२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

स्मृतिमा शैलजा अाचार्य

आफ्नै सुर, धुन, लय र तालका तीनजना महिला शैलजा आचार्य, उर्मिला उपाध्याय गर्ग र भद्र घलेको सम्बन्धमा ६० को दशकको प्रारम्भमा एकराष्ट्रिय दैनिकमा मेरो लेख प्रकाशित भएको थियो। एउटा लेखको शीर्षक थियो,‘याज्ञवल्क्य, मैत्रेयी र शैलजा’ अर्को लेखको भने सम्झना भएन। तर प्रसङ्ग थियो, उल्लिखित महिलाको । उनीहरू तीनैजनालाई कहीँकतै भेटेको र कुराकानी भएको थिएन। सार्वजनिक जानकारीमा जे जति थाहा पाएको थिएँ, त्यसैको आधारमा लेखेको थिएँ।

एकदिन सावित्री दिदीले (डा. सावित्री थापा गुरुङ, आयुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग) मीना दिदी (मीना पाण्डे) शोकमा हुनुहुन्छ। बहिनी भेट्न जाऊँ भन्नुभयो । भिनाजु बित्नुभएको महिना दिन पनि पुगेको थिएन जस्तो लाग्छ। १३ दिनको संस्कार सकिएपछि हामी उहाँलाई भेट्न गएका थियौँ । सावित्री दिदीले त्यसबेला भन्नुभएको थियो,‘काममा बस्दा आउने जाने भइराखेको हुन्छ ।’ अहिले त्यस्तो हुँदैन, त्यसैले अहिले झन् जानुपर्छ, हामी मीना दिदी भेट्न गयौँ । लगभग दिनभर जस्तो नै उहाँको घरमा हामी बस्यौँ । खाजा नखाई जान पाउँदैनौँ भन्नुभयो । तकलिफमा हुनु भएको मीना दिदीले अन्ततः खाजा खुवाएर नै छाड्नुभयो।

मीना दिदीसँग कुरा गर्ने सिलसिलामा नै वैदिककालीन प्रखर प्राज्ञ याज्ञवल्क्य र उनकी पत्नी मैत्रेयीबीच भएको संवाद जुन बृहदारण्यको उपनिषद्मा छ, त्यो मैले उप्काएँ । त्यसमा सम्झाउने नियत लुकेको थियो मेरो । यही संवादलाई आधार बनाएर ‘याज्ञवल्क्य, मैत्रेयी र शैलजा’ भन्ने लेख छापिएको कुरा बताएपछि मीना दिदीलाई के लाग्यो कुन्नि? शैलजा दिदीलाई भेट्न जाऊँ भन्नुभयो । ‘दिदी म त अराजनीतिक प्राणीले नेतालाई भेट्नु के अर्थ छ र मैले भनेँ ।’ ठट्टासँगै अरस्तुको राजनीतिक चिन्तन र पूर्वीय ज्योतिष विद्याको राजयोगको कुरा पनि गरेँ । उहाँले भन्नुभयो, केही फरक पर्दैन, जानुपर्छ।

त्यसरी आकस्मिक रूपमा मीना दिदीको बत्तीसपुतली राममन्दिर छेउको घरबाट शैलजा दिदीकहाँ हामी तीनजनाका साथै सुधा दाहाल (जसलाई म चिन्दिनँ त्यसपछि अहिलेसम्म भेट पनि भएको छैन) गयौँ । शोकमा रहनुभएको मीना दिदीको शैलजा दिदीसँग पहिलो भेट थियो, सायद । मीना दिदीले आफूलाई थाम्न सक्नुभएन । एकछिन सन्नाटा छायो । सबै मौन, निःशब्द भयौँ । ‘पछि हट’ भन्दै शैलजा दिदीले उहाँको पिठ्युँमा धाप मारेर सान्त्वना दिनुभयो । त्यसपछि वातावरण सामान्य भयो । चिनजान, कुराकानी र लेखको कुरा पनि मीना दिदीले भन्नुभयो । तर दिदीले पढ्नुभएको रहेनछ । ‘म पढ्थेँ नि भन्नुभयो ।’ लगभग एक घन्टा हामी बस्यौँ । बाहिर जे जस्तो शैलजा आचार्य कडा भन्ने छवि थियो । त्यसभन्दा भिन्न उहाँको तौरतरिका लाग्यो । नौनी जस्तै सरलपन लाग्यो । हिँड्न लागेका थियौँ । हामीलाई रोक्नुभयो । केही नखाई जानु हुँदैन भन्दै । सायद गर्मीको बेला थियो । त्यसैले पानी चिनी घोल्दै कागती निचोरेर आफैँ सर्बत बनाउन थाल्नुभयो।

