुरु भसकेको छ । सन् २००८ को विश्व आर्थिक संकटबाट अमेरिकाको क्षयको सुरुवात भएको मानिन्छ । अहिले ट्रम्पको अमेरिका आन्तरिक रूपमा विभाजित र कमजोर छ भने विश्व व्यवस्थाको नेतृत्वबाट क्रमशः पछि हटिरहेको छ । कुनै समय रोमन साम्राज्यको पतन सोच्न सकिन्न थियो तर कालान्तरमा रोमन साम्राज्यको पतन भयो । अहिले अमेरिकाले पनि रोमन साम्राज्यको इतिहास नदोहो¥याउला भन्न सकिन्न। 

तीन सय वर्षदेखिको पश्चिमीकरण र ७० वर्षको अमेरिकीकरणको विरुद्ध विश्वमा चिनियाँकरण सम्भव छ त ? के कन्फ्युसियस एरिस्टोटल र प्लेटो जस्तो बन्न सक्छन् त ? चीन मामलाका जानकार तथा लेखक मार्टिन ज्याक्स भविष्यमा विश्व चिनियाँकरण हुने दाबी गर्छन् । तर यो पश्चिमाहरूले एकछत्र रूपमा आफ्नो राजनीतिक र सांस्कृतिक फैलावट गरे जस्तो सजिलो छैन । किनभने चिनियाँ मोडेल चीनको स्थानीय र विशेष परिस्थितिको उपज हो।

प्रकाशित: १३ श्रावण २०७५ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App