संयोगको कुरा त्यसरी भेट भएको उहाँसँग पछि अम्बु (अम्बिका पन्त, राष्ट्रिय सभाको पूर्वसांसद) को घरमा बाक्लै भेट हुन थाल्यो । अम्बुकहाँ दिदीसँग खाना खान्थ्यौँ । उहाँ भनिरहनु हुन्थ्यो । हामी सुनिरहन्थ्यौँ । एकदिन भन्नुभएको थियो । भारतमा प्रवासमा रहँदाबस्दा दिक्क लाग्यो । बाहिर अरू कुनै देश जाने सोच बनाउनु भएपछि त्यसका लागि उपाय थियो,‘नक्कली बिहे ।’ तर पछि कसैले भनिदियो,‘दिदी बिहे त नक्कली र सक्कली भन्ने हुँदैन, बिहे बिहे नै हुन्छ।’

दिक्क भएर एकदिन आफ्ना गुरुलाई भन्नुभयो,‘राजनीति छाड्छु ।’ तर गुरुले ‘यो उमेरमा आएर अब के गर्छाै, नछोड राजनीति’ भनेको कुरा हामीसँग भनिरहनु हुन्थ्यो । उहाँको गुरुको बारेमा अम्बु के कति जानकार थिई थाहा छैन । तर मलाई भने युवराज घिमिरेले लेख्नुभएको ‘साम्य योगी अघोरेश्वर भगवान राम र समाज परिवर्तनको अनौठो प्रयास’ लेखको कारण केही हदसम्म जानकार थिएँ । सन्त अनुरागी र जिज्ञासु भएकाले त्यो लेख अहिलेसम्म पनि मैले सम्हालेर राखेको छु । पछि अरुण स्वामीको किताब सन्त गाथा र पाइलोट बाबाको हिमाल ‘कहाँ रहा है’ भन्ने पुस्तकमा प्रसङ्गवश केही उल्लेख भएको पाएँ अवदुत भगवान् रामको बारेमा।

‘के छ मैयाँ ?’ भेट्दा उहाँले भन्ने गरेको सधैँको बोली थियो । पशुपन्छीप्रति प्रेम भएर हो वा केले हो ? त्यो थाहा भएन । बाँदर देखेपछि मलाई खान दिन मन लाग्छ भन्नुहुन्थ्यो । सिनेमाप्रति रुचि भएर हुनुपर्छ एकदिन बिहानै अम्बुले फोन गरेर भनी— शैलजा दिदी सिनेमा हेर्न जाने कुरा गर्दै हुनुहुन्छ । दिदी पनि आउनु । शैलजा दिदीकै जीपमा चढेर केटाकेटीसहित हामी सिनेमा हेर्न गएको अहिले जस्तो लाग्छ।

आध्यात्मिक रुझान उहाँमा अत्यधिक मात्रामा थियो । उहाँले भनेअनुसार ज्ञवाली परिवारको छोरी जस्तो लाग्छ । ‘माइहजुर’ भन्ने एकजना साधिकाको बारेमा कुरा गरिरहनु हुन्थ्यो । मनिषा कोइरालालाई उहाँको ठूलो आर्शीवाद छ भनिराख्नु हुन्थ्यो । हाम्रो बीचमा कुनै राजनीतिक कुरा हुँदैन थियो । एकदिन म र अम्बु बसिराखेका थियौँ । आकस्मिक रूपमा आइपुग्नु भएको थियो । बिहानको १०–११ बजेको समय थियो जस्तो लाग्छ । भुइँमा पलेँटी मारेर थचक्क बस्नुभयो, सुस्केरा हाल्दै भन्नुभयो,‘यो देश संकटमा पर्दै गइराखेको देख्छु ।’ गिरीजा दाजु के गर्दै हुनुहुन्छ ? हामी छक्क प¥यौँ । मुखामुख ग¥यौँ । अहिले जस्तो प्रविधिको विकास त्यसबेला भएको थिएन । अनायास उहाँले त्यो दिन भन्नुभएका कुरा रेकर्ड गर्न पाएको भए त्यो ऐतिहासिक महत्वको हुन्थ्यो जस्तो लाग्छ।

पछि भारतका लागि नेपालको राजदूतमा शैलजा आचार्यको नाम आएपछि मलाई विश्वास लागेन । फोन गरेँ,‘दिदी राजदूतमा’ भनेर आश्चर्य व्यक्त गर्दा उहाँले भन्नुभएको थियो,‘मलाई सञ्च छैन, उपचार गर्न सजिलो हुन्छ भनेर हो ।’त्यो नै उहाँ र मबीच भएको अन्तिम संवाद थियो।

शैलजा दिदी अनन्त यात्रामा गएको लगभग एक दशक भइसकेको छ । संयोगवश भेट हुनुभएको उहाँ पछि पारिवारिक अंगमात्र नभएर असल अभिभावक र संरक्षक पनि हो भन्ने आभास हुन्थ्यो । अम्बुलेत आफूलाई छ महिनासम्म सम्हाल्न सकिनँ । निकटताको कारण प्रेससँग सामना गर्नुपर्छ भनेर ऊ भागिरही । किनकि त्यसबेला ऊ शब्दहीन थिई । स्मृतिको पानामा रहनुभएको अवदुत बाबा भगवान् रामकी शिष्य शैलजा दिदीको स्मृति दिवसमा मेरो मौन अर्चना र शब्दाञ्जली।

प्रकाशित: २९ जेष्ठ २०७५ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